Tuesday, May 29, 2018

हिन्दू समाजको कलङ्क दलितक्रन्दन - डा. नवराज सुब्बा

विभेद बिरुद्ध अभियान - जेष्ठ १४ -दलित विवाह गरेकै कारण बाबुको काजकिरिया गर्न पथरी शनिश्चरे मोरङमा एक युवकले समाजको असहयोग र असहिष्णु व्यवहारको शिकार हुनुपर्याे । राज्यद्वारा संरक्षित एक गुरुकुलमा एक दलित विद्यार्थीलाई भर्ना लिन आनेकाने गरिदैंछ । एक्काइसौं शताब्दीमा हामी कस्तो समाजिक भेदभाव गर्दा रहेछौं झापा र मोरङको हालैको यी दुई घटनाले केही कुरा सोच्न समाजलाई बाध्य बनाएको छ । के यो मानव अधिकारको विषय हैन? के यो मानव धर्मको विषय हैन ? के हिन्दूधर्मको सार छुवाछुत हो त? अझ यो राज्यले कानूनी रुपमा यस अघिका सरकारले छुवाछुत अन्त्य गरेको अवस्थामा कम्युनिष्ट सरकारले शासन गरेको बेलामा पनि कानूनको धज्जी उडाउनु के यो चानचुने कुरा हो? हामीले समाज परिवर्तनका खोक्रा नारा घोक्रो सुक्ने गरि कराएर के भो जब समाजका सांस्कृतिक धब्बाहरु हटाउने काममा भने खालो सारिएन भने ।

हिजो युद्धमा पराजित समुदायका मान्छेहरु छानिछानिकन बुढाबुढी केटाकेटी मारिन्थ्यो, काम गर्न सक्ने उमेरकालाई दासदासी र दलित बनाइन्थ्यो । हिन्दू वर्णाश्रम व्यवस्थाले मानिसको श्रमको आधारमा गरिएको वर्गिकरणलाई राज्यका शासकहरुले टाढाबाठा ब्राम्हणहरुको सहकार्यमा आफू अनुकूल धर्मग्रन्थ तयार गर्न लगाई वैदिक हिन्दू परम्पराबाट दूर छुवाछूत प्रथालाई प्रश्रय हुनेगरि वन्दोवस्त गरे । समाजलाई विभाजन गर र राज गर भन्ने सिद्धान्तमा चलेको शासन प्रणालीको सिकार दलित भए । यसले यतिसम्म विकृति ल्यायो कि मान्छेलाई भेडावाख्राझैं किनबेच गर्न पनि हाम्रो समाज पछि परेन ।

 हाम्रो देशमा १९८२ मंसिर १४ अघिसम्म यस्ता दासदासी र तिनीहरुका छोराछोरी खुट्टा लागे पछि बेचबिखन पनि गरिन्थे । त्यस्तो अविवेकी समाज थियो हाम्रो । पाश्चात्य इतिहास हेर्दा यदि राजा मर्यो भने त्यसका भारदार पनि सति जानु पर्दथ्यो । हाम्रोतिर वि.स.१९७७ सालभन्दा अघिसम्म पति मर्दा पत्नि सति जानु पर्दथ्यो । यस्तो निष्ठुरी समाज थियो हाम्रो । चन्द्रसमशेरले समाजमा क्रान्तिकारी पहलकदमी उठाएको कुराको इतिहास साक्षी छ । यी सवालहरुले समाजका सबै जाति र वर्गलाई समेटेको हुँदा यसमा फल छिटै देख्न पाइयो । र हामीलाई ती कुराहरु सुन्दा पत्याउँ कि नपत्याउँ हुन्छ ।

तर आर्थिक र साँस्कृतिक रुपले अत्यन्त निम्न तहमा पारिएका दलित समुदायप्रति समाजले गर्ने व्यवहारमा कानूनी अट्चन नभए पनि साँस्कृतिक व्यवधानले रोकेको अवस्था छ । यो सास्कृतिक परिवर्तन ल्याउन आज संचार जगतले राम्रो भूमिका खेलेको छ । झापाका पर्वत पोर्तेल र मोरङका गणेश लम्साल लगायतले दलितसम्बन्धी सवालमा आवाज बुलन्द पारेका छन् । मंत्री दलितको घरमा गएर बास बसेर वा एक छाक खाएर मात्र भएन । 

समाजले स्वीकार गर्ने वातावरण बनाउन अन्य सामाजिक पहलको पनि जरुरी छ । जनचेतना फैलाउन धर्मगुरु, पंडितहरुलाई नै हिन्दू धर्मको मर्म अनुरुप सामाजिक भेदभाव छुवाछुत हटाउन अघि नसारेसम्म अरुले मात्र गरेर बल पुग्दैन । हो यसमा वौद्धिक वर्ग, प्राज्ञिक जगतले आ–आफ्नो क्षेत्रबाट भूमिका खेल्छन् । सकारात्मक दृष्टिकोण भएका हिन्दु पंडितहरुलाई प्रशिक्षक प्रशिक्षण गरेर राज्यले नै अगुवाई गरिदिए दलितको उद्धार हुने थियो । दलितको सांस्कृतिक भेदभाव अन्त्य गर्न आर्थिक स्थितिमा सुधारको पनि आवश्यकता पर्ने भएकाले यसमा बहुपक्षीय पहलकदमीको आवश्यकता महसुस हुन्छ ।

दलित विद्यार्थी भर्ना नगर्ने गरुकूलविरुद्धको आन्दोलन शान्तिपूर्ण बनाइने

विभेद बिरुद्ध अभियान - जेष्ठ १४ -झापाका मानवअधिकारकर्मी तथा पेसाकर्मीहरुले दलित बालकलाई भद्रपुरस्थित गुरुकूलले भर्ना नलिएको विषयप्रति स्थानीय प्रशासन र सरकारको गम्भीर ध्यानाकर्षण गराएका छन् ।
गुरुकूलमा भएको घटना संविधान र सामाजिक न्यायको सिद्धान्त विपरित रहेको निष्कर्षसहित उनीहरुले पीडितलाई न्याय र वार्ताबाटै समस्या समाधानमा जोड दिएका छन् ।झापाको भद्रपुर–६ स्थित श्री कृष्ण द्वैपायन गुरुकूल वेद विद्याश्रममा इलाम बरबोटे–५ का आठ वर्षीय अनाथ विकास कार्कीढोलीलाई आवासीय भर्ना लिन इन्कार गरेपछि दलित अधिकारकर्मीहरु आन्दोलित भएका हुन् । समस्या समाधानका लागि संवाद् समूह झापाको संयोजनमा  सोमबार बिर्तामोडमा छलफलमा सहभागीले अब सबैखाले विभेदको अन्त्य झापाबाटै शुरु गर्नुपर्नेमा जोड दिए ।
गुरुकुलले गरेको उक्त विभेदविरुद्ध झापाका दतिल अधिकारकर्मीले पाँच सय ५१ सदस्य गुरुकुल जातीय विभेद संयुक्त संघर्ष समिति र २१ सदस्यीय सचिवालय बनाएर संघर्ष गरिरहेका छन् । संघर्ष समितिका संयोजक तथा नेपाल उत्पीडित विद्यार्थी संगठनका केन्द्रीय अध्यक्ष टीकाराम मग्रान्तीसहित संघर्षरत् पक्षले घटनाबारे अधिकारकर्मीलाई जानकारी गराएका थिए ।
प्रदेश नं. १ कि प्रदेश सभा सदस्य जसमाया गजमेर, वरिष्ठ अधिवक्ता तथा झापा बारका पूर्व अध्यक्ष टंक उप्रेती, पत्रकार महासंघ झापाका अध्यक्ष तारामणि सापकोटा, पूर्वाञ्चल मानव अधिकार रक्षक परिषद्का सहसंयोजक एवम् मानव अधिकार सञ्जाल झापाका सचिवालय प्रमुख विष्णु खरेल, राष्ट्रिय मानवअधिकार प्रतिष्ठान झापाका उपाध्यक्ष राम मैनालीले ती बालकलाई गुरुकुलमा भर्ना नलिएको घटना अपराध भएको बताए ।
छलफलपछि संघर्षरत् पक्षले आन्दोलनका कार्यक्रमलाई शान्तिपूर्ण बनाउने, सरोकारवालाहरुबीच संवाद र छलफलबाटै समस्याको उचित निकास खोज्ने, उक्त घटना संविधान र सामाजिक न्यायको सिद्धान्त विपरीत रहेको ठहर गर्दै पीडितलाई न्याय र झापामा विभेदमुक्त समाज निर्माणको अभियानमा अग्रसर हुने प्रतिबद्धता जनाइएको छ ।
२०७२ सालमा जारी नेपालको संविधानले प्रत्याभूत गरेको मौलिक हक अन्तर्गत बिना कुनै भेदभाव शिक्षा लिन पाउने हक हुने उल्लेख छ ।
दलित अधिकारकर्मीहरुले सबै गुरुकुलमा बिना भेदभाव दलित विद्यार्थीले पढ्न पाउनुपर्ने आवाज उठाएका छन् । उनीहरुले आफ्नो संघर्षलाई शान्तिपूर्ण रुपमा अघि बढाउँदै सामाजिक सद्भावको पक्षमा रहेको समेत प्रतिबद्धता जनाएका छन् ।
दलितको घरमा ब्राह्मण जातिका पुरोहितले कर्मकाण्ड गर्न नमान्ने भएकाले आफ्नै समुदायबाट पुरोहित तयार गर्न गुरुकुलमा पठनपाठनको अनुकूल वातावरण बनाइनुपर्ने उनीहरुको भनाइ छ । छलफलको सहजीकरण संवाद समूह सचिवालयका सहजकर्ताद्वय पत्रकार महासंघ झापाका उपाध्यक्ष एकराज गिरी र अधिवक्ता खगेन्द्र खरेलले गरेका थिए ।

दलित समुदाय माथि भएका ज्यादती बिरुद्ध दलित अधिकारकर्मीद्वारा सयुक्त प्रेस विज्ञप्ती जारी

विभेद बिरुद्ध अभियान - जेष्ठ १४ - प्रतिनीधि सभा तथा राष्ट्रिय सभाका माननीय सांसदज्यूहरु, दलित नागरिक समाज, दलित भातृसंगठन एवं दलित अधिकारकर्मीहरुले संयुक्त विज्ञप्ति जारी गर्दै दलित समुदायका मागहरुका सम्बन्धमा तत्काल सुनुवाई गर्न ध्यानाकर्षण गरेका छन् ।
हेर्नुस प्रेस विज्ञप्ति 

हामी संघीय गणतन्त्र घोषणा र छुवाछूतमुक्त राष्ट्र घोषणाको १३ औ वर्षमा प्रवेश गरेका छौ । साथै दलित पक्षीय कानून जातीय भेदवाव तथा छुवाछूत (कसूर र सजाय ऐन) २०६८ जारी भएको ७ वर्ष व्यतीत भई नेपालको संविधान जारी भएको समेत ३ वर्ष व्यतीत भईसकेको छ । वर्तमान नेपालको संविधानले जातीय छुवाछूत तथा विभेद विरुद्धको हक र दलितको हकलाई मौलिक हकको रुपमा संस्थागत गरेको छ । नेपालका तीन वटै तहको निर्वाचन सम्पन्न भै नेपालको संविधान कार्यान्वयन भइसकेको अवस्था छ ।

सुशासन, स्थिरता र सम्वृद्धिको लागि “सम्वृद्ध नेपाल र सुखी नेपाली” भन्ने मुल नाराको साथ सिङ्गो राष्ट्र अघि बढिरहेको वर्तमान परिस्थितिमा नेपालका दलित समुदायले अझै पनि अत्यन्तै निर्मम प्रकारका जातीय छुवाछूत, उत्पीडन तथा ज्यादतीहरुको सामना गर्नुपरेको छ । यसै सन्दर्भमा तपसिलमा उल्लेखित जातीय आधारमा गरिएका केही प्रतिनिधिमुलक घटना तथा ज्यादतीहरुलाई वुदागतरुपमा प्रस्तुत गर्दै आवश्यक कानूनी कारवाहीको लागि जोडदार माग गर्दछौं ः— 

१. झापा जिल्लाको भद्रपुर नगरपालिका वडा नंं. ६ स्थित श्रीकृष्ण द्धैपायन गुरुकुल वेद विधाश्रमले दलित समुदायका विधार्थी विकास कार्की ढोलीलाई अध्ययनको लागि भर्ना गर्ने सन्दर्भमा जातीय विभेद गरेको घटना व्यापकरुपमा प्रचारमा रहेको छ । घटनाका विषयमा जाहेरी दरखास्त दिएकोमा सो तर्फ कुनै कानूनी प्रकृया अगाडि नबढाई स्थानिय प्रहरी प्रसाशन मुकदर्शक भएको घट्ना भत्र्सनायोग्य छ । 
२. अर्घाखांची जिल्लाको भूमिकास्थान नगरपालिका वडा नं. १० निवासी कक्षा १० मा अध्ययनरत १५ वर्षिय समिता नेपालीलाई स्थानिय यूवा राजु अधिकारीले बलात्कार पश्चात हत्या गरेको छ महिना विति सक्दा पनि अपराधीलाई कुनै कार्वाही भएको छैन । निज पिडितकी आमा न्यायको खोजीमा काठमाडौंमा भौतारिएकी छन् । 
३. सुनसरी र मोरङ्ग जिल्लामा अन्तरजार्तीय विवाह गर्ने जोडीलाई जातीय भेदभाव गरि गाउं निकाला गरिएको कार्यप्रति गहिरो खेद प्रकट गर्दै न्यायको लागि जोडदार माग गर्दछौं । 
४. ललितपुरको नख्खु कारागारमा बर्दिया जिल्लाका २१ वर्षिय युवक भक्तबहादुर सुनारको हत्या भएकोमा उक्त घटनाको सत्यतथ्य पत्ता लगाई आवश्यक कानूनी कारवाहीको लागि जोडदार माग गर्दछौं । 
५. कंचनपुर, डोटी, अछाम र हुम्ला जिल्लामा दलितहरुमाथि भएको अमानवीय व्यवहारप्रति ध्यानाकर्षण गराउदै उचित कानूनी कारवाहीको लागि जोडदार माग गर्दछौं । 
६. काभ्रेपलान्चोक जिल्लाका अजित मिजारको शव हालसम्म पनि काठमाण्डौस्थित टिचिङ अस्पतालमा रहेकोमा अदालतबाट न्यायपूर्ण फैसलाको अपेक्षा गर्दछौं साथै लक्ष्मी परियारका हत्यारालाई हदैसम्मको कार्वाहीको माग गर्दछौं । 
७. माथि उल्लेखित घटनाहरु केवल प्रतिनिधिमुलक घटनाहरु मात्र हुन् । कैयौ ज्ञात अज्ञात घटनाहरुमा दलित समुदायबाट निर्वाचित जनप्रतिनिधिहरु लगायत समग्र दलित समुदाय अपमानित भएका समाचारहरु दिनहुं छापाहरुमा आईरहेका छन् । तसर्थ माथि उल्लेखित विभिन्न घटनाहरुप्रति नेपाल सरकारलाई गम्भिर हुन आग्रह गर्दै घटनाका सम्बन्धमा सत्यतथ्य पत्ता लगाउन एक संसदीय समिति वा उच्चस्तरीय छानविन समिति गठन गरि स्थलगत अध्ययन गरि दोषीलाई कानूनी कारवाही र पीडितलाई न्याय र क्षतिपूर्ति सहितको न्याय प्रदान गर्न तथा जातीय छुवाछूत र भेदभावको समस्यालाई दीर्घकालिनरुपमा समाधान गर्नका लागि उपयुक्त उपाय तथा व्यवस्था गर्न जोडदार माग गर्दछौ । हाम्रा मागहरुका सम्बन्धमा तत्काल सुनुवाई नभएमा अन्य आन्दोलनका बाटाहरु अवलम्वन गर्नकोे लागि बाध्य हुने व्यहोरा यसै प्रेस विज्ञप्ती मार्फत अवगत गराउन चाहन्छौ । 
हस्ताक्षरकर्ता
प्रतिनीधि सभा तथा राष्ट्रिय साभाका माननीय सांसदज्यूहरु
१. जीतु गौतम, अध्यक्ष ः नेपाल उत्पीडित जातीय मुक्ति मोर्चा
२. शम्भु हजारा पासवान ः कावा अध्यक्ष, नेपाल दलित संघ
३. तिलक परियार ः संयोजक, नेपाल दलित मुक्ति मोर्चा
४. गौरा नेपाली ः के.स. जातीय समता समाज
५. मुक्तबहादुर महते ः उपाध्यक्ष, दलित विकास समिति
५. भक्त विश्वकर्मा ः वरिष्ठ उपाध्यक्ष, दलित गैरसरकारी महासंघ
६. महेश नेपाली ः कार्यकारी निर्देशक, वादी विकास समिति
७. मोतिलाल नेपाली ः संयोजक, दलित नागरिक समाज
८. प्रकाश नेपाली ः प्रतिनीधि, समता फाउण्डेशन
९. गणेश विश्वकर्मा ः राष्ट्रिय दलित नेटवर्क
१०. चक्रमान विश्वकर्मा ः अध्यक्ष, दलित सेवा संघ
११. रेनु सिजापति ः महासचिव, दलित महिला संघ

मिति २०७५ जेष्ठ १४ गते

Sunday, May 27, 2018

जातभातको लामो टुपी - पुष्पा पौडेल

विभेद बिरुद्ध अभियान- जेठ १३ -जातभातको संस्कृति अति सूक्ष्म र बृहत् दुवै प्रकारले दैनिक जीवनमा सिकाइएको हुन्छ

‘न हुन्छन् कुनै रौँ टुपीमाथि, 
न हुन्छन् कुनै जात बाहुनमाथि ।’

हाम्री हजुरआमा बिहान–बिहान श्लोक गाउँछिन् । सुनाउँछिन् हामीलाई आफ्नो जातको महिमा । र, स्मरण दिलाउँछिन् यही जातको अनुशासन मानिएको टुपीको महानता । यस्तो चलन गायनबाट लेखनमा पनि सरेको रहेछ ! लेखनबाट पनि जातको महिमा गाउने र टुपीको महानता सुनाउने क्रम जारी छ ।

हजुरआमाको श्लोक स्मरण गरायो, चर्चित लेखक सौरभको लेख ‘टुपी महात्म्य’ले पनि । २० माघ ०७४ मा ‘कान्तिपुर’मा प्रकाशित भएको थियो ‘टुपी महात्म्य ।’ पछि त्यसको शीर्षक फेरियो, ‘नलेखी नभएकाले मात्र’को नाममा । उनको लेखले पनि जातको अनुशासन नै सम्झायो । एक त टुपी, त्यसमाथि महात्म्य ! दुवै शब्दले कुनै एक प्रथाको महिमागान गाउन लागेको अड्कल्न समय लागेन ।

सौरभको लेखमा टुपीका सम्बन्धमा विश्वका विभिन्न सभ्यता र समाजमा प्रचलित उदाहरण भेटिन्छन् । हजुरआमाका श्लोकमा भने उनले कथ्य रूपमा सिकेको र अहिले आफ्नो सन्ततिलाई सिकाउने ज्ञान । सौरभको मतले घुमाउरो हिसाबले कुनै जात–विशेषको संस्कृति विश्वव्यापी रूपमा व्याप्त रहेको जानकारी पस्कन्छ । मेरी हजुरआमा र उनको छोरा पुस्ताका सौरभको मतमा खासै भिन्नता पाइनँ ।

दुवै पुस्ताका मतमा ब्राह्मणले राख्न पाउने टुपीसँग उसको ज्ञान र ज्ञान आर्जन गर्ने जन्मजात अधिकार झल्किन्छ । दैनिक रूपमा सिकिने र सिकाइने यस्ता उक्ति र मतले कथित उपल्लो वर्ण र जातका मानिसलाई जातभात र छुवाछुतजस्ता प्रथाप्रति घृणा गर्न सिकाउँदैन, बरु यस्ता प्रथालाई निरन्तरता दिँदा पनि खासै कुनै आत्मग्लानि वा असजिलो महसुस नगराउने अवस्था बन्दो रहेछ ।

जातप्रथाको सामाजिक अभ्यास
सौरभको लेखमा बुद्धदेखि क्राइस्टसम्मको टाउकोमा टुपी रहेको भनिएको छ । यसरी बौद्धदेखि इसाई धर्मावलम्बीमा समेत हिन्दुकाे जस्तै टुपी रहेको बखान गरिएको छ । यसरी कहीँ न कहीँ उनको लेखमा ‘एथ्नोसेन्ट्रिज’को गन्ध आइहाल्छ । हरेक प्रसंगलाई आफ्नो जातगत गुणसँग दाँजेर त्यसको विश्वव्यापी माने रहेको तथा त्यही संस्कृति वा जात नै सर्वश्रेष्ठ रहेको भावनालाई नै समाजशास्त्रीय अध्ययनमा ‘एथ्नोसेन्ट्रिजम’ भनिन्छ ।

नेपाली परिवेशमा यस्तो भावना वर्ण–जात प्रथामा आधारित हिन्दू धर्मसँग जोडिएको बेसी मात्रामा पाइन्छ । ब्राह्मण, क्षेत्री, वैश्य र शुद्र गरी छुट्याइएको वर्ण–जात प्रथा ३५ सय वर्षअघि ऋग्वेदकालदेखि सुरु भएको मानिन्छ ।

यस्तो तहगत विभाजनमा ब्राह्मणलाई ज्ञान आर्जन गर्ने कर्म दिइएको छ भने शुद्रलाई तल्लो तहमा अरू वर्ण–जातको सेवा गर्ने कर्म छुट्याइएको छ । र, कालान्तरमा शुद्रभित्रकै केही समूहलाई अछुत बनाइएको लेखक आहुतिको विचार छ । ब्राह्मणको टुपी त्यही ज्ञान आर्जन गर्ने प्रक्रियाको चिह्न मानिन्छ ।

सौरभको ‘टुपी महात्म्य’लाई मिहिन ढंगले केलाउँदा प्रत्येक वाक्यमा ब्राह्मण वर्ण र जातको अहंकार देखिन्छ । उदाहरणका लागि टुपीको महिमागान गाउने क्रममा सौरभ बुद्धका अनुयायीले ब्राह्मणवादको विरोधमा टुपी राख्न छाडेकाले नै बौद्ध धर्ममा चार आर्य सत्य र अस्टांगिक मार्गबाहेक अरू ज्ञान थपिन नसकेको तर्क गर्छन् ।

यस्तो तर्कमा कुनै तुक नभए पनि रोमाञ्चकारी शब्दजाल बुनिएको भने पक्कै छ । यस्तो जातभातको संस्कृति अति सूक्ष्म र बृहत् दुवै प्रकारले दैनिक जीवनमा सिकाइएको हुन्छ । समयसँगै त्यसमा अभ्यस्त बनाउने क्रम पढाइएको हुन्छ । यस्तो सिकाइको क्रममा ब्राह्मणलाई टुपीको रौँजत्तिकै माथि रहेको सम्झना दिलाइन्छ । यसले प्रश्रय दिएको छुवाछुतमा आधारित जातवादीलाई समयसँगै मलजल र पक्षपोषण गर्न सवर्ण जातले मिहिनेत गरिरहेको देखिन्छ ।

स्तम्भकार श्रेय पौडेलले ‘उच्च जातको पूर्वाग्रह’ लेखमा मध्यम वर्गीय समाज पनि सवर्णले आफूले उच्च र श्रेष्ठ भएको संकेत दिने गरेको उदाहरण दिएका छन् । दलित छिमेकीको भोजमा ‘बाहुन–भान्छे चाहिन्छ’ भन्दै सवर्ण आफन्तले अड्डी लिएको र त्यसलाई दुवै जातका मानिसले सामान्य हिसाबमा लिएको त्यसमा उल्लेख छ ।

यस्ता सांकेतिक, तर ज्यादै डरलाग्दो मनस्थितिमा जातवादी र यसले बोकेको छुवाछुतको कुरीतिको मलजल हुने गरेको छ । विश्लेषक र लेखक झलक सुवेदी भन्छन्, समाजमा व्याप्त उँचनीचको व्यवहार, संस्कृति र जातीय मूल्यको निरन्तर पुनरुत्पादन भइरहेको छ । यसलाई अनेक राजनीतिक, सामाजिक उथलपुथलले पनि हटाउन सकेका छैनन् ।

जातको राजनीतिक अभ्यास
हामीले स्नातकोत्तर समाजशास्त्रको पाठ्यक्रममा अन्द्रास होफरको ‘दि कास्ट हाइरार्की एन्ड दि स्टेट इन नेपाल’ भन्ने किताब पनि पढ्नुपर्छ । किताबमा होफरले सन् १८५४ को मुलुकी ऐनलाई केलाएका छन् । मुलुकी ऐनको लिखत र सवर्ण समाजमा भट्याइने श्लोकको भावमा भिन्नता छैन । हजुरआमाले पाठ गर्ने अर्काे श्लोकले मुलुकी ऐन र सौरभकै विचारलाई कलात्मक पाराले अभिव्यक्त गर्दछ :

क्षेत्रीले छोडे धर्मकर्म, ब्राह्मणले छोडे टुपी र वेद 
राजाले छोडे न्याय र निसाफ, गर्जन छाड्लान् मेघ ।

हजुरआमाले हामीलाई नैतिक शिक्षाका रूपमा पढाउने गरेको पाठले राज्यको कानुनको रूपमा लादिएको मुलुकी ऐनकै शिक्षालाई इंगित गर्छ । यसको मतलब राज्यको कानुन र जातवादीको पृष्ठभूमिमा आधारित हाम्रो सामाजिक वा सांस्कृतिक व्यवस्था एकअर्काका ऐनाजस्तै छन् ।

नेपालको राज्यव्यवस्थामा सन् १८५४ देखि हालसम्म विभिन्न परिवर्तन आइसकेका छन् । जहानियाँ राणाशासनदेखि लोकतान्त्रिक व्यवस्थामा आइपुगेको परिवर्तन पनि नभएको होइन । तर, ती परिवर्तन पनि कुनै एक वर्ण–जातका लागि आफ्नो दबदबा कायम राख्ने राजनीतिक प्रयोग साबित भएका छन् ।

यस्तै हरेक परिवर्तनमा आफू अगाडि रहेको, परिवर्तनको संवाहक आफू नै रहेको देखाउन पनि सवर्ण जात सिद्धहस्त भइसकेका छन् । विभिन्न कालखण्डका राजनीतिक परिवर्तनको क्रममा सवर्ण जातले कसरी यस्ता परिवर्तनलाई आफ्नो हितमा पार्न सकिन्छ भन्ने प्रयोगका रूपमा लिएका छन् ।

(पौडेल समाजशास्त्रकी अध्येता एवं दलित रिडरकी सहकर्मी हुन्)-नया पत्रिका दैनिक बाट 

दलित सामुदायका व्यक्ति वन उपभोग गर्नबाट वञ्चित

विभेद बिरुद्ध अभियान- जेठ १३ (नरी बडु) , सुर्नयाँ गाउँपालिका-३, बासुलिङको सिराड-भगुल्टे सामुदायिक वनमा दुई दशकदेखि ३० घर परिवार दलितले वन उपभोग गर्न नपाएको सो समुदायले गुनासो गरेको छ । साविकको बासुलिङ गाविस-१, २ र ३ का ३० घर परिवार दलितलाई वन उपभोग गर्न नदिएपछि गाईबस्तुका लागि घाँसपात र  दाउरा ल्याउन नपाएको दलित समुदायको गुनासो छ ।

बैतडी सदरमुकाम नजिकै अर्को रामपातल सामुदायिक वन उपभोक्ता समितिमा दशरथ चन्द नगरपालिका-४ गढीका ३७ परिवार दलितलाई वनबाट वञ्चित गरिएको भन्दै जिल्ला वन कार्यालयमा निवेदन दिएको वर्षौँ बितिसक्दा पनि कुनै सुनवाइ नभएको उपभोक्ता सरस्वती नेपालीको गुनासो छ ।

सरकारी वनलाई सामुदायिक वन बनाइएपछि दलितले वन उपभोग गर्न नपाएका यी दुई प्रतिनिधि घटना मात्र हुन् । जिल्लाका ३ सय ५२ वटा सामुदायिक वनमा दलित समुदायको उपभोगमा पहुँच पुग्न नसकेको दलितहरूले गुनासो छ ।

पहुँच हुनेहरूले नापीका बेलामा आफ्ना नाममा वन दर्ता गराएर अहिले धमाधम रुख काटेर बिक्री गरिरहेको तर, दलित समुदायले सामुदायिक वनसमेत उपभोग गर्न नपाएको उनीहरूको गुनासो छन् ।

जिल्ला वन कार्यालय बैतडीको तथ्याङ्क अनुसार बैतडीमा ३ सय ५२ वटा सामुदायिक वन छन् । ती सामुदायिक वनमा स्थानीय गैरदलित समुदायले घाँस र खरका लागि वन कब्जा गर्दा दलित समुदायले वन उपभोग गर्न नपाएको दलित समुदायको गुनासो छ ।

सरकारी वनमा निजी जस्तै अन्य समुदायले उपभोग गर्दै आए पनि दलितलाई वनमा टेक्न नदिएको सुर्नयाँ गाँउपालिका-२ बासुलिङका जयराम लोहारले बताए । स्थानीय तहको सरकारले पनि दलितलाई वन उपभोगबाट वञ्चित गराएको विषयमा कनै सम्बोधन नगरेको लोहारको गुनासो छ ।

सामुदायिक वन गठन गर्दा दलित समुदायको अनिवार्य सहभागिता हुनु पर्ने र वनबाट आर्जित आम्दानीको ३५ प्रतिशत दलित र पिछडिएको वर्गको हितमा रकम खर्च गर्नुपर्ने प्रावधान रहेको जिल्ला वन कार्यालय बैतडीका प्रमुख प्रभात सापकोटाले बताए । दलितलाई वन उपभोग गर्नबाट वञ्चित गर्न नमिल्ने भन्दै सापकोटाले यो विषयमा चाँडै अनुगमन गरिने बताए ।

सामुदायिक वनहरूले सल्लाको खोटो र काठबाट वर्षिक लाखौँ रुपियाँ आम्दानी गरेपनि कुनै पनि सामुदायिक वनले आम्दानीको ३५ प्रतिशत रकम दलित समुदायको हितमा खर्च गरेको पाइएको छैन । अधिकांश सामुदायिक वनले सडक र विद्यालयका शिक्षकलाई तलब खुवाउँदै आइरहेको दलित समुदायले गुनासो गरेको छ ।

दलितले सामुदायिक वन उपभोग गर्न नपाएको बताउँदै सामुदायिक वन उपभोक्ता महासङ्घ बैतडीका अध्यक्ष चक्रप्रसाद शर्माले रामपातल सामुदायिक वनमा दलितको पनि उपभोग हुनुपर्छ भन्ने विषयमा वर्षौँदेखि पहल गरेपनि सफल हुन नसकेको बताए ।

‘खरपातका लागि सरकारी जङ्गल भाग लगाएर गैरदलितले बाँड्ने गरेको तर दलित समुदायलाई सबै वनहरूमा वञ्चित गरिएको कुरा सत्य हो ।’-शर्माले भने । सामुदायिक वनले विक्री गर्ने काठ, खोटो र दाउराको आम्दानीको तोकिएको प्रतिशत पनि दलित समुदायका लागि खर्च नभएको शर्माले बताए ।

अध्यक्ष शर्मा दशरथ चन्द नगरपालिका वडा नं ७ को अध्यक्षमा निर्वाचित भएपछि सामुदायिक वन उपभोक्ता महासङ्घको बैठकसमेत बस्न सकेको छैन ।

दलितको हातको पानी खाँदा जयलाल बुढाका दम्पती गाउँ निकाला

विभेद बिरुद्ध अभियान- जेठ १३ , बाजुरा ।बाजुराको दुर्गममा रहेको हिमाली गाउँपालिका–२ मा बसोबास गर्दै आएका जयलाल बुढाका दम्पतीले दलितको हातको पानी खाएको भन्दै गाउँलेले पीडा दिने गरेकाले सो पीडा सहन नसकी गाउँ छाडेका छन् ।

वर्षोदेखि गाउँमै बसोबास गर्दै आएका भए पनि केहि वर्षदेखि भने ती दम्पतीले नातीखोला गाउँ छोड्न बाध्य भएका छन् । हिमाली गाउँपालिका–२ नातिखोलामा बस्ने ६० वर्षीय जयलाल बुढाको परिवारलाई दलितको हातको पानी खाएको निहुँमा गाउँबाट लखेटिएको बताइएको छ । स्थानीयवासीले बुढाका दम्पतीलाई हरेक सामाजिक क्रियाकलापमा अलग्याएर गाउँमा बस्न नदिएको बुढाले गुनासो गर्नुभयो ।

सामाजिक परम्पराअनुसार दलितले छोएकाले कुनै चीज वस्तु खानु हुदैन भन्ने मान्यतालाई तोड्नका लागि एक दलितको हातको पानी खाँदा आफ्नो दम्पती र नातिनातिनीसमेत गाउँबाट लखेटिएको बुढाले बताउनु भयो ।

दलितसँग सम्बन्ध राखेको भन्दै गाउँलेले कुटपिट गरी सामाजिक रुपमा अलग्याएको दम्पतीले बताएका छन् । गाउँलेबाट लेखेटिएपछि बुढा दम्पती जंगलको नजिकै एक सानो छाप्रो बनाएर बस्दै आएका छन् ।

आफूहरुलाई आफ्ना छोराले भेटेमा समेत उनीहरुलाई गाउँलेले कुटपिट गर्ने गरेको बुढाले बताउनुभयो । गाउँमा गएका थाहा पाएमा गाउँलेले धम्की दिँदै गाउँमा नआऊ भन्दै लखेट्ने गरेका छन् । बुढाका दम्पतीले नातिनातिनीलाई आफैँसँग राखेर निजी विद्यालयमा पढाउने गरेका छन् । हिमाली गाउँपालिकाका अध्यक्ष गोविन्दबहादुर मल्लले दम्पतीका परिवारलाई दुःख दिनेलाई कारबाही गर्ने प्रतिबद्धता जनाउनु भएको छ । अहिलेको युगमा पनि कुसंस्कार गर्ने जो कोहीलाई छुट नभएकाले यसका बारेमा यथार्थ बुझेर कारबाही गर्ने मल्लको भनाइ छ ।

गाउँपालिका अध्यक्ष मल्लले सोही वडाका वडा सदस्य वाचलाल बुढालाई गाउँमै यो समस्या मिलाएर दम्पतीलाई स–सम्मान गाउँको सामाजिक कार्यमा समावेश गर्न आग्रह गर्नुभएको छ ।

दलितसँग विवाह गरेकै कारण पिताको निधनमा काजकिरिया गराइदिने पुरोहितसम्म पाएनन्

विभेद बिरुद्ध अभियान- जेठ १३ , छिमेकीका घोचपेच सहनु त सामान्यै थियो । तर, पिताको काजकिरियामा समेत यो हदसम्म विभेद भोग्नुपर्ला भन्ने उनले सोचेकासम्म थिएनन् । अन्तरजातीय विवाह गरेकै कारण पथरी शनिश्चरे नगरपालिका ४ जराया टोलका २२ वर्षीय यादव श्रेष्ठले तीतो अनुभव सँगाले ।

गत जेठ १ गते उनका ६२ वर्षीय पिता धनबहादुरको निधन भयो । तर, यादवले न आफन्त र छरछिमेकको साथ पाए न त काजकिरिया टुंग्याइदिने पुरोहित ।

उनकी आमाको दुई वर्षअघि निधन भएको थियो । त्यति बेला निष्फिक्री उनीकहाँ आएर विधिविधान पूरा गरिदिएका गाउँका पुरोहित यसपालि टाढिए । लोकलाजका कारण मलामीसम्म पुगेका छिमेकीहरूले पनि काजकिरियामा सघाएनन् । आफ्नै समुदाय (नेवार) का व्यक्तिले गुभाजु खोजिदिन सक्थे । त्यो पनि गरिदिएनन् । छैटौं दिनसम्म पनि खौरिएको मुडुलो टाउको लिएर पुरोहितको प्रतीक्षामा थिए उनी । ‘यादवका नातागोता कोही नभएकाले होला, आफ्नै संस्कारले काजकिरिया गर्न खोज्दा पनि सघाउन कोही आएनन्,’ छिमेकी गोपाल ठटालले भने । आमाको निधनसँगै वृद्ध पिता र घर रेखदेख गर्न यादवले बिहे गर्नुपर्ने बाध्यता आइलाग्यो ।

उनले सँगै काम गर्दा मन पराएकी विश्वकर्मा थरकी केटी भित्र्याए । पिताले उनलाई बुहारी स्विकारे । छ महिनाअघि नाति जन्मिएपछि बाजे खुसी थिए । निम्न आर्थिक अवस्थाका धनबहादुर गाउँमै ज्यामी काम गर्थे भने यादव पथरी बजारमा सुनको गहना बनाउने काम गर्छन् । छुवाछूत प्रथा गलत हो भन्नेमा यादव सधैं अडिग रहे । त्यसै कारण दलित समुदायकी केटीसँग बिहे गर्न कुनै अप्ठेरो मानेनन् । तर, त्यही कारण समाजले यतिसम्म हेला गर्ला भन्ने नलागेको उनी बताउँछन् । भन्छन्, ‘मैले मन पराएकीसँग बिहे गरेर केही बिराएको छुइनँ ।’

यादव काजकिरिया अघि बढाउन नपाएर छट्पटाइरहँदा स्थानीय जनप्रतिनिधिसमेत सोधपुछ गर्न आएनन् । बरु घटनाबारे सुनेपछि धरानबाट ब्राह्मण समाज र विश्वकर्मा कल्याण समाजको टोली उनलाई सघाउन पुगेको छ । उनीहरूले बिहीबार काजकिरियास्थलमै भेला आयोजना गरे । त्यहाँ उनीहरूले छुवाछूतको यति ठूलो घटना हुँदा पनि नगरपालिका तथा वडाका जनप्रतिनिधि गैरजिम्मेवार भएर बसेको भन्दै वडाध्यक्ष गोविन्दबहादुर भण्डारीलाई आक्रोश व्यक्त गरे । भण्डारी भने आर्थिक सहयोगबाहेक छुवाछूतजन्य भेदभावमा नगरपालिका, वडा समितिका जनप्रतिनिधिको कुनै भूमिका नहुने भन्दै पन्छिए । उनले कार्यव्यस्तताका कारण आफू उपस्थित हुन नसकेको बताए । ‘म यहाँ नआए पनि काजकिरिया गर्न नपाएको बुझेर पण्डितहरूसँग छलफल गरेको हुँ तर कसैले आउन मानेनन्,’ उनले भने ।
पुरोहितहरूले काजकिरियामै छुवाछूत गरेपछि यादव पीडामा रहेको तत्कालीन शनिश्चरे गाविसका पूर्ववडाध्यक्ष मानबहादुर विश्वकर्माले छैटौं दिन थाहा पाए । त्यसपछि उनले समुदायको पहलमा विश्वकर्मा कल्याण समाजमार्फत ब्राह्मण समाज नेपाल, सुनसरी शाखालाई पत्राचार गरे । त्यसमा काजकिरियाका लागि पुरोहित जुटाइदिन आग्रह गरिएको थियो । अहिले इटहरी बस्दै आएका उनले भने, ‘छुवाछूतको यत्रो ठूलो घटनामा नगरपालिका जनप्रतिनिधि मौन बस्नुको अर्थ स्थानीय सरकारले नै छुवाछूतलाई संरक्षण गरेको बुझिन्छ ।’ब्राह्मण समाजका केन्द्रीय सदस्य तथा जिल्ला अध्यक्ष उद्धवप्रसाद अधिकारीले भने, ‘अन्तरजातीय विवाहका कारण काजकिरियामै छुवाछूत भएको लिखित पत्र आएपछि रातारात बैठक बसी पुरोहित जुटाउनतिर लाग्यौं ।’ समाजकै पहलमा केन्द्रीय उपाध्यक्ष दमकनिवासी डिल्लीराम उप्रेती अवरुद्ध काजकिरिया विधिपूर्वक सम्पन्न गर्न अघि सरे । यति बेला यादवका पिताको निधन भएको आठ दिन बितिसकेको थियो ।

‘हिन्दु धर्मका कुनै पनि शास्त्रमा जातिपाती, छुवाछूतको कुरा उल्लेख छैन, धर्मावलम्बी सबै समान हुन्, सबैले वैदिक संस्कार अनुसार काजकिरिया लगायत अनुष्ठान गर्न पाउनुपर्छ,’ उप्रेतीले भने । उनले आफू पेसागत रूपमा पुरोहित नभएको तर हिन्दु धर्मका नाममा ठेकेदारी चलाउनेहरूलाई चुनौती दिन छुवाछूतविरुद्ध आन्दोलनमा होमिएको बताए । समाजको निर्णयअनुसार सुरुमा आएका एक पण्डित भने भोलिपल्टदेखि आउनै छाडे । ‘उहाँलाई यतैबाट कसैले फोन गरेर धम्की दिएकाले भोलिपल्टदेखि नआएको हुन सक्छ,’ उप्रेतीले भने, ‘तर यसबारे सोध्दा उहाँले अरु नै बहाना बनाउनुभयो ।’ यसैबीच भेलामा ब्राह्मण समाजले पीडित श्रेष्ठ परिवारलाई काजकिरियाका लागि १० हजार रुपैयाँ प्रदान गर्‍यो । साथै समाजका केन्द्रीय उपाध्यक्ष उप्रेतीले काजकिरिया उतारेपछि परम्परागत रूपमा पुरोहितहरूले लिँदै आएको कुनै पनि किसिमको दान, दक्षिणा नलिएर सघाउने घोषणा गरेका कान्तिपुरमा खबर छ ।

म फूल बोकौँ कि कालो झण्डा ? - मोहन काजी

विभेद बिरुद्ध अभियान- जेठ १३ , 
आदरणीय गुरु लक्ष्मीप्रसाद खतिवडाज्यू,
एक साता यता भद्रपुरको श्रीकृष्ण द्वैपायन गुरुकुल वेद विद्याश्रममा ताला लागेको छ । विद्यार्थीहरुको पठनपाठन अनिश्चित भएको छ । शिक्षा प्रदान गर्ने मन्दिरमा दिनहुँजसो घन्किने नाराबाजीले त्यहाँभित्र द्वन्द्व मडारिरहेको छ भन्ने सहजै अनुमान लगाउन सकिन्छ ।

द्वन्द्वको यो अग्नी समनका लागि भलै प्रयासहरु नभएका होइनन् । तथापि तपाइँले विवेकशील भएर निर्णय लिनु भयो भने द्वन्द्व निभेर शान्ति फर्किन कुनै अबेर हुने छैन भन्ने मेरो दृढ विश्वास भएकाले यो अनुरोध पत्र लेखेको हुँ ।
गुरुकुलमा आवासीय भर्ना गर्न ल्याइएका इलाम–५, बरबोटेका ८ वर्षीय विकास कार्की डोलीलाई अबिलम्ब भर्ना स्वीकार गर्नु होस् ।

दुनियाँले के थाहा पाइसकेको छ भने गुरुकुलले ती अनाथ बालकलाई जातीय विभेद गरेर भर्ना लिन अस्वीकार गरेको हो ।
आजको युगमा शिक्षा प्राप्त गर्ने मामिलामा कसैले जातको आधारमा विभेद गर्छ भने त्यो किमार्थ मान्य हुने छैन ।
बालक भर्ना हुन यही गुरुकुलमा किन आएको भन्ने प्रश्नतिर नअल्मलिनु होस् । आफ्नो धर्म, संस्कृति र परम्परा मान्ने अधिकारमाथि हनन भयो भन्ने भ्रामक अडान नलिनु होस् ।जातको आधारमा, कुलको आधारमा, जन्मको आधारमा र छालाको रङको आधारमा विभेद गर्ने काम धर्म होइन, सोझो अधर्म हो ।

गुरुकुल नेउपाने, अधिकारी, दाहाल, खतिवडा, चापागाइँ आदि तथाकथित उच्च जातका मान्छेलाई मात्र पढाउने ठाउँ हो भन्न तपाइँहरुलाई शोभा दिदैन । त्यहाँ पोर्तेल, मग्राती, ठटाल, गजमेर, डोली, चमार आदि जातका मान्छेले पनि सम्मानपूर्वक पढ्न पाउनु पर्छ ।

हिन्दू धर्म र संस्कृति धरतीकै पुरानोमध्येको मानव सभ्यताको श्रृङ्खला हो । तपाईले मान्ने, मैले मान्ने र विकास कार्की डोलीले मान्ने गरेको धर्म उही हो, हिन्दू नै हो ।

मेरो प्रश्न छ–तपाई र मेरो छोराहरुले पढ्न पाउने गुरुकुलमा अनाथ विकास कार्की डोलीले पढ्न किन नपाउने ?
के तपाई विकास कार्की डोलीलाई मान्छे मान्नु हुन्न ? मान्नु हुन्छ भने उसलाई गुरुकुलमा बसेर अरुहरु जस्तै पढ्ने अवसर सहर्ष प्रदान गर्नु होस् ।

धुलावारीको इस्ट होराइजन अङ्ग्रेजी आवासीय मावि, चन्द्रगढीको वीरेन्द्र माध्यमिक विद्यालय, टाघनडुब्बाको मदरसा र भद्रपुरको श्रीकृष्ण द्वैपायन गुरुकुल वेद विद्याश्रममा के समानता छ र के अन्तर छ ?मेरो विचारमा चाहे निजी स्रोतबाट चलुन्, चाहे सरकारी स्रोतबाट, ती सबै सार्वजनिक विद्यालय नै हुन् । ज्ञानगुण सिकाउने विद्यालय जस्तो पवित्र मन्दिरभित्र जातीय विभेद हुनु भनेको लज्जाको विषय हो ।

तपाई झापा जिल्लाको एक जना विद्वान धार्मिक व्यक्तित्व हो । तपाईको दृष्टिकोणलाई धेरैले श्रद्धाको नजरले मूल्याङ्कन गर्छन् । तपाईमाथि नै आज विभेदकारी बनेको आरोप लागेको छ ।

कानूनी पाटो तपाइँले राख्दै आएको अडानको ठिक विपरीत छ । आजको सामाजिक चेतना विभेदको विपक्षमा उभिन्छ । तपाई मात्र किन यसरी विभेदको पक्षमा उभिनु भएको होला भनेर म चकित छु ।

जातभात कुनै संस्कृति नै होइन, यो त विकृति हो । धर्म र संस्कारमा भएका कमजोरीहरु सुधार गर्न नसक्दा नै आज हिन्दु धर्म परिवर्तन गर्नेहरु बढेका छन् । गुरुकुल एउटा विद्यालय नै हो । विद्यालयमा पढ्न पनि नपाउने अवस्था सिर्जना गर्दा के हिन्दु धर्मप्रति सकारात्मक सन्देश जान्छ ? तपाई गम्भीर भएर सोच्नुहोस् र गुरुकुलमा भएको जातीय विभेदको आफै अग्रसर बनेर अन्त्य गर्नुहोस् ।

निश्चय नै हिजोका द्वन्द्वकालीन अवस्थामा गुरुकुल बन्द गराउन आक्रमण भए । संस्कृत पढ्न र पढाउन नदिने उर्दी जारी गरिए । त्यसबेला हामी बन्दकर्ताको पक्षमा उभिएनौँ । हजारौँ वर्ष पुरानो संस्कृत भाषाको रक्षाको पक्षमा उभिएका हामी जातीय विभेदको पक्षमा चाहिँ लागेका होइनौँ ।

भाषाहरुको माउ हो संस्कृत । गुरुकुलहरु संस्कृत भाषा पढाउने विशेष विद्यालय हुन् । त्यसलाई विभेद जन्माउने कारखाना बनाउन खोज्दा समस्या निम्तिन्छ । निम्तियो ।

म यतिबेला अर्जुनधारा जलेश्वर धामका स्व. व्यासाचार्य पुष्पलाल निरौलालाई सम्झिरहेको छु । उहाँसँग बैदिक धर्म र संस्कृतिका बारेमा अनेकन पटक भलाकुसारी भए । उहाँले कहिल्यै पनि जातीय विभेद गर्नु भएन र हिन्दु धर्मले विभेद गर्न भनेको छैन भनिरहनु हुन्थ्यो ।

अहिले तपाइँहरुले गुरुकुलमा जसलाई जातीय कारणले भर्ना लिन अस्वीकार गरिरहनु भएको छ, पुराण बाचन गर्दा उहाँले तिनै जातिहरुलाई सँगै राख्नु भएको हामीले देखेका छौँ ।

नेपालका एकीकरणकर्ता पृथ्वीनारायण शाहले बिसे नगर्चीको सल्लाह लिन्थे भन्ने हामीले इतिहासमा पढेका छौँ । त्यसबेला पृथ्वीनारायण शाहले नगर्चीबाटै ज्ञान लिएका रहेछन् ।

शासक बंश र धर्मका ठेकेदारहरुले आफ्नो स्वार्थ अनुरुप धर्मको अपव्याख्या गर्दै आएका छन् । जातीय विभेद त्यस्तै एक प्रकारको पाखण्ड हो ।

शास्त्रहरु एउटा कालखण्डका मान्छेले बनाएका कानून जस्तै हुन् । समय फेरिदा कानून संशोधन हुन्छन् । कुनै कालखण्डमा कुनै शासकलाई केही मान्छेलाई दमन गर्नु थियो होला, त्यही भएर उसले कसै कसैलाई पानी नचल्ने भनिदियो ।

सबै परम्परा मान्नै पर्छ भन्ने छैन । हिन्दु धर्मकै एउटा अंश जस्तै थियो सतिप्रथा । सतिप्रथाका नाममा हाम्रा कति माताहरुले अनाहकमा आगोमा पोलिएर ज्यान गुमाउनु पर्यो । म तपाइँलाई विनम्रतापूर्वक सोध्न चाहन्छु–के सतिप्रथा ठिक थियो भन्न सक्नु हुन्छ ?

आजको दिनमा तपाइँलाई सबैले हिन्दु धर्म संरक्षकको रुपमा मानेका छन् । गुरुकुलमा जातीय विभेद भएको विषयमा अब विवाद लम्बिन नदिनका लागि तपाइँले नै ठोस अग्रसरता लिन आवश्यक देखिन्छ ।

भनिदिनु होस्–‘गुरुकुल एउटा विद्यालय हो, यहाँ हिजो के थियो के थिएन त्यता नजाऔँ, अबदेखि जातीय आधारमा कसैमाथि विभेद हुँदैन ।’

भनिदिनु होस्–‘आउ विकास कार्की डोली, श्रीकृष्ण द्वैपायन गुरुकुल वेद विद्याश्रमले तिमीलाई विद्यार्थीको रुपमा भर्ना स्वीकार गर्दछ ।’

भनिदिनु होस्–‘गुरुकुलहरुमा जातका आधारमा मात्र होइन, लैङ्गिक आधारमा पनि विभेद हुने छैन, पढ्न आउने छोरीहरुलाई पनि हार्दिक स्वागत छ ।’

यति भनिदिने र गरिदिने हो भने अहिलेका विवाद साम्य हुने छ । इतिहासले तपाईलाई सुधारकको रुपमा अमर बनाउने छ । म आग्रह गर्दछु–हिन्दु धर्मको नाममा मान्छे–मान्छेविच विभेद गर्ने सबै कुसंस्कार हटाउन योगदान दिनुहोस् ।
अब अलिकति आन्दोलनकारीको विषयमा भन्न मन लागेको छ ।

गुरुकुलमा जातीय विभेद भएको घटनाको विरोध हुनु पथ्र्यो, भयो पनि । तर, विरोधका लागि केही असङ्गत शैलीहरु पनि प्रयोग भइरहेका छन् । जो आवश्यक थिएनन् ।

अहिले स्थानीय, प्रदेश र सङ्घीय गरी तीन तहको सरकार गठन भइसकेको छ । कानूनले जातीय विभेद गर्नेलाई दण्डित गर्ने व्यवस्था गरेको छ । यस्तो परिस्थितिमा तालाबन्दी र नाराजुलुसमा उत्रिहाल्नु पर्ने थिएन ।

हिजो पो कानून नै विभेदकारी थियो होला । सरकारहरु विभेदकारी थिए होलान् । भद्रपुर नगरपालिकामा स्थानीय सरकार छ । आफ्नो नगरमा जातीय विभेद भइरहेको भन्ने थाहा पाएपछि नगर सरकारले विभेद अन्त्य गराउन छिटो पहल गर्नु पथ्र्यो ।

अहिले देशको प्रधानमन्त्री झापाकै । प्रदेशको गृहमन्त्री झापाकै । के प्रधानमन्त्री र गृहमन्त्रीले विभेद अन्त्यका लागि कानूनी कदम चाल्न सक्दैनन् ? के गुरुकुलमा ताला बोकेर जानेहरुलाई देशको कानून, प्रधानमन्त्री र गृहमन्त्रीमाथि अविश्वास भएको हो ?

लोकतान्त्रिक प्रणालीमा कानूनभन्दा माथि कोही हुँदैन । हिजो नामका अघि पाँच वटा श्री लगाएर आफैलाई बक्सियोस् भन्दै हुकुम गर्ने कथित महाराजाहरु एउटै कानूनले नागरिक बनेका छन् । ताला बोकेर जानु अघि संविधानको धारा र कानूनको दफा बोकेर हिड्नु पथ्र्यो आन्दोलनकारीहरुले । स्थानीय सरकारको कार्यपालिकामा मन्त्री जस्तै पदमा बसेकाहरु पनि गुरुकुलमा ताला लगाउन पुगेको देखियो । आफै सरकार र आफै आन्दोलनकारी बनेको चाहिँ सुहाएको छैन ।
निष्कर्षमा मलाई के भन्न मन लागेको छ भने तालाबन्दी गर्नु पर्ने परिस्थितिको जन्म विभेदका कारण नै भएको हो । गुरुकुलले विभेद नगरेको भए आन्दोलन, तालाबन्दी र उजुरबाजुरको अवस्था आउने थिएन ।

शदीयौँदेखि विभेदमा परेका समुदायसँग आक्रोश छ, स्वाभाविक हो । हामी ती विभेदमा परेका जातिहरुको ठाउँमा आफुलाई राखेर सोचौँ त, कस्तो हुँदोरहेछ ? कुकुर र विरालालाई चुल्हो र ओछ्यानमा पुर्याउने एउटा जातिले अर्को जातिलाई दैलोबाटै भित्र छिर्न दिएको छैन भने र छोएको पानी समेत खाँदैन भने कसरी सहने ? कतिञ्जेल सहने ? पीडित समुदायको तर्फबाट आक्रोश व्यक्त हुनु स्वाभाविक छ ।

आदरणीय लक्ष्मीप्रसाद खतिवडा गुरु,
म गुरुकुलमा भएको जातीय विभेदको घटनामा तपाईको धारणाको पक्षमा छैन । विभेद अन्त्यको विषय उत्पीडित जाति र समुदायको मात्र सरोकारको सवाल होइन । आफ्नै घर आँगनमा यत्रो विभेदको अमानवीय घटना भइरहँदा एउटा न्यायप्रेमी मान्छेको नाताले म चुप बस्न सक्दिन, सकिन ।

आशा छ, तपाईले मेरो पत्रलाई सद्भावपूर्वक ग्रहण गर्नु हुने छ । विभेद अन्त्यको अग्रसरता लिनु भयो भने म तपाइँप्रति आभार व्यक्त गर्न फूलको माला लिएर आउने छु । नत्र मै पनि गुरुकुलको ढोकामा कालो झण्डा फहराउन आउन बाध्य हुने छु ।

तपाईको शुभेच्छुक,
मोहन काजी

लोकान्तर पोस्ट बाट साभार 

Saturday, May 26, 2018

यी ओवध बालकको पेटको प्वालबाटै खस्छ दिसा तर उपाचार गर्न बाबुआमासंग रकम छैन

विभेद बिरुद्ध अभियान - जेष्ठ १२ - मानिसको सुरुवात कहिले र कसरी भयो भन्ने कुरा छुट्टै बहसको पाटो होला, तर प्राकृतिक रूपमा संसारमा विभिन्न प्रकारका मानिस भेटिन्छन् । कतिपय जन्मपश्चात् विभिन्न समस्याबाट ग्रसित हुन्छन् भने कतिपय मानिसलाई जन्मनुभन्दा पहिले नै प्रकृतिले नै ठगेको हुन्छ । यस्तै प्रकृतिले ठगीएका एक बालक बागलुङ जिल्लाको बढिगाड गाउँपालिका – ४ नौतुवामा एक अनौठो बालक जन्मिएका छन् । हेर्दा लाग्न सक्छ सबै प्रकारले सबल छ । उसको शरीरमा कुनै खोट छैन आँखा , हात खुट्टा सबै ठिक छन् । उसको हेराई पनि ठिक छ । वैशाख १९ गते आमा जुन सुनार र बाबु कृष्ण सुनारको कोखबाट जन्मिएका छोराको न्वारान पनि भएको छैन । बुबाआमाले ठुलै समस्या झेल्नु पर्‍यो । जन्मिएको ७ औँ दिनमा न्वारान गरिदिने बाबुआमा सोचिरहेका थिए । बच्चा जन्मिएको २ दिन भएकोे थियो बच्चाले आमाको दूध पनि राम्रै चुसीरहेकै थियो ।

लामो समय पछि छोरा जन्मियो भनेर एकातिर परिवारमा खुसी छाएको थियो । समाजका आफन्त भेट्न पनि आइरहेका थिए । बधाईपनि दिए उस्तै , परिवारमा एक किसिमको खुसीको लर्को चल्यो । त्यो खुसीको लर्काे भने धेरै दिन टिकेन । मान्छे जन्मेपछि एक दिन मर्ने पर्ने हुन्छ तर, यहाँ जन्मे पनि मरे सरह भएको भन्दै आमा बुबा भकानिएर रुन्छन् ।

आमाबुवाले न्वारान पनि गरिनसकेका छोरा झट्ट हेर्दा हेरिरहरु जस्तो लागिरहने संसार देखेकोे २ दिन भयो । त्यो सँगै बच्चाको पेट पनि पहिलेको भन्दा ठुलो हुँदै गएको थियो २ दिनको मध्येरातीबाट बच्चाले आँखा नै हेर्ने छोडयो ।

रातीको समयमा आमाको मन न हो बच्चा हेर्दै रोइरहिन् तर पनि बच्चाले आँखा हेरेन । बिहान भयो सबै मान्छे जम्मा भए बच्चा हेर्दा बच्चाले आँखा बन्द गरिरहेको थियो तर मुटुको घड्कन चलिरहेको थियो । बच्चाको पेट पनि टम्म भइसकेको थियोे ।

जन्मेपछि एक पटकपनि बच्चा दिशा गरेको छैन, हिजो साँझबाट दुधपनि खाएको छैन कोखमै च्यापेर बसेकी आमा भन्छिन् । सबै गाउँका मान्छेहरू पनि जम्मा भए सबैको सल्लाहमा बच्चा हस्पिटल पुर्‍याइयो । दलित परिवारको गरिब परिवारमा जन्मिएका ती ओवध बालक, बाबुआमालाई पैसा जुटाउन कति मुस्किल परेको होला ? बुबाआमाले जेनतेन पाल्पा लगी अस्पतालमा भर्ना पनि गरे। सुत्केरी भएको बेला घरमै बसेर मिठो मसिनो खानेबेला आमा बच्चाको कारणले क्षितबिक्षत भइन ।उनीहरूलाई थाहाँ नै थिएन् के कारण बच्चा किन सुतिरह्यो दूध पनि खादैन् भन्ने,डाक्टरले जाँचे दुर्भाग्य बच्चाको दिसा आउने प्वालनै रहन्छ ।

झन् बुबाआमालाई पीरलो बढ्यो । के कसरी बचाउन सकिन्छ भन्ने तर्फ लागे, बाबु आमा । त्यो दिन रातनै प¥यो अब बचाउन सकिएन भन्ने पिर थियो । राती मरेपछि घरै फर्काएर उतै बच्चाको सतगत गरौँला भन्ने सोचिरहे।  त्यो रात होटेलमै बसे तर बिहान सबेरै बच्चा रोयो । बच्चा रोएपछि हतारिदै अब यो बाच्न चाहेको रहेछ भन्दै, १२ हजारमा गाडी रिर्जव गरी काठमाडौँ ल्याए । काठमाडौँमा कोही चिनेजानेका थिएनन् । उनीहरूसँग भने जति पनि पैसा थिएन् ।

पाल्पाकै डाक्टरको सल्लाह मानेर कान्तिवाल अस्पतालमा पुर्याए।डाक्टरले चेकजाच गरे यस्तो खालको बिरामी आफू कहाँ खासै नआएको प्रतिउत्तर दिए । तैपनि बच्चालाई बचाउन प्रयास गर्ने आश्वासन दिए । बच्चाको अखिर दिसा गर्ने ठाँउको अप्रेसन नभई उसलाई बचाउन पेटमा नै प्वाल पारि दिसा निस्कने गराइयो ।

बाँच्ला भन्ने सोचेका थिएनौँ

४ दिन सम्म आइसीयुमा राखियो बच्चा आमाले डाक्टरलाई किन यस्तो भयो भनि प्रश्न सोधिन् बच्चाको दिसा आउने आन्द्रा नै दिसा गर्ने प्वाल सम्म नआएकाले बच्चाको पेटबाट दिसा आउने गरि अप्रेसन गरिदिएको डाक्टरले बताइदिए ।बच्चाको अप्रेसन त ,भयो डाक्टरले बच्चाको फेरी अप्रेसन एक हप्तापछि गर्ने भनेपछि उनीहरु पैसा अभावकै कारण काठमाडौं छाडेर दुधेबालक लिएर पेटबाट दिसा चुहाउदै घर पुगेका छन् । बच्चाकी आमा जुनु भन्छिन् बच्चा बचाउन सकिन्न कि भन्ने चिन्ता थियो तर अहिले सबैको प्रयासले बच्चा बच्यो । ३ चोटी बच्चाको अप्रेसन गनुपर्ने डाक्टरले भन्नुभएको छ ।

 पैसाको जोहो पनि गर्नैप¥यो त्यसैले घर आएका छौँ ।  उनले भन्छिन् दुखको बेला वडा अध्यक्षले समेत आर्थिक अवस्था कम्जोर भएको भनि सिफारिस नदिएको भन्दै गुनासो गरिन् । यसरी पेटबाटै दिसा गरिरहने नाम पनि नभएका बच्चालाई डाक्टरले ३ पटक अप्रेसन गनर्’पर्ने भने पछि परिवारमा थप आर्थिक समस्या देखिएको छ बच्चा अहिले पेटकै एक कुनाको प्वालबाटै दिसा गरिरहेको छ ।  अहिले यसरी बच्चाको पेटको कुनै कुनाबाट यसरी दिसा गर्ने भएपनि पछिका दिनमा कति अप्ठ्यारो होला ? यस्तो मनर्’न बाच्नुको दोसाधमा रहेका बालकलाई तपाई र अहिलेको बलियो सरकारले उचित सहयोग गर्नुपर्ने देखिन्छ ।-विमल खड्का, टिभी अन्नपुर्ण

Friday, May 25, 2018

शिक्षामा दलित बालबालिकाको विद्यमान अवस्था - रुपराम तिरुवा

विभेद बिरुद्ध अभियान - जेष्ठ ११- नेपाली दलित आर्थिक, राजनीतिक, सामाजिक, सांस्कृतिक र धार्मिक रूपमा अत्यन्तै पछाडि पारिएको समुदाय हो । दलित समुदायले ऐतिहासिक रूपमै शिक्षामा बहिष्करण व्यहोर्दै आएका कारण आज पनि उनीहरूको शैक्षिक स्थिति नेपालका अन्य जातीय समुदायको तुलनामा सबैभन्दा कमजोर रहेको छ ।

दलितहरूको शैक्षिक अवस्था यथास्थितिमा रहनु र सन्तोषजनक सुधार नहुनुमा गरीबी, जातीय विभेद, भौगोलिक कठिनाई, न्यून राजनीतिक प्रतिनिधित्व, न्यून दलित शिक्षक/शिक्षिका, चेतनाको अभाव, शिक्षित दलितहरूको गैर–उत्तरदायित्व, प्रभावहीन सरकारी नीति नियमहरू र तीनका कमजोर कार्यान्वयन पक्षजस्ता अनगिन्ती बाधाहरू छन्, जुन एकअर्काप्रति अन्योन्याश्रित रूपमा गाँसिएका छन् ।

विद्यालयमा दलित बालबालिकाको कम सहभागिताका पछाडि मुख्य कारणका रूपमा आर्थिक सामाजिक हैसियत, पृथकीकरण, सामाजिक बहिष्करण, शारीरिक हिंसा आदि रहेका छन् । यी कारण सबै माथिल्ला शैक्षिक तहमा पुगेपछि बढ्दै जान्छन् र असहयोगी विद्यालय वातावरणले तिनलाई मलजल गरेको हुन्छ ।

गरीबी
दलित समुदायको आर्थिक अवस्था दयनीय रहेको छ । सन् २०१०/११ को नेपाल जीवनस्तर सर्भेक्षण तेस्रोका अनुसार नेपालको गरीबीको रेखामुनि रहनेको संख्या २५.१६ प्रतिशतमा झरे तापनि ४१ प्रतिशत दलित समुदाय गरीबीको रेखामुनी रहेका छन् । पहाडी दलित समुदायमा गरीबीको प्रतिशत ४२.४ प्रतिशत र तराई दलित समुदायको ४०.२ प्रतिशत रहेको छ ।

ज्यादै न्यून संख्यामा सरकारी जागिरमा समावेश भएका छन् । उद्योग धन्दामा लाग्ने अवसरबाट वञ्चित पारिएको छ । दलित समुदायको परम्परागत पेशामा पनि प्रविधि, निजीकरण र विश्वव्यापीकरणले निकै असर पारेको छ । दलितजस्ता सामाजिक रूपमा पिछडिएका जाति–समूहको गरीबी बढिरहेको छ भने यस्ता समूहका धैरैजसो बालबालिकाले शिक्षा प्राप्त गर्नमा व्यवधान भोगिरहेका छन् ।

गरीबीकै कारणले गर्दा अधिकतम संख्यामा बालमजदुरहरू दलित समुदायबाटै आएको तथ्य फेला पारेको छ । २० प्रतिशतभन्दा कम जनसंख्या भएका समुदाय भएतापनि दलित समुदायबाट ६० प्रतिशतभन्दा बढी बालमजदुरहरू सूचिवद्ध गरिएको सर्वेक्षणमा देखिएको छ (समता फाउन्डेसन २०१५) ।

जातीय भेदभाव
शिक्षा विभागका अनुसार विद्यार्थीहरूले बीचैमा विद्यालय छाड्नुको मुख्य २ कारणहरूमा शिक्षाको महत्वबारे अभिभावकमा चेतनाको अभाव तथा विद्यालयमा शिक्षक र साथीहरूबाट हुने दुव्र्यवहार हुन् । विद्यालयमा दलित विद्यार्थीप्रति शिक्षकले बेवास्ता गर्ने, दोहोर्‍याएर आरोप लगाउने र दलित विद्यार्थीलाई पढाईमा कमजोर भनी अंकित गर्नेजस्ता अप्रत्यक्ष भेदभाव गर्ने गरिएका छन् ।

मेरो विद्यालय अनुगमनका क्रममा शिक्षकबाट सुन्ने प्राथमिकताको विषय यही हो । जसले अप्रत्यक्ष रुपमा मनोवैज्ञानिक तवरले दलित बालबालिकामा प्रभाव परेको देखिन्छ । यसका साथै दलित बालबालिकाले सामान्यतया आफ्नै कक्षाका कथित माथिल्लो जातका साथीका साथै समुदायका सदस्यबाट समेत भेदभावपूर्ण व्यवहार भोग्दछन् ।

समाजमा दलितलाई शिक्षा दिनु भनेको व्यर्थ र खतरा हो भन्ने सोच अझै निमिट्यान्न हुन सकेको छैन । सामान्यतया दलितहरू शिक्षित हुन असक्षम हुन्छन् र शिक्षित दलितहरूले ग्रामीण समाजको संरचना र असमान शक्ति सम्बन्ध उपर हाँक दिन्छन् भन्ने कथित माथिल्लो जातका मानिसको बुझाइ यथावतै रहेको पाइन्छ ।

विद्यालयमा जातपातमा आधारित विभेद विविध स्वरूपमा अभ्यास गरिन्छन् । अहिले पनि विद्यालयमा दिउँसोको खाजामा भेदभाव, पूजा र प्रार्थनाबाट बहिष्करण, खानेपानीको पहुँचमा भेदभाव, व्यवहारिक पाककक्षाबाट निष्कासन, दलित विद्यार्थीविरूद्ध शिक्षकबाट अपमानजनक भाषाको प्रयोग, छात्राबासमा भेदभाव, छात्रवृत्तिको दुरूपयोग, मानसिक यातना र परीक्षामा कम अंक दिने लगायतका जातीय भेदभावका अभ्यासहरू गरिन्छन् ।

समावेशीकरण सिद्वान्तप्रति सरकारले प्रतिवद्धता जनाउँदा–जनाउँदै पनि विद्यालयमा दलित शिक्षकको संख्या बढेको छैन । सन् २०१२ मा प्राथमिक, निम्न माध्यमिक र माध्यमिक तहमा दलित शिक्षकको अनुपात क्रमशः ४.५ प्रतिशत, २.९ प्रतिशत र ३.६ प्रतिशत रहेको थियो (शिक्षा विभाग २०११) ।

दलित समुदायको शिक्षक पेशामा कम उपस्थितिले पनि दलित समुदायका बालबालिकाहरू र विद्यालयको सामाजिक दूरी बढ्न गएको छ । पढेका दलितहरू पनि अवसरबाट वञ्चित हुनु पर्दा रोल मोडल बन्न सकेका छैनन् । नवौं पञ्चवर्षीय योजनामा सरकारले १ विद्यालय, १ दलित शिक्षकको अवधारणा अघि सारेको थियो । तर, सरकारको यो नीति कहिल्यै लागू भएन ।

लागू भएको भए करिब ८ हजारभन्दा बढी दलितले रोजगारी पाउनुका साथै रोल मोडलको रूपमा दलित समुदायमा आफ्नो भूमिका निर्वाह गर्न सक्थे । यसका साथै पाठ्यक्रममा समेत दलित समुदायबारे विभिन्न ढंगले भेदभावपूर्ण चित्रण गरिएको पाइएको छ । दलित समुदायका समाज सुधारक, वैज्ञानिक, ऐतिहासिक व्यक्तित्व, कलाकार र राजनीति नेताहरूको जीवनी पाठ्यक्रममा अहिलेसम्म समावेश भएको पाँईदैन ।

हालका पाठ्यक्रममा वर्ण व्यवस्था र जातीय भेदभाव तथा छुवाछुतको विपक्षमा कुनै सामाग्रीहरू समावेश नहुँदा बालबालिकामा जातीय विभेद र छुवाछुत गर्नु मानवता विरोधी जघन्य अपराध हो भन्ने ज्ञानको साटो दलितहरू दोस्रो दर्जाका मानिसहरू हुन् भन्ने विभेदपूर्ण संस्कारले घर बनाइराख्ने सम्भावना रहन्छ । यी सबै क्रियाकलापका कारण विद्यालयमा दलित विद्यार्थी सामाजिक बहिष्करणको शिकार हुने गरेका छन् ।

यसको परिणाम स्वरूप उनीहरू कक्षामा अनियमित उपस्थित हुने, अध्ययनमा कमजोर प्रदर्शन हुने, कक्षाकोठा भित्र र बाहिरका क्रियाकलापमा कम सहभागी हुने, सिकाइ उपलब्धी न्यून हुने तथा अध्ययनबीचैमा छाड्ने समस्या आउने गरेको पाइन्छ । अर्को शब्दमा भन्दा यस्ता भेदभावका चुनौती सामना गरी जातभातजन्य शत्रुतापूर्ण वातावरणमा शिक्षालाई निरन्तरता दिने थोरै दलित विद्यार्थीहरू मात्र हुन्छन् ।

भौगोलिक कठिनाइ
हाम्रो समाजको सामाजिक संरचनामा दलित बस्तीहरू समुदायको मुख्य बस्तीभन्दा टाढा रहने गरेको छ । धरैजसो दलित बस्तीमा विद्यालय स्थापना भएका छैनन् । आफ्नो बस्तीदेखि धेरै टाढा भएको कारणले पनि दलित बालबालिका विद्यालय जान सकेका छैनन् । कतिपय अवस्थामा सामाजिक पहुँचको आधारमा विद्यालयहरू धेरै घरपरिवार भएको दलित बस्तीमा निर्माण नगरी थोरै घरपरिवार भएका गैरदलित बस्तीहरूमा निर्माण गरिएको हुन्छन । जनसंख्या र सामाजिक संरचनाको आधारमा विद्यालय नक्साङ्कन गर्न सकिएको छैन । यस्तो भौगोलिक कठिनाइले विशेष गरी बालिकाको सुरक्षा चासोलाई समेत बढाएको छ ।

न्यून राजनीतिक प्रतिनिधित्व
विगतको तथ्याङ्कले गाउँ, जिल्ला र राष्ट्रिय तहको राजनीतिक प्रक्रियामा दलितको सहभागिता र सरकारमा प्रतिनिधित्व उनीहरूको जनसंख्याको तुलनामा नगन्य मात्रै भएको छ । राजनीतिमा दलितको न्यून प्रतिनिधित्व हुनुको मुख्य कारण राजनीतिक दलमा कथित उच्च जातको सर्वाधिक नियन्त्रण हुनु, छुवाछुत र जातीय भेदभाव अन्त्य गर्न र दलितको सहभागिता र प्रतिनिधित्व बढाउन राजनीतिक दलहरूबाट पर्याप्त मात्रा पहल नहुनु तथा सबैजसो राजनीतिक संस्थामा बाहुनवादी चिन्तन हावी हुनु हो ।

सामाजिक–आर्थिक पृष्ठभूमि र संरचनागत बाधा व्यवधानले गर्दा नै दलित नेताहरूलाई आफ्ना दलभित्र प्रभावकारी र प्रभावशाली बन्नमा बाधा पुगेको छ । दलित विरोधी राजनीतिक भेदभावले दलित समुदायको लागि शिक्षाको विकास गर्न नीति निर्णयमा दलित नेतृत्वले प्रभाव पार्न सक्ने सम्भावनालाई असर पारेको छ ।

समग्रमा आर्थिक कठिनाइ तथा राजनीतिक–सामाजिक बहिष्करणले शिक्षा क्षेत्रमा दलितको न्यून सहभागितालाई निरन्तरता दिन्छन् । संरचनागत उत्पीडनले दलितहरूमा हीनताबोधलाई मलजल गर्दछ, जसले विद्यालय लगायतका सार्वजनिक सेवामा पहुँच स्थापित गर्न र तिनको उपभोग गर्नबाट रोक्दछ । गरीबीले दलित समुदायबाट गुणस्तरीय शिक्षा पाउने अधिकार कम उमेरमै खोसेर लिन्छ नै, शैक्षिक अध्ययन पूरा गर्नबाट समेत वञ्चित गर्छ ।

जातीय भेदभावमा आधारित विविध र बहुचक्रीय वञ्चितीकरण तथा प्रणालीगत कमी कमजोरीकै परिणामस्वरूप देशमा गुणस्तरीय जनशक्तिको उत्पादन र उपलब्धतामा नकारात्मक प्रभाव पर्दछ । यसले गर्दा राष्ट्र निर्माणको प्रक्रियामा दलितको सार्थक सहभागितालाई गुमाउनुपर्ने हुन्छ । अहिले गठन हुन लागेको स्थानीय सरकारमा दलित समुदायबाट सांकेतिक प्रतिनिधित्व देखिएको छ ।

सामाजिक न्यायको एक महत्वपूर्ण तत्वका रूपमा शिक्षाको पहुँचलाई मान्ने हो भने यो आधुनिकीकरण र विकासको प्रस्थान बिन्दु पनि हो । दलितको लागि शिक्षा सामाजिक परिवर्तनको मूलभूत कारक र सामाजिक मुक्ति एवम् आर्थिक विकासको लागि एक मात्र आधार हो । राष्ट्र निर्माण प्रक्रियामा दलितहरूको समेत सक्रिय योगदान र सम्भावनालाई सुनिश्चित गर्न शिक्षामा न्यायपूर्ण सहभागिता नितान्त जरूरी छ ।

दलित शिक्षाको लागि अहिलेसम्मको सरकारी प्रयास सांकेतिक सहयोग मात्र हुन् । दलित शिक्षाको लागि दलित समुदाय, दलित संघसंस्था एवम् सरकारले विशेष योजना लागू गर्नुपर्छ । समग्रमा भन्दा उपयुक्त, वैज्ञानिक र गुणस्तरीय शिक्षाले नै शताव्दीऔंदेखि उत्पीडनमा प्रताडित दलितको मुक्ति गर्न सक्छ । निःसन्देह यो दलित समुदायको मात्रै मुद्दा नभएर समग्र नेपाली समाजको साझा मुद्दा पनि हो र हुनुपर्छ ।

प्रधानमन्त्री ज्यु , दीर्घे परियारहरुको अभिभावकत्व कस्ले ग्रहण गर्ने ? - डम्बर अधिकारी

विभेद बिरुद्ध अभियान - जेष्ठ ११- तालबाराही मन्दिरको दर्शन गर्न जाँदै हुनुहुन्छ भने शारीरिक रुपले अशक्त ३४ बर्षिय दिर्घे परियारलाई तपाई जो कोहीले देख्न सक्नु हुनेछ । परियारको नजिक जो पुग्छ उनलाई देख्ने वित्तिकै उनीहरुको मन पग्लिन्छ अनि १० ÷२० रुपैयाँ सहयोग गरी हाल्छन् ।मन हुनेले त ५० ÷१०० रुपैयाँ पनि दिई हाल्छन् । विगत एक दशक परियारको दैनिकी यसरी नै चलिरहेको छ । बाग्लुङ स्थायी घर भएका परियार जन्मदा देखिनै अपाङगता भएका हुन् । उनको परिवारमा आमा बाबु देखि दाजुभाई सम्म रहेका छन् । तर यतिखेर परियार सहारा बनेका छन् उनका मामा । मामा सगै पोखराको सिर्जना चोकमा कोठा भाडामा लिएर बस्दै आएका परियारलाई हरेक दिन मामाले उक्त स्थानमा पुरयाइदिने गर्दछन् अनि साँझ पख लिन जाने गर्दछन् ।परियारको दैनिकी यसरी नै बिति रहेको छ ।

यसरी सार्वजनिक स्थलमा सहयोगका हात फैलाएर बस्दा सहयोगी मनहरुले गरेको सहयोगबाठ आजसम्म परियारको दैनिकी चलिरहेको छ । तर परियार यहाँ बस्दा पनि त्यति ढुक्क साथ बस्न भने पाएका छैनन । कहिले नगरपालिका त कहिले प्रहरीले उनलाई हिव्ल चियरमा राखेर हटाई दिने गरेको छ । तर जसले जति हटाएपनि युद्ध लडेर जिते झै परियार रुखमुनि पापी पेट पाल्नका लागि हात फैलाउँदै बसिरहेका छन् ।

जन्मदा नै शारीरिक रुपमा ठगिएका परियारको सरकार प्रति निकै दुःखेसो रहेको छ । मासिक रुपमा सरकारले उपलब्ध गराउने दुई हजार भत्ताले आफूलाई बाच्न त के मर्दा खेरी कात्रोमा बेर्ने कपडा किन्न समेत नपुग्ने परियारको भनाई थियो । मेरो शारीरिक अवस्था देखिहाल्नु भयो अब सरकारले दिएको दुई हजारले कसरी जिवन यापन गर्न सक्छु उनले भने । सडकमा यसरी हात फैलाएर बस्नु आफ्नो रहेर नभएर बाध्यता भएको परियारले कुराकानीका क्रममा भनेका थिए । सरकारले आफ्नो सम्पूर्ण जिम्मा लिईदिए यसरी दोवाटेमा हात फैलाएर नबस्ने समेत उनको भनाई थियो ।पोखराको तालबाराही मन्दिरमा भेटिएका परियार एक उदाहरण पात्र मात्र हुन् यो देशमा हजारौं दीर्घे परियारहरु सडक पेटी पेटीमा हात फैलाएर बसि रहेका छन् । जसको कोही सहारा छैनन ।

सवाल दिर्घे परियार जस्ता जन्मजात अपाङगता भएका व्यक्तिहरुको मात्र होइन यो मुलुकमा मुलुकमा लोकतन्त्र स्थापना लागि भएका पटक—पटक भएका आन्दोलनमा परि अपाङगता भएका व्यक्तिहरुको पनि रहेको छ ।मुलुकमा लोकतन्त्र ल्याउनका लागि भएका आन्दोलनहरुमा सहभागी हुँदै गर्दा राज्य र तत्कालिन विद्रोही पक्षको आक्रमणबाट सयौं नेपाली नागरिकहरु अपाङगता हुन पुगेका थिए । मुलुकमा लोकतन्त्र स्थापना भएसगै आफूहरुलाई राज्यले हेर्नेमा उनीहरु आशावादी रहेका थिए । तर लोकतन्त्र प्राप्तिको आन्दोलनमा सहभागी हुँदा अपाङगता हुन पुगेका योद्धाहरु आज सडकमा हात फैलाउँदै पाटीको बास बस्नु पर्ने अवस्था रहेको छ ।

अब एकैछिन प्रधानमन्त्री केपी शर्मा ओलीको पार्टी तत्कालिन नेकपा एमाले र हालको नेपाल कम्युनिष्ट पार्टीको चुनावी घोषणापत्र लागौं ।त्यतिबेला असहाय र जेष्ठ नागरिकहरुको जीवन यापनका लागि ओली र ओलीको चर्को आवाज उठाएका थिए ।अहिले मासिक रुपमा दिदै आएको दुई हजारलाई ५ हजार रुपैयाँ बनाउने घोषणा चुनावी सभाहरुमा भाषणका क्रममा बोलेको थिए । तर अफसोच राष्ट्रपति विद्यादेवी भण्डारीले केही दिन अगाडि तिनै ओली नेतृत्वको सरकारको नीति तथा कार्यक्रम सार्वजनिक गर्दे गर्दा अपाङता र जेष्ठ नागरिकहरुलाई दिइने सुविधाका विषयमा कुनै खास कार्यक्रम आउने संकेत देखिएको छैन । यसले ओली नेतृत्वको वर्तमान सरकारबाट अपाङगता भएका व्यक्तिहरुले ठूलो अपेक्षा गर्नु व्यर्थ सिवाय अरु केही हुनेछ ।


यसो भन्दै गर्दा प्रधानमन्त्री प्रधानमन्त्री ओली मुलुक र मुलुकबासी प्रति उत्तरदायी छैनन भन्ने आरोप लगाउन खोजे जस्तो अनुभूति जो कोहीलाई लाग्न सक्दछ । यदि त्यस्तो सोचियो भने प्रधानमन्त्री ओली र वर्तमान सरकार प्रति सरासर अन्याय हुनेछ ।तर यत्ति हो कि प्रधानमन्त्री ओलीले शैक्षिक सत्रको शुरुवातीमा एक विद्यार्थीको अभिभावक बनेर मुलुक र मुलुकबासीको अभिभावकत्व ग्रहण गरे भनेर छाती फुलाउनुमा भने कुनै तुक छैन । विश्व परिवेशलाई एकपटक नियालेर हेर्ने हो भने अधिकांश विकसित मुलुकहरुमा दीर्घे परियार जस्ता अपाङगता भएका व्यक्ति र जेष्ठ नागरिकहरुको सम्पूर्ण जिम्मा राज्यले नै लिने गरेको पाइन्छ ।तर हामी कहाँ भने अपाङगता भएका व्यक्ति र जेष्ठ नागरिकहरु राज्यबाट अपहेलित भएर किन सडकमा हात फैलाउँदै हिडि रहनु परेको छ बुझ्न सकि राखिएको छैन ।

अन्तमा ओली जी, तपाईले मुलुक हाँकी रहँदा दीर्घे परियार र अन्य दीर्घे परियारहरुको अभिभावकीय भूमिका कस्ले ग्रहण गर्ने हो यसको जवाफ झर्को नमानि दिनुहोला ?

दलित बनाउनेहरुको पिछा लाग्ने हैन, समकक्षी बनौं - बलदीप प्रभाश्वर चामलिङ

विभेद बिरुद्ध अभियान - जेष्ठ ११- मेरी सानी छाेरी सुम्निमा राईले भनिन्, " म रिमा विश्वकर्मा जस्ती राम्री र माेडल बन्न चाहन्छु ।"म मनमनै खुसी भएँ किनकि अब सुन्दरताकाे मापदण्ड जात विशेषले निर्धारण गर्ने समय अन्त हुदैरहेछ । मैले मेराे परिवारमा जातीय विभेदकाे पूर्वाग्रहकाे निषेध गर्नुले पनि याे भएकाे हाे भन्ने ठानेकाे छु ।

पुजा चन्द र निरूता सिंहहरूले जातीय पहिचान नलुकाइ दिएकाे भए आज दलित महिलाहरू सुन्दर हुँदा " कस्ती बाहुनी जस्तै राम्री रहेछिन्" भन्ने मिथ ताेडिने थियाे । बाहुनीहरू नराम्री हुँदा "कस्ती कमिनी-दमिनी जस्ताे नराम्री रैछन् " भन्ने चिन्तन अन्त्य हुने थियाे ।अशाेक शर्मा र तुलसी घिमिरेहरूले आफ्नाे पहिचान खुलाउन हिम्मत गरेकाे भए आज दलितहरू घन कुट्ने काम मात्रै नगरेर बाैद्धिक कलाकारितामा पनि अब्बल हन्छन् भनेर गर्वका साथ छरछिमेकमा छाँती फुकाउने थियाे ।

आहुतिहरूले थर खुलाएका भए आज दलितहरू जुत्ता सिलाउने मात्रै नभएर प्रतिष्ठित चिन्तक, दार्शनिक , साहित्यकार पनि हुन्छन् भन्ने प्रमाणित हुने थियाे ।त्यसैले हामीले थर नलुकाऔ । चरा माथी आकासमा जति उडे पनि आखिर चाराे खान भुईमै आउनु पर्छ । आखिर तुलसी घिमिरे, आहुतिहरूले आफ्नाे सन्तानकाे वरवधु खाेज्न सशांक काेइराला, केपी ओली र प्रचण्ड दाहालहरूकाे कुलमा हाेइन, राज्यले सदियाैं देखि थिचेर राखेका उनै दलित समाजमा नै जानुपर्छ ।

त्यसकारण पहिले आफ्नाे समाज निर्माण गर्ने हाे । आफूलाई दलित बनाउनेहरूकाे पिछा लाग्ने हाेइन, समकक्षी बन्ने हाे । आफ्नाे समाजकाे उदाहरण र गुणकाे मापदण्ड बन्ने हाे ।

लेखक बलदीप प्रभाश्वर चामलिङ "जातियमुक्ती र लोकतन्त्र" , "क्रुसमा नमरेका बुद्धमार्गी जिसस"का  लेखक / अनुवादक एव राष्ट्रिय जनमुक्ति पार्टीका सचिब -हुनु हुन्छ  (तस्बिर  रिमा बिस्वकर्मा -गुगल ) 

Thursday, May 24, 2018

कथित दलितले लाश छोए स्वर्गबास नहुने भन्दै दाहसंस्कारमा सहभागी महिलामाथि दुर्व्यवहार

विभेद बिरुद्ध अभियान - (जे.एन.सागर) जेष्ठ १० । कथित दलितले लाश छोए स्वर्गबास नहुने भन्दै मृतक छिमेकीको दाहसंस्कारमा सहभागी हुन गएका सात जना महिलालाई दुर्व्यवहार गरेको आरोपमा तुलसीपुर उपमहानगरपालिका-८ दुधेनाकी ४५ वर्षीय बसन्ती आचार्यलाई प्रहरीले गिरफ्तार गरेको छ ।

स्थानीय मोहन भण्डारीको छोराको मोटरसाइकल दुर्घटनामा परी जेठ ६ गते मृत्यु भएपछि अन्तिम संस्कारको कार्यक्रममा सहभागी हुन पुगेका छिमेकीहरू ५० वर्षीया राधिका बिक, ४५ वर्षीया पार्वती बिक, ३० वर्षीया हस्ता बिक, ३५ वर्षीया विष्णी टमाटा, ३५ वर्षीया प्रतिमा बिक, ४० वर्षीया हिरा सुनार र ४१ वर्षीया सीता टमाटालाई कथित दलितले छुन नपाइने भन्दै गालीगलौज गर्दै घर फर्काइएको आरोप छ ।

पीडितकातर्फबाट ४१ वर्षीया सीता टमाटाले जेठ ७ गते जातीय भेदभावसहित दुर्व्यवहार गरेको भन्दै इलाका प्रहरी कार्यालय तुलसीपुरमा उजुरी दिएकी थिइन् ।

तत्काल विरोध र उजुरी गर्दा आफन्त गुमाएका छिमेकीलाई अप्ठेरो पर्नसक्ने भन्दै ७ गते उजुरी दिएको र जेठ ८ गते गिरफ्तार गरी अनुसन्धान थालिएको डिएसपी प्रकाश सापकोटाले जानकारी दिए ।



तस्बिर सौजन्य :  जनक नेपाली 

दलित समुदायका विद्यार्थीलाई निषेध गर्ने कृष्णद्वैपायन गुरुकुल विरुद्ध मुद्दा दर्ता गरिदै

विभेद बिरुद्ध अभियान - जेठ ११ - भद्रपुर :  संस्कृत विद्यालय गुरुकुलका दुई सञ्चालकविरुद्ध भोलि मुद्दा दर्ता गरिने भएको छ । दलित अधिकारवादी संस्था उत्पीडित अधिकार मञ्चको अगुवाईमा संस्कृत पाठशाला खारेजीको माग गर्दै मुद्दा दर्ता को अन्तिम तयारी गरिएको संस्थाका सचिव सागर पोर्तेलले जानकारी दिएका छ्न । साथै सञ्चालक समिति अध्यक्ष राजेन्द्र चापागाईँ र प्राचार्य राजन तिवारी विरुद्ध जातीय छुवाछूतजन्य अमानवीय व्यवहार गरेकोले जातीय छुवाछूत तथा भेदभाव कसुर र सजाय) ऐन २०६८ बमोजिम हदैसम्म कारबाहीको माग गर्दै मुद्दा दायर गरिने तयारी गरिएको बताए ।

भद्रपुरको कृष्णद्वैपायन गुरुकुल  वेद विद्याश्रमले इलाम नगरपालिका–५ बरबोटेका विकास कार्कीडोली (दर्जी) लाई गुरुकुलले भर्ना लिन नमानेपछि दलित अधिकारकर्मीहरुको टोलीले तालाबन्दी गरेको थियो । तालाबन्दी पछि जेठ -८  गते प्रमुख जिल्ला अधिकारीको समन्वयमा गुरुकुल जातीय विभेद विरुद्ध संयुक्त संघर्ष समिति र गुरुकुल संचालक पक्ष बीच बार्ता भएको थियो । गुरुकुलमा निर्बाध रुपले उत्पीडित दलित समुदायका विद्यार्थीहरुलाई आवासीय भर्ना गर्न पाउने कुराको सुनिश्चितता हुनुपर्ने लगायतका माग संघर्ष समितिको तर्फबाट प्रस्ताव भएकोमा  गुरुकुल संचालक पक्षले आवासीय रुपमा भर्ना गरेमा सामाजिक सद्भाव भड्किने भएकोले दलित विद्यार्थीहरुलाई भर्ना गर्न नसकिने अडान कायमै राखेको थियो  ।

गुरुकुल संचालक पक्षको यो अडानले नेपालको संविधान -२०७२ ले नेपाललाई छुवाछूत मुक्त राज्य घोषणा गरेको उपहास हुने मात्र होइन समाजमा जातीय छुवाछूत,भेदभाव,असमानता र विभेदलाई कायमै राख्न चाहाने सोच र चिन्तन स्पस्ट देखिएको ठहर गर्दै मुद्दा दायर गरिन लागेको हो  । नेपाल राष्ट्रिय उत्पीडित विद्यार्थी संगठनका केन्द्रीय अध्यक्ष टीकाराम मंग्रातीले दलितहरुले जुनसुकै विद्यालय र संस्कृत पाठशालाहरुमा पढ्न पाउने नैसर्गिक अधिकारलाई भद्रपुरको संस्कृत पाठशालाले उल्लंघन गरेको भन्दै यस्तो पाठशालालाई कारवाहीका लागि सम्बद्ध निकायसँग माग गरेको बताए   ।

हाल नेपालमा गुरुकुलको सङ्ख्या देशभर ६० वटा छन् । यसमध्ये नेपालमा सबैभन्दा धेरै गुरुकुल विद्यालय झापामा रहेको पाइएको छ ।गुरुकुल शिक्षा प्रणाली पूर्वीय शैलीको शिक्षण प्रणाली हो । यो प्रणालीमा विद्यार्थी गुरूको आश्रममा रहेर विभिन्न विषयमा पारङ्गत नहुन्जेल अध्ययन गर्छन् । गुरुकुलीय पद्धतिमा वैदिक साहित्य, पुराण, ब्रह््रमसूत्र, गीता, उपनिषद् जस्ता पूर्वी वाङ्मयको अध्ययन अध्यापन गराइने गरिन्छ  । विद्यालय सरहको दरबन्दीबाट सञ्चालित कृष्णद्वैपायन गुरुकुल वेद विद्याश्रम महेशपुरले जिल्ला शिक्षा कार्यालय झापाबाट रु तीनलाख ५७ हजार वार्षिक अनुदान समेत पाउदै आएको छ ।

Saturday, May 19, 2018

कुवाको पानी छोएको भन्दै विश्वकर्माद्वारा दमाइ कुटिए

विभेद बिरुद्ध अभियान - धनगढी, जेठ ५- कैलालीको गोदावरी नगरपालिका– १२ वागेसाल गाउँमा स्थानीय दमार्इं जातिका मानिसले विश्वकर्मा जातिले प्रयोग गर्दै आएको कुवा(इनार)को पानी छोएको भन्दै भएको कुटपिटको घटनामा मिलापत्र गराइएको छ ।

साविक गोदावरी गाविसका अध्यक्ष भानसिंह विकका परिवारले आफ्नो कुवा छोएको भन्दै १९ वर्षीय सागर नेपालीलाई वैशाख ३१ गते गालिगलौंज र कुटपिट गरेपछि पीडित पक्ष जिल्ला प्रहरी कार्यालय कैलालीमा मुद्दा दर्ता गर्न गएका थिए ।विकको परिवारले प्रयोग गर्ने गरेको कुवा छिमेकी गोपाल नेपालीको विवाहका दिन छोइदिएको भन्दै विक पक्षले सागरलाई कुटपिट गरेको स्थानीयवासी शंकर नेपालीले बताए ।

नगरपालिकाकाे सिफारिसमा प्रहरी कार्यालयमा शुक्रबार दुबै पक्षको उपस्थितिमा पीडक भनिएका विक पक्षले अबदेखि यस्ता क्रियाकलाप नदोहोर्याउने प्रतिबद्धता जनाएपछि दुबै पक्षबीच मिलापत्र भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता, प्रहरी नायब उपरीक्षक हरि वलीले बताए ।

मानव अधिकारकर्मी तथा दलित अधिकारकर्मीले गाविसका पूर्व अध्यक्षकै कुवामा पानी भरेको विषयलाई लिएर कुटपिट र गालिगलौंच गरिनु गम्भीर घटना भएको भन्दै पीडकमाथि कारबाहीको माग गरेका थिए । पीडित पक्षले जिल्ला प्रहरी कार्यालयमा मुद्दा दर्ता गर्ने प्रयास गरेकोमा गाविसका पूर्व अध्यक्ष विकले राजनीतिक दवावमा मुद्दा दर्ता गर्न दिनबाट रोकेर माफी मागेको पीडित पक्षले बताएका छन् ।

देशमा थुप्रै पटक राजनीतिक परिवर्तन भए पनि कानूनी रुपमा दण्डनीय मानिएको जातीय छुवाछुत एवं विभेद्को समस्या प्रदेश नं ७ का जिल्लामा अझै पूर्णरुपमा अन्त्य हुनसकेको छैन । जसका कारण बेलाबखत दलित र गैरदलितबीच, दलित दलितबीच छुवाछुत र विभेद्का घटना हुने गरेका छन् ।

पछिल्लो समय गैर दलित र दलित बीचको छुवाछुत क्रमशःअन्त्य हुँदै गएको अवस्थामा दलित दलितभित्रैको बढ्दो छुवाछुतले थप चुनौती थपिएको धनगढी उपमहानगरपालिका —३ की दलित वडा सदस्य राधा विक बताउछिन ।

गोप्य राख्नुपर्ने कुराहरु गोप्य नै राखौ - गोपाल शिवा

कुवेतमा कार्यरत एक नेपाली जोडीले मिलेमतोमा खिचेको यौन क्रियाकलापको भिडियो अहिले सामाजिक संजाल देखि युटुब सम्म भाइलर भन्दै आइरहेका छ। पुरुष पात्रले  अँगालो मार्छन महिला पात्रले एक दुइ तिन भन्दै आफ्ना अंगहरु सुम्सुमाउन अभिपेरित गर्छिन यो रोमाञ्चक दृश्यमा दुवै जना उत्तिकै सक्रिय हुन्छन् जसलाई क्यामेराले कैद गर्छ। उनीहरुले मिहिनेतपूर्वक खिचेको त्यहि भिडियो अहिले बिभिन्न हेडलाइन बनेर सामाजिक संजाल , मेसेन्जर हुदै युटुब सम्म फैलिरहेको छ  ।

भिडियो खिच्ने यी जोडी पति पत्नी पनि होइनन ...भिडियोमा देखिने नायक संग मेरो धेरै पटक भेट भएको छ कुरा भएको छ । दश नंग्रा खियाएर काम गर्दा पनि हातमुख जोड्न धौ धौ परे पछि आफ्नै घर परिवार लाइ देशमा छोडेर समृदिको सपना बोकेर परदेशिएका निम्न वर्गका ति तमाम लाखौ नेपालीहरु जस्तै यिनीद्वय पनि अर्कैको पति अर्कैको श्रीमती अझ बालबच्चा समेत ठुल्ठुला भै सकेका कर्तब्यको बोझ थाप्लोमा बोकेर खाडी आएका हुन।पछिल्लो समय वैदेशिक रोजगारीमा गएका श्रीमानका श्रीमतिहरु नेपालमा बिग्रिएको धेरै समाचार प्रकासनमा आएका छन् । श्रीमानको कमाइमा श्रीमातीको मस्ती….., विदेशमा श्रीमानलाई सास्ती, नेपालमा श्रीमतिको अर्कैसंग मस्ती…. जस्ता हेडलाईनहरु दैनिक जसो समाचारपत्रमा आइरहेका छन् ।तर सुनौलो सपना बोकेर विदेशीएका श्रीमानले यसरि आफुले कमाएको अर्कैलाई ख्वाउने, प्याउने र मस्ती गरेर सकेको चै कहिले समाचार बन्छ कि बन्दैन होला ? यिनको भिडियो हेरे पछी प्रश्न उठेको छ ।

धन कमाएर आफ्नो जीवन स्तर उकास्नु या परिवारका समस्याहरु समाधान गर्नु  परिवारको बोझलाई कम गर्न भनेर बिबिध समस्याहरु हुँदाहुँदै घरेलु कामदारको रुपमा लाखौ नेपाली दिदीबहिनी खाडीमा घरेलु कामदारका रुपमा काम गर्न आएका छन् । बैदेशिक रोजगारको लागि खाडी आएर काम गर्ने महिलाहरु जो कसैकी छोरी, कसैकी दिदीबहिनी, कसैकी श्रीमती र कसैकी आमा छन । ति आएका मध्ये कुबेत बाट गत महिना आममाफी पाउदा आम माफी पाएर घर फर्कने ३७१४ जना नेपालीहरु मध्ये २१९६ जना दिदिबहिनीहरु थिए । फर्किने दिदि बहिनीहरुले  बिना बाउको ३९ जना बच्चा आफु संगै लिएर घर फर्किए। बैदेशिक रोजगारमा घरेलु कामदारमा आउने नेपाली दिदीबहिनीहरु कति सुरक्षित र असुरक्षित भनेर गम्भीर रुपमा प्रश्न उठी रहेको बेला घरेलु कामदारका रुपमा काम गर्ने एउटा चेलीले आफ्नै सहमतिमा यसरि प्रवासको ठाउमा यौन क्रियाकलाप गरेको भिडियो खिच्न तयार हुनु ले अर्को प्रश्न उठाएको मात्र हैन हेर्ने दृष्टिकोण नै फरक बनाएको छ ।  यधपी  नेपाली महिला चाहे विवाहित हुन् या अविवाहित, आफ्नो इज्जतमा बसेर नै काम पनि धेरै छन् । तर कोही–कोही अझै पनि नेपाली दिदीबहिनीहरु आफ्नै देशका एव बंगाली र पाकिस्तानी संग लिभिंग टुगेदरमा इल्लिगल्ली बसेर यस्तै हर्कतहरु गरि रहेका छन् ।

आफ्नै लापरबाही र आचरणको परिणामले देशमा होस कि  बिदेशमा गएका भएका महिला पुरुषहरुको प्राय घर बिग्रिएको छ  ,गलत बाटो रोजेका छन् ।खास गरि इन्टरनेटको आगमनपछि अश्लील फिल्महरुको बाढी नै आएको छ । हरेकको हातमा स्मार्टफोन भईसकेपछि यस्ता फिल्म तथा अन्यखाले अश्लील सामग्री जो कोहीलाई पनि चौबिसै घन्टा सुलभ र हेर्न गमन सक्ने बनेको  छ । यहाँसम्म कि धेरै मानिसहरु त अश्लीलताको कुलतमा यसरी फसेका छन् कि स्मार्टफोनले अश्लील फिल्महरुको नक्कल गरि गरि उस्तै उही शैलीमा आफ्नै भिडियो खिच्ने र सेयरिङ गर्ने गरेका छन् । यहि सजिलो भए संगै यस्ता कयौ सम्बन्धहरु आपसी सहमतिमा खिचिएर फोनको मेमेरिमा कैद भएका छन् ।

यस्तै गत महिना मात्र  आफू मोडल भएको दाबी गर्दै विभिन्न युट्युव च्यानलमा उत्ताउला अन्तरवार्ता दिने परी तामाङ र उनको साथी बीच राजीखुसी सँगै भएको शारीरिक सम्बन्धको भिडियो खिचिएको एकअर्कामा शेर गरिएको अनि सम्बन्धमा खटपट आए पछी  पोर्न साइट 'पोर्नहब'मा भिडियो सार्वजनिक भएको खुलाशा भयो । यसरी आफ्ना अति गोप्य क्रियाकलाप आपसी सहमतिमा खिच्ने तर मनमुटाव भएपछि आफैँ वा साथीमार्फत् सार्वजनिक गर्ने पछिलो पटक अपराधको ट्रेन नेपाली समाजमा बनेको छ । अझ समाजमा नपच्ने कुराहरु बाहिर प्रकाशमा ल्याएर आफ्नो इज्जत मा दाग लगाउनु र समाज बाट अपहेलित भै आत्मा हत्या सम्म गनु पर्ने स्थिति पनि कतिपयको लागि बन्ने गरेको देखिएको छ। यसरी आफ्ना गोप्य कर्तुतहरु सार्वजनिक हुदा आफ्नाले देख्दा यी नायक नायिकालाई हीनताबोध ,मनमा त्रास र समाजले के भन्छ भनेर सोच बिचार आउछ कि आउदैन होला ? 

अन्त्यमा, यौन सम्भोग  जसले पनि गर्दछ त्यो नौलो कुरा होइन तर मैले यसरि सम्भोग गरे र गर्यो भनेर भिडियो सार्बजनिक गर्नु र अस्लिल तस्बिरहरु प्रकाशन गर्नु चै अपाच्य कुरा हो।गोप्य राख्नुपर्ने कुरा गोप्य राख्ने आफै बाट थालनी गरौ किनकी रहरमा गरेका कुराले पछि तनाब दिने देखि तपाइको र तपाइको साथीको घर संसार एवं परिवारीक सम्बन्ध भताभुंग हुन् सक्छ । केही क्षण केहि पल रमाउन खोज्दा सबैतिरबाट आलोचित भएकाहरुको सत्य तथ्य मनन गरेर सामाजिक संजालमा ,हाम्रो समाजमा सार्वजनिक भएका कुराहरुबाट पाठ सिकौ ।  समाज बाट यस्ता कुकार्य हरु हटोस र यस्ता कार्य गर्नाले समाजले ति व्यक्तिहरुलाइ कुन तरिकाले हेर्छ त्यसको विचार गर्नु र आफ्नो जिबन राम्रो संग बच्न सक्नुहोस र समाज भन्दा तल गिरेर बाच्न नपरोस भन्ने मात्र हो ।

Friday, May 18, 2018

झापाको संस्कृत विद्यालयले दलित विद्यार्थीलाई भर्ना नगरेपछि तालाबन्दी गरियो

विभेद बिरुद्ध अभियान - ३ जेठ, झापा । झापाको भद्रपुरमा रहेको संस्कृत विद्यालय श्री कृष्ण दै्रपायन गुरुकुल बेद विद्या श्रमले दलित विद्यार्थीलाई भर्ना नगरेपछि तालाबन्दी गरिएको छ ।इलाम नगरपालिका–५ बर्वोटेका विकास कार्की डोलीलाई गुरुकुलले भर्ना लिन नमानेपछि नेपाल राष्ट्रिय उत्पीडित विद्यार्थी संगठनले विहीबार गुरुकुलमा तालाबन्दी गरेको हो ।

संगठनका केन्द्रीय अध्यक्ष टिकाराम मंग्रातीका अनुसार कार्की डोलीलाई बिर्तामोडका भूवन भट्टराईले भर्नाका लागि गुरुकुल पु¥याएका थिए । भर्नाका लागि गुरुकुलमा पुगेका उनले संस्कृत विद्यालयको प्रशासनलाई आग्रह गर्दा भर्ना लिन अस्वीकार गरेका थिए ।

सो घटना सार्वजनिक भएपछि झापा जिल्लामा रहेका दलित अधिकारकर्मीले बालबालिकाको मौलिक हकलाई हनन् नगर्न आग्रह गर्दा पनि गुरुकुलले विद्यार्थी भर्ना गर्न नमानेको अध्यक्ष मंग्रातीले बताए ।छलफल निष्कर्षबिहीन

गुरुकुलले दलित विद्यार्थीलाई संस्कृत विद्यालयमा भर्ना लिन नमानेपछि जातीय विभेद गरेको निष्कर्ष निकाल्दै विभिन्न संघ संगठनले दुवै पक्षबीच छलफल गरेर समाधान निकाल्ने प्रयास गरेको थियो ।

बिहीबार विद्यार्थी संगठन, दलित अधिकारकर्मी, युवा संघ नेपाल, अनेरास्ववियू र गुरुकुल सञ्चालक समितिबीच समाधानको लागि छलफल गरिएको थियो ।

छलफलमा युवा संघ नेपालका केन्द्रीय सदस्य त्रिलोचन सापकोटाले भर्नाका लागि पुगेका विद्यार्थीलाई भर्ना गर्न अस्वीकार गर्नु जातीय विभेद भएको बताएका छन् ।

उनले नेपालको संविधानमा जातीय विभेद गर्नु सामाजिक अपराध भएको उल्लेख गरे । समाज रुपान्तरणको अभियानमा जातीय विभेद् गलत संस्कार भएको उनको ठहर छ ।

‘तत्काल विद्यार्थीलाई पठनपाठनको वातावरण सिर्जना गरियोस् । हिन्दु धर्ममा यसरी विभेद् हुनुले लज्जाबोध भएको छ’, सापकोटाले थपे, ‘धर्मभित्रको यस्ता कुसंस्कारकै कारण सर्वसाधारण नागरिक धर्म परिवर्तन गर्न बाध्य भएका हुन् ।’यस्तै, दुई पक्षबीचको छलफलमा बोल्दै हल्दिबारीका अगुवा मोहन रेग्मीले संविधान अनुसार गुरुकुल सञ्चालन गर्नुपर्ने बताए । गुरुकुल सञ्चालनका निम्ति बनाइएका नीति नियम संविधान विपरित भए परिवर्तन गर्नुपर्ने उनको धारणा छ ।

झापा जस्तो जिल्लामा जातीय विभेद् हुनु दुःखद् भएको भन्दै रेग्मीले मुलुकमा परिवर्तन भएको सन्देश दिन गुरुकुलमा सबै जातजातिका विद्यार्थीलाई शिक्षा आर्जन गर्ने वातावरण तयार गर्नुपर्ने बताए ।

गुरुकुल सञ्चालक समिति अध्यक्ष राजेन्द्र चापागाईले अहिलेसम्म दलित विद्यार्थी भर्ना गर्नका लागि कोही नआएकाले यस्तो अभ्यास नगरेको प्रतिक्रिया दिए । उनले विधानमा व्यवस्था भए अनुसार गुरुकुल सञ्चालन गर्नुपर्ने भएकाले भर्ना लिन समस्या भएको बताए ।

समाधान निकाल्न छलफल गरिएपनि अध्यक्ष चापागाईले विभिन्न तर्क गर्दै भर्ना लिन नसकिने संकेत गरे । उनले दलित विद्यार्थीलाई यहाँ पठन पाठनका लागि वातावरण बनाइएपनि सामाजिक रुपमा स्वीकार्य नहुने बताएका थिए ।

‘हाम्रा बटुकहरु हरेक दिन धार्मिक कार्यक्रममा सहभागी हुनुपर्ने भएकोले दलित विद्यार्थीको संलग्नता व्यवहारिक रुपमा समाजले स्वीकार्देन’, चापागाईले भने ।

प्रधानमन्त्री कार्यालयमा ज्ञापन पत्र 

समाधानको प्रयास सफल नभएपछि तालाबन्दी गरेका उनीहरुले जिल्ला प्रशासन कार्यालय झापामा ज्ञापन पत्र बुझाएका थिए ।

प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्री कार्यालयलाई गुरुकुलभित्र हुने विभेद्लाई अन्त्य गर्नुपर्ने माग गर्दै ज्ञापन पत्र बुझाइएको हो । प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले समाजमा कुनै पनि विभेद्को घटना हुन नहुने बताएका छन् ।

ज्ञापन पत्र बुझ्दै उनले माग सम्बोधन गर्न सहजीकरण गर्ने प्रतिवद्धता व्यक्त गरेको उत्पीडित अधिकार मञ्च नेपालका सचिव सागर पोर्तेलले जानकारी दिए । अधिकारकर्मीले स्थानीय सरकार भद्रपुर नगरपालिका प्रमुख जीवन कुमार श्रेष्ठलाई पनि ज्ञापन पत्र बुझाएका थिए ।

देशभरका गुरुकुल, विधापिठमा, सबै जाति,लिङ्गका विधार्थी अध्ययन गर्न पाउनुपर्ने, गुरुकुल आश्रम सञ्चालन पक्षले अमानवीय व्यवहार गरेकोले जातीय छुवाछूत तथा भेदभाव ( कसुर र सजाय) ऐन २०६८ बमोजिम हदैसम्म कारबाही गरिनुपर्ने, दलित भएकै कारण भर्ना लिन अस्वीकार गरेको विद्यार्थीलाई ४८ घण्टाभित्र भर्ना भर्ना गर्नुपर्ने, कुरिती र कुसंस्कारको संरक्षण गर्ने पाठशाला खारेजी गर्नुपर्ने ज्ञापनमा उल्लेख गरिएको छ ।
तस्विर : सागर पोर्तेल / प्रदिप परियार