खनालद्वारा दलित महिलालाई केन्द्रमा ल्याउने प्रतिवद्धता -राजेन्द्र ताम्राकार


काठमाडौं÷१२, असार, नेकपा एमालेका अध्यक्ष झलनाथ खनालले दलित महिलालाई पार्टीको नवौं महाधिवेशनमार्फत केन्द्रीय कार्यसमितिमा ल्याउने प्रतिवद्धता व्यक्त गर्नुभएको छ । दलित महिला संघद्वारा पार्टीको नवौँ महाधिवेशनमा कम्तिमा ५ जना दलित महिलालाई केन्द्रीय कार्यसमितिमा ल्याउन अनुरोध गर्दै बुझाएको ज्ञापनपत्र ग्रहन गर्दै खनालले उक्त प्रतिवद्धता व्यक्त गर्नुभएको हो ।  
विगत दुइदशकदेखि दलित महिलाको हकहित र अधिकार प्राप्तिको सवालमा निरन्तर सङ्घर्ष गर्दै आईरहेको संघले आज एमाले अध्यक्ष खनालसमक्ष ७ बुदे मागसहितको ज्ञापनपत्र बुझाएको हो । दलित महिला संघका प्रतिनिधिसंगको भेटमा अध्यक्ष झलनाथ खनालले दलित महिला संघले दलित महिलालाई राजनीतिमा ल्याउन गाउँगाउँमा जागरण अभियान सञ्चालन गर्नुपर्ने आवश्यकता औंल्याउनुभयो । 
उहाँले विगतमा पार्टी संरचनामा ८ प्रतिशत महिला सहभागिता रहेको र आफू नेतृत्वमा आएपछि कम्तिमा ३० प्रतिशत महिलालाई नेतृत्वमा पु¥याउने लक्ष्य राखेर काम गरेको बताउनुभयो ।  हाल पार्टीमा २० प्रतिशत महिला नेतृत्व तहमा ल्याउन सफल भएको खनालको दाबी छ ।  खनालले महाधिवेशनको संघारमा आएर दलित महिला संघले आगामी महाधिवेशनमार्फत दलित महिलालाई नेतृत्वमा ल्याउन गरेको प्रस्तावलाई आफूले गम्भीररुले लिएको बताउनुभयो । उहाँले पार्टीको नवौं महाधिवेशनबाट कम्तिमा २ जना दलित महिलालाई केन्द्रीय कार्यसमितिमा ल्याउने प्रतिवद्धता व्यक्त गर्नुभएको छ । भेटमा दलित महिला संघका कार्यकारी निर्देशक भिमबहादुर वि.के ले पार्टीको नवौं महाधिवेशनमा विधानत दलित महिलालाई समानुपातिक प्रतिनिधित्वको सुनिश्चितता गराउन अध्यक्षको ध्यानाकर्षण गराउनुभएको थियो । उक्त भेटमा दलित महिला संघकी महासचिव कला स्वर्णकारले अध्यक्ष खनालसमक्ष विभिन्न ७ बुँदे मागसहितको ज्ञापनपत्र बाचन गरेर सुनाउनुभएको थियो ।  भेटमा विभिन्न राजनीतिक दल निकट दलित महिला नेतृ तथा दलित नागरिक समाजका अगुवासहित १९ जनाको सहभागिता रहेको थियो । 

एमालेको नवौँ राष्ट्रिय महाधिवेशनलाई लक्षित गर्दै दलित महिला संघले एमाले अध्यक्ष झलनाथ खनालसमक्ष बुझाएका मुख्य मागहरु ःअबको महाधिवेशनमा विधानत दलित महिलाका लागि छुट्टै प्रगतिशिल आरक्षणको व्यवस्था गरी केन्द्रीय कार्यसमितिमा कम्तिमा पनि ५ जना दलित महिलाको सिट सुनिश्चित गरियोस् ।पार्टीको नवौं राष्ट्रिय महाधिवेशनमा पार्टीले बढीभन्दा बढी दलित महिलालाई केन्द्रीय सदस्यको उम्मेदवार घोषणा गरी उनीहरुलाई विजयी बनाउने अभियानमा विशेष नीति लिइ अगाडि बढियोस् । 
पार्टीको नवौं महाधिवशेनमा घोणषा गरिने उम्मेदवारी सूचीमा समग्र महिलाको ३३ प्रतिशतबाट दलित महिलाको समानुपातिक प्रतिनिधित्व र दलित उम्मेदवारको समानुपातिक कोटाबाट दलित महिलाको ५० प्रतिशत उम्मेदवारीको सुनिश्चितता गराइयोस् । 
  पार्टीको महाधिवेशनमा दलित–दलितका बीचमा मात्र प्रतिस्पर्था हुने गरी दलित समुदायको लागि छुट्टै सिट आरक्षित गरियोस् र त्यसमा कम्तिमा ५० प्रतिशत उम्मेदवारी दलित महिलाको लागि सुनिश्चित गरियोस् । 

पार्टीको सबै संरचनामा सहभागिताको लागि सहभागिता मात्र नभई दलित महिलालाई निर्णायक तहमा अर्थपूर्ण सहभागिताको सुनिश्चितता गराइयोस् । पार्टीको नीति तथा कार्यक्रम दलित तथा महिला त्यसमा पनि विशेषगरी दलित महिलामुखी बनाइयोस् ।  पार्टीको सबै जनवर्गीय सङ्गठनमा दलित महिलाको समानुपातिक प्रतिनिधित्वको सुनिश्चितता गराइयोस् ।     

No comments:

Post a Comment