Sunday, February 28, 2016

डोममाथि हुने विभेदका थप आयाम - भोला पासवान

फागुन १७ , विभेद बिरुद्ध अभियान - मधेसी दलित भित्र सूचिकृत डोम जाति दलितभित्र पनि सबभन्दा पीँधमा छन् । जातीय छुवाछूत सबै भन्दा बढी डोम जातिमाथि हुने गर्दछ । डोम जातलाई गैर दलितले मात्रै होइन डोम बाहेकका सबै दलितले समेत छुवाछूत विभेद गर्दछ । नेपालमा डोमको जनसँख्या १२ हजार २ सय ६८ छ ।

अहिले पनि मधेसका डोम जातलाई सार्वजनिक स्थलमा प्रवेश निषेध छ । सार्वजनिक धारा,इनारबाट आफै पानी झिक्न निषेध छ । होटलमा चिया नास्ता खान जादा आफनै प्लेट र गलास बोकर जानु पर्छ भन्दा पत्यार नलाग्न सक्छ तर वास्तविकता यही हो । र,यस्तै एउटा घटनाका पात्र हुन नैनपुरका दिपक मल्लिक(डोम) परिवार । 

सिरहाको धनगढी गाविस–३ नैनपुरका दिपक डोमले जातकै कारण इनारबाट झिक्न पाउँदैनन् । गैर दलितले इनारबाट पानी भरेर दिन्छ । पानी भरिदिएवापत डोम परिवारसंग नगद र बासका सामग्री लिन्छ ।  दिपकमाथि हुने विभेद एक प्रतिनिधि मूलक घटना हो । तराईका अधिकाश डोमले दिपकले जस्तै दैनिक रूपमा छुवाछूत विभेदको सामना गरिरहका छन् । 

डोमलाई पानी भरीदिएबापत के के लिन्छन् गैर दलित ?

सिंगो गाउँमा एक घर डोम परिवार छ, पुलकित मल्लिकको । करिब १५ धुर जग्गामा पुलकित मल्लिक ६ वटा छोरा,३ वटा छोरी सहित नाती नतिनी गरेर १३ परिवार बस्छ । गाउँमा ४ वटा इनार छन, जसमा एउटा सार्वजनिक हो भने अन्य व्यक्तिगतरुपमा खनिएका हुन् । ती इनारमा पानी भर्न डोम परिवारलाई बन्देज छ । इनारबाट अरूले झिकेर दिए मात्रै पानी खान पाउँछन् पुलकित डोम परिवार ।

नियमित पानी झिकिदिए वापत आफूहरूले बनाएको पंखा, ढाकी,चंगेरी,छिट्टा लगायतका सामग्री गैर दलितहरूलाई दिनुपर्ने पुलकितको श्रीमती प्रमिला डोमले बताईन । ‘२० रूपैया पर्ने पंखा(वास चोयाबाट निर्मित) दिदा एक दिन ,२सय पर्ने चंगेरा र ढकि दिदा ४÷५ दिन र यी समान नदिए नगद ५० रुपैया दिएपछि मात्रै इनारबाट पानी भरेर गैर दलितले दिन्छन् ।’ पिडीत प्रमिलाले भनिन्–‘ अझ पानी भरी दिनेको बाँसको नाङ्गलो,ढकी केही मर्मत गर्नु प¥यो भने वर्षभरी निःशुल्क गरिदिनु पर्छ ।’

अझ रोचक कुरा त के छ भने,एकिकृत नेकपा माओेवादीका गाउँ कमिटीका अध्यक्ष सूर्याप्रकाश महतोका श्रीमतीले मंगलबार डोम परिवारमाथि हुने विभेदबारे बुझन घटनास्थल पुगेका सिरहाका एसपी रामकृपाल साहलाई प्रमिला मल्लिकले पानी भरिदिएवापत ढकी (वासको समान) दिने वचन दिएपनि नदिएको गुनासो गर्न भ्याइन ।

‘पञ्चयत’मा निःशुल्क पानी भरिदिने प्रस्ताव अस्वीकार  

नैनपुर घटनाले मिडियामा राम्रो मार्केट लिएपछि र कार्यावाही गर्न प्रहरीलाई दवाव बढ्न थालेपछि सोमबार राति गाउँमा ‘पञ्चायत’ बस्यो । ‘पञ्चायत’मा गाउँका करिब १सय ५० भन्दा बढी व्यक्तिको उपस्थिती थियो ।र,डोम परिवारबाट सपरिवार उपस्थिती अनिवार्य । ‘पञ्चायत’मा सबैको एउटै तर्क थियो –‘ समाजिक सदभाव र परम्परा तोड्नु ठिक होइन,त्यसैले पत्रकार,हिरो र प्रहरीको पछाडी नलागि समाजको पछाडी लाग्ग । २÷४ दिनपछि गाउँलेहरुले ने काम दिन्छ । ‘पञ्चायत’का एक जना बाहेक  सबैको एकमत थियो ‘यो घटना प्रहरीमा लैजानु भएन’ । ‘पञ्चायत’  पञ्चहरुको भनाई उदृद्ध गर्दै पुलकितले भने–‘सधैँ झै गाउँलेहरुले पालँै पिच्छे पानी भरिदिन्छ,परम्परा तोडेर हाम्रो देव धर्म नष्ट गर्ने प्रयास नगर, यो सब ठिक हुदैँन । बरू अब आइन्दा पानी भरिदिएवापत गैर दलितहरुले लिने नगद पैसा र बाँसको चंगेरा,दाउरा,पंखा हामी लिदैँनौं ।’

 तर ‘पञ्चायत’मा उपस्थित झरिया(खत्वे)मण्डलले–‘यो सेवा तपाईहरुले कति दिनसम्म दिनुहुन्छ,४÷५दिन,त्यसपछि डोम समुदायको अवस्था फेरी पनि उस्तै हुन्छ,त्यसैले यो समस्याको समाधान होइन मात्र के भनेका थिए, सबै गाउँले ऊ माथि झम्टिएका थिए । पुलकितले भने ‘त्यसपछि उहाँ पनि चुप लाग्नु भयो ।’ पञ्चहरूले मुसहर बस्तीमा पानी सुखेका  खाली इनारमा २÷४ ड्रम पानी भर्न लगाएर प्रहरी र पत्रकार आएको बेला सोही इनारबाट पानी भरेको देखाएर(नाटक गरेर) र समस्या समाधान भइसकेको भन्न आदेश दियो । तर मल्लिक परिवारले राती मुन्टो हलाएर  घर फर्किए पनि त्यो गरेन ।

पंञ्चायतीको भोली पल्ट विहान गाविसका निवर्तमान अध्यक्ष भोगीलाल साहले पुलकितको घरमै आएर गैर दलितले भरिदिएको पानी लिएर चित्त बुझाउन निर्देशन दिएर गयो ।  पुलकित भन्छन्–‘अध्यक्ष जीको भनाई पनि ‘चलिआएको परमपरा’ अनुसार चल्नु पर्ने भएकोले विगतमा झै गैर दलितले पानी भरेर दिन्छ,त्यही लिएर सन्तोष गर’ भन्ने नै थियो । ‘ हाम्रो पक्षमा लाग्ने त गाउँ कुनै पनि दलका नेता भएन ।

मल्लिक परिवारलाई घर चलाउन समस्या ः घटनाले मिडियामा व्यापकता पाएपछि सिरहा जिल्लाका प्रहरी प्रमुख,प्रमुख जिल्ला अधिकारी लगायतका सरकारी निकाय व्यक्तिहरू घटनास्थलसम्म गयो । प्रहरीले साउन १९ गते नै डोम परिवारलाई लगेर इनारबाट पानी झिक्न लगयो । डिएसपी उमाप्रसाद चर्तुवेदीले स्वयम उपस्थित भएर पुलकित डोमलाई इनारमा पानी भर्न लगाएपछि गाउँलेहरू स्थानीय दलित नेतृत्व र डोमसंग झन बढी चिढिएको छ । डोमले इनार छोएदेखि गैर दलितहरूले इनारको पानी पिउन छोडेका छन् । 

 डोम तथा मेस्तर उत्थान केन्द्र,सिरहाका अध्यक्ष रामचन्द्र मल्लिकका अनुसार गैर दलितहरू डोमका साथै डोमलाई साथ दिने दलितलाई समेत समाजिक वहिष्कार गरेको छ । डोम समुदायले गाउँमा लाग्ने हाट बजार सरसफाई गरिदिएवापत व्यापारीसंग तरकारी तथा खादान्य संकलन गर्न गैर दलितहरुले रोक लगाएको मल्लिकले बताए । उनले भने–‘ अरू गैर दलित सरह डोमले पनि इनारबाट पानी झिक्न पाउनु पर्ने वातावरण भइदिए हुन्थ्यो चाहन्छौं,त्यसैले कानूनी प्रक्रियामा गएनौं । तर यहाँ गैर दलितहरू कुनै पनि हालतमा डोमलाई इनारमा आँफै पानी भर्न नदिने पक्षमा अडिग छन् । जसरी पनि डोम र यहाँ दलितहरूलाई तह लगाएर छोडने खुल्लेआम धम्की दिदैंछन् । जसले गर्दा समस्या समाधान हुनुका सट्टा झन बल्झिदै गएको छ । ’

सिरहाका प्रमुख जिल्ला अधिकारी मानबहादुर बिश्वकर्माले डोम परिवारको सुरक्षाका लागि प्रहरी परिचालन गरिएको बताए । ‘ घटना लगत्तै देखि ५ जना प्रहरी मल्लिक परिवारको सुरक्र्षाथ खटाइएको छ । कसैले उनीहरूलाई धाक धम्की वा पानी भर्न नदिएको खण्डमा उजुरीका आधारमा मुद्दा दायर गरि कार्यवाही प्रक्रिया अघि बढ्छ ।’ प्रजिअ बिश्वकर्माले भने–‘तराईमा दलित उत्थानका लागि सरकारी तथा गैर सरकारी संघ–संस्थाहरूले गरेको लगानीको प्रतिफल देखिएन ।’  

यसरी भयो घटना सार्वजनिक

अहिलेका आइजीपी उपेन्द्रकान्त अर्याल सिरहाको रामनगरमिर्चैया नगरपालिका–८ जीवाका हुन् । आइजीपी अर्यालले समेतको सहयोगमा अर्यालको घर नजिकै मुसहर बस्तीमा खनिएको इनारमा मुसहरहरुले पानी खान पाउँदैनन् भन्ने समाचार यो पंक्तिकारले गत चैत्र महिना रेर्कड नेपाल डटकममार्फत उजागार गरेको थियो । उक्त घटना सार्वजनिक भएपछि राष्ट्रिय दलित आयोग  र राष्ट्रिय मानव अधिकार आयोगको संयुक्त टोली उक्त घटनाबारे स्थलगत अध्ययन गर्न आइजीपी अर्यालको गाउँ पुगको थियो । र,दलित आयोगले केही समय अघि लहानमा गरेको एक अन्तक्रियामा डोम मेस्तर उत्थान केन्द्रका अध्यक्ष रामचन्द्र मल्लिकले नैनपुरका डोममाथि भएको विभेदबारे कुरा उठाएको थियो । उक्त टोलीले आइजीपी अर्यालको गाउँमा मुसहरलाई पानी खान नदिएको घटनासंगै  आएको बेला नैनपुरको घटनापनि अध्ययन गर्ने निधो ग¥यो । र,दलित आयोगका अध्यक्ष मानबहादुर नेपालीको नेतृत्वमा राष्ट्रिय मानव अधिकार,प्रधानमन्त्रीको सचिवालय सहितको टोली बैशाख ४ गते नैनपुर गाउँ पुगेको थियो ।

डोम परिवारलाई इनारमा पानी झिक्ने वातावरण बनाउन काठमाडौंबाट दलबलसहित गएको टोलीले मुसहर बस्ती स्थित इनारमा डोम परिवारलाई लगेर पानी भर्न लगाएको थियो । मुसहरबस्तीको इनारमा पानी भरिसक्केपछि मुसहर समुदायका महिलाहरूले अध्ययन टोलीलाई टोलमै गैर दलितको घरको इनारमा पनि पानी भर्न लगाउनु पर्ने माँग गरेका थिए । टोलीले डोम परिवारलाई लिएर गैरदलित (अहिलेको विवादित इनार) गएका थिए । तर त्यस इनारमा डोम परिवारलाई कुनै पनि हालतमा पानी भर्न नदिने तयारीकासाथ गाउँले महिलाहरूले संगठित रुपमा अवरोध गरेको थियो । गैर दलितहरूले पानी खाने इनारमा पानी झिक्न नदिएपछि आक्रोशित मुसहर महिलाहरूले ‘मुसहरहरुले पानी खाने इनार’ मात्रै किन ‘अशुद्ध’ गरेको भन्दै आयोगका पदाधिकारीसंग बाँझाबाँझ गर्नुका साथै पुलकित मल्लिकका श्रीमती प्रमिला मल्लिकलाई कुटपिट गरेको थियो । प्रहरीले बल प्रयोग गर्न खोज्दा गाउँभरीका मुसहर समुदायका महिलाहरु ‘हामी सबैलाई लिएर हिड’ भन्दै प्रहरीको भ्यानमा बस्न खोजेपछि ठूलै लफडा हुने देखर आयोगको प्रतिनिधिमण्डल र प्रहरी टोली भाग्न बाध्य भएको थियो । ज्यान जोगाएर धनगढी स्थित इप्रकामा शरण लिएका टोलीमध्येका एक दलित आयोगका अधिकृृत राम बिश्वकर्माले इप्रकाबाटै उक्त घटना विस्तृत विवरण टेलिफोनमार्फत यो पक्तिकारलाई सुनाउँदै केही संचारकर्मीको नम्बर मागेको थियो । 

आयोगका अध्यक्षले आफूहरुसित यो प्रकरण जिल्लाका सीडीओलाई भनेर समाधान गरिदिने प्रतिवद्धता गरेपनि पछि कुनै सम्पर्क नै नगरेको पिडीत प्रमिला मल्लिकले सुनाइन । उनी भन्छिन्–‘सो घटनापछि दलित र गैर दलित सबैले हामीलाई प्रहरी र काठमाडौंबाट हाकिम ल्याएर पानी भर्ने र इनार ‘अशुद्ध’ गर्ने भन्दै आफूलाई तारो बनाइरहेको बेला राजेश हमाल गाउँ आएपछि त्यो रिस फेरेको हो ।’ 

रेकर्ड नेपाल बाट 

सारङगी सम्राट सम्मान २०७२ बाट वर्त गन्धर्व समानित

काठमाडौं, फागुन १७ , विभेद बिरुद्ध अभियान , सारङगी वादक तथा प्रशिक्षक वर्त गन्धर्वलाई दलित कलाकार नेपालले सारङगी दिवस २०७२ का अबसरमा स्वर्गीय सारङगी सम्राट जंग बहादुर गन्धर्व सारङगी वादन पुरस्कारबाट सम्मान गरेको छ ।  दलित कलाकार नेपालले सारङगी सम्राट स्वर्गीय जंगबहादुर गन्धर्व १३ औं दिनको पुन्यतिथिमा स्थापना गरेको सारङगी वादन पुरस्कार—२०७२ बाट सारङगी वादन तथा प्रशिक्षणको क्षेत्रमा पुरयाएको योगदानको कदर गर्दै भोजपुर निवासी वर्त गन्धर्वलाई सम्मान गरेको हो ।
सारङगी दिवस—२०७२ को अबसरमा आयोजित कार्यक्रममा स्वर्गीय सारङगी सम्राट गन्धर्वले नेपाली लोक गीत तथा सुगम संगीतका क्षेत्रमा सारङगीको सहभागितालाई निरन्तरता दिदै लामो समय सारङगीको संरक्षणमा जुट्नुभएका गन्धर्वको नाममा संस्थाले हरेक बर्ष एक जना सारङगी वादनमा सक्रिएलाई सम्मान गर्ने निर्णय अनुरुप यो वर्ष वर्त गन्धर्वलाई सम्मान गरिएको अध्यक्ष झलक संगीतमले जानकारी दिनुभयो ।
नेपालमा व्यवसायीकरुपमा एक मात्र सारङगी वादन तथा प्रशिक्षकणको क्षेत्रमा काम गर्दै आएकाले उहाँको भुमिकालाई उच्च मुल्याङकण गर्दै दलित कलाकार नेपालले आफ्नो वार्षीक कार्यक्रम अन्तरगत सम्मान गरेको हो ।
गायक तथा संगीतकार एवं संस्थाका अध्यक्ष संगीतमले स्वर्गीय जंगबहादुर गन्धर्वले आफ्नो जिवनको अन्तिम समयसम्म नेपाली संगीतमा सारङको सहभागि गराउनुभएको भन्दै उहाँको सम्झाना रहेक वर्ष एक जना सारङगी वादनको क्षेत्रमा सक्रियलाई नगत सहित सम्मान गर्ने उल्लेख गर्नुभयो । उहाँले नेपाली संगीतमा पुर्याएको योगदानको कदर गर्दै राज्यले यस्ता हस्तीहरुको नाम सम्मान गर्न आवश्यक रहेको बताउनुभयो ।
गन्धर्व साँस्कृति कला संगठनको आयोजनामा राजधानी सम्पन्न सारङगी दिवस २०७२ को अबसरमा जंगबहादुर गन्धर्व संगीत प्रतिष्ठानकि संरक्षक स्वर्गीय गन्धर्वकी धर्मपत्नी लक्ष्मी गन्धर्व र संस्थाका अध्यक्ष संगीत र गन्धर्व साँस्कृतिक कला संगठनका अध्यक्ष नरबहादुरद्धारा संयुक्त रुपमा प्रदान गरिएको थियो । संगीत प्रतिष्ठानले नगत १० हजार रुपैयाँ तथा दलित कलाकार नेपालले ताम्रापत्रको व्यवस्था गरेको थियो ।
दलित कलाकार नेपालका सचिव सन्तोष गन्धर्वले पछिल्लो समय पश्चिमा संगीतको प्रभावले नेपाली मौलिक लोक वाजाको महत्व घट्दै गइरहेका समयमा सारङगी वाजालाई व्यवसायीक बनाउन तथा अग्रजको सम्मान र अनुजको प्रोत्साहनका लागि स्थापना गरेको सम्मानले बाजाको संरक्षणमा सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो ।
पेशाको सम्मान हुन छोडेसंगै नेपाली मौलिक कला हराउँदै गएकाले यसको संरक्षणमा सबैको दायित्व महत्वपुर्ण रहेको उल्लेख गर्नुभयो ।  लामो समय सारङगीको प्रशिक्षकका रुपमा काम गर्दै आउनुभएकी एक मात्र व्यवसायीक गन्धर्व समुदायकी महिला सारङगी वादक वर्ता गन्धर्वले दलित कलाकार नेपालले सुरुगरेको कार्यको प्रशंसा गर्दै यसले अन्य गन्धर्व सारङगी वादकलाई सारङगीको संरक्षणमा उर्जा थप्ने विश्वास व्यक्त गर्नुभयो ।
आफ्नै समुदायको वाजाको संरक्षणमा आफुले योगदान पुर्याएको भन्दै संस्थाले गरेको सम्मानले आफु धेरै खुशी भएको बताउनुभयो । गन्धर्व समाज नेपालका अध्यक्ष पुजन गन्धर्वले लोपान्मुक समुदायको लोपान्मुक बाजा सारङगीको संरक्षण र गन्धर्व समुदायको उच्चमुल्याङण गर्दै स्थापना गरिएको पुरस्कारले पेशाको सम्मानसंगै सारङगीलाई आधुनिक बनाउन सहयोग पुग्ने बताउनुभयो । उहाँले यस्ता सम्मानले सारङगीलाई पेशा बनाएका अन्य समुदायका कलाकारहरुमा पनि उत्साह थपिने उल्लेख गर्नुभयो ।
सारङगी सम्राट स्वगीय जंग बहादुर गन्धर्व संगीत प्रतिष्ठानका अध्यक्ष तथा गन्धर्वका छोरा भुवन गन्धर्वले आफ्नो वुवाले सारङगीसंगै राष्ट्रको संगीत क्षेत्रमा दिनुभएको योगदानको कदर गर्दै सारङगी दिवसका अबसरमा एक जना गन्धर्व सारङगी वादकलाई आफ्नो सहयोग र सम्मान हुने बताउनुभयो ।

संविधान र उत्पीडित समुदायबारे भेला सुरु

मोरङ, फागुन १७ , विभेद बिरुद्ध अभियान  । नेपालका आदिवासीहरुको मानवअधिकार सम्बन्धी वकिल समूह (लाहुर्निप) को संयोजनमा नेपालमा ऐतिहासिक विभेदमा परेका समुदायहरुको दुई दिने भेला मोरङको विराटनगरमा सुरु भएको छ । भेला संविधान र विभेदमा परेका समुदायहरुको अधिकारमा केन्द्रित रहने छ ।
भेलामा ११ भन्दा बढी जिल्लाका आदिवासी जनजाति, मधेशी, दलित, मुस्लिम तथा पिछडा वर्गका समुदायहरुको २०० भन्दा बढी प्रतिनिधिहरुको सहभागिता रहने बताइएको छ ।
भेलामा डा. कृष्ण भट्टचन, शंकर लिम्बू, दीपेन्द्र झा, अन्जना बिसंखे, ज्योति दनुवार, राजकुमार लेखी लगायतका बुद्धिजीवि तथा अभियन्ताहरुको कार्यक्रममा सहभागिता रहेको छ ।
थारु अग्रज कन्हैया लाल थारुको अध्यक्षतामा कार्यक्रम संचालन हुने छ । थारु परम्पराअनुसार प्रकृति पूजा गरेर कार्यक्रमको उद्घाटन गरिएको थियो ।
-इसमता बाट

एक दलितको त्रासदी - अभय श्रेष्ठ

फागुन १७ , विभेद बिरुद्ध अभियान - सन् २०१२ मा बनेको भारतीय सिनेमा 'बीए पास' ले पुँजीवादी–उपभोगवादी युगमा हाम्रै सन्दर्भका भोगाइहरूलाई अत्यन्त मार्मिक शैलीमा उठाएको छ। मोहन सिक्काको चर्चित कथा 'रेल्वे अन्टी' मा आधारित यस चलचित्रलाई अन्तर्यमा ध्यान नदिँदा कतिले 'एडल्ट' वा 'इरोटिक' फिल्म भन्न सक्छन्। तर, यसका दृश्यहरू कथाका अभिन्न अंगका रूपमा आएका छन्। बेरोजगार र निरुपाय युवक मुकेशलाई उच्चवर्गीय 'भद्र' महिलाहरू जबर्जस्ती पुरुष वेश्या बनाउँछन्। पछि उसका लागि यही निर्विकल्प पेसा बन्छ। मुकेशलाई संसारमा स्वागत गर्ने कोही छन् भने ती धोका र बेइमानीमात्र हुन्।
किशोरकालमै बाबुआमाको निधन। अनाथ दुई किशोरी बहिनीको जिम्मेवारी। पढाइको खर्च बेहोरिरहेका मामाली हजुरबाको असामयिक निधन। अभिभावकको जिम्मेवारी लिएकी फुपू र उनको छोराको असीम अपहेलना र तिरस्कार। उसलाई पुरुष वेश्या बन्न बाध्य पार्ने भद्र महिला सारिकाका लागि ऊ केबल निमित्त नायक हुन्छ। तिनको स्वार्थ पूरा भएपछि उसका लागि सबै ढोका बन्द हुन्छन्। कहाँसम्म भने उसको एक मात्र हार्दिक मित्र जोनीसमेत उसको पैसा लिएर भागिसकेको हुन्छ। पुँजीवादी युगमा पैसा छ त सब थोक छ। पैसा नभए बाँच्ने अधिकार पनि कानुन र संविधानको किताबमै खुम्चिएर बस्छ। निर्देशक अजय बहलले यही क्रूर सत्यलाई हृदयस्पर्शी शैलीमा प्रस्तुत गरेका छन्। अन्ततः ऊ सारिकाको हत्या गर्छ र प्रहरीको फन्दाबाट उम्कन खोज्दा आत्महत्या गर्न बाध्य हुन्छ। सिनेमाको सुरुवातमा मुकेश भन्छ, 'बाबुआमाको अकाल निधन दुर्घटना होइन, धोकाजस्तो लाग्छ। तर, धोका कसले दियो यो नबुझेर म हैरान छु।' उपभोगवादी युगमा सारा निर्धन युवाहरू यसरी नै हैरान छन्। 
बेमुलाको त्रासदी

'बीए पास' को नायक आधुनिक समाजको ट्रेजेडीको एउटा बिम्ब हो जहाँ संवेदना र मानवीय मूल्यहरूको कुनै अर्थ हुँदैन। केहीअघि यस्तै ट्रेजेडी भारतका एक दलित विद्यार्थीको जिन्दगीमा आइलाग्यो जसको चर्चा संसारभरिका मिडियामा छ्यापछ्याप्ती छ। त्यसमा खलनायकको भूमिकामा थियो भारतीय जनता पार्टीको विद्यार्थी संगठन अखिल भारतीय विद्यार्थी परिषद्। भारतका पूर्वगृहमन्त्री पी चिदम्बरमले समेत इन्डियन एक्सप्रेसमा लेख लेखेर भाजपा सरकारको अन्धराष्ट्रवादी प्रवृत्तिप्रति रोस प्रकट गरे। 'कार्ल सैगनजस्तो विज्ञान लेखक बन्न चाहने रोहित चक्रवर्ती बेमुलाले हामीलाई एउटा पत्र छाडेर गएका छन्। यो हाम्रो राष्ट्रको दस्तावेज हो। त्यसलाई पढौँ, पटकपटक पढौँ', कांग्रेस आईका नेताको यस अभिव्यक्तिले भाजपा सरकारको फासीवादप्रति प्रस्ट संकेत गर्छ।

वर्णभेदी समाजमा रोहित चक्रवर्ती बेमुला दलितको कोखमा जन्मनु नै अभिशाप थियो। शूद्र त चतुर्मुख ब्रह्माको पाउबाट पो निस्केको थियो। त्यसैले ऊ कुजात थियो। उसले गर्नुपर्ने त माथिल्ला जातिको सेवा सुश्रुशा पो। बेमुला हैदरावाद विश्वविद्यालयमा जीवविज्ञानका विद्यावारिधि शोधार्थी थिए। भाजपा समर्थित विद्यार्थी, मन्त्री, सांसद र विश्वविद्यालयका कुलपति र छानबिन समितिका सुजात जनका लागि यो कहाँ सुपाच्य थियो त? पाँच हजार वर्षअघि ऋग्वेदको पुरुषसूक्तमा लिखित र दुई हजार वर्षअघि राजा पुष्यमित्रको पालामा लिखित मनुस्मृतिले व्यवस्था गरेका वर्णाश्रमलाई चुनौती दिएर शूद्रहरू जागृत हुनु सानो कुरो थिएन।

पछाडि पारिएका र उत्पीडित वर्गलाई दिइने आरक्षणकै कारण रोहित हैदरावाद विश्वविद्यालयसम्म पुगे। रोहित अम्बेडकर स्टुडेन्टस एसोसियसनका सदस्य थिए। आफ्ना केही साथीसँग मिलेर उनले एउटा हमलाविरुद्ध विरोध प्रदर्शन गरे। त्यो विरोध सत्तासीन भाजपाको विद्यार्थी संगठन अखिल भारतीय विद्यार्थी परिषद्लाई सह्य भएन। उसले प्रतिवाद गर्योत। जातिवादीहरुलाई सदैव लाग्छ, जन्मैले हामी उपल्ला मानिस हौँ। तिनको यात्रा निरन्तर सामन्ती अहंकरतिर लम्किरहेको हुन्छ। तलकाले आँखा उठाएर हेरेको तिनलाई मन पर्दैन। तिनको रगतमै कोरिएको अहंकारको शैतानी ऋचाले मानव सभ्यता नै लजाउन बाध्य हुन्छ। यही मानसिकताले झुसी भएर कट्टरपन्थी परिषद्ले दलित विद्यार्थीहरु अराष्ट्रवादी गतिविधिमा सामेल छन् भनेर एक विधायकलाई गुहारे। विधायकले मानव संसाधन विकास मन्त्री स्मृति इरानीलाई सिफारिस गरे। इरानीले विश्वविद्यालयलाई चिठी लेखिन्। चार महिनामा पाँच चोटि मेमोरेन्डम पठाइयो। केन्द्रीय मन्त्री बन्डारु दत्तात्रेयको समेत दबाबमा विश्वविद्यालयले पाँचै जना दलित विद्यार्थीलाई निलम्बन गर्योो र छात्रावास छाड्न आदेश दियो। मान्छेका गतिविधि कहिलेकाहीँ ससाना आवेग र उत्तेजनाहरुले निर्देशित हुन्छन्। त्यसले ठूलो त्रासदी पनि निम्त्याउन सक्छ। रोहित चक्रवर्तीका मामलामा यही भयो। सायद असह्य अपमानबोधले गएको जनवरीे १७ मा रोहितले आत्महत्या गरे।

सुसाइड नोटिसमा रोहितले वर्णभेदी समाजप्रति सूक्ष्म व्यंग्य गर्दै भनेका छन्, 'मेरो जन्म नै एउटा दुर्घटना थियो। मैले मानवजातिलाई प्रेम गरेँ तर मलाई थाहा थिएन, तिनले धेरैअघि प्रकृतिसँग पारपाचुके गरिसकेका थिए। हाम्रो भावना दोयम दर्जाको छे। हाम्रो प्रेम झुटो छ। हाम्रा मान्यताहरू झुटा छन्। हाम्रा मौलिकताहरू वैध छन् केबल कृत्रिम कलाका लागि। यो अत्यन्त कठिन कुरा हो कि प्रेम गर्नु तर दुःखी नहुनु।' रोहितले यो संकेत आफ्नो जन्मजात अपमानित जिन्दगीप्रति थियो। आमा राधिका दलित थिइन्। बडहर जातिकी शिक्षिका अञ्जनीदेवीले उनलाई ग्रहण गरिन्। शिक्षिकाले बडहर जातिकै एक युवकसँग १४ वर्षकी राधिकाको बिहे गराइदिइन्। पाँच वर्षमा तीन सन्तान जन्मिए। लोग्नेलाई जब थाहा भयो, राधिका दलित हुन्, त्यसपछि उसको व्यवहार बदलियो। असीम हिंसाबाट बच्न सन् १९९० मा उनी लोग्नेबाट छुट्टिइन्। अञ्जनीदेवीले शरण त दिइन् तर त्यहाँ रोहितको पूरै परिवारले पैसा नपाउने नोकरका रूपमा काम गर्नुपर्योट जुन भूमिका बिहेअघि नै राधिकाले निर्वाह गर्नुपरेको थियो।

आत्महत्या गरेबापत रोहितलाई हिरो बनाउनुपर्ने कुनै कारण छैन। यो त पलायन र निराशाको उत्कर्ष थियो। तर, यसले जातिवादी राजनीतिक व्यवस्थामा केसम्म गरिँदोरहेछ भन्ने उदाहरण पेस गर्छ। आफूलाई सुजात र दलितलाई कुजात ठान्ने विद्यार्थी परिषद्को गुहार सुनेर विश्वविद्यालय प्रशासनले दलित विद्यार्थीलाई गैरशैक्षिक एवं राजनीतिक गतिविधिमा भाग लिन प्रतिबन्ध लगायो। अनि छात्रवृत्ति खोसेर छात्रावासबाट गलहत्याइयो। विश्वविद्यालय प्रशासनले यसलाई उदार सजाय दिएको ठान्दैछ। के उसले दलित विद्यार्थीलाई रामायणको उत्तरकाण्डमा रामले शम्बुकमाथि गरेको अत्याचारको भागी हुनु उचित ठानेको थियो? भारतीय कवि धूमिलले यस्तै स्थितिलाई सकंेत गर्दै भनेका छन्–

हत्याराहरूले त्यागिदिएका छन् सारा शब्द र विचार
उठाएका छन् तिनले हतियार
अब तय गर्नु छ तिमीले आगामी बाटो।
खतरनाक समयको पदचाप

हाम्रै देशमा पनि दलितलाई अझै पूर्ण मान्छे स्वीकारिन्न। पछिल्लो खबरअनुसार जाजरकोटका एक दलितले ठकुरीकी छोरी बिहे गरेपछि घरबास रहेको गाउँ प्रवेश गर्न माइती पक्षले दबाब दियो। अनि गर्खाकोट–४ का गणेश चँदारा र ज्योति शाह तथा गणेशका बाबु, आमा, बहिनी, दाजु, भाउज्यू र भतिजसमेत चार महिनाअघि गाउँ छाड्न बाध्य भए। यसले गर्दा यस जोडीले आगामी वैशाखमा हुने कक्षा १२ को परीक्षा दिन नपाउने भए। गाउँकै एक प्राथमिक विद्यालयका प्रधानाध्यापक दाजु राजेश विद्यालय फर्कन पाएनन्।

मान्छेलाई मान्छेसरह बाँच्न नदिने हरेक व्यवस्था निन्दनीय छ। भारतमा त्यही व्यवस्थाले गर्दा एक प्रतिभाशाली युवकले आत्महत्या गर्नुपर्योन। भाजपा नेतृत्वको सरकार वर्णभेदी व्यवस्थालाई नै शाश्वत बनाउन प्रतिबद्ध देखिन्छ। त्यसको छिर्का दिल्लीस्थित वैकल्पिक विचार केन्द्र जेएनयुमा समेत परेको छ। त्यहाँ वामपन्थी विद्यार्थी नेता कन्हैयाकुमार पक्राउ परेका छन्। त्यसविरुद्ध भइरहेको आन्दोलनमाथि चर्को दमन भयो। भारतीय प्रधान मन्त्री नरेन्द्र मोदी त्यही वर्णभेदी व्यवस्थालाई शाश्वत राख्न नेपाललाई हिन्दु राष्ट्र कायम राख्न चाहन्छन् जसका कारण यहाँ पाँच महिना अघोषित नाकाबन्दी भयो। हाम्रा प्रधान मन्त्री केपी ओलीसँगको शिष्टाचार भेटमा उनले नेपाली संविधानको प्रशंसा गर्नु तर त्यसकै निहुँमा गरिएको नाकाबन्दीबारे मौन रहनु कम रहस्यमय छैन। 

नागरिक दैनिक बाट 

‘दलित कोटामा सधैँ एलिट’ - गोपाल बराइली

१६ फाल्गुण २०७२,विभेद बिरुद अभियान - आसन्न नेपाली कांग्रेसको महाधिवेशनमा उम्मेदवारी घोषणा गर्ने क्रम जारी छ । कांग्रेस १२औं महाधिवेशनले आरक्षणको व्यवस्था गरेपछि दलितको प्रतिनिधित्व पनि बढेको छ तर दलितले पाउने आरक्षण कोठामा सधैँ ठूलाठालू र दलितभित्रका एलित वर्गले नै स्थान पाउँदै आएका छन् ।  कांग्रेसका पुराना नेता हुन् मानबहादुर विश्वकर्मा । उनी ११औं महाधिवेशनमा केन्द्रीय सदस्य निर्वाचित भएका थिए । जुन बेला कांग्रेसले आरक्षण व्यवस्था गरेको थिएन । कांग्रेसले आरक्षणको व्यवस्था गरेलगत्तै उनी अघिल्लो १२औं महाधिवेशनमा दलित कोटाबाट केन्द्रीय सदस्यमा भाग लिए । उनी त्यसबेला संस्थापन पक्षबाट केन्द्रीय सदस्यमा निर्वाचित भए । अहिले उनी देउवा पक्षबाट केन्द्रीय सदस्यमा उम्मेदवारी दिने तयारीमा छन् ।  कांग्रेसभित्र अर्का प्रभावशाली नेता हुन् मीनबहादुर विश्वकर्मा । उनी १२औं महाधिवेशनबाट देउवा पक्षबाट केन्द्रीय सदस्य निर्वाचित भएका थिए । उनी नेपाल दलित संघको केन्द्रीय अध्यक्ष पनि हुन् । आन्तरिक संविधान–०६३ का मस्यौदाकारसमेत रहेका विश्वकर्मा पनि केन्द्रीय सदस्यमै उठ्ने तयारीमा छन् । तर, उनी भने पार्टीको निर्णयअनुसार उम्मेदवारी दिने बताउँछन् ।  १२औं महाधिवेशनबाट केन्द्रीय सदस्यमा निर्वाचित भएका सुजाता परियार, कविता सरदार, प्रतापराम लुहार र जीवन परियार र पूर्वमन्त्री खड्गबहादुर बस्याल पनि दलित कोटाबाटै केन्द्रीय सदस्यकै लडाइँ गरिरहेका छन् । त्यसो त पूर्वसभासद् लक्ष्मी परियार, शम्भूहजारा पासवान, विमला नेपालीसहित हरि गान्धारी, दोबाटे विक, भीमसेन दमार्इं, कृष्णसिंह परियार, प्रकाश स्नेहीलगायत पनि दलित कोटाबाट केन्द्रीय सदस्यका आकांक्षी हुन् । 
 १२औँ महाधिवेशनमा आरक्षणको सुविधा लिइसकेका र सांसद, मन्त्री भएर राष्ट्रियस्तर बनाइसकेका नेता अब आरक्षणमा होइन, खुलातर्फ लड्नुपर्ने आवाज उठिरहेका बेला कांग्रेसभित्र हस्ती मानिने दलित नेता आरक्षण कोटामै झुम्मिएका छन् । नेपाली कांग्रेसमा केन्द्रीय तहमा पुगेका अधिकांश नेता फेरि दलितकै कोटाबाट उठ्न चाहिरहेका छन् । कारण उनीहरूलाई खुला कोटाबाट पराजित हुन्छु भन्ने डर छ । त्यसो त पार्टीभित्र आन्तरिक भागबन्डा मिलाउन पनि प्रभावशाली व्यक्तिलाई दलित कोटाबाट उठाउने गरेको पूर्वसभासद् लक्ष्मी परियार बताउँछिन् । उनले कांग्रेसभित्रका प्रभावशाली दलित नेताले नैतिकताका आधारमा खुला कोटाबाट उठ्न चुनौती पनि दिइन् ।  
आरक्षित कोटामा पटक—पटक एउटै व्यक्तिले उम्मेदवारी दिन नपाउने व्यवस्था गर्न दलित समुदायकै युवा नेताले माग गरिरहेका छन् । उनीहरूले १२औँ महाधिवेशनमा पहिले केन्द्रीय सदस्य भइसकेका दलित नेतालाई दलित कोटाबाट नउठाउन माग पनि गरेका छन् । रुकुमका महाधिवेशन प्रतिनिधि मानबहादुर नेपाली, ललितपुरबाट प्रतिनिधि विकासकुमार रोक्का, झापाका प्रतिनिधि राजकुमार बरालीलगायतले शुक्रबार पत्रकार सम्मेलन गरेरै त्यसको विरोध गरे ।  लमजुङकी नेत्री कोपिला विश्वकर्माले पनि एउटैले पटक—पटक आरक्षण उपभोग गर्दा दलित समुदायका अन्य नेतृत्वले केन्द्रीय तहमा पुग्ने अवसर नपाउने भएकाले त्यसतर्फ सोच्न आग्रह गरिन् । उनले भनिन्, ‘त्यतिका नेताले त एक पटक आरक्षण उपभोग गरेपछि अर्को पटक खुलातर्फ प्रतिस्पर्धा गर्नुप¥यो नि ?’  कांग्रेसले १२औं महाधिवेशनबाट पार्टीमा आरक्षण व्यवस्था गरेको थियो । ८५ जनाको केन्द्रीय समितिमा ६ जना दलित आउने व्यवस्था छ । जसमा ५ जना निर्वाचित हुन्छन् भने १ जनालाई सभापतिले नियुक्ति गर्ने व्यवस्था छ । ५ जनामा २ जना दलित महिला छन् । कांग्रेस स्थापनाका बेला धनमान सिंह परियार महामन्त्री बनेका थिए । उनी कांग्रेसमा सबैभन्दा उच्च पदमा पुग्ने व्यक्ति हुन् । हरिशंकर परियार र दलसिंह कामी पनि केन्द्रीय सदस्य भइसकेका छन् । पार्टी स्थापनाकै बेला देवप्रत परियार र आरबी गहतराज केन्द्रीय समितिमा थिए । त्यसपछिको केन्द्रीय समितिमा ००९, ०५९ र ०६७ मा भएको महाधिवेशनमा गरी हालसम्म ११ जना केन्द्रीय समितिमा पुगेका छन् । 

कमाण्डर पोस्ट बाट

नयाँ शक्तिका सबै केन्द्रमा दलितको प्रतिनिधित्व हुनेछ : भट्टराई

फागुन १५,विभेद विरुद्ध अभियान - नयाँ शक्ति, नेपालका संयोजक डा. बाबुराम भट्टराईले नयाँ शक्तिका सबै केन्द्रमा दलितको प्रतिनिधित्व हुने बताएका छन् ।
आइतबार नयाँ शक्तिको मुख्यालय बबरमहलमा आयोजित दलित परिषद् निर्माणका लागि राष्ट्रिय भेलामा बोल्दै भट्टराईले भने, ‘नयाँ शक्तिका प्रत्येक केन्द्रमा दलितको प्रतिनिधित्व हुन्छ ।’
भट्टराईले समाजमा रहेको विभेद अन्त्य नयाँ शक्तिले मात्र गर्न सक्ने दाबी समेत गरेका छन् । भट्टराईले भने, ‘समाजमा दलित र गैर दलितका नाममा अझै व्यप्त रहेका विभेदको अन्त्य अब नयाँ शक्तिले मात्र गर्न सक्छ ।’
भेलामा नयाँ शक्ति केन्द्रीय परिषद् सदस्य कमला हेमचुरी र दलमर्दन कामीले कार्यपत्र प्रस्तुत गरे ।
हेमचुरीले प्रस्तुत गरेको कार्यपत्रमा दलितकै नाम राखेर शसक्त समिति बनाएर अघि बढ्ने प्रस्ताव गरिएको छ भने दलर्मनले प्रस्तुत गरेको कार्यपत्रमा राष्ट्रिय दलित मुक्ति समाज वा  पहिचानका पक्षमा अघि बढ्ने भन्ने विचार राखिएको छ ।
भेलामा नयाँ शक्तिका संगठन विभाग प्रमुख देवेन्द्र पौडेल, दलित विभाग प्रमुख महेन्द्र पासवान लगायतको उपस्थिति थियो ।
भेलामा दलितको अधिकार र सम्मान कसरी गर्ने भन्ने विषयमा छलफल भएको छ ।
- नयाँ पेज बाट

अधिकारकर्मी बिष्णुमाया परियारद्वारा भूकम्प पिडीतलाई सहयोग

१६ फागुन,  विभेद बिरुद्ध अभियान-  अधिकारकर्मी तथा समाज सेवी बिष्णु माया परियारले गोर्खाको बिद्यालयलाई आर्थिक सहयोग गरेकी छिन् । साथै उनले गोर्खाको ताक्लुङ गाबिसका भूकम्प पिडित परिवारहरुलाई २ सय वटा कंबल वितरण गरेकी छिन् ।

यस्तै भूकम्पबाट क्षतिग्रस्त सिंजाली विधालयलाई बोस्टन निवासी कवियत्री दीपा राई पुन मगरले बिद्यालयलाई ५० हजार हयोग गरेकि छिन । भने न्यू जर्सी निवासी डा विष्णुमाया परियारको परिवारबाट १ लाख नगद अनुदान प्रदान गरिएको छ । भूकम्पबाट बिस्थापित परिवारहरुलाई साहित्यकार दीपा राई पुन मगर र उनकि आमा बिमला राईले कंबल वितरण गरेका थिए ।

गोर्खाको सिंजाली मावि व्यवस्थापन समितिद्वारा आयोजित अनुदान हस्तान्तरण समारोहमा नगद रकम वितरण गरिएको थियो । समाजसेवी परियारले सोही विधालयमा आफ्नो प्रारम्भिक शिक्षा हाँसिल गरेकी हुन् ।समाज सेवी बिष्णु माया परियार को स्व पिता को ४५ औं दिनको पून्य तिथिको अवसरमा भूकम्पबाट बिस्थापित परिवारहरुलाई कंबल वितरण गरेकी हुन् ।

Saturday, February 27, 2016

कृष्ठरोगी ७७ वर्षीय धनसुरे तिरुवा ३५ वर्षदेखि छुट्टै कटेरोमा बस्दै

कालीकोट, १६ फागुन,विभेद बिरुद्ध अभियान  । कृष्ठरोगप्रति समाजले घृणाका दृष्टिले हेर्ने चलनका कारण कालीकोटका ग्रामीण क्षेत्रमा एक वृद्ध छाप्रोमा छुट्टै बास बस्नु पर्ने अवस्था आएको छ । जनचेतनामा कमीका कारण कृष्ठरोगीलाई घरमा भन्दा छुट्टै बसाल्ने गरिएको छ ।
यसको ज्वलन्त उदाहरण हुन बदालकोट–६ दलितटोलका ७७ वर्षीय धनसुरे तिरुवा घरपरिवार भन्दा एक छुट्टै कटेरोमा विगत ३५ वर्षदेखि बस्दै आउनुपरेको हो । ३५ वर्षको उमेरमा कृष्ठरोगको लक्षण देखिए पछि भारतको नैनितालबाट उपचार सुरु गरेका तिरुवाले पटकपटक उपचार गर्दा पूर्ण निको नहुँदा हात खुट्टामा समस्या देखा परे पछि अशक्त हुन परेको उनको भनाइ रहेको छ । भारतमा मात्र होइन नेपालमा आएर उपचार गर्नुका साथै उनलाई पुर्खाका कारण देवता लागेर रोग लागेको अविश्वास रहेको छ । उहाँले आफ्नो मावलि घरको देवता पुकारेका कारण माइजुको समेत कृष्ठरोग लागेर मृत्यु भएको र सो देवतालाई पुजेर अरु घर परिवारमा नदेखिए पनि आफूमा देखिएको धारणा राख्नु भयो । त्यति मात्र होइन उनलाई मान्मको धैनडी देवताले गर्दा आफूमा सो रोगले जरा गाडेकोे बुझाइ रहेको छ ।
उनी गाउँभन्दा करिब दुई किलोमिटर टाढा खेत र खोलाको किनारमा सामान्य कटेरो ९छाप्रो०मा बस्दै आएका छन् । पहिले घरका गाई बाख्रा हेर्नेमा सहयोग गर्ने गरेको बताए पनि अहिले आँखा देख्न र हिँडडुल गर्न समस्या परे पछि कटेरोभित्र बास बस्नुपरेको छ ।
बूढो उमेरमा नाति नातिनी हेरेर घरमा रमाउने समयमा किन जङ्गलमा बासभन्दा घरका अन्य परिवारलाई आफूलाई लागेको रोग सर्ने आशङ्काका कारण आफू छुट्टै कटेरोमा बस्नुपरेको उहाँले बताउनु भयो ।
उहाँले अहिलेसम्म वृद्धभत्ताबाहेक अन्य कुनै पनि निकायबाट सहयोग नपाएको गुनासो गर्नु भयो । ग्रामीण क्षेत्रमा कृष्ठरोग लुकाउने परम्पराका कारण रोग वृद्धि हुँदै गएको बताइएको छ ।
जिल्ला स्वास्थ्य कार्यालय कालीकोटले कृष्ठरोग अहिले कालीकोट जिल्ला अस्पतालको सम्पर्कमा कमै रहेको र सम्पर्कमा रहेका रोगीलाई उपचार जारी राखेको बताएको छ ।

‘साँझविहान खान पाए म पनि स्कुल जान्थें’

फागुन १६ –विभेद बिरुद्ध अभियान 
स्कुलमा घण्टी बजेको आवाज सुनिनासाथ ११ वर्षीया मञ्जुले भाई र बहिनीलाई भनिन्, “ऐले स्कुल जाओ, दिउँसो गाउँबाट भात मागेर ल्याइदिम्ला ।”
९ वर्षीया सम्झना भोकै स्कुलतिर लागिन् । ६ वर्षीय अर्जुन स्कुल जान मानेनन् । जति फकाए पनि भोको पेट अर्जुनले स्कुल जान नमानेपछि मञ्जु आफै रोइन् ।
गत असोजमा आमा–बाबुले छोडेदेखि वीरेन्द्रनगर–२० बाङ्गेसिमलकी मञ्जु र उनका भाइबहिनीको कैयौं दिन भोकभोकै वितेको छ ।
डेढ वर्षअघि बुवाले अर्की श्रीमती लगेर भागेपछि आमासँग बस्दै आएका तीन भाइबहिनी असोजमा आमा पनि अर्कैसँग भागेपछि अलपत्र परेका हुन् ।
“त्यसदिन स्कुलबाट फर्कंदा आमा घर हुनुहन्नथ्यो,” आँसु पुछ्दै मञ्जुले भनिन्, “काममा जानुभयो कि जस्तो लागेको थियो तर आजसम्म आउनु भा’छैन ।”
उनीहरुसँग अन्न, पैसा केही छैन । गाउँमा कसैले उब्रेको खाना दिए त्यसैले छाक टर्छं, नभए भोकभोकै ।
भाइबहिनी स्याहार्नु परेपछि मञ्जु ६ महिनादेखि विद्यालय जान छाडेकी छन् ।
बहिनी सम्झना दुई र भाइ अर्जुनले एक कक्षामा पढ्छन् । उनले त्रिपुरेश्वर उच्चमावि ढोडेखालीमा कक्षा ६ मा पढ्दापढ्दै पढाई छोड्न पर्‍यो ।
विद्यालय जाने बेला उनी छिमेकीहरुसँग दाउरा लिन जंगल जान्छिन् । “दाउरा आफैं काट्न सकिंदैन, कसैले काटेर भारी बनाइदियो भने त्यही बजारमा बेचेर चामल किन्छु,” मञ्जुले आफ्नौ दैनिकी सुनाइन् । दाउरा ल्याउन नसक्दा घाँस बेचेर चामल–पिठो किन्नुपर्छ ।
भाइबहिनीलाई कापी–कलम जुटाउन पनि समस्या छ । विद्यालयमा कसैले फालेको सिसाकलम भेटियो भने त्यसैले काम चल्छ, नभए घाँस दाउरा बेचेको पैसाले चामल किन्ने कि कापी मञ्जुलाई समस्या छ ।
एक दिनमा काटेको घाँस रु. ५० मा बेच्ने गरेको उनले सुनाइन् । छुट्टिएर बसेकी ६० वर्षीया हजुरआमा जैसरा बिकबाहेक बालबालिकाका आफन्त कोही छैनन् । राति उनीहरुलाई डर लाग्यो भने हजुरआमालाई बोलाउँछन् ।
“छोराबुहारीसँग छुटिट्एर आफै जसोतसो जिउ पाल्दै आएकी थिएँ,” जैसराले भनिन्, “अब आपूm पालिने कि यिनीहरुलाई पाल्ने, बुढेसकालमा यी लालाबालाको यस्तो बिजोग देख्न पर्‍यो ।”
कसैले सहयोग गरे अझै पनि स्कुल जाने धोको छ मञ्जुको । भन्छिन्, “साँझ बिहान भरी पेट खान र कापिकलम किन्न पाए म पनि स्कुल जान्थें ।”

-लक्ष्मी भण्डारी, सुर्खेत /हिमालखबर

साउदीमा आफ्नै साथीको हत्या गर्ने दिलबहादुर कामीलाई मृत्युदण्डको सजाय

साउदी, १५ फागुन, विभेद विरुद्ध अभियान । हत्या अभियोगमा जेल सजाय भोगिरहेका एक नेपालीलाई साउदी अरबको एक अदालतले मृत्युदण्डको सजाय सुनाएको छ ।
पीडित परिवारलाई ‘ब्लडमनि’ अर्थात क्षतिपूर्ति लिएर माफी दिन स्थानीय अधिकारीहरुले समेत गरेको प्रस्ताब अस्वीकार गरेपछि अदालतले बुटबल घर भएका दिलबहादुर कामीलाई फागुन चार गते मृत्युदण्डको सजाय सुनाएको थियो ।
कामीले साउँदीमा सँगै काम गर्ने लम्खीदेउराली-५, पर्वतका किशन कुश्मेलीलाई हत्या गरेका थिए । यो फैसलालाई साउदी प्रशासनले जुनसुकै बेला कार्यान्वयन गर्न सक्नेछ ।
कुश्मेली र कामी साउदीको राजधानी रियादस्थित अलजजिरा सपिङ सेन्टरमा कार्यरत कामदार थिए । कामीको सामान लिएर कुश्मेलीको उनको घर पुगेका थिए । फर्किएर आएपछि मनमुटाव भएको झोंकमा आवेगमा आएर कामीले सेप्टेम्बर २६, २००८ मा कुश्मेलीको हत्या गरेका थिए । कामी ७ बर्षदेखि रियादस्थित अल हायर जेलमा छन् ।
साउदीका लागि नेपाली कार्यबाहक राजदूत आनन्द प्रसाद शर्माले पीडक र पीडित पक्षबीच विवाद मिलाउने प्रयास सफल नभएपछि अदालतले मृत्युदण्डको सजाय सुनाएको जानकारी दिए । उनले भने- ‘हामीले दुई पक्षबीच मिलाउन सम्बन्धीत निकायमार्फत् धेरैपटक प्रयास गरिरहेका थियौं तर पीडित पक्ष माफी दिने पक्षमा देखिएन । यो घटनाबारे परराष्ट्र मन्त्रालयलाई जानकारी गराइसकेका छौं ।’
साउदीको कानुनअनुसार पीडित पक्षले माफी नदिए उनलाई दुवै देशको सरकारले चाहेर पनि बचाउन सक्दैन् । हत्याको अभियोगमै यसअघि साउदीमा एक नेपाली युवतीलाई पनि फासीको सजाय दिइएको थियो ।

Friday, February 26, 2016

जातीय विभेद अन्त्यको नीति कार्यान्वयन गर्नुपर्नेमा जोड

इलाम । ०७२ -१४ फागुन ,- विभेद बिरुद अभियान ।इलामका दलित अगुवाले जातीय विभेद तथा छुवाछूत विरूद्ध नीतिनियम भएपनि कार्यान्वयन हुन नसकेको भन्दै कार्यान्वयनमा जोड दिएका छन् । 
राष्ट्रिय दलित आयोगले फागुन १२ गते इलाममा आयोजना गरेको जातीय विभेद तथा छुवाछूत (कसूर र सजायऐन२०६८ को प्रभावकारी कार्यान्वयन विषयक अन्तरक्रियाका सहभागीहरूले सो कुरामा जोड दिएका हुन् । 
उनीहरूले नेपालको संविधान२०७२ ले उत्पीडित दलित समुदायलाई महत्वपूर्ण हक अधिकार प्रदान गरेको भएपनि प्राप्तिका लागि निरन्तर सकारात्मक खबरदारी गर्नुपर्ने आवश्यकता रहेकोसमेत औंल्याए ।  
कार्यक्रममा राष्ट्रिय दलित अयोगकी सदस्य बिमला विकले सामाजिक कलङ्कको रूपमा रहेको जातीय विभेद र छुवाछूतको अन्त्य गर्नका लागि राज्य थप जिम्मेवार बन्नुपर्ने बताइन् । उनले भनिन्-'कानून बनाएर मात्रै हुँदैनकानूनको कार्यान्वयनमा राज्य जिम्मेवार बन्नुपर्छ ।'

Thursday, February 25, 2016

जातिय विभेदका लागि अमेरीकामा वृहत जनचेतनात्मक कार्यक्रम हुने

काठमाडौं, १४ फागुन ,- विभेद बिरुद अभियान  विश्व भरी छरिएर बसेका नेपाली मुलका नागरिकहरुद्धारा सबै प्रकारका बिभेदहरुको अन्त्यको लागि पहल गर्दै अन्तर्राष्ट्रिय जातिभेद उन्मुलन दिवसका अवसरमा एक कार्यक्रमको आयोजना हुने भएको छ । जातीय बिभेद विरुद्ध बिश्व मन्चले जनचेतना तथा आफ्नो अधिकारका लागी कार्यक्रमको आयोजना गर्न लागेको हो ।
विश्वमा जातको आधारमा गरिने भेदभावको अन्तको लागि २०१४ देखि संयुक्त राज्य अमेरीकामा दर्ता भएको संस्थाले बिभेद बिरुद्ध अन्तर्राष्ट्रियस्तरबाट बकालत गरिरका बेला अन्तर्राष्ट्रिय जातिभेद उन्मुलन दिवस यही मार्च २०, २०१६ का दिन अमेरिकाको राजधानी वासिंगटन डीसीमा मनाउन लागीएको हो ।
सो अवसरमा लोकतन्त्र, आत्मसम्मान र न्यायको लागि दलित अधिकारको सुनिश्चता बिषयक अन्तर्राष्ट्रियेपरार्मशीय कार्यक्रम आयोजना गरिने बताइएको छ । कार्यक्रममा अमेरिका, नेपाल लगायत विभिन्न देशबाट विशिष्ट अतिथिहरु र प्रतिनिधिहरुको सहभागिता रहने बताइएको छ । आयोजकले जतिसक्दो छिटो इच्छुक व्यक्तिलाई सम्पर्क गर्न समेत सुचित गरेको छ । सम्र्पकका लागी संस्थाका संयोजक धर्म विश्वकर्मा फोन १४४३६९०५६७७, उप-संयोजक तीर्थ बर्मा १२०२३६१६४३३ लाई सम्र्पक गर्न सकिनेछ ।

Wednesday, February 24, 2016

कामीको छोरा भएर कामी लेख्न केको लाज ?’ - अमृत विक

फागुन १२- विभेद बिरुद अभियान ।कक्षा चारमा पढ्दै गर्दा स्कुलमा सरस्वतीको मन्दिर बन्यो । श्रीपञ्चमीको दिन बिहानै हामी विद्यार्थीहरु विद्याकी देवी सरस्वतीलाई चढाउन हातमा फूल र प्रसाद लिएर लामबद्ध भएर उभिएका थियौं । हाम्रा गुरुहरुले हामीहरुलाई एक एक गरी मन्दिरभित्र छिर्न दिनुहुन्थ्यो । र विद्यार्थीहरु मन्दिरभित्र प्रवेश गरी पूजा गर्दै फूल र प्रसाद चढाएर बाहिर निस्कन्थे ।
यसै क्रममा मेरो पालो आयो । फूल र प्रसाद लिएर मन्दिरभित्र छिर्न मात्र के खोजेको थिएँ, पनेरु थरका एक जना सरले ‘पख’ भन्दै कराउनुभयो । उहाँले मेरो हातको प्रसाद र फूल माग्दै ‘म चढाइदिन्छु’ भनेर बाहिरैबाट मूर्तिमा पर्नेगरी फ्याँकिदिनुभयो । र मलाई मन्दिरभित्र छिर्नै नदिई फर्काइदिनुभयो ।
मन्दिरभित्र छिरेर पूजा गर्ने इच्छा पूरा नहुँदा मन खिन्न भयो । अरु साथीहरुलाई पस्न दिइयो, मलाई किन दिइएन भन्ने प्रश्न मेरो बालमस्तिष्कमा घुमिरह्यो । घरमा पुग्ने बितिकै यसबारे अन्तरे बुबासँग सोधें, जो अलि पढेलेखेको हुनुहुन्थ्यो । उहाँबाट मैले मेरा साथीहरु ठूला जातका भएकाले मन्दिरभित्र छिर्न दिइएको र म सानो जातको भएकोले छिर्न नदिइएको भन्ने थाहा पाएँ । यो नै मेरो आफ्नो जातसँगको पहिलो साक्षात्कार थियो ।
त्यसको केही हप्तापछि घरमा अधबैंसे मान्छे मेरो स्कुलको ड्रेस सिलाएर घरमा आउनुभयो । म बटुकामा भुटेको मकै खाँदैथिएँ । उहाँको नजिकै जान खोज्दा उहाँले भन्नुभयो, ‘मेरो नजिक नआऊ बाबु, छोइन्छ ।’ 
उहाँबाट मैले मेरा साथीहरु ठूला जातका भएकाले मन्दिरभित्र छिर्न दिइएको र म सानो जातको भएकोले छिर्न नदिइएको भन्ने थाहा पाएँ । यो नै मेरो आफ्नो जातसँगको पहिलो साक्षात्कार थियो ।
मैले केही बुझ्नै सकिनँ र आमालाई सोधेँ अनि थाहा पाएँ । उहाँ हामीभन्दा तल्लो जातको हुनुहुँदो रहेछ र उहाँले छोएको हामीले खान नहुने रहेछ !
जात के हो र कसरी सानो र ठूलो हुन्छ भन्ने केही थाहा नभए पनि आफूहरु सानो पनि नभएको र ठूलो पनि नभई बीचको जातको भएको मेरो बालचेतनाले ठम्यायो ।
दशैं आउँदै गर्दा एक दिन बुबासँग गोठालो गएको थिएँ । गाईवस्तु वनमा चर्दै गर्दा बुबा बाटोको कान्लामा पलाएको घाँस काट्दै हुनुहुन्थ्यो । म बाटोको डिलमा भएको ठूलो ढुंगामा बसिरहेको थिएँ । त्यत्तिकैमा एक जना लामो लंगौटी, सेतो कमिज, ज्वारीकोट र ढाका टोपी लगाएका व्यक्ति खसी डोर्याएर आउँदै गरेको देखेँ । हेर्दा भलाद्मी देखिने उक्त व्यक्तिले हाम्रो नजिकै आएपछि अनौठो व्यवहार गर्नुभयो । बाटो माथि बुबालाई देखेर उहाँले तल झर्न लगाउनुभयो । बुबा तल झरेपछि उहाँ खुरुखुरु आफ्नो बाटो लाग्नुभयो ।
मैले बुबालाई तल झर्न लगाउनुको कारण सोधें अनि थाहा भयो, उहाँ सरदार भक्ति थापाका सन्तान काजीसाप हुनुहुँदो रहेछ । र, आफू हिँडेको समयमा सानो जातको मान्छे बाटो माथि भएका कारण बुबालाई तल झार्न लगाउनु भएको रहेछ । त्यस दिनदेखि मेरो बालमनमा सानो जात र ठूलो जातको अन्तर्द्वन्द्व चलिरह्यो ।
केही हप्तापछि घरमा अधबैंसे मान्छे मेरो स्कुलको ड्रेस सिलाएर घरमा आउनुभयो । म बटुकामा भुटेको मकै खाँदैथिएँ । उहाँको नजिकै जान खोज्दा उहाँले भन्नुभयो, ‘मेरो नजिक नआऊ बाबु, छोइन्छ ।’
सायद, सात कक्षामा हुनुपर्छ, सामाजिक शिक्षामा हिन्दु वर्णव्यवस्था र त्यसमा आधारित पृथ्वीनारायण शाहको श्रम विभाजनबारे पढेपछि जातीय विभेदबारे थाहा भयो । त्यसपछिका दिनमा जातीय विभेद आफ्नो जीवनको पर्याय नै भए पनि मलाई खासै अनौठो लाग्न छाड्यो । किनभने म जुन समाजमा जन्मेँ र हुर्केँ, त्यसले मलाई आफ्नो सीमा तोकिदिएको थियो । र, त्यसकै परिधिभित्र रहेर जिउन जानेको थिएँ ।
२०५३ सालतिरको कुरा हो, म आईएससीको परीक्षा सकेर गाउँ गएको बेला म पढेको स्कुलको हेडसरसँग भेट भयो । भेटमा उहाँले भन्नुभयो, ‘अस्थायी शिक्षक दरबन्दी खाली छ, विद्यालय सञ्चालक समितिले नियुक्ति गर्न पाउँछ, पढाउने भए पढाऊ ।’
बिएससी गर्न अलि पैसा पनि चाहिने, सोचेँ, सरको सुझाव ठिकै लाग्यो । जागिर खान नागरिकता चाहिने भयो । बुबाको नागरिकता र एसएलसीको प्रमाणपत्र झोलामा हालेर नागरिकता बनाउन जिल्ला सदरमुकाम गएँ । एक दिन जानै लाग्यो । भोलिपल्ट दश बजे नै नागरिकता फाँटमा निवेदन पेस गरें । शैक्षिक प्रमाणपत्रमा रहेको थर कायम गरी नासुले सबै प्रक्रिया पुुर्याएर प्रमुख जिल्ला अधिकारीकोमा तोक लगाउन लगे । म बाहिर पालो कुरेर बसें, त्यति बेला लम्जुङ जिल्लाका सिडिओ विनोद ज्ञवाली थिए ।
सिडिओलाई जिल्लाको राजा भनिन्थ्यो । उनीहरुको रवाफबारे सुनेको थिएँ, तर सामना गरेको थिइन । एकछिनपछि मेरो नाम बोलाइयो, केही नर्भस हुँदै भित्र गएँ । उनले मेरो एसएलसीको मार्कसिट हेरेर मेरो मुखमा पनि नहेरी सोधे, ‘के यो मार्कसिट तेरै हो ?’
सिडिओले ‘बुबाको थर कामी, तेरो थरचाहिँ किन विक ? यसरी हुँदैन, तँलाई कामीको छोरा भएर कामी थर लेख्न केको लाज ?’ भन्दै विकलाई रातो कलमले कोष्ठभित्र राखेर ‘कामी’ थर थपिदिए ।
सायद, उनलाई दलितको छोरो एसएलसीमा प्रथम श्रेणीमा पास गर्नु अचम्मको कुरा लाग्यो होला । मैले नम्र भएर ‘हो सिडियो साब’ भनें । उनले पुलुक्क मेरो मुखमा हेरे अनि बुबाको नागरिकता मागे । बुबाको नागरिकता हेरेपछि मेरो नागरिकतामा सही गर्नै लाग्दा सोधे, ‘बुबाको थर कामी, तेरो थरचाहिँ किन विक ?’ मैले भनेँ, ‘मेरो शैक्षिक प्रमाणपत्रको नामअनुुसार बनाउन लागेको ।’ उनले ‘यसरी हुँदैन, तँलाई कामीको छोरा भएर कामी थर लेख्न केको लाज ?’ भन्दै विकलाई रातो कलमले कोष्ठभित्र राखेर ‘कामी’ थर थपिदिए । म चुपचाप नागरिकता लिएर घर फर्कें ।
मेरो मनमा सुषुप्त रहेकोे जातीय विभेदको अन्तर्द्वन्द्व त्यो दिनदेखि फेरि जाग्न थाल्यो । स्कुलमा शिक्षक हुँदा पनि त्यसले अनेक रुपरंग देखायो । आफूले पढेको स्कुलमा आएर पढाउन मलाई जति गर्व हुन्थ्यो, त्योभन्दा बढी पीडा टिफिनको समयमा हुन्थ्यो । टिफिनको समयमा सबै शिक्षक साथीहरु मलाई ‘नास्ता खाना जाउँ’ भन्थे । तर म भने विद्यार्थीको हुलमा गएर मिस्सिन्थेँ, म नजानुको कारण भोक नलागेर होइन, पैसा नभएर पनि होइन । चियापसलमा अरु भित्र, म बाहिर हुन्थेँ, अरु आफूले खाएको भाँडा छाडेर उठ्थे, मैले माझ्नुपर्थ्यो । मलाई अरुको घरभित्र पस्ने रहर र भाँडा माझ्नुको डर होइन, तर ममा विभेदबारे चेतना आइसकेको थियो तर विभेदको विरोध गर्ने सामथ्र्य भने आइसकेको थिएन । विवेकले विभेदको शिकार हुन दिँदैनथ्यो ।
साथीले म कोठामा आउनुभन्दा पहिले नै मेरो थर ‘थापा’ हो भनेर आफन्तलाई भनेको रहेछ । उसले मलाई थापा नै भनेर चिनाउन अनुरोध गर्‍यो । त्यो दिन मेरो जीन्दगीमा सबैभन्दा लज्जाको दिन भयो ।
सिडिओ साबले भनेको ‘कामीको छोरा भएर कामी लेख्न केको लाज ?’ भन्ने भनाइ मेरो मनमा प्रतिध्वनित भइरहन्थ्यो । पछि मलाई उनको भनाइ ठिकै लाग्न थाल्यो । कसैले मेरो जात सोध्दा म सिधै कामी भन्ने गर्थेँ । काठमाडौँमा पढ्दा एक जना साथीसँग कोठा सेयर गरेर बसेको थिएँ । साथी पूर्वतिरको उपाध्याय बाहुनको छोरा थियो, कीर्तिपुरमा हामी लगभग एक वर्ष सँगै बस्यौं । एक दिन म बाहिर किनमेल गरेर फर्केको थिएँ । कोठाभित्र दुई जना पाहुना देखेँ । साथीले म ढोकाभित्र छिर्नासाथ उनीहरुसँग परिचय नै नगराई इसाराले बाहिर लग्यो । भित्र आएका पाहुना उसका काका र गाउँका उसलाई पढाउने शिक्षक रहेछन् । उसले म आउनुभन्दा पहिले नै मेरो थर ‘थापा’ हो भनेर भनेको रहेछ । उसले मलाई थापा नै भनेर चिनाउन अनुरोध गर्‍यो । त्यो दिन मेरो जीन्दगीमा सबैभन्दा लज्जाको दिन भयो । किनभने साथीको त्यो अनुरोधले मलाई आफ्नो नजरमा आफै गिरेँ । साथीका पाहुनाहरु बसुन्जेल म आफू भएर जिउन सकेको थिइन ।
अध्ययन सकेपछि गरिबहरुका लागि स्थानीय स्रोतको प्रयोग गरी न्यून लागतमा घर निर्माण गर्ने गैरसरकारी संस्थामा करिब १२ वर्ष काम गरेँ । यो बीचमा ५ वर्ष मध्यपश्चिम, सुदूर पश्चिम र बाँकी सात वर्ष पूर्वमा बसेँ । यही दौरानमा विभेदका धेरै आयाम देख्ने मौका पाइयो, कतै विभेदको पात्र बनेर त कतै साक्षी बनेर । जातीय, वर्गीय, धार्मिक तथा क्षेत्रीय विभेद मेचीदेखि महाकालीसम्म झ्याँगिएका छन् । त्यसबारे ठण्डा दिमागले फर्केर हेर्ने कि ?
वोस्टन, अमेरिका

इसमता बाट साभार

सामुहिक कर्मकाण्ड संगै धरानबाट सुरु भयो धार्मिक अन्तरघुलनको थालनी

दिनेश गजमेर,धरान, फागुन,१२- विभेद  विरुद्ध अभियान । करिब ७० वर्षअघि धरानका शिक्षाप्रेमी पण्डित छविलाल पोख्रेलले दलित समुदायका घरघरमा पुगी कर्मकाण्ड गरिदिन्थे । तत्कालीन अवस्थामा अन्य पण्डितहरुले उनलाई बहिष्कार पनि गरेका थिए । तथापि परम्परागत रुपमा संस्कार गर्दै आएका दलित समुदायको घरमा आफै गई पूजाआजा तथा संस्कारहरु गरिदिन्थे ।
त्यस पछिका दिनमा लामो समयसम्म दलित समुदायका घरमा पुगि पण्डितहरुले कर्मकाण्ड गरेनन् । सामुहिक कर्मकाण्डमा पनि सहभागि गराइएनन् । तर अहिले आएर उनको सपना पूरा हुँदै गएको छ । ब्राह्मण सेवा समाज धरानले आयोजना गरेको सामुहिक व्रतबन्धमा दलित समुदायका युवाहरुलाई पनि समावेश गरेपछि पण्डित पोख्रेलको सपना साकार हुने भएको छ ।
पछिल्लो दुई वर्ष अघिदेखि व्राह्मण सेवा समाज धरान उपमहानगर समितीले सञ्चालन गरेको अन्तरघुलन अभियानले केही परिवर्तन ल्याएको छ । समाजले आयोजना गरेको यस वर्षको सामुहिक व्रतबन्धमा धरानका दलित समुदायको पनि सहभागिता रहने भएको छ । नेपालमै पहिलो पटक दलित समुदायका युवाहरुले गैह्रदलित समुदाय सरह सामुहिक रुपमा ब्रतबन्धमा भाग लिने भएका हुन् ।
धरानका ४ जना दलित समुदायका युवाहरुलाई पनि सामुहिकरुपमा व्रतबन्ध गर्ने भएका छन् । फागुन १३ गते पीण्डेश्वर मन्दिरमा हुने निशुल्क व्रतबन्धमा धरानका प्रियन विश्वकर्मा, पिन्चु विश्वकर्मा, सन्जोग परियार र सौगात विश्वकर्मा सहभागी हुने भएका छन् ।
समाजले आयोजना गरेको ब्रतबन्धमा धरानलगायत अन्य जिल्लाका ४५ जना वटुकहरुले सामुहिक ब्रतबन्ध गर्नेछन् ।
जसमा ४ जना दलित समुदायका वटुक रहेका छन् । समाजले परम्परागत रुपमा संस्कार गर्दै आएका कुनै पनि जातजातिहरुलाई सामुहिक व्रतबन्धमा सहभागी गराइने निर्णय गरेको छ । यसै अनुरुप दलित समुदायले पनि सहभागिताका लागि निवेदन दिएका थिए । परम्परा देखिनै संस्कार गर्दै आएका सबै जातजातिहरुलाई सामुहिक ब्रतबन्धमा सहभागि गराइएको समाजका अध्यक्ष उद्धवप्रसाद अधिकारीले बताए ।
समाजको यस कार्य प्रति दलित समुदायले स्वागत गरेका छन् । उनीहरुले सञ्चालन गरेको अन्तरघुलन कार्यक्रमले व्राह्मण समुदायमाथि लाग्दै आएको आरोप पनि हट्ने बताए । सामुहिक ब्रतबन्धमा अन्य बटुक सरह एकै स्थानमा व्रतबन्ध गरिने र बटुकसँग आएका उनका आफन्तहरुले पनि सामुहिक भोजमा सहभागी हुने भएका छन् ।
दलित उत्थान समन्वय समिति धरानको पहलमा दलित समुदायका बटुकहरुले सामुहिक ब्रतबन्धमा सहभागी जनाएका हुन् । यसका लागि सम्पूर्ण खर्च समितिले नै गर्ने भएको छ । समाजले गरेको ब्रतबन्ध सकारात्मक रुपमा रहेको समितिका अध्यक्ष दिलबहादुर रामदामले बताए । दलित समुदाय माथि हुने गरेका धार्मिक अपहेलना विरुद्धको सकारात्मक पहल रहेको उनको भनाइ छ ।
‘दलित माथि हुने गरेका विभेद विरुद्धको आंशिक उपलब्धी हो ।’ उनले भने, ‘धरानबाट शुरु भएको छ, यो राष्ट्रव्यापी हुनुपर्छ ।’ नयाँ संविधानले दिएको दलित अधिकारको कार्यान्वयनको पहिलो चरण धरानबाट व्राह्मण समाजले शुरु गरेको उनले बताए । शहरबाट शुरु भएको धार्मिक अन्तरघुलन गाउँसम्म पुग्नु पर्ने उनको भनाइ छ ।
-नयाँ पेज बाट

Tuesday, February 23, 2016

साउदीमा बन्दी बनाइएकी निर्मला परियारको उद्दार, पाँच बर्षपछि बल्ल देश फिरिन्

साउदी अरब ,११ फागुन, विभेद बिरुद्ध अभियान । साउदी अरबमा बन्दी जीवन बिताइरहेकी एक नेपाली चेलीको उद्धार गरी स्वदेश पठाइएको छ । दलालको प्रलोभनमा परी दिल्लीको बाटो हुँदै घरेलु कामदारका रुपमा ५ वर्षअघि साउदी आएकी पाल्पा कचलकी ३१ वर्षीया निर्मला परियारलाई उद्धार गरी स्वदेश पठाइएको हो । रियादबाट करिब २० किमीको दूरीमा पर्ने दखल मौजुदस्थित साउदी नागरिकको घरमा बन्दी जीवन बिताइरहेकी पीडित निर्मलालाई नेपाली जनप्रगतिशील मोर्चाले दूतावासको समन्वयमा उद्धार गरेको हो ।

गत २९ जनवरीमा उद्धार गरी रियादस्थित नेपाली दूतावासको आश्रयस्थलमा राखिएकी निर्मलालाई आवश्यक प्रक्रिया पूरा गरी सोमबार साँझ स्वदेश पठाइएको मोर्चाका अध्यक्ष मीनराज नाथले जानकारी दिए । निर्मलालाई मोर्चाका मोहन सारु र मेघनाथ भट्टराईको संयुक्त प्रयासमा साउदी नागरिकको घरबाट उद्धार गरिएको हो ।

गत जनवरी २९ मा घरका परिवार सुतेको मौका पारी राति ४ घन्टाको निरन्तर प्रयासपछि बिहान ४ बजे उनलाई बन्दी बनाइएको घरबाट भगाएर दूतावास पुर्‍याइएको थियो । कुबेतमा रहेकी उनकी दिदीमार्फत उनी साउदी नागरिकको घरमा बन्दी जीवन बिताइरहेको खबर पाएपछि आफूहरुले ५ महिनादेखि निरन्तर उद्धारको प्रयास गरेको मोर्चाका उपाध्यक्ष मानबहादुर सहकारीले बताए । घरेलु कामदारका रुपमा आएकी पीडित निर्मलाको पारिश्रमिकसमेत दलालको हातमा पर्दै आएको थियो ।

बन्धक बनाइएका परिवारका सदस्यबाट दिइने शारीरिक र मानसिक यातनाका कारण उनी पीडित बनेकी थिइन् । साउदी नागरिकले उनलाई शौचालयमा लगेर कुटपिट तथा शारीरिक यातना दिने गरेका कारण उनको जीवनसमेत सङ्कटमा परेको थियो । परिवारमा मानसिक सन्तुलन गुमाएका श्रीमान्, एक छोरा र एक छोरीसमेत रहेकी निर्मलाले स्वदेश फर्कने आशा मारेकी भए पनि स्वदेश फर्कन सफल भएकी छिन् ।

गैरकानुनी बाटो भएर साउदी आइपुगेकी पीडित परियारलाई यात्रा अनुमतिपत्र बनाई नेपाल फर्कने व्यवस्था मिलाइएको कार्यवाहक राजदूत आनन्दप्रसाद शर्माले जानकारी दिनुभयो ।

Monday, February 22, 2016

खसआर्य समुदायले किरातभूमि आउँदा बोकेर ल्याएको कलंक हो,छुवाछुत - इन्द्र नारथुङे


फागुन, १० - विभेद बिरुद्ध अभियान -मेरो दाहिने घुँडाको केहीतल निक्कै ठूलो खत छ । केटाकेटीमा उपद्रव गर्नु र चोट लाग्नु सामान्य हो । त्यस्ता धेरै चोटहरुको खत मैले बोकी नै रहेको छु तर योे खतको कथा भने अलिक फरक छ ।

सायद फागुन महिनाको कुनै एक शनिबार हुनुपर्छ । बिहानैदेखि सिमसिम पानी परिरहेको थियो । शनिबार भएको हुनाले घर मै थिएँ । पानी अलिक थामिएलाजस्तो भएकोबेला दौतरीहरु गणेश र टंक आईपुगे । हामी कोठामा बसेर चोर–पुलिस खेल्न थाल्यौं ।

२०४५ सालको भूकम्पले घर नराम्ररी धाँजा चिरिएपछि सरकारले तेके अनुसारको मापदण्ड पुरा गरेर बनाएका थियौं । सामान्यतः किरातवस्तीमा चौडापट्टी ढोका र लम्बाईपट्टी जस्केला राखेर घर बनाउने पुरानो चलन छ । छानोलाई दुईपाटा करालो बनाउनको लागि सबैभन्दा माथिल्लो तलामा चौडापट्टी त्रिभुजाकारमा गाह्रो लगाईन्छ, जसलाई चुलीगाह्रो भनिन्छ । एकापट्टीको चुलीगाह्रो ठिक मूलढोकाको माथि हुन्छ । त्यो चुलीगाह्रो २०४५ सालको भुकम्पमा प्रायः भत्किएको भेटियो र मर्ने तथा घाईते हुनेहरुलाई त्यसैले किचेको भन्ने रिपोर्ट आइसकेपछि सरकारले नयाँघर बनाउँदा लम्बाईपट्टी दुईवटा ढोका राख्न उर्दी जारीगरेको थियो । सोही उर्दीलाई शीरोधार्य गर्दै हामीले पनि त्यस्तै घर बनाएका थियौं । 

त्यसबेला म सात कक्षामा पढ्दै थिएँ । सायद पढ्न साजिलो होस् भनेर होला घर बनाउँदा बुवाले माथिल्लो तलामा मेरालागि बेग्लै कोठा निकालीदिनु भएको थियो । कोठा घरको भित्री भागमै पथ्र्यो । कोठासम्म पुग्नभने बाहिरबाट सिंढी लगाईएको थियो । सिंढीलाई छानोले छोप्ने हुँदा पानी परे पनि बाहिरै बस्न सकिन्थ्यो । सिंढीबाट भित्र पस्न काठको बार नाघ्नु पथ्र्यो । तीन जनामध्ये म र टंक भित्र थियौं तर गणेश बाहिरै सिंढीमा बसिरहेको थियो ।

सबेरै गाउँ घुम्न निस्किनुभएको बुवा रक्सीले मात्दै आईपुग्नु भो । बुवाको बानी थाहापाएरै हामी भाग्यौं । गणेश र टंक आफ्नै घरतर्फ दौडिए । म भने पँधेरोतर्फ कुदें । पँधेरापारि पुगेर हेर्दा, बुवा खेद्दै नजिकै आईसक्नु भएको थियो । त्यसपछि म ओह्रालै भाग्न थालें । माटोको डल्ला उठाएर बुवाले खेद्न थाल्नु भो । फुच्चे भए पनि दौडन र उफ्रनमा तेज थिएँ । छेउछाउ डल्लो बज्रिन थालेपछि भने होसहवासै उड्यो । एकैपटक दुईवटा अग्ला कान्ला नाघ्दै खोला झरें र उकालै बाँसघारीतिर भागें । बाँसघारी भित्र छेलिएपछि भने बुवा फर्किनु भएछ । बाँसको झ्याङमा लुकेको निक्कै बेरमा पो थाहा भयो, दाहिने घुँडाको केही तल चोट लागेछ । रगत बगिरहेको थियो । बनमाराको पात माडेर चोट लागेको ठाउँमा लगाएँ । केही बेरमा रगत बग्न थामियो । केही दिनपछि घाउ थाक्यो । तर पनि खाटा गएन । अझै बोकिनै रहेछु । त्यसदिनको घटनालाई लिएर बुवाप्रति कुनै दुराग्रह छैन । तर कारणले भने लखेटी रहेकै छ ।

माझकिरातको मूलथलो मै मेरो घरपर्छ तर छिमेकीहरु धेरै क्षेत्री छन् । र, दुईघर दमाई पनि । त्यसदिन मसँग चोर पुलिस खेल्ने दुई जना साथीहरुमा टंक, क्षेत्री थियो भने गणेश, दमाई । तीनै जना दामली थियौं र मिल्ने साथी पनि । गोठाला, घाँस–दाउरा प्रायः सँगै गथ्र्यौं । तर पढ्नुमा उनीहरु अलिकपछि परे । प्रा.वि. तह छिचोल्ने क्रममा थिए उनीहरु तर म भने टाढाको मा.वि. धाउने भैसकेको थिएँ । त्यसैले शनिबार मात्रै सँगै खेल्ने साईत जुथ्र्यो । त्यही साइत छोप्दै थियौं हामीहरु । मेरो बुवा अलिक कडै हुनुहुन्थ्यो । भनेको नमान्दा कुटाई खानु सामान्य नै थियो तर त्यति धेरै आवेगमा आएर खेद्नु भएको थिएन र पछि पनि खेद्नु भएन । त्यो दिन आक्रोशमा आउनुकोकारण रहेछ—गणेशलाई मेरो कोठा भित्र देख्नु । अर्थात दमाईलाई घर भित्र छिरायो भनेर रिशले आगो हुनुभएको रहेछ ।

किराती समुदायभित्र पहिला छुवाछुत थिएन र अहिले पनि छैन । हाल किरात हौं भन्नेहरु राई, लिम्बु, सुनुवार र याक्खाबीचमा विवाहबारी मज्जाले चल्छ । दनुवार, धिमाल, मेचे, राजबंशी, ताजपुरिया, कोचे, जिरेल, सुरेल, हायू, थामी, भुजेल र थारुसँग पनि किरातीहरुको विवाह चल्छ । तामाङ, मगर, गुरुङ, शेर्पा, थकाली, कुमाल आदिसँग विवाहवारी नचल्ने भनिए पनि छुवाछुत छैन । खासमा छुवाछुत, खसआर्य समुदायले किरातभूमि आउँदा बोकेर ल्याएको कलंक हो ।


पूर्वको किरातभूमिमा सोह्रौ–सत्रौं शताब्दीतिर सेनहरुले शासन गर्न थालेपछि मात्र खस–आर्यहरुको प्रवेश हुन थालेको हो । गोर्खाली राजा पृथ्वीनारायण शाहले किरातभूमि आफ्नो कब्जामा पारी सकेपछि भने खस–आर्यहरुको आगमनले तिब्रता पायो । खस–आर्यको आगमनसँगै किरातीभूमिमा जातपात र छुवाछुतले प्रवेश पायो । खसआर्यहरुले ज–जसलाई अछुत भने तिनैलाई किरातीहरुले पनि अछुतकै रुपमा ब्यवहार गरे । खसआर्यहरुको लागि भने किरातीहरु पानी चल्ने तर भातभान्सा नचल्ने जातिमा दरिए । किरातीहरुले पनि खसआर्यहरुलाई अजात नै ठानेर आफ्नो मूलचूल्हा छुन र दाल–ढिडोमा चलाउनमा प्रतिबन्ध गरे । निक्कैपछिसम्म खसआर्यलाई आफ्नो मूलचुल्हा छुन र त्यो चुल्हामा पाकेको दाल र ढिंडो खान दिइन्दैनथ्यो । तर अचेल भने त्यस्तो छैन । यद्यपि गाउँघरमा दलितहरुमाथि अझै पनि छुवाछुत गर्ने परंपरा जीवितै छ । आजभन्दा करिब २४/२५ वर्ष अगाडि पुरानो मान्यतामा हुर्केको बुवालाई दलित घरभित्र पस्नु पक्कै पनि सहनेकुरो थिएन । परन्तु गणेश बाहिरै बसेर खेलिरहेका थिए । गर्दै नगरेको गल्तीमा सजाय पाउनुको कारण म बिद्रोही बने ।

घरको मूलढोकापट्टी दलानमा बेञ्च राखिएको थियो । घरमा निजी धारा थिएन । प्यूने पानी लिनको लागि नजिकैको कुवामा जानु पर्थ्यो । जेठोपाको हुनाले पानी ओसार्ने काम प्रायः मेरै थियो । त्यो घटनापछि भने पानी बोकेर आउने क्रममा बेञ्चमा गणेश वा उनको समुदायका मानिसहरु देखें भने आँखा छलेर घैला भएको डोको उनीहरुलाई छुवाउँदै भित्र छिर्थें । यसो गर्नुको पछाडि बुवाप्रतिको प्रतिशोध पनि थियो तर त्योभन्दा बढी आत्मसन्तुष्टी । गणेश मेरो साथी मात्र थिएनन् कपडा सिलाई दिने पर्शु दाइको छोरा पनि थिए । पर्शु दाइ तिनै हुन् जसले जस्तै हतारमा पनि मेरो कपडा सिलाई दिन नाईनास्ती गर्नु हुन्न थियो । गणेशको घरमा गएर खानेकुरा खाइदिंदा उनीहरु खुसी हुन्थे, त्यो खुसीमा म आफूलाई सन्तुष्ट पाउँथे । त्यसैले पानीको घैला भएको डोको उनीहरुलाई छुवाउनुमा आत्मसन्तुष्टी पनि जोडिएको थियो भन्दा अत्यूक्ति नहोला । र, अचेत दलितहरुले छुवाछुत बिरुद्घ उठाएको आवाजमा आफ्नो आवाज मिसाउन पाउँदा होस् वा समान अधिकार प्राप्तीको लागि सडकमा ओर्लिएको बेला टाढै बसेर समर्थन गर्दा होस्, त्यस्तै आत्मसन्तुष्टी प्राप्त हुने गर्छ ।