छुट्टै भान्छाको व्यवस्था नभएको भन्दै दलितको बिहेमा गैरदलितद्वारा भोज बहिष्कार


विभेद बिरुद्ध अभियान -।०७६ मङ्सिर २५ गते-  बेसीशहर नगरपालिका–३ स्थित बिकको घरमा भएको विवाह कार्यक्रममा छुट्टै भान्छाको व्यवस्था नभएको भन्दै गैरदलितहरूले सामूहिक रूपमा भोजलाई बहिष्कार गरेका छन् ।मङ्सिर २५ गतेको विवाह कार्यक्रममा स्थानीयवासी गैरदलितलाई पनि निम्तो दिएकोे र सबैलाई एउटै भान्छा प्रयोग भएको भन्दै गैरदलितहरू भतेर नखाई फर्किएको बेहुलीकी ५५ वर्षीया फुपू फुलमाया बिकले आरोप लगाउनुभयो ।

निम्तो मान्न आएका गैरदलितहरू दलितले छोएको नखाने भन्दै भतेर नखाई फर्किएको दलित अधिकारकर्मी सोमबहादुर दुलालले बताउनुभयो ।

बेसीशहर नगरपालिका–३ की २२ वर्षीया सोनाम बिकको बिहेमा सोही ठाउँ निवासी ब्राम्हण, क्षेत्री र जनजातीले बिहे भोज बहिष्कार गरेका हुन् ।

बेसीशहर नगरपालिका–३ का वडाध्यक्ष सूर्यकुमार श्रेष्ठले भतेर खाने नखाने आफ्नो इच्छा भएको बताउनुभयो ।

‘नखानेलाई खान नै पर्छ भनेर कर लगाउन सकिँदैन । मैले त केही खाएँ तर केही गैरदलितहरू खान नचाहेको भने ।’–अध्यक्ष श्रेष्ठले भन्नुभयो ।

सार्वजनिक रूपमा भेदभाव र छुवाछुत गरेको पाइएमा नेपालको संविधान अनुसार तीन महिनादेखि १ वर्षसम्म वा १ हजार रुपियाँदेखि २५ हजार रुपियाँसम्म जरिबाना वा दुवै सजायको व्यवस्था छ ।

No comments:

Post a Comment