Saturday, January 31, 2015

मार्के गाउँको अगुवाई गर्न थाले दलित महिलाहरु

(मार्के)सल्यान, नेस / शारदा नगरपालिका वडा नम्वर ८ मार्केकि गाजली सुनार केही वर्ष अघि चुलो चौको जस्ता घरायसी काम गर्ने दैनिकी थियो । अहिले समुदागठन भएका विभिन्न समुहहरुमा सहभागि वन्दै उहाँ महिलाहरुको अगुवा वन्नु भएको छ ।
मार्के कलस्टरमा गठन भएको दलित सञ्जालमाको नेतृत्व गरेकि सुनार अहिले गाउँमा हुने वैठक, भेला र सभामा महिलाहरुको अगुवाई गर्नु हुन्छ ।  उहाले भन्नु भयो– अहिले म जिल्ला लघुउद्यमी समुह –डिमेगा)को अध्यक्ष भएर सक्रिय भएकी छु ।
गाजली मात्र होईन शारदा नगरपालिकाका खलंगा, मार्के र कजेरी मा गठन भएका भएका दलित महिलाहरुका विभिन्न समुहमा आवद्ध भएका महिलाहरु आ–आफ्नो समुहको अगुवाई गर्ने गरेका छन् ।
दलितसेवा संघले जवाफदेहि शासनका लागि समावेशी नागरिक अभियान अन्तरगत खलंगा शान्तिनगर, संगीतटोल, जोगिदेऊखोला, मार्के सिमखर्क, कजेरी सापमारा लगायतका गाउँमा रहेका १९ समुहमा आवद्ध रहेका महिलाहरु अहिले विभिन्न रचनात्मक कार्यमा सहभागि भएका छन् ।
महिलाहरुले दलितअधिकार सुनिश्चित  जातीय छुवाछुत न्यूनिकरण, सामुदायिक वन,विद्यालय ब्यवस्थापन समिति महिला दलितको सहभागिता सुनिश्चित गर्न पहल गरेको खलंगा कलस्टरकी अध्यक्ष पूर्णिमा विकले वताऊनु भयो । उहाले भन्नु भयो– गाविस स्तरीय राजनैतिकदल, आमा समुह, वडा नागरिक मञ्च, कृषि समिति खानेपानी तथा सरसफाई समिति , उपभोक्ता समिति लगायतका निकायमा महिला दलितको सहभागिता वढाऊन अभियान थालेका छौ ।
महिलाहरुले घरघरमा सौचालय अभियान थालेका छन् । मार्के सिमखर्कको दलित वस्तीलाई खुल्ला दिसा मुक्त गाऊ घोषणा गर्न जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने गरेका छन् । समुहमा रहेका २६ जना सदस्यले मासिक वचत समेत गर्दे आएका छन् । समुहमा रहेका विपन्न २ घरधुरीलाई सौचालय निर्माणलागि सहयोग गर्न समेत आर्थिक सहयोग संकलन गर्ने निणर्य हरियाली दलित समुहकी अध्यक्ष मोहन कुमारी विकले वताऊनु भयो । उहाले भन्नु भयो–  नागरिक शिक्षा मार्फत  गाउमा परिवर्तन आएको छ भने नपढेकाले पढन थालेका छन । कुनै कार्यक्रममा जानै धक मान्ने उनीहरु खुल्ला सभामा उभिएर बोल्न थालेका छन् ।

आफ्नो संस्कृतिलाई लोप हुन नदिन ४५ वर्षदेखि लगातार सारंगी रेट्दै

भोजपुर, माघ १७ – भोजपुरको जरायोटारमा वि सं २०१२ मा जन्मिएका पूर्वका चर्चित सारंगीवाधक तथा गायक सुरेश गन्धर्व हिजोआज वुढेसकाल लागेसँगै सार्वजनिक समारोह तथा महोत्सवहरुमा त्यति देखिँदैनन् । तर, गन्धर्वलाई आफनो पुख्र्यौली गायन परम्परा दोश्रो पुस्तासँगै हराउने हो कि भन्ने चिन्ता थपिएको छ । सारंगी बोकेर गीत सुनाउँदै गाँउघरमा हिँड्ने गरेका उनी सन्तानलाई आफनो पेशालाई जिवन्तता दिन छोराछोरीलाई समेत यसैक्षेत्रमा संलग्न गराउँदै आएका छन् ।
sures gandharba
गाउँ घरमा सारंगी रेटेर हिँड्दा–हिँड्दै उनी पूर्वी नेपालका ख्यातीप्राप्त सारंगी वाधक बने । यसबीच दर्जनौं संघ संस्थामा कार्यक्रम गर्न पुगेका उनले एक दर्जन जति संस्थावाट सम्मान पनि पाएका छन् । तथापि अझै आर्थिक कठिनाई पिरोलिएका छन् उनी ।
मोरङको केरावारी–६ स्थित सार्वजनिक उच्च माविको स्वर्ण महोत्सवमा कान्छो छोराका साथ भेटिएका उनले सञ्चारकर्मीसंगको कुराकानीमा अहिलेका नयाँ कलाकारले गीत संगीतको मर्मभन्दा पनि मनोरञ्जनका लागि मात्र गाउने र गीत–संगीतलाई पैसामा रुपान्तरण गरेका कारण धेरैले जीवनमा पैसा त कामउने तर सृजना कालजयी नहुने बताए ।
रिङके वुङको राँगालालाई , वारी खोला पारी खोला ,सलल कोशी त्यो माथी नाऊ , धरानको पुरानो वजार लगायतका उनको दर्जनौं गीत चर्चित रहेका छन् ।
तारादेवीले गाएको ‘काली पारी’ बोलको गीत उनले रेकर्ड गराएको पहिलो गीत हो । उनको आफनै गीत भने ‘रिङ्के वुङको राँगा’लाई हो । यसका अलवा दर्जनौ गाीत अझैपनि सदावहार छन् । सारंगी रेट्दै भारतको दार्जिलिङ, सिक्किम, मेघालय, आछाम र भुटानसहित नेपालको धेरै जिल्लामा राष्ट्रिय कलाकारहरुको टोलीमा गीत गाउन हिँडेको स्मरण गर्दैै गन्धर्व भन्छन्, ‘नयाँ पुस्ताले पनि गीत संगीतको भावना बुझेर पनि सारंगीलाई माया गरुन् ।’
सारंगी रेट्दै गाँउ घरमा गीत सुनाउँदै हिँड्ने सुरेश जस्ता गन्धर्वहरुको पेशा जति–जति संकटमा पर्छ नेपाली लोक संगीतका साधन मानिएको सारंगी पनि त्यति नै लोप हुने खतरा बढ्दै छ । आफ्नो संस्कृतिलाई लोप हुन नदिन ४५ वर्षदेखि लगातार सारंगी रेट्दै हिँडेका सुरेश गन्धर्व हिजो आज आफनो छोरालाई समेत साथैमा हिँडाउने गरेका छन् र बाचुञ्जेल सारंगी नछाड्न प्रेरणा दिँदै आएका छन् ।

- source : http://www.ratopati.com/2015/01/31/204761.html#sthash.rIok1H16.dpuf

आफ्नो हक–अधिकारका निम्ति सबै उत्पीडितहरुले अहिले संघर्ष गर्नु जरुरी : भट्टराई

गोरखा : एनेकपा माओवादीका नेता डा बाबुराम भट्टराईले फेरि पनि उत्पीडित वर्गका आँखामा छारो हाल्ने कोशिस हुँदै गरेको उल्लेख गर्दै त्यसप्रति सबै उत्पीडितहरु सचेत हुनुपर्ने बताएका छन्। नेता भट्टराईले ‘छिटो संविधान’को नाममा बहिष्करणमा परेका वर्ग, जाति, क्षेत्र, लिङ्ग, समुदायको हक–अधिकार खोसेर यथास्थितिवादी संविधान जारी गर्ने षड्यन्त्र भइराखेको बताए।  भट्टराई उत्तरी गोरखाको उहिया गाविसको तातोपानीमा आयोजित कृषि तथा पर्यटन प्रवर्द्धन मेलाको उद्घाटन समारोहमा उपस्थित थिए। ‘हजारौंले बलिदानी गरेको माओवादी नेतृत्वमा सञ्चालित जनयुद्ध र २०६२/०६३ को जनआन्दोलन लगायतका आन्दोलनको बलमा पुरानो सामन्ती राजतन्त्रात्मक एकात्मक राज्यसत्तालाई बदलेर सबै धनी–गरीब, किसान–मजदुर, पहाड–हिमाल–तराईमा बस्नेहरु, आर्य–खस, भोट–बर्मेली परिवार, सबै भाषाभाषी, जातजाति, महिला, दलितहरुको साझा देश बनाउने प्रयत्न हामीले गरेका छौं,' भट्टराइले भने, 'त्यसैको निम्ति संविधानसभाबाट सबैको अधिकार सुनिश्चित हुने गरी नयाँ नेपाल बनाउने नयाँ संविधान लेख्ने प्रयत्नमा हामी छौं।' उनले देशका केही बाठा मान्छेहरुले जालसाँजी गरेर संविधान बनाउन रोकिराखेको आरोप लगाएका छन्। 
उनले भने, ‘ दु:खसाथ भन्नुपर्छ यो देशका केही टाठा–बाठा मान्छेहरुले विभिन्न तर्क गरेर, अनेक जालसाँजी गरेर संविधान बन्न दिइराखेका छैनन्।' संविधान बनाए पनि उही पुरानै २०४७ सालको संविधानको गातामात्रै फेरेर पुरानै संविधान जारी गर्ने र तपाईं–हाम्रा आँखामा एकचोटी फेरि छारो हाल्ने, धुलो हाल्ने कोशिस ती मान्छेहरुले गरिराखेका छन्।’ तमू–गुरुङहरुको बसोबास रहेको उत्तरी गोरखाको उहियामा नेता भट्टराईले आफ्नो पहिचानको आन्दोलनमा सहभागी हुन पनि आग्रह गरे। ‘शोषक वर्ग र शोषित वर्गको बीचमा ठूलो मनोवैज्ञानिक चिन्तनगत फरक हुन्छ। जो शोषक हुन्छ, शासक हुन्छ त्यसले अनेक कूतर्क गर्न जानेको हुन्छ, अनेक ढाँटछल गर्न जानेको हुन्छ,' उनले भने, 'तपाईंहरुको अगाडि कुरा बढो चिल्ला–मिठा गरिदिन्छ तर मुखमा रामराम बगलीमा छुरा भनेजस्तै केही मुठ्ठीभर ती मान्छेहरुले सयौं वर्षदेखि यो देशका गरिखाने, मेहनत गर्ने, दु:खजिलो गर्ने, यस्ता पहाड कन्दरामा बस्ने मान्छेमाथि तपाईंहरुकै नाउँमा शासन गर्दै आएका छन्।’  
आफ्नो हक–अधिकारका निम्ति सबै उत्पीडितहरुले अहिले संघर्ष गर्नु जरुरी रहेकोमा जोड दिँदै नेता भट्टराईले भने, ‘खासगरी यस्तो विकट ठाउँमा बस्ने तपाईंहरु जो आदिवासि जनजाति, अधिकांश तमू–गुरुङका साथीहरु हुनुहुन्छ, यतिबेला तपाईंका छोरा–छोरीहरुले यत्रो बलिदान गरेर ल्याएको संविधानसभाबाट तपाईंको हक–अधिकार सुनिश्चित हुनेगरी, तपाईंको पहिचान सुनिश्चित हुनेगरी, तपाईंको भाषा–संस्कृति संरक्षण हुनेगरी, तपाईंहरुले पनि सबै नेपालीसरह अधिकार पाउने गरी संविधान बन्छ कि बन्दैन? कुरो त्यो हो। एक थान खोस्टो संविधान त अहिले नै लेख्न सकिन्छ।’ - 
source: http://www.pahilopost.com/content/-2122.html#sthash.xdITWz0U.dpuf

How a Legal Identity Leads to a Better Life


Too many people around the world are prevented from accessing legal and social protections because they lack a secure legal identity. From Kenya and the Dominican Republic to Macedonia and Nepal, insecure legal identity predicts and sustains social, economic, and political exclusion. Without the primary documentation needed for legal identification, basic rights and services like social allowances, health care, school enrollment, the right to vote, bank accounts, mobile phones, and the ability to move within and outside countries is often restricted or out of reach.
For these reasons, the right to a legal identity is fundamental to inclusive development. Identity documents serve as the very basis of social inclusion. It is thus essential for legal identity to be incorporated into the post-2015 development framework.
The lack of access to a legal identity is by no means confined to Dalits. It is a right denied to many. This story is illustrative of how governments, the international community, and local civil society organizations all over the world can work hand-in-hand to secure real change. A lack of legal identity hinders the ability of women and marginalized groups to exercise their civil and political rights and secure socio-economic benefits from the state. Administrative hurdles, poverty, limited awareness, and discriminatory legal provisions bar women and vulnerable groups everywhere from securing their citizenship or registering their marriage or child's birth.
A survey conducted by Nepal’s National Dalit Commission reports that 35 percent of the Dalit community does not have citizenship certificates. Realizing the need and importance of legal identity documentation, the government of Nepal and several civil society organizations have collaborated to expand access to legal identity documents. The government has supported legislative reform, mobile camps, and public awareness campaigns. And several civil society groups provide valuable complementary activities including outreach, monitoring, and assistance with navigating state programs. 

Beginning in 2011, the Dalit NGO Federation (DNF) mobilized and trained 35 community facilitators in five districts. These facilitators educate community members, help them obtain their documents, and collaborate with government officials to deliver stronger services at the community level. From 2011 to 2014, DNF facilitators were able to help over 40,000 Nepalese obtain citizenship certificates, add 20,000 citizens to the voter rolls, and extend state services greatly.
The Lawyers’ National Campaign for Elimination of Caste Discrimination (LANCAU) is another powerful example of civil society partnership. LANCAU has been working in the eight districts of the Far Western Region, one of the most under-developed regions of Nepal. Using community-based paralegals, the organization empowers local community members to combat caste-based discrimination and secure state services. It also broadens access to justice by providing legal information, helping victims approach justice and state institutions, and engaging government to secure legal identity documents. This direct support is complemented by systemic advocacy efforts with the government, as well as work to change public attitudes through more sensitive reporting by journalists.  
The Legal Aid and Consultancy Center (LACC) in Nepal, a national-level civil society organization working on legal empowerment and justice reform, is also supporting innovative models to help people secure identity documents. Their model focuses on making people aware of the importance of identity documentation in Nepali society and works to empower people to attain their identity cards and associated entitlements. Sixty LACC-supported community paralegals join hands with government service providers to increase legal identity services and act as watchdogs and advocates.
Where collaboration falls short, LACC uses public interest litigation to challenge discriminatory provisions of citizenship. In conjunction with these efforts, LACC is advocating for government recognition of paralegals in Nepal’s legal system. The group has a strong system of documentation, and their experiences demonstrate that community paralegals play an important role in meaningfully securing identity for marginalized groups.
If the post-2015 development framework is to succeed in helping states reach the world’s poorest and most vulnerable, it must ensure that such communities can make the law work for them. Integrating strategies to secure and expand legal identity represents a major opportunity. As the experience of Nepal demonstrates, governments, civil society organizations, and communities themselves all have a significant role to play.  

Friday, January 30, 2015

भेरी नदीको किनारामा बस्दै आएका बादीलाई दैनिकी गुजारा धान्न कठिन


जाजरकोट, माघ १३ - 
ढिमे ५, खुर्पाखोलाका जितबहादुर बादीलाई परिवारको गुजारा चलाउन कठिन भएको छ। ढिमेकै कृष्णबहादुर, दलबहादुर, लाटो, पर्से, दत्ते र सयरूप बादीको हालत पनि त्योभन्दा फरक छैन। दैनिक गुजारा धान्न कठिन भएपछि उनीहरू भोकभोकै पर्न थालेका हुन्। सरुखोला किनारामा बस्ने उनीहरू त्यही खोलामा माछा मारेरै गुजारा चलाउँथे। पछिल्ला दिनमा खोलामा माछा पाइन छाडेपछि चुलो बाल्नै मुस्किल भएको हो।

उनीहरूजस्तै सरुगाड, छेडागाड, नलसिंहगाड, मजकोटगाड र भेरी नदी किनारामा बस्दै आएको यो समुदायलाई छाक टार्न समस्या परेको छ। खोलामा मारेको माछा बिक्रीबाट उनीहरूले परिवार पाल्थे। अन्य पेसा व्यवसाय तथा जग्गाजमिन नभएका उनीहरूको जिउने आधार नै खोलाको माछा भएको ढिमेका दलबहादुर थापाले बताए। 'यो वर्ष माछा नै छैन। उनीहरू दैनिक १० किलोसम्म माछा मार्थे। अहिले आधा किलो पनि फेला पर्दैन,' थापाले भने, बादीलाई माछा बेचेर गुजारा चलाउन समस्या भयो। खोलामा अन्धाधुन्द विषादी हाल्दा र करेन्ट लगाउँदा विनाश नै भएको उनले बताए।

त्यस्तै दल्लीस्थित नलसिंह गाडको किनारामा बस्ने डेड दर्जन घरका सय बादीलाई पनि उस्तै समस्या भएको मनबहादुर बादीले बताए। उनीहरू नलसिंह गाडमा मारेको माछा बेचेर घरपरिवार पाल्दै आएका थिए। यो पुख्र्यौली पेसा नै हो। तर माछा पाउन छाडा विकल्प खोज्नुपर्ने अवस्था आएको उनले बताए। अर्को पेसा नभएका मनबहादुर ३५ वर्षदेखि माछा मारेरै आधा दर्जन परिवारको लालनपालन गर्दै आएका छन्। बादी समुदायका महिला र बालबालिकाले घरमा बसेर जाल बुन्ने, पासा पट्याउने, पासा बनाउनेजस्ता काम गर्ने र पुरुषले खोलामा पासा थाप्ने तथा जाल हान्दै माछा मार्ने गर्छन्। यस समुदायका बालबालिका पठनपाठनभन्दा माछा मार्न नै सक्रिय हुन्छन्। 'पेटभरिको खाना र जीउमा एकसरो लुगा पुर्‍याउनु नै धौ छ, कसरी बालबालिकाको पढाइ गर्ने?' स्थानीय गंगा बादीले भनिन्। प्रतिकिलो आलो माछा ३/४ सयमा बिक्री हुन्छ। जिल्लाको सक्ला, दल्ली, बगीरह, साँदी विसाउना, थलह, छेडा, थलह, रावतगाउँ, कुदु, फेरालगायतमा २ सय बादी परिवारको बसोबास छ।

फिनल्यान्ड बस्दै आएकी सुनिता नेपालीको शंकास्पद मृत्युको छानबिन गर्न माग

माघ १४ गते । फिनल्यान्ड बस्दै आएकी नयाँगाउँ, पोखराकी सुनिता नेपालीको शंकास्पद मृत्यु भएको भन्दै माइती पक्षले यथार्थ छानबिन गर्न माग गरेको छ । दुई महिनाअघि फिनल्यान्डमा मृत्यु भएकी नेपालीको हत्या भएको भन्दै दोषीलाई कारबाही माग गरेका हुन् । लेकसाइड माइती भएकी २२ वर्षीया सुनिताको एक वर्षअघि नयाँगाउँका सुरज नेपालीसँग विवाह भएको थियो । माइती पक्षले बुधबार पोखरामा पत्रकार सम्मेलन गरी छोरीको शंकास्पद मृत्यु भएको निष्कर्ष निकाल्दै दोषीलाई कारबाही गर्न सम्बन्धित निकायसँग माग गरेका छन् । भावविह्वल अवस्थामा कार्यक्रममा आएकी मृतककी आमा नन्दकलाले दाइजो कम ल्याएको भन्दै छोरीलाई यातना दिँदै र पछि आएर हत्या गरेको बताइन् ।
‘यातना दिएर छोरीलाई मृत्युको मुखमा पुर्‍याए,’ रुँदै उनले भनिन्, ‘छोरीको मृतात्माको शान्तिका लागि पनि हामीलाई न्याय चाहियो ।’ उनका अनुसार छोरीले बेलाबेेलामा फोनमा घरपरिवारले दुई वटा सुनका औंठीलगायत सामान नन्द-आमाजूले माग गर्ने गरेको रुँदै भन्थिन् । दाइजो कम ल्याएको भन्दै घरपरिवारले यातना दिने गरेको उनले बताइन् । बाजा बजाएर धुमधामसँग बिहे गरेकी छोरीको यो हालतले उनी दिनहुँ रुने र बर्बराउने गरेकी छिन् । राम्रोसँग खानपिन र राति निदाउनसमेत सकेकी छैनन् । एउटै छोरीको यो अवस्था भएपछि परिवार शोकमा डुबेको छ । ६ महिनादेखि श्रीमान् र नन्द-अमाजूसँग फिनल्यान्ड बस्दै आएकी सुनिताले फोनमा घरपरिवारले चरम मानसिक यातना दिने गरेको फोनमा रुँदै बताउने गरेको दाजु गणेशबहादुर नेपालीले बताए । ‘दाइजो कम भयो, विवाहमा दिएको सामान पुगेन भन्दै यातना दिँदा पनि बहिनीले सहँदै आइरहेकी थिइन्,’ गणेशले भने, ‘मृत्युको तीन दिनअघि पनि घरमा झगडा परेको फोनमा भनेकी थिइन् ।’
गत मंसिर ८ गते मृत्यु भएकी सुनिताको भोलिपल्ट नन्दले ऊ त सुइट भई भन्दै फोन काटिदिएको उनले बताए । केटा पक्षले आत्महत्या भन्दै कसैले बाथरुममा, कसैले सिलिङमा र कसैले ढोकामा झुन्डिएर आत्महत्या गरेको फरक-फरक कुरा गरेपछि शंकास्पद मृत्यु भएको केटी पक्षको आरोप छ । यस सम्बन्धमा केटा पक्षका बाबुसँग बुझ्न खोज्दा उनको मोबाइलमा सम्पर्क हुन सकेन । घटनापछि केटा पक्षको परिवार सम्पर्कमा आउन नचाहेको केटी पक्षको भनाइ छ । मृत्यु भएको १४ दिनसम्म माइतीलाई खबर नगरी केटा पक्षले शव उतै दाहसंस्कार गर्ने तयारी गरेका थिए । माइती पक्षले परराष्ट्र मन्त्रालयमा निवेदन दिएपछि शव पोखरा ल्याइएको थियो । पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा पुस २ गते ल्याइएको शव माइती पक्षलाई खबर नगरी दाहसंस्कार गरिएको थियो । दाहसंस्कारमा मृतकका श्रीमानको समेत उपस्थिति भएन । घटनाबारे सम्बन्धित निकायलाई जानकारी गराउँदासमेत बेवास्ता गरेपछि माइती पक्षले गत मंसिर १२ गते इन्टरपोलमा छानबिनका लागि उजुरी दिएका छन् । दाइजो निहुँमा निर्दोष चेलीले विदेशी भूमिमा अनाहकमा ज्यान गुमाएको भन्दै माइती पक्षले दोषीलाई कानुनी कठघरामा उभ्याउन अधिकारकर्मी, कानुनी व्यवसायी र सरोकारवालासँग माग गरेका छन् ।

सामाजिक सुरक्षा भत्ता बुझ्न बृद्धबृद्धालाई हैरानी


सिन्धुलीमाढी, माघ १४ गते । सरकारले बृद्धाबृद्धाका लागि छुट्याएको सामाजिक सुरक्षा भत्ता बुझ्न कमलामाई नगरपालिकाका बृद्धबृद्धाले निकै हैरानी व्यहोर्ने गरेका छन् ।
सरकारले भत्ता वितरण कार्यलाई पारदर्शी बनाउने भन्दै नगरक्षेत्रहरूमा बैङकिग वितरण प्रणाली लागू गरे पनि त्यसले बृद्धबृद्धालाई अझ बढी हैरानी भएको गुनासो उनीहरूले गरेका छन् । अझ नगरपालिका क्षेत्रका सवै वडाहरुमा सडक सुविधा समेत विस्तार नभएकाले बृद्धबृद्धाहरु माढीबजारसम्म आई पुग्न निक्कै हैरानी व्यहोर्नु पर्ने समस्या रहेको बताउछन ।
कमलामाईनगर क्षेत्रका भत्ताबाहक बृद्धबृद्धा, अपाङ्ग, एकल महिला, लोपउन्मुख हायू जातीलाई कमलामाई नगरपालिका कार्यालयले राष्ट्रिय वाणिज्य बैंक सिन्धुली शाखामार्फत भक्ता वितरण गर्दै आएको छ । बैंङकमार्फत वितरण कार्यले आफु हैरानीमा परेको कमलामाई नगरपालिका–१० का ७० वर्षीया बृद्ध टंकबहादुर विकको गुनासो छ ।
‘पहिले वडा सचिवले घरमै ल्याइ दिन्थे’ उहाँले भन्नुभयो, ‘अहिले त दिनभर लाएर सदरमुकाम आउनु पर्छ । यहाँ पनि बैङकमा भनेको समयमा काम हुदैन, लाइन बस्दाको दिक्क हुन्छ ।’ कमलामाई नगरपालिका–४ का रामबहादुर ठोक्करको पनि त्यस्तै गुनासो छ । ‘मर्ने बेलामा पनि सरकारले किन दुःख दिएको होला यसरी ?’ उहाँले दुःखेसो पोख्नुभयो ।
गाउँका बृद्धबृद्धा सदरमुकामसम्म आइपुग्न गाह्रो हुने र गाउँमा बैङकको पहुँच नभएका कारण भत्ता वितरण गाउँमै आएर गरि दिए राम्रो हुने सुझाब छ बृद्ध टंक विकको । ‘भत्ता लिनेहरू कोही आँखा देख्दैनन्, कोही कान सुन्दैनन् भने कोही हिड्न सक्दैनन्,’ उहाँले अगाडी थप्नुभयो, ‘हामी जस्ता यस्ता नागरिकको विषयमा सरकारले सोचि दिए राम्रो हुन्थ्यो कि ।”
भत्ता वितरणले बैंकको समेत काम प्रभावित बनेको छ । कमलामाई नगरपालिकाका अनुसार नगर क्षेत्रभित्र २०७१ सम्मको तथ्याङक अनुसार जेष्ठ नागरिक ८४२ जना, दलित जेष्ठ नागरिक २४६ जना, एकल महिला ९२८ जना, पूर्ण अपाङ्ग ५५ जना, आशिक अपाङ्ग ३ जना र लोपउन्मुख हायू जाति ३२९ गरी सामाजिक सुरक्षा भत्ता लिने नागरिक जम्मा दुई हजार ४०३ जना छन् ।
भत्ता लिन उनीहरू सदरमुकामस्थित राष्ट्रिय वाणिज्य बैंकको शाखा कार्यालयमा आउने गर्छन् । भत्ता वितरणका बेला बैंकको सबै काम छाडेर सबै कर्मचारी वितरणमा रुमलिनु पर्दा अरू सबै काम प्रभावित भएको बैङकका एक कर्मचारीले गुनासो गरे ।
सरकारले भत्ता वितरण कार्यलाई पारदर्शी बनाउन बैकिङ्ग प्रणालीको सुरुवात गरेको भएपनि सेवाग्राहीहरु भने समस्यामा परेका छन । बृद्धबृद्धाहरुलाई बुढेसकालमा सरकाले दिएको राहत रकम मर्ने बेलामा सजाय जस्तो भएको उनीहरुले महसुस गरेका छन । बुढेसकालमा दुःख भोगीरहेका सेवाग्राहीहरुको समस्यालाई सरकाले गम्भीरतापुर्वक लिन जरुरी रहेको स्थानीयहरु बताउछन ।
यता नगरपालिका कार्यालयले भने असक्त र बच्चा बच्चीहरुका लागि वडा सचिबको सिफारीसमा उस्ले इच्छाएको व्यक्तिले लिन पाउने व्यवस्था मिलाएको बताएको छ ।

तामाङको घटनाप्रति दोषीमाथि तत्काल कारवाहीको माग


काठमाडौँ, माघ १५ गते । अन्र्तजातीय बिवाहका कारण माइतीले कुटपीट गरेपछि अस्पताल भर्ना भएकी चितवन जुटपानी—७ सूर्यपुरकी संगीता तामाङको घटनाप्रति राष्ट्रिय दलित आयोगले दोषीमाथि तत्काल कारवाहीको माग गरेको छ । चारवर्ष अघि स्थानीय परियार थरका युवासँग बिवाह गरेकी तामाङलाई १३ गते सार्वजनिक इनारमा पानी भर्दै गर्दा आमा धनमाया तामाङ दिदी शर्मिला तामाङ, बुवा उवे तामाङ लगायत चार जनाले कुटपीट गरेको आयोगले जनाएको छ । 
आयोगले बिहिवार विज्ञप्ति जारी गरी घटनाको भत्सर्ना गरेको छ । छानवीन र तत्काल कारपाहीको पनि माग गरेको छ । दलितमाति यस्ता घटनाहरु बारम्वार घटिरहेको तर कानूनी कारवाही हुन नसकिरहेको भन्दै आयोगले सरकारको ध्यानाकर्षण गराएको छ । जातीय भेदभाव तथा छुवाछूतको सो घटना निन्दनीय रहेको आयोगका अध्यक्ष मानबहादुर नेपालीले बताउनुभयो । 
उहाँ भन्नुहुन्छ,‘सार्वजनिक स्थानमा भएको जातीय भेदभावको घटना र त्यसमा पनि दलितसँग बिवाह भएको भन्दै कुटपीट हुनमा दलित आयोगको गम्भीर ध्यानआकर्षण भएको छ, हामी घटनाको सत्यतथ्य अनुसन्धान गर्दै छौँ, तर तत्काल दोषीलाई कारवाहीको माग गदछौ’। अध्यक्ष नेपालीका अनुसार यस्ता घटना आगामी दिनमा हुन नदिन पनि घटनाको छानवीन र दोषीमाथि कारवाही गरिनुपर्छ । साथै जातीय भेदभाव तथा छुवाछूत (कसूर र सजाय) ऐन २०६८ प्रभावकारी कार्यान्वयन गर्न पनि आयोगले माग गरेको छ । 
घटनापछि अस्पताल भर्ना भएकी तामाङले इलाका प्रहरी कार्यालय टाडीमा जातीय भेदभावविरुद्ध उजुरी दिएकी छन् । हाल प्रहरीले चार जनामध्ये तीन जनालाई पक्राउ गरेको जनाइएको छ । तामाङलाई माइतिले पटक—पटक मानसिक यातना दिदै आएका थिए ।

दलित सङ्घका केन्द्रीय सदस्यमाथि अज्ञात समूहद्वारा आक्रमण

डोल्पा । ०७१ माघ १५ गते
त्रिपुराकोट गाविस-१ का नेपाली काङ्ग्रेसको भातृ सङ्गठन नेपाल दलित सङ्घका केन्द्रीय सदस्य ४२ वर्षीय राजीमान सार्की ०७१ माघ १४ गते राती ११ बजे अज्ञात समूहको आक्रमणमा परी घाइते भएका छन् ।

त्रिपुराकोटस्थित कोटबजारबाट घरतर्फजाँदै गर्दा मुख छोपेका तीन/चार जनाको सङ्ख्यामा रहेको एक समूहले हाम्रो पार्टी विरुद्ध बोल्ने यही हो समयमै ठीक गर्नुपर्छ भन्दै पछाडिबाट लठ्ठी र ढुङ्गाले हिर्काउँदा टाउको र निधारमा गहिरो चोट लागेको पीडित परिवारले जानकारी गराए । 

घाइते राजीमान सार्कीको त्रिपुराकोटस्थित त्रिपुरा मेडिकलमा उपचार भइरहेको र आक्रमणकारीको खोजी भइरहेको त्रिपुराकोट इलाका प्रहरी इन्चार्ज रोमहर्ष सिजवालले बताए ।        

धारो छोइने भन्दै कथित माथिल्लो जातका व्यक्तिले पानी लैजान रोक

शान्तिनगर (सल्यान), माघ १६ - धारो छोइने भन्दै कथित माथिल्लो जातका व्यक्तिले पानी लैजान रोक लगाएपछि शारदा नगरपालिकास्थित शान्तिनगरका बादी समुदाय खोलाको दूषित पानी पिउन बाध्य भएका छन् । कथित तल्लो जातका बासिन्दालाई पानी लिन रोकिएपछि यहाँका २९ बादी परिवार साउनदेखि शारदा खोलाको पानी खान बाध्य भएका हुन् । 'धारामा जानै दिन्नन् । खोलाको पानी खान हुँदैन भन्ने थाहा छ, तैपनि त्यसैको भरमा छौं,' स्थानीय सिर्जना बादीले भनिन्, 'पानीकै लागि धेरै सास्ती भोग्नुपरेको छ । सरकारले गाउँका बासिन्दाका लागि बनाएको धारा कथित माथिल्लो जातकाले मात्र एकलौटी बनाएपछि विपन्न दलित समस्यामा परेका हुन् । 'पानी पनि छुन दिन्नन् । हाम्रो अधिकारै नभएजस्तो । हामी मान्छे नै नभएजस्तो गर्छन्,' उनले दुःखेसो पोखिन् ।
धारोको पानी नपाएपछि जिल्ला विकास समितिको लक्षित वर्ग अन्तर्गतको बजेटबाट ५० हजारको लागतमा छुट्टै खानेपानी इनार निर्माण गरिएको थियो । वर्षामा त्यो पनि बाढीले बगाएर लगेपछि पानीको समस्या भएको हो । योजना सञ्चालन गर्ने समयमै भेदभाव गरिएको सीता बादीले बताइन् । दलित र गैरदलितका लागि छुट्टै धारा बनाइएका थिए । 'बादीको धाराको पाइप फुटेका कारण धारामा पानी आएन । अर्को धाराको पानी थाप्न पाएनौँ,' उनले भनिन् । त्यसैले जिविसको योजनामा खोलाको छेउमा इनार बनाइएको थियो । 'जबर्जस्ती गरे झगडा हुन्छ । नगरे पानी पाइन्न । गरिब र तल्लो जाति भनेपछि सबैले हेप्ने रै'छन्,' उनले दुःखेसो पोखिन् ।
इनार खोलाले बगाएपछि बारम्बार सम्बद्ध निकायमा माग गर्दै आए पनि कसैले सहयोग नगरेको पुष्पा बादीले बताइन् । जातीय भेदभाव गर्नेलाई अवहेलना मुद्दा दर्ता गरी कारबाही गर्न सकिने कानुनी व्यवस्था भए पनि न यहाँका बादीले त्यो आँट गरेका छन् न त प्रहरी र प्रशासनका अधिकारीले चासो दिएका छन् । 'छुवाछूत र होचोमिचो गर्न नपाउने भन्छन् तर हाम्रो गाउँमा केही परिवर्तन आएको छैन,' उनले भनिन्, 'पानीमा मात्र हैन, हरेक कुरामा भेदभाव छ ।' भेदभावका कारण सामुदायिक वनबाट दाउरा ल्याउनसमेत रोकिएको उनले बताइन् ।
बादीहरू २० वर्षदेखि शान्तिनगरको ऐलानी जग्गामा बस्दै आएका छन् । पहिला मासिक ५० रुपैयाँ शुल्क तिरेर दाउरा संकलन गर्थे । अहिले सामुदायिक वनले सदस्यताका लागि ७ हजार मागेको छ । विपन्न बादीहरू त्यति पैसा तिरेर सदस्य बन्न सक्दैनन् । 'सदस्य बन्न पैसा छैन । सदस्य नबने दाउरा पाइन्न,' उनले भनिन् । दलित सेवा संघ अध्यक्ष यज्ञ विकले शान्तिनगरमा बादीलाई खानेपानीमा भएको विभेदप्रति आपत्ति जनाउँदै भेदभाव गर्नेलाई कारबाही गर्न र खानेपानीको व्यवस्था गर्न सम्बन्धित निकायलाई आग्रह गरे ।

Thursday, January 29, 2015

बुद्धको जन्मस्थल लुम्बिनीमै जातीय भेदभाव गरिएको गुनासो

१५ माघ, भैरहवा । शान्तिका अग्रदुत गौतम बुद्धको जन्मस्थल लुम्बिनीमै जातीय भेदभाव गरिएको एकजना दलित समुदायका भिक्षुले गुनासो गरेका छन् ।
तत्कालीन राजा महेन्द्र शाहका पालामा निर्माण गरिएको मायादेवी मन्दिरको आडैमा रहेको लुम्बिनीकै पहिलो पुरानो राजकीय बौद्ध बिहारबाट अहिले एकजना भिक्षुलाई दलित भन्दै बिहारबाट निकालिएको भिक्षु मिलिन्द (भीमबहादुर सार्की) ले गुनासो गरे ।
करिब साढे दुई वर्षदेखि बिहारमा पूजाआजा गर्दै आइरहे पनि राजकीय बौद्ध बिहारमा गठित लुम्बिनी धर्मोदय उपसिमितिले आफू दलित जातको हो भन्ने थाहा पाएपछि बिहारबाट निकालेको भिक्षु मिलिन्दले बताए ।
लुम्बिनीमा भिक्षुहरुको वास्तविक नाम र जात धेरैलाई थाहा हुँदैन । उनीहरु नयाँ नामबाट परिचित हुन्छन् । आफू दलित समुदायको रहेको भन्ने उपसमितिले थाहा पाएपछि उपसमितिका म्यानेजर बाबु साहेब भन्ने लखन सिंहले जातीय सूचक शब्दको प्रहार गर्दै बौद्ध बिहारबाट बाहिर जान भनेको भिक्षु मिलिन्दले गुनासो पोखे ।
साढे दुई वर्षअघि बिहारमा बस्न आउँदा भिक्षु मिलिन्दलाई उपसमितिले फूलमालाले स्वागत गरेको थियो । भिक्षु मिलिन्दले  भने-‘तर, अहिले आएर उपसमितिले आफू दलित जातको थाहा पाएपछि बिहारबाट निकाल्ने बहानाका लागि अखिल नेपाल भिक्षु महासंघबाट स्वीकृति लिएर आए मात्रै बिहारमा बस्न पाउने भन्दै बिहारबाट निकाला गर्‍यो ।
‘म दलित जाति को हुँ , त्यही भएर मलाई जातीयताकै आधारमा यहाँबाट अहिले निकालिएको छ, भिक्षु मिलिन्दले अनलाइनखबरसँग भने ‘उपसमितिका अध्यक्षले आफू निकट गुनघोष शाक्यलाई बिहारमा राख्न खोजेका कारण मलाई निकालिएको हो ।’
उपसमितिको खण्डनयता लुम्बिनी धर्मोदय उपसिमितिका अध्यक्ष चकोरमान शाक्यले भिक्षु मिलिन्दलाई जातीयताका आधारमा ननिकालिएको बताएका छन् । उनले भिक्षु मिलिन्दलाई बौद्ध बिहारमा ६ महिनाका लागि बाहिर पठाइए पनि उनी हालसम्म बिहारमै बसेका कारण भिक्षु महासंघले आफै काठमाण्डौँ बोलाएको बताए ।
भिक्षुहरुलाई विभिन्न बिहार खटाउने र तान्ने जिम्मेवारी भिक्षु महासंघको भएको र त्यसमा बिहार प्रशासनको कुनै भूमिका नरहने अध्यक्ष शाक्ले दाबी गरे ।तर, यो घटनापछि उपसमितिका म्यानेजर सिंहलाई कार्यवाहीस्वरुप उपसमितिबाट निस्काशन गरिएको छ ।

…. यसरी भएको थियो भिक्षुलाई विभेद

(विनोद परियार)

भगवान गौतमबुद्धले कहिल्यै पनि जातलाई प्राथमिकता दिनुभएन । त्यसैले त बुद्ध धर्मका अनुयायीहरुले थर लेख्दैनन् । विश्वभर कै बुद्धका अनुयायीहरुले पदावधि र नाम मात्रै लेख्छन् बोल्छन् । तर, बुद्ध धर्म र दर्शन विपरित बुद्ध जन्मस्थल लुम्बिनीमा भने एक जना भन्ते(पुजारी)ले जातीय अपमान भोग्नुपरेको छ ।
करिव साँढे २ वर्षअघि राजकिय बौद्ध विहारमा मुख्य भन्तेको रुपमा आएका भिक्षु मिलिन्द हिन्दु धर्ममा जस्तै तल्लो जात भन्दै अपमान सहन बाध्य भएका हुन् । ‘म आज भन्दा ३० वर्षअघि मेरा गुरु भिक्षु अश्वोघोषकै प्रेरेणाबाट भिक्षु भएको थिएँ, तर आज तल्लो जात भन्दै बुद्धकै जन्मस्थलमा अपमानित भएको छु’ भिक्षु मालिन्दले गुनासो गर्नुभयो ।
साँढे २ वर्ष अगाडि भिक्षु मालिन्द लुम्बिनी स्थित लुम्बिनी धर्मोदयमा आउँदा सवैले जयजयकार गर्थे । पुजाआजा पनि राम्रैसँग चलेको थियो । तर, धर्मोदयका म्यानेजर बाबु साहेब भन्ने लखनसिंहले भिक्षु मालिन्द ‘भिम बहादुर सार्की’ भन्ने थाहा पाए, त्यसपछि भने मालिन्दले विस्तारै विभेदको पिडा सहनुप¥यो । vantee
म्यानेजर सिंहले करिव ६ महिना अगाडि भिक्षु मिलिन्दलाई जातीय सूचक ‘चमारलाई हामीले पुज्नुप¥यो, तँ निस्किहाल’ भन्दै गाली गलौज सहित आक्रमण नै गरेका थिए । प्रत्यक्षदर्शी धर्मोदयका एक जना पूराना कर्मचारी झलक बहादुर ओलीले भन्नुभयो –‘चमार तँ यहाँबाट निस्कि’ भनेर भनेको मैलै पनि सुनेको हुँ ।’ झलकलाई चमार भनेको के हो थाहा नभएको बताउनुभयो । तर पटक–पटक भिक्षु र म्यानेजर लखनसिंह विच भने भना भन हुने गरेको उहाँले सुनाउनुभयो ।
६ महिना अघि तल्लो जात भन्दै आक्रमणको प्रयास भएपछि धर्मोदय उपसमितिले घटनालाई बाहिर ल्याउन रोकेको थियो । त्यतिखेर समितिले लखन सिंहलाई कारवाही गर्ने र अबदेखि जातीय सूचक लगाएर गाली गलौज नगर्ने सहमती गरिएको थियो । तर, बाबु साहेब लखन सिंहलाई कुनै कारवाही भएन ।
त्यतिखेर आफुले गुरु र बुद्धको अनुयायी भएकाले विवाद नगरेको भिक्षु मिलिन्दको भनाई छ । तर,आफुलाई त्यहिका स्थानीयहरुलाई उक्साएर पटक–पटक तल्लो जात भन्दै गाली गलौज गर्ने गरेपछि आफुसँग झगडा समेत परेको थियो । त्यसपछि स्थानीयसँग झैझगडा गरेको, समिति गठन गरेको भन्दै भिक्षु मालिन्दलाई समितिले पुस १४ गते माफी मगाई राजकिय बौद्ध विहार छाड्ने लिखित पत्रमा हस्ताक्षर गराएको छ । मिलिन्दले त्यहाँका भिक्षुहरुलाई समेटेर लुम्बिनी मायादेवी भिक्षु संघ नामक संस्था गठन गर्नुभएको थियो । सोही कारण पनि मिलिन्दलाई बुद्ध धर्मको भावना विपरित संगठन खोलेको समितिको भनाइ छ । चितवन भरतपुरका भिक्षु मिलिन्द ३० वर्षअघि दिल्लीमा अध्ययन गर्दै गर्दा बौद्ध धर्मको अनुयायी हुँदै भिक्षु बन्नभएको थियो ।
नेपालमा संघ संस्था खोल्न पाउने प्रत्येक नेपालीको अधिकार रहेपनि तल्लो जातको भिक्षु भएकै कारण त्यहाँबाट निकाल्न विभिन्न आरोप लगाईएका उनका भक्त उपासक भिक्षु शिलभद्रले बताउनुभयो । जवरजस्ती लेखाईएका भनिएकोे पत्रमा संघ नायक ‘अश्वघोष’को आज्ञानुसार अस्थायी रुपमा बसेको र हाल उहाँकै आज्ञाले उक्त बिहार छोडेको उल्लेख छ ।
भिक्षु मालिन्दले आफु तल्लो जात भएकै कारण समितिले कुटनिति चालेर हटाएको आरोप लगाएका छन् । अहिले मालिन्द मायादेवी मन्दिर अगाडि रहेको राजकीय बौद्ध विहार स्थित पिपलको रुखमुनी अनसनमा बसेका छन् ।
आफुलाई जातीय सूचक लगाएर गाली गलौज र आक्रमण गर्ने लखनसिंहलाई सहमती अनुसार कारवाही नभएको र बुद्धको दर्शन र भावना विपरित जातीय विभेद गरि बुद्ध धर्ममै असर पर्ने काम भएकाले यसलाई रोक्न माग गर्दै आमरण अनशनमा बसेका छन् ।
समितिले अहिले पनि अखिल नेपाल भिक्षु महासंघले स्विकृती दिएमा भिक्षु मालिन्दलाई बस्न दिने बताएको छ । तर महासंघले पनि दलित भएकै कारण स्विकृति नदिदा चित्त दुखेको गुनासो गर्नुभयो ।
लुम्बिनी धर्मोदय समितिका सहसचिव सुवर्णमान शाक्यले कर्मचारी लखन सिंहले जातीय रुपमा अपमान गरेको साँचो भएको स्विकार गर्दै मिलिन्दलाई जातीयताकै कारण नहटाएको स्पष्ट पार्नुभयो । ‘जसले भिक्षु बनाएको हो, उहाँले नै त्यहाँ नबस्नु भनेर बोलाएको छ, तर भिक्षु मिलिन्दले त्यसलाई अस्विकार गर्दा समस्या आएको हो’ सहसचिव शाक्यले भन्नुभयो ।
६ महिनाको लागी मात्र पठाईएकोमा भिक्षु साढे २ बर्ष देखि जवरजस्ती बसिरहेको शाक्यको भनाई छ भिक्षुहरुलाई बिभिन्न बिहारमा खटाउने र तान्ने काम भिक्षु महासंघको भएको र त्यसमा बिहार प्रशासनको कुनै भुमिका नरहने लुम्बिनी धर्मोदय समितिले जनाएको छ । लुम्बिनी विकास कोषका सदस्य सचिव अजितमान तामाङ्गले यो घटनाले लुम्बिनी र बुद्ध धर्ममा असर पारेको बताउँदै यो घटनालाई साम्य पार्नुपर्ने बताउनुभयो । उहाँले बुद्ध धर्ममा छुवाछुत भन्ने हुँदै नहुने बताउँदै भिक्षु मिलिन्लाई पनि कुनै विभेद नभएको दावी गर्नुभयो । यता दलित अधिकारकर्मी पदम बहादुर विकले बुद्ध धर्ममा विभेद भएको घटनाले आफुहरु स्तम्भ भएको बताउनुभयो ।
उनले जातीयताको आधारमा विभेद भयो भनेर घटना आउनु अत्यन्त दुःखद भएको भन्दै दोषीलाई कारवाही गरि बुद्धको जन्मथलोलाई विभेदको थलो नबनाउन आग्रह गर्नुभयो ।
अर्का अधिकारकर्मी किस्मत विश्वकर्माले भिक्षु मिलिन्दले पहिलै पनि आफुमाथि छुवाछुत हुने गरेको आफुहरुसँग गुनासो गर्ने गरेको बताउँदै अति नै भएर घटना सार्वजनिक गरेको बताउनुभयो । ‘अब यो घटना बढाउनुभन्दा धर्मोदय समिति र प्रशासनले समेत निकासन निकाल्नेतर्फ ध्यान दिनुपर्छ’ उहाँले भन्नुभयो ।

अज्ञात समूहद्वारा ११ वर्षीया बालिकामाथि कुटपिट

धनकुटा, माघ १५– अज्ञात समुहको आक्रमणबाट गम्भिर घाइते भएकी धनकुटा जितपुर गाविस–६ की ११ बर्षीया एक बालिकाको उपचारमा समस्या भएको छ ।
माघ १२ गते सोमबार आफ्नै घरमा अचेत अवस्थामा फेला परेकी सुजता परियारको आर्थिक अवस्था कमजोर भएपछि उपचार गर्न समस्या भएको हो ।
अज्ञात समुहको आक्रमणबाट टाउकोमा गम्भीर चोट लागेर उपचारको लागि न्युरो अस्पताल विराटनगर पु¥याएको थियो ।
गम्भिर अवस्थामा न्युरो अस्पताल विराटनगर पु¥याएकी बालिकाको प्रारम्भिक उपचार गरिएपछि अस्पतालले ९ लाख लाग्ने बताएपछि उनलाई उपचार नगरि फर्काएर जिल्ला अस्पताल धनकुटा ल्याइएको थियो ।
बालिकाको अवस्था अझ कमजोर बन्दै गएपछि केही चन्दा संकलन गरेर आजै नोबेल मेडिकल कलेज विराटनगर लगिएको छ । बालिकाको हालसम्म प्रारम्भिक उपचारको क्रममा एक लाखभन्दा बढी खर्च भईसकेको छ ।
छोरीको थप उपचार गर्न आफुसँग कुनै श्रोत बाँकी नरहेको उनकी आमा चन्द्रकुमारी परियारले गुनासो गरे ।
पतिको पहिले नै मृत्यु भईसकेको र आफु एक्ली महिलाले केही गर्न नसक्ने बताउँदै आँखाबाट आँसु झार्दै जिल्ला अस्पताल धनकुटाको परिसरमा भनिन्– “मेरो भएजति सबै जयजेथा पनि सकियो ।
अब म सँग सम्पत्तिको नाममा केही छैन । यदि कसैको दया भए मेरी छोरीलाई बचाई दिन आग्रह गर्दछु ।” सोमबार चन्द्रकुमारी घाँस दाउरा गर्न जंगल गएको बेला छोरीलाई अज्ञात समुहले आक्रमण गरि घरको भान्छा कोठामा नै बेहोस् अवस्थामा छोडेका थिए ।
घटनाको जानकारी पाए लगत्तै प्रहरीलाई मौखिक जानकारी गराई सकिएको भएपनि हालसम्म कसले र किन आक्रमण गरेको भन्ने बारेमा केही खुल्न नसकेको जिल्ला प्रहरी कार्यालय धनकुटाका सई दिनेश अधिकारीले बताए । घटनाको अनुसन्धान जारी रहेको पनि प्रहरीले बताएको छ ।
- Source:www.ratopati.com

Tuesday, January 27, 2015

नेपाली टिमको सदस्य हुन पाएकोमा गर्व लाग्छ - सोमपाल कामी

१४ माघ, काठमाडौं । नेपाली क्रिकेटमा सोमपाल कामी सबैले चिनेको र मन पराएको नाम हो । सोमपालका फ्यानहरु प्रशस्त छन् । क्रिकेट नखेलेको भए ‘भारतीय आर्मी बन्ने थिएँ होला’ भन्ने सोमपालको सपना छ- ‘नेपालमा मम्मीलाई एउटा घर बनाइदिने ।’ अनि बुहारी नि ? उनै साह्रै लज्जालु रहेछन् यो मामिलामा ।
क्रिकेटको क्षेत्रमा सोमपालले कसरी प्रगति गरे, उनको स्वाभाव अनि रुची  के कस्ता छन् र उनको सपना के छ भन्नेबारे अनलाइनखबरका लागि राजकुमार श्रेष्ठले गरेको कफी-गफ :
Coffee-guff-with-Sompal-650
डिभिजन टू खेल्न जाँदा हाम्रो लक्ष्य डिभिजन वानमा उक्लने थियो । तर, त्यसो हुन सकेन । सोमपालको नजरमा समग्रमा खेल कस्तो रहृयो ?
- अनुभव धेरै राम्रो रहृयो । जे सोचेर गएका थियौं, त्यो १०० प्रतिशत भएन । तर, एक समय यस्तो अवस्था थियो कि हामी डिभिजन वानमा पुग्छौं । ब्याडलक रहृयो केन्यासँगको खेल । विश्वकप खेलिसकेको केन्यालाई नराम्रो टीम पनि भन्न मिलेन । खेलमा विकेट कण्डिसन पनि धेरै फरक पर्छ । व्याटिङ विकेट थियो, त्यसले हामीले केही गाह्रो भयो ।
हामीले नेदरल्याण्ड, नामिबिया जस्तो टीमलाई हरायौं । तर, सुरुमा नै युगाण्डासँगको खेलमा भने अपेक्षा विपरीत नजिता आयो । कहाँ चुक्यौं हामी ?
- दुई रनले हामी हार्‍यौं । युगाण्डासँग हामीले धेरै खेलिसकेका छौं । तर, हामी जस्तो सोच्छौं, त्यो सँधै हुँदैन । युगाण्डासँगको खेलमा पनि यस्तै भयो । लक्ष्य पनि धेरै थिएन । हामीलाई लाग्यो कि सहजै चेज गर्छौं तर, भएन । विकेट पनि त्यस्तै थियो । राइट टाइममा राइट पफर्मेन्स उनीहरुले गरे, हामीले सकेनौं । १ बलमा ३ रन चाहिएको थियो, त्यही बेला बसन्त दाइ आउट हुनुभो । हामी पनि खुसी थिएनौं । त्यो खेल जितेको भए छनोट हुन पनि सजिलो हुन्थ्यो ।
ब्याटिङमा अलि बढी समस्या देखियो । ओपनिङ पनि चलेन
- नरेश दाइले डिभिजन थ्रीमा राम्रो गर्नुभएको थियो । तीन अर्धशतक थियो । कुनै पनि खेलाडीको मनमा हुँदैन कि म शुन्यमा आउट हौं । हरेक ब्याट्सम्यान र बलरले सोचेको हुन्छ कि आज म हिरो बन्छु । त्यसैले ब्याडलक भन्न मिल्छ हाम्रो ब्याटिङमा ।
डिभिजन टूमा ओपनिङ बलिङमा नयाँ साथी करण केसी आएका छन् । कस्तो रहृयो पार्टरसिप ?
- जे सोचेका थियौं, त्यही भयो । करणसँग मेरो राम्रो फ्रेण्डसिप छ । हामी यसरी यो बलिङ गर्नुछ, सुरुको १० ओभरमा यति रन दिएर विकेट मिल्यो भने बोनस हो, नभए यति रन दिने हो भनेर योजना बनाउँछौं । म उसलाई पनि यही भन्छु कि मन लगाएर खेल । उसले पनि धेरै मेहनत गरेको छ र डेब्यू टुर जस्तो हुनु पर्ने हो त्यस्तै भयो । म एकदमै खुसी छु ।
दुईजनाको ट्युनिङ पनि मिल्छ होइन ?
- हो । उनी पनि पञ्जाबतिरबाटै आएका हुन् । मैले पनि आफ्नो धेरै समय उतै बिताएको छु । दुबैको सेम छ । उनले पनि आफ्नो क्रिकेटलाई धेरै माया गर्छन्, मैले पनि गर्छु । दुबैको डि्रम छ कि राम्रो प्रदर्शन गरौं ।
हामीले क्रिकेटमा बलिङमा राम्रो पार्टनरशीप गर्‍यौं । म कामना गर्छु कि आउने दिनमा हामीले धेरै राम्रो प्रदर्शन गर्न सकौं ।
पर्सनल लाइफमा नि ?
- हामी टीममा कमेडी, जोक भन्छौं । पञ्जाबीमा बोल्छौं । हामीले के भनेको, धेरैले बुझ्नुहुन्न । अनि सिनियर दाइहरुले भन्नुहुन्छ कि के हो नेपालीमा बोल । रमाइलो छ ।
छोटो समयमा नेपाली टीमको महत्वपूर्ण सदस्य बन्नुभएको छ । कसरी सम्झनुहुन्छ यो १५ महिना ?
धेरै खुसी छु । नेपाली टिमको सदस्य हुन पाएकोमा गर्व लाग्छ
- राम्रो काम गर्न भगवानले मलाई छनोट गर्नुभयो । मैले राम्रो प्रदर्शन गर्न सकेँ । लाइफमा धेरै मैले देखेको पनि छैन । १५ महिनामा धेरै खुसी पाएको छु । ममी ड्याडीले माया र सम्मान दिनुभएको छ । मलाई लाग्थ्यो कि मेरो नाम होस्, परिवारको नाम होस् । छोटो समयमा राम्रो प्रदर्शन गरेँ । त्यसैले राम्रो कामका लागि मलाई छनोट गर्नुभएकोमा म गडलाई थ्याङ्क्स भन्छु ।
नेपाल आउने योजना कसरी बन्यो ?
- म इण्डियामा खेल्दै थिएँ । मेरो फेसबुकमा अर्जुन अधिकारी भन्ने साथी थियो । धेरै कुराकानी पनि हुँदैनथ्यो । बाइ लक भन्न मिल्छ कि एक दिन उनले मलाई क्रिकेट खेल्न नेपाल जाने हो ? भनेर म्यासेज गरे । जतिबेला म क्रिकेट खेल्ने बाटो खोजिरहेको थिएँ । उनले नागरिकता छ ? भने तर, मसँग थिएन । पापाको थियो । त्यसलाई लिएर आएँ र नेपाली नागरिकता बनाएँ ।
Sompal Kami (1)
अर्जुनले मलाई धेरै सहयोग गरेको छ । उनको मामाजीले पनि धेरै माया गर्नुभयो र सहयोग पनि । मलाई पहिलो म्याच अहिले पनि याद छ, म एनसीफएसीबाट खेल्दै थिएँ । धेरै गर्मी थियो । म भित्र ब्याटिङ गर्दै थिएँ, अर्जुनको फादर साहेव र मामा बाहिर बसेर हेरिरहनु भएको थियो । उहाँहरु गोरो नै थियो तर, घामले कालो हुनभयो । धेरै खुस लाग्छ कि मेरो पापाले यति सपोर्ट गर्नुभएन, जुन मैले उहाँहरुबाट पाएँ ।
अर्जुनका भाइले पनि सपोर्ट गर्नु भो । एक महिना घरमा राख्नु भो । यो सम्झँदा एकदम खुसी पनि लाग्छ । तर, अर्कोतिरबाट त्यो मेरा लागि दुःखको दिन पनि थियो । चिनजान थिएन । खान बस्दा पनि आफैंलाई कस्तोकस्तो लाग्थ्यो । केही गरेको छैन । उहाँहरुले केही भन्नुभएन तर, आफैंलाई कस्तो हुँदोरहेछ ।
अहिलेचाहिँ कति खुसी हुनुहुन्छ ?
- धेरै खुसी छु । नेपाली टिमको सदस्य हुन पाएकोमा गर्व लाग्छ । समर्थकहरुले चाहनुहुन्छ कि जहाँ र जहिले पनि जितोस् । वर्ल्ड कप खेलोस्, जितोस् । तर, हामीले धेरै गर्नुपर्छ ।
सबैभन्दा खुसी भएको क्षण ?
- नेपाल टीममा परेपछि । टीममा परेर म न्यूजिल्याण्ड गएँ । ब्याडलक, मैले धेरै राम्रो गर्न सकिँन । त्यसपछि हामीले टी-२० वल्र्डकप खेल्यौं । म पहिलो पटक मैदान प्रवेश गर्दा जुन फिलिङ थियो, त्यो अहिले पनि आइरहन्छ ।
कस्तो अनुभव भएको थियो त्यसबेला ?
- पहिला आईपीएल हेर्दा खेलाडीहरुभित्र खेलिरहेका हुन्थे । मलाई लाग्थ्यो, भित्र भगवान नै छ । उनीहरु स्टार हुन् यस्तै यस्तै । जब म मैदानभित्र प्रवेश गरेँ, त्यस्तो केही थिएन, सबै नर्मल थियो । त्यहाँ धेरै समर्थकहरु पनि थिए ।
धेरैलाई हामीले ठूलो काम गर्‍यौं भन्ने लागेको थियो होला । तर, त्यति ठूलो पनि थिएन । भित्र जानुमात्र होइन, प्रदर्शन ठूलो हो । जुन शक्ति, जितेन्द्र दाइले गर्नुभयो ।
पहिलोपटक नेपालको जर्सी लगाएर राष्ट्रिय गान गाउँदा ?
म नेपाली हुँ भनेर थाहा थिएन । तर, अरुले भन्थे कि यो नेपाली हो हा.. हा.. । त्यसबेला मलाई नेपालमा क्रिकेट छ भनेर थाहा नै थिएन
- धेरै खुसी भएँ । नेपालको जर्सी लगाउने मेरो ठूलो सपना थियो । म क्याम्पमा बस्दा मम ड्याडले भन्दैहुनुहुन्थ्यो तँ घर -भारत) फर्की, त्यहाँ केही गर्न सकिन्न । तर, मलाई भित्रैबाट लागेको थियो कि म सक्छु । ढीलो चाँडो होला । मलाई पारस दाइ, ज्ञान दाइ, कोचले धेरै सपोर्ट गर्नुभो र मैले छिट्टै नेपालको जर्सी लगाउन पाएँ ।
क्रिकेटमा सम्झन नपरे हुन्थ्यो भन्ने कुनै क्षण ?
- त्यस्तो केही छैन । राम्रो हुँदैछ ।
क्रिकेटर नभएको भए ?
- शायद म अहिले इण्डियन आर्मीमा हुन्थेँ ।
आर्मीमा जाने योजना थियो नेपाल आउनुअघि ?
- थिएन । जबरजस्ती थियो । हा.. हा… हा.. पापाको । उसको छोरा यो भयो, उसको यो भयो, यति पढ्यो, कमायो, तैले केही गरेको छैन भनेर भन्नुहुन्थ्यो । मलाई लाग्छ, यस्तो मलाई मात्र होइन, सबैलाई हुन्छजस्तो लाग्छ । तर, आफ्नो-आफ्नो समय हुन्छ ।
अहिले के भन्नुहुन्छ पापाले ?
- जे गरिरहेको छ, राम्रो गर् । तैंले आफ्नो सपना पुरा गरिस् । मलाई दुःख लाग्छ कि मैले तँलाई सपोर्ट गरिँन । मैले सहयोग गरेको भए अझ धेरै गर्न सक्थिस् होला भन्नुहुन्छ । तर, ठीक छ, टाइमभन्दा पहिला केही गर्न सकिन्न ।
बाल्यकालमा कहिल्यै नेपाल टीमबाट खेल्छु भन्ने लागेको थियो ?
पहिलोपटक कमाएको साढे ३ सयमध्ये ३०० मैले राखेर ५० मन्दिरमा दिएको थिएँ । त्यसबेला म भगवानलाई भन्थेँ कि तपाईले मलाई दिनुभयो भने म १० प्रतिशत तपाईको ९० प्रतिशत मेरो
- म नेपाली हुँ भनेर थाहा थिएन । तर, अरुले भन्थे कि यो नेपाली हो हा.. हा.. ।
त्यसबेला मलाई नेपालमा क्रिकेट छ भनेर थाहा नै थिएन । म नेपालमा जन्मिए पनि भारतमा हुर्किएँ, पढेँ । त्यसबेला जहाँ हुर्कियो, त्यहीँ खेल्ने भन्ने सोच हुनु स्वभाविक हो । मेरो पनि डि्रम थियो कि इण्डियाबाट खेलौं ।
तर, मेरो पहिला ड्रिम थियो कि स्कुलबाट खेलौं किनकि सामान नभएकाले दुई वर्ष मलाई टीममा नै राखेनन् । दुई वर्ष फिल्डिङ मात्र गरेँ । तेस्रो बर्ष बल्ल टीममा परेँ ।
त्यसबेला कत्तिको संघर्ष गर्नुपर्‍यो ?
- मैले जीवनमा एकपटक मात्र ब्याट किनेको छु, त्यो पनि आफ्नो कमाइले । सचिनको फ्यान भएकाले यू-१६ मा एमआरएफको ब्याट किनेको थिएँ । त्यो ब्याटले ५/६ महिना खेलेँ, बाँकी सरहरुले दिनु भो ।
Sompal Kami (2)
मसँग केही पनि थिएन । क्रिकेट खेल्न कपडासम्म थिएन । भारतमा हृवाइट किट्स लगाएर खेलिन्छ । तर, मसँग त्यो पनि थिएन । स्कुलमा शनिबार र सोमबार हृवाइट ड्रेस थियो । म त्यही लगाएर खेल्न जान्थेँ । त्यो दिन मलाई अहिले पनि धेरै याद आउँछ । तर, ती दिनहरुका कारण नै मैले मेहनत गर्न र सम्हाल्न सिकेँ ।
आइडल पसर्न ?
- सचिन तेन्दुलकर । नेपाल टीममा पारस दाइबाट धेरै प्रभावित छु ।
पहिलो कमाइ ?
- क्रिकेटमा पहिलोपटक साढे ३ सय कमाएको थिएँ । त्यसमध्ये ३०० मैले राखेर ५० मन्दिरमा दिएको थिएँ । त्यसबेला म भगवानलाई भन्थेँ कि तपाईले मलाई दिनुभयो भने म १० प्रतिशत तपाईको ९० प्रतिशत मेरो हा..हा..हा… । अहिले पनि यस्तै छ । बेला-बेला मन्दिर जान्छु । भारत जाँदा पनि म मन्दिर जान्छु ।
नेपालमा आएपछिको कमाइ ?
- काठमाडौंबाट जिल्लाको खेल खेल्दा साढे १५ सय पाएको थिएँ ।
आफ्नो नजरमा सोमपालको कमजोरी ?
- कहिलेकाँही म बढी इमोसनल हुन्छु । टीभी हेर्दा कहिले काँही पतिले पत्नीलाई कुटेको, डिभोर्स गरेको, बच्चाहरुलाई घरबाट निकालेको देख्दा नराम्रो लाग्छ । बिरामी मानिस पैसा नभएर ज्यान गुमाएको देख्छु, नराम्रो लाग्छ ।
जीवनमा पश्चाताप लाग्ने कुनै क्षण ?
- अहिलेसम्म छैन । शायद म नेपाल टीममा पर्न नसकेको भए म घरदेखि केका लागि आएँ भन्ने हुन्थ्यो कि जस्तो लाग्छ । तर, मेरो ममले भन्नुहुन्छ कि तँ राम्रो इन्सान छस् र तँलाई राम्रो इन्सान भेटिन्छ । म जस्तो छु, त्यस्तै साथी भेटेँ, सपोर्ट पाएँ, त्यसका लागि खुसी छु ।
मन पर्ने खाना ?
- राज्मा चामल धेरै मन पर्छ । ममले हरेक आइतबार बनाउनुहुन्थ्यो । परोठ मनपर्छ ।
बुबाममी त भारतमा हुनुहुन्छ, कत्तिको जानुहुन्छ भेट्न ?
- लामो छुट्टी हुँदा जान्छु । यहाँ यू-१९ प्लेयर सन्दिप सुनारको घर बुटवलमा बस्छु । उहाँ आफन्त पनि हुनुहुन्छ । पापा र ममीले पनि धेरै माया गर्नुहुन्छ । बिहान बेलुका फोन गर्नुहुन्छ ।
फुर्सदको समयमा के गर्नुहुन्छ ?
- टीभीमा क्रिकेट हेर्छु । कहिले काँही डिस्कभरी र राम्रो आयो भने फिल्म हेर्छु । टीमसँग म बढी इन्जोय गर्छु ।
घुम्न कत्तिको रुचाउनुहुन्छ ?
- घुम्न गएँ भने म थाक्छु । खेलेर म थाक्दिँन तर घुम्न जाँदा थाक्छु ।
हातमा त धेरै लकेट रहेछ नि ?
ममीले भन्नुहुन्छ कि घर कहिले बनाएर दिन्छस् ? बस त्यही सपना छ कि नेपालमा एउटा घर बनाएर ममलाई दिने
- भगवानमाथि धेरै भरोसा छ मलाई । यसलाई गन्ने हो भने पूरा १५ महिना यसमै छ । सुरुमा ममीले लगाइदिनुभएको । म नेपालमा आउँदा मन्दिर गएर लगाएको, वल्र्डकप, डिभिजन थ्री, श्रीलंका टुस, डिभिजन टु सबैको छ ।
सधैं लगाइरहने हो ?
- निकालेर फाल्यो भने गोडामा आउँछ कि भन्ने लाग्छ । त्यही भएर हातमै छ । टुट्यो भने ब्यागमा राख्छु र पछि पानीमा बगाइदिन्छु ।
भगवानमाथि धेरै विश्वास गर्नुहुन्छ ?
- हो । मेरो ममले पनि धेरै पूजा गर्नुहुन्छ । बिहान बेलुका मन्दिर जानुहुन्छ । घरमा पूजा गर्नुहुन्छ । मेरा लागि धेरै प्रार्थना गर्नुहुन्छ ।
क्रिकेटमा अबको लक्ष्य ?
ठूलो छ । अहिले नभनौं । जुन दिन पूरा हुन्छ, त्यसपछि मात्र खेल्छु । अहिले यति मात्र भन्छु, नेपाल टीमलाई माथि लैजाऔं, धेरैभन्दा धेरै क्रिकेट खेलौं ।
व्यक्तिगत जीवनमा ?
पहिला धेरै दुःख थियो । अहिले ठीक छ । ममीले भन्नुहुन्छ कि घर कहिले बनाएर दिन्छस् ? बस त्यही सपना छ कि नेपालमा एउटा घर बनाएर ममलाई दिने ।
कहाँ ?
- यही सोचिरहेको छु कि बुटवल । त्यहाँ धेरै आफन्तहरु पनि छन् । मैले पापालाई बोलाएको छु । निर्णय लिने उहाँले नै हो, मैले सहयोग गर्ने मात्र हो ।
घर बनाएपछि बुहारी पनि भित्र्याउने होला नि ?
Sompal-Kami- त्यसका लागि समय धेरै छ । आफूलाई पाल्न नसक्नेले अरुको कसरी पेट भर्ने हा… हा… हा… । भनेको, म अझै पूर्णरुपमा आफनो खुट्टामा उभिएको छैन ।
लभ त होला नि ?
- लभ परेको छ कि छैन मलाई पनि थाहा छैन । दोस्त छ । हामी साथी हौं ।
चिनजान भएको कत्ति भयो ?
- नेपालमै आएपछि नै । उनको आफ्नो सपना छ, त्यो पूरा होस् । अहिले हामी साथी मात्र छौं । पछि नै निर्णय गरौंला । हामी त्यति धेरै भेट्दैनौं पनि । किनकि म धेरै बोल्न सक्दिँन हा.. हा..। उहाँ भन्नुहुन्छ, म सुन्ने हो ।
फ्यान फलोअर धेरै छन् । सार्वजनिक कार्यक्रममा भेट पनि हुन्छ होला ?
- यति धेरै माया गर्नुभएको छ, यसका लागि म धेरै खुसी छु । कहिलेकाँही भेट हुन्छ । तर, म नर्भस भइहाल्छु ।
जे होस्, क्रिकेट करियरबाट सन्तुष्ट हुनुहुन्छ ?
- यति धेरै माया गर्नुभएको छ, यसका लागि म धेरै हो । तर, उहाँ -भगवान)ले बेलाबेला चेक गर्नुहुन्छ कि ठीक छ कि छैन । त्यसले झड्का लाग्छ बेला- बेला ।
source:- http://www.onlinekhabar.com/2015/01/234731/#sthash.IT7cio3H.dpuf

बेरोजगार युवाका निम्ति उदाहरणीय बने सुशील महरा


सुनसरी, १३ माघ – २४ वर्षअघि १३ सय रुपैयाँको लुगा सिउने मेसिन बोकेर मोरङको दर्वेसाबाट सुनसरीको इटहरी पसेका ४३ वर्षीय सुशील महरा यतिवेला करोडका मालिक भएका छन् । सीप सदुपयोग गरे पैसा कमाउन विदेश जानुुनपर्ने मान्यता राख्ने महरा इटहरीका लागि मात्र नभई मुलुकभरका बेरोजगार युवाका निम्ति उदाहरणीय बनेका छन् ।
इटहरी उपमहानगरपालिकाको मुख्य चोकबाट दक्षिणतर्फ इटहरी–विराटनगर राजमार्गको पूर्वमा रहेको आकर्षण वस्त्रालयअगाडि एउटा लुगा सिउने मेसिन लिएर बसेका महरालाई काम थालेदेखि एक दिन पनि खाली बस्नुपरेको छैन । उनी १७ वर्षको उमेरमै विवाहबन्धनमा बाँधिई ०४७ मा १३ सयमा किनेको लुगा सिउने मेसिन बोकेर इटहरी झरेका थिए ।
गाउँमै ऋण खोजेर महराले छिमेकी गाउँ बिसनपुरबाट सेकेन्डह्यान्ड मेसिन खरिद गरेका थिए । उनी इटहरी आउँदा कपडा पसल कमै मात्र खुलेका थिए । रेडिमेड कपडा पसल भर्खरै खुल्न थालेका थिए । जिन्सका रेडिमेड कपडा बेच्ने पसल धमाधम खुल्न थालेका थिए । इटहरी गएर केही फरक काम गर्ने सोच बनाएरै मेसिन काँधमा बोकेर आएको उनी स्मरण गर्छन् । गाउँबाटै व्यापार गर्न इटहरी आएका शुभकामना र भट्टराई स्टोरका सञ्चालकको सुझाबमा सुरुबाटै जिन्स पेन्ट फिटिङ, फुल फिटिङ, उध्रिएका कपडा सिलाउनेलगायत काम थालेको उनी बताउँछन् ।
जुन स्थानमा उनी पहिले मेसिन राखेर काम गर्थे अहिले पनि त्यहीँ (सडकपेटी) बसेरै व्यवसायलाई निरन्तरता दिइरहेका छन् । महराले ०५२ देखि व्यावसायिक रूपमै जिन्स र कटन पेन्ट तथा सर्टको फिटिङ थालेका थिए । सुरुमा एउटा पेन्ट फुल फिटिङ गरेको ज्यालाबापत ३० रुपैयाँ लिनेको गरेको उनी सम्झिन्छन् । त्यतिवेला लिने ३० रुपैयाँ ज्याला अहिले बढेर ७० पुगेको छ । बजारमा चलेको फेसनअनुसार जिन्स पेन्ट चुज बनाउन र फुल फिटिङ गर्न सबैभन्दा बढी युवती आउने गरेको महरा बताउँछन् । तर, अहिले महराको प्रगतिबाट प्रभावित भएर ३५ भन्दा बढी युवा इटहरी बजार क्षेत्रका कपडा पसलअगाडि सडकपेटीमा बसेर सिलाइ व्यवसाय गर्दै आएका छन् । उनीहरूले पनि व्यवसायबाट राम्रोसँग घरपरिवार पालेका छन् ।
महरा भन्छन्, ‘कपडा फिटिङ गर्नेबाट पहिला ३० रुपैयाँ पाउन पनि मुस्किल हुने गथ्र्याे । लुगा सिलाउने न हो, जति भन्छ त्यति कहाँ दिने भन्ने गर्थे मानिस । कतिसँग ज्याला लिन झगडा नै गर्नुपर्ने अवस्था थियो । तर, अहिले त्यस्तो छैन ।’ उनको फिटिङ टेलर्सले पूर्वको उर्लाबारीदेखि पश्चिमको राजविराजसम्म प्रसिद्धि कमाइसकेको छ । विराटनगर र धरानबाट पनि ग्राहक आउने गरेको महरा बताउँछन् । उनले सिलाइ पेसाबाटै अहिलेसम्म १ करोडभन्दा बढीको सम्पत्ति जोडिसकेका छन् । जेठी छोरीलाई नर्स पढाइरहेका छन् । छोरा पनि १२ पढ्दै छन् । जिन्स तथा कटन पेन्ट फिटिङ गरेबापत मासिक ४५ हजार हाराहारी आम्दानी हुने गरेको उनले जानकारी दिए ।
महराले सिलाइ व्यवसायबाटै इटहरीमा दुईवटा घडेरी जोडिसकेका छन् । इटहरीको सात धुर जग्गामा आफ्नै कमाइबाट अढाईतले पक्की घर निर्माण गरेका छन् । उनले बनाएको घरको मूल्य हाल करिब ४५ लाख रुपैयाँ पर्छ । इटहरीमै इटहरी–धरान राजमार्गले छोएको स्थानमा थप ६ धुर जग्गा किनी उनले अर्को घर बनाउन थालेका छन् । जग्गा मूल्य हालको चलनचल्तीअनुसार ४२ लाख पर्छ । ६ धुर जग्गामा घर निर्माण गर्न ३५ लाख जम्मा गरिसकेको बताउँदै महरा भन्छन्, ‘नयाँ घर बनाएर भाडामा लगाउने योजना छ ।’ त्यति मात्रै नभई महराले दर्बेसामै धान खेती गर्न एक बिघा दुई कट्ठा जग्गा खरिद गरेका छन् ।
१३ सय रुपैयाँको मेसिनले करोडपति भएकोमा महरा गर्व गर्छन् । उनी भन्छन्, ‘स्वेदशमा धैर्यपूवर्क पेसा–व्यवसायलाई निरन्तरता दिन सके विदेशमा कमाउन जानैपर्दैन । अहिलेको युवा पुस्ता एकैपटक धेरै आम्दानी लिने आशमा विदेश भौँतारिन्छ, जुन गलत हो ।’ करोडपति बनाउने मेसिन र कामप्रति गर्व गर्ने महरा सकुन्जेल सिलाइ पेसालाई निरन्तरता दिने बताउँछन् । कुनै पनि पेसाबाट रकम आर्जन गरेर मात्र नहुने र त्यसलाई सदुपयोग गर्न बचत आवश्यक रहेकोमा उनी जोड दिन्छन् ।
सीप, जाँगर र इच्छाशक्ति हुनेका लागि नेपालमा प्रशस्त अवसर रहेको दाबी महराको छ । काम गर्नेलाई कहिल्यै पैसा अभाव नहुने बताउँछन् महरा । नयाँ घर बनाएर १३ सयमा खरिद गरेको मेसिनलाई घरको माथिल्लो तलामा संग्रह गरी राख्ने योजना उनले सुनाए । २४ वर्षसम्म खासै नबिग्रिएको सिलाइ मेसिनबाटै अहिले पनि आम्दानी लिँदै आएको महराले बताए । उनी भन्छन्, ‘मेरो जिन्दगीलाई कायापलट गराउने मेसिन नै यही हो, सोही कारण बिहान–साँझ मेसिनलाई पुज्ने गर्छु ।’

तल्लो जातसँग विहे गरेको भन्दै आफ्नै छोरीमाथि कुटपिट

पिडित संगिता पत्रकारसँग कुरागर्दै।तस्वीरः नारायण ढुंगाना

नारायण ढुंगाना चितवन, माघ १३ 

चितवनको जुटपानीमा पानी छोएको निहुँमा आफ्नै आमाले छोरीमाथि निर्घात कुटपिट गरेकी छिन्।
अन्तरजातीय विवाह गरेकी जुटपानी ७ सुर्यपुरकी २१ बर्षिय संगिता लामा परियारलाई आमा धनमायाँ तामाङ , दिदी शर्मिला र गाउँकी अर्की एक महिलाले सामुहिक रुपमा कुटपिट गरेको पिडित संगिताले दुखेसो गरिन्।
 आफूलाई चिर्पटले हानेर घाईते बनाएको भन्दै उनले न्याय दिलाई दिन उहाँले सबैमा अपिल गरेकी छिन्।
तल्लो जातसँग विहे गरेको भन्दै यसअघि पटकपटक दुर्व्यवहार गर्ने गरेकोमा मंगलबार साँझ भने ईनारमा एक्लै भएको मौका पारेर कुटपिट गरेको पिडित संगिताले वताईन्। कुटपिटबाट टाउकाको विभिन्न भागमा चोट लागेको छ भने देव्रे खुट्टा फ्याक्चर भएको छ।
उनको अहिले भरतपुर मेडिकल कलेजमा उपचार भैरहेको नेपाल उत्पीडित जातीय मुक्ती समाज चितवनका सचिव नगेन्द्र प्रसाद उप्रेतीले जानकारी दिए। 
समाजकै अगुवाईमा कुटपिट गर्ने र जातीय भेदभाव गर्ने विरुद्ध आज प्रहरीमा उजुरी समेत परेको छ। समाजका सदस्य दिपक परियार र निवर्तमान अध्यक्ष सहदेव लकान्द्रीले कुटपिट गर्नेलाई कानुन अनुसार कारवाहीको माग गरे।
४ बर्षअघि पदमपुर ४ की संगिताले जुटपानी ७ का मनोज परियारसँग प्रेम विवाह गरेकी थिइन्।
त्यसपछि माईतीपक्षले पटकपटक मानसिक दुर्व्यवहार गर्दै आएका थिए।  मंगलबार भने कुटपिटमै उत्रीएर घाईते बनाएपछि घटना सार्वजनिक भएको हो।  

दलितसँग विहे गरेकी छोरी कुट्ने आमा प्रहरी खोरमा

चितवन : चितवनको जुटपानीकी एक महिलाले आफ्नै आमाविरुद्ध उजुरी दिएकी छिन् । तल्लो जातसँग बिहे गरेको भन्दै आमाले यातना दिएपछि ती महिलाले आफ्नै आमाविरुद्ध जिल्ला प्रहरी कार्यालय चितवनमा बुधबार उजुरी दिएकी छिन् । उजुरीका आधारमा प्रहरीले आज युवतीकी आमासहित तीनजनालाई पक्राउ गरेको छ ।
तल्लो जातको केटासँग गएको भन्दै विगत तीन वर्षदेखि यातना खप्दै आएकी जुटपानी–७ सूर्यपुरकी २१ वर्षीया सङ्गीता लामालाई आमाले कुटपिट गरी घाइते बनाएपछि उनले कारबाहीको माग गर्दै प्रहरीमा उजुरी दिएकी हुन् ।

सङ्गीतालाई आमा धनमाया तामाङ, दिदी शर्मिला र गाउँकी अर्की एक महिलाले सोमबार साँझ कुटपिट गरेको पीडित युवती सङ्गीताले दुखेसो गरिन् । त्यसपछि मङ्गलबार उनलाई उपचारका लागि भरतपुर मेडिकल कलेज ल्याइएको थियो ।
 
चिकित्सकले उनको खुट्टाको गोलीगाँठामा हड्डी फुटेको भन्दै एक महिना आराम गर्नुपर्ने बताएका छन् । उनको टाउकोमा समेत चोट लागेको छ । आफूलाई चिर्पटले हानेको पीडित युवतीले बताइन् । न्यायका लागि भरतपुर आइपुगेकी सङ्गीताले बुधबार प्रहरीमा उजुरी दिएकी छिन् ।

चितवनका प्रहरी प्रमुख सहकुलबहादुर थापाले उजुरी दर्ता भएको र घटनामा संलग्न भनिएका तीनजनालाई पक्राउ गरिएको जानकारी दिए । उनले कानुनअनुसार कारबाही हुने बताए । पक्राउ पर्नेमा आमा धनमायाँ लोप्चनसहित आइतीमायाँ तामाङ र अर्का एकजना छन् ।

तल्लो जातसँग बिहे गरेको भन्दै यसअघि पटकपटक दुर्व्यबहार गर्ने गरेकामा सोमबार साँझ भने इनारमा एक्लै भएको मौका पारेर कुटपिट गरेको पीडित सङ्गीताले बताइन् । चार वर्षअघि पदमपुर–४ की सङ्गीताले जुटपानी–७ का मनोज परियारसँग प्रेमविवाह गरेकी थिइन् । त्यसपछि माइतीपक्षले पटकपटक मानसिक दुर्व्यबहार गर्दै आएका थिए । रासस