Saturday, March 31, 2018

उपचारमा सहयोग गरिदिन गृहमन्त्रीलाई दलमर्दन कामीको अनुरोध !

विभेद विरुद्ध अभियान , चैत्र १८ - 

माननीय गृहमन्त्री ज्यु,

बिगत चार बर्ष देखि म मुटु रोगको कारण अस्वस्थ रहँदै नेपालको वीर हस्पिटल, मनमोहन, गङ्गालाल लगायतका हस्पिटलमा चेकजाँच पछी मेरो मुटुमा 3.5 cm को ठुलो प्वाल भएको र तत्काल अप्रेसन गर्न पर्ने तर मेरो मुटुमा अत्यन्तै ठुलो प्वाल भएकोले नेपालमा अप्रेसन गरि निको पार्न अत्यन्तै जोखिमपूर्ण रहेको भनी नेपालका हस्पिटलहरुमा अप्रेसन गर्न नसक्ने भने पछी एक बर्ष देखि दिल्ली स्थित इन्द्र प्रसाद अपोलो हस्पिटलमा उपचार गराउदै आएको थिएँ ।
तर तीन महिना देखि मेरो स्वास्थ्य अवस्था दिनानुदिन गम्भीर हुँदै गएकोले पुनः एक महिना दस दिन देखि भारतको दिल्ली स्थित इन्द्र प्रसाद अपोलो हस्पिटलमा वरिष्ठ मुटु रोग बिसेसज्ञ Dr.rajiv kumar rajput द्वारा एक हप्ताको चेकजाँच पछी तिन हप्ता अघि अप्रेसन भएको थियोे । मुटुको अप्रेसन पछी हस्पिटल नजिक रहि डाक्टरको निगरानीमा रहने गरि तिन हप्ता अगाडि हस्पिटल बाट बिदा लिएको थिए तर हस्पिटल बाट मष्कअजबचनभ भएको दुई दिन बित्न नपाउदै पुन मेरो मुटुको धद्कन एक्कसी बढेर ७० हुनुपर्नेमा २४० भइ BP -0 मा पुगेको अन्तिम अवस्थामा तत्काल इमर्जेन्सीमा भर्ना भइ (ELECTRIC SHOCK) दिई तिन दिन आइसियु र पाँच दिन जनरल वाडमा उपचार पछी पुन डाक्टरको निगरानीमा रहेर औसधि खानलाई हस्पिटल बाट बिदा दिएको तीन दिन पछी फेरि मुटुको धड्कन बढेर पुन इमर्जेन्सीमा भर्ना भइ दोस्रो पटक (ELECTRIC SHOCK) बाट उपचार भइ तेस्रो पटक पुनर्जीवन पाई अहिले पुनः डाक्टरले दिनुभएको सल्लाह अनुसार केही समय सम्म औसधि खाइ स्वास्थ्यलाई अलि सुधारमा ल्याएर मुटुमा (LASER PROCESS) गर्नुपर्ने बताउनु भएको छ । यसर्थ अहिले म दिल्ली स्थित अपोलो हस्पिटलकै नजिक जसौला भन्ने ठाँउमा रहि औसधि उपचार गराइरहेको छु जसलाई डाक्टरको भासामा (ANESTHESIA ATTACK ) भनिदो रहेछ ।

माननिय गृहमन्त्री ज्यु !
मुटुको अप्रेसन र त्यस पछी पटकपटक मुटुको धड्कन (ANESTHESIA ATTACK) को उपचार बापत हस्पिटलमा अहिले सम्ममा करिब १३ लाख रुपैयाँ खर्च भैसकेको छ । अहिले म भारतकै एक जना भाइ बहिनी simon darnal र rajina subba को साहारामा म र मेरो श्रीमती बसिरहेकाछौ । जसलाइ मैले जिवनमा पहिलो पटक आठ महिना अधि मात्रै भेटेर साथी बनाएको थिए । उनै भाइ बहिनीले मलाई हस्पिटलमा उपचार गर्दा तिर्न नसकेको बाकी एक लाख नब्बे हजार रुपैयाँ ऋण तिरेर निकाल्नु भइ अहिले उहाहरुकै सहयोगमा खाना बस्न र उपचारमा आवाज जावत समेत गरिरहेको छु ।

अप्रेसन पछीको पटकपटक मुटुको धड्कन (ANESTHESIA ATTACK)उपचारमा लागेको खर्च मध्ये एक लाख नब्बे हजार आइसी रुपैया भाइ simon darnal र rajina subba ले ऋण खोजेर हस्पिटलमा तिरी मलाई हस्पिटल बाट निकाली दिनु भएको छ र अहिले हस्पिटलकै नजीक जसौला भन्ने स्थानमा रहि डाक्टरको निगरानीमा उपचार गराइ रहेको छु। भाइ बहिनीले हस्पिटलमा तिरिदिनु भएको एक लाख नब्बे हजार आइसी रुपैयाँ ऋण तत्काल तिर्नुपर्ने छ । अहिलेसम्म खान बस्न समेत अत्यन्तै कठिनाई पूर्वक उनै भाइ simon darnal र rajina subba को कोठामा बसेका छौ । भाइ बैनी लाई मैले दोस्रोपटक भेटेको हु र उहाँहरु पनि अर्काको घर भाडामा बस्नु भएको रहेछ । एक पटक मात्रै भेटेको मान्छेले दोस्रोपटक यति ठुलो सहयोग पुर्याउनु चानचुने विषय होइन उहाहरुकै अनमोल सहयोगमा पटकपटक मेरो जीवनलाई बचाउन मलाई सहयोग पुर्याइरहनु भएको छ म मेरो हृदय देखि उहाँहरुलाइ धेरै सम्मान गर्दछु ।
माननीय मन्त्री ज्यु,
पटकपटक हुने मुटुको धड्कन अर्थात (ANESTHESIA ATTACK) लाइ सहि ठाउमा ल्याउनु मुटुमा (LASER PROCESS) बाट उपचार गर्नुपर्ने छ । जसको लागि आइसी पाँच लाख पचास हजार रूपैया हस्पिटलमा लाग्नेछ । उपचारका लागि लिएर आएको एघार लाख सत्तरी हजार सबै रुपैया सिद्दिएर एक लाख नब्बे हजार आइसी रुपैयाँ ऋण लागि सकेको छ भने यहाँ रहेर खाना बस्न सामान्य यातायात खर्चको समेत अभावले म र मेरो श्रीमती सुसिला बिक अत्यन्तै सङ्कटमा रहेको जानकारी अनुरोध गराउन चाहान्छु ।

माननीय मन्त्री ज्यु,
मैले अहिलेसम्म समाज र राष्ट्रमा प्रत्येक्ष देखिने किसिमका खासै केही उपलब्धिहरु गर्न नसकेको भएता पनि म करिब अठार बर्षदेखि निरन्तर सामाजिक र राजनीतिक अभियान्ताको रूपमा काम गर्दै आएको हँु र अहिले पुर्व प्रधानमन्त्री बाबुराम भट्टराई ज्युको नेतृत्वमा रहेको नयाँ शक्ति पार्टी नेपालको केन्द्रिय सचीवालय सदस्यका रूपमा रहिआएको छु । ब्यक्तिगत र परिवारलाई आय आर्जनका लागि आर्थिक उपार्जनका कुनै पनि काम नगरीकन सामाजिक र राजनीतिक अभियानमा लागेको कारण मेरो आर्थिक अवस्था अति दयनीय रहेको छ ।
मन्त्री ज्यु, आर्थिक कम्जोर भएको भएता पनि करिब चार बर्ष देखि अहिले सम्म मेरा आफन्तजन शुभचिन्तक शुभेच्छुक साथीहरूको अपार माया, सदभाब, शुभेच्छया राख्दै आफू र आफ्नो परिवारको गाँस काटेर यथासक्दो आर्थिक सहयोग समेत गर्नुभएको कारणले मैले मेरो उपचार गर्दै अहिलेसम्म म बाचिरहेको थिए तर अहिले आर्थिक अभावको कारण पूर्ण उपचार गर्न नपाएर जीवन मरण जस्तो अत्यन्तै कठिन अवस्थामा छट्पटी रहेको छु ।

यसर्थ, माननीय गृहमन्त्री ज्यु,
अहिले तत्काल हस्पिटलमा तिरेको ऋण एक लाख नब्बे हजार, पुन मुटुको (LASER PROCESS) गर्न लाग्ने पाँच लाख पचास हजार र औसधि, खाना बस्न र उपचार पश्चात् नेपाल फर्किनु यातायातमा लाग्ने सम्म पैसा नभएकोले अत्यन्तै कठिनपूर्ण जीवन मरणको दोसाँध अवस्थामा छु अहिले मलाई कम्तिमा पनि करिब चौध लाख पचास हजार नेपाली रुपैयाँको अभावमा रहि जीवन मरणासन अवस्थामा रहेको कुरा हजुर समक्ष जानकारी अनुरोध गराउदछु ।
माननीय मन्त्री ज्यु,
म एक नेपाली नागरिक, सामाजिक, राजनीतिक कार्यकर्ताको जिम्मेवारीमा रहि काम गर्दै आएको तर अहिले मुटुमा समस्या आइ नेपालमा उपचार असम्भव भए पछी छिमेकी मुलुक भारतमा आइ मुटुको अप्रेसन सफल भएको पछी पुन मुटुको धड्कन (ANESTHESIA ATTACK) जम्मा ४० हुनुपर्नेमा २८० हुने र BP 0 मा आइ पटकपटक जिबनमरण अबस्थामा पुगिरहेको छु जसको उपचार (LASER PROCESS) द्वारा गर्नुपर्ने डाक्टरले सल्लाह दिनु भएको छ यो (LASER PROCESS) गर्नु पाँच लाख पचास हजार रुपैयाँ हस्पिटलमा बुझाउनु पर्ने हुन्छ यसकारण अहिले म आर्थिक अभावले जिबन मरणको दोसाँधमा रहेको छु । यसकारण,
नेपाल सरकारको गृह मन्त्रालयका माननीय गृहमन्त्री ज्यु हजुर समक्ष एक सामाजिक राजनीतिक नागरिक अभियान्ता म दल मर्दन कामी अहिले आर्थिक अभावको कारणले जीवन मरण अवस्था दिल्लीमा रहेकोछु । नेपाल सरकार बाट मेरो उपचाररत बाच्न पाउने अधिकारको सुनिश्चित गर्नका लागि विनंम्र अनुरोध गर्दै अहिले तत्काल मलाई उपचार गर्न र उपचार पश्चात् नेपाल फर्कनु समेत कम्तीमा पन्ध्र लाख रुपैयाँको आवश्यकता रहेको छ । यसर्थ मलाई उपचार र त्यस पश्चात् नेपाल फर्कनु सम्म लाग्नसक्ने कम्तिमा पन्ध्र लाख रुपैयाँ राज्यकोषकोबाट सकेसम्म चाडोभन्दा चाडो आर्थिक सहयोग गरि मेरो जीवन बचाइ दिनुहुन माननीय गृहमन्त्री ज्यु हजुर समक्ष विनम्र अनुरोध गर्दछु ।

निबेदक
दल मर्दन कामी
तेह्रथुम जिल्ला, दागपा–२
मोबाइल नम्बर ९८५११५६१९६
८७३२८०५७९५ (दिल्ली भारत) ।

नेपाली समाजका बाजिलालहरु - गोपाल शिवा

विभेद बिरुद्ध अभियान - चैत्र १७ - भर्खरै मात्रै एक जम्का भेटमा मित्रहरु सँग भेट भयो।कुवेतमा रहेकी नवलपरासी देउराली गाविसकी शान्ति बिकले फ़ेसबुकमा साथी बनेर आफुलाई ब्ल्याक मेलिंग गर्ने बिन्दाश खत्री उर्फ़ राजेन्द्र खत्रीको बारेमा अपिल गरेको भिडियो हेर्दै साथीहरु माझ  चर्चा चलिरहेको थियो।यसले त् एक लाख त् खुवाएकी रहिछ अर्कीले त अस्ति बाजिलाल थापा भन्नेले मायाजालमा फसाएर सात लाख लिएर गयो भनेर माइतीलाई भनेर  झापड हान्दै बकाएको भिडियो नै सार्वजनिक भयो नि एउटा साथीले भन्यो  ।

चियाको चुस्की लाउदै फेसबुकमा खोजेर साथीले प्ले गरेको त्यहि भिडियो सवैले हेर्यौ ... फटाहालाई त्यसको माइती भन्नेले थपड हानेको देख्दा त ठिक गर्यो भन्ने लाग्यो मलाई त एउटा साथी प्वाक्क बोल्यो  ...   केटीले त् मान्छे हैनस खाते रैछस भनेको सुन्नु भो ?अर्को साथीले थप्यो ....कति न सभ्य छे चेली भन्दै झापड हान्ने त्यसको माइतीले आफ्नी चेलीले त्यहि फटाहा संग जिब्रो जिब्रो जोडेर खिचेको फोटो चै देख्यो की देखेन होला  ? अर्कोले फेसबुकमा फोटो खोज्यो ....सात लाख खुवाएको सवै प्रमाण प्रिन्ट गरेर ल्याउने त्यो टंग किस खाको चै फोटो छुटाएको रहेछ.... फोटो हेर्दै सवै हास्यौ । .जम्का भेटमा धेरै कुराहरु भए सुनेका देखेका चासो र उत्सुकता लागेका कुराहरु । आजको लेखमा मैले यहि यस्तै बाजिलालहरुको बारेमा लेख्ने जमर्को गर्दैछु ।

केहि महिना अघि एउटा नेपाली कार्यक्रममा म पनि सहभागी भएको थिए ।  प्राय अरु कार्यक्रममा झैँ  यस कार्यक्रममा पनि सम्मानको ब्यबस्था गरिएको रहेछ । म कार्यक्रम स्थलमा एउटा कुनामा बसेको थिए । कार्यक्रममा सम्मानित् हुनेको नाम घोषणा गरियो ।सम्मानित् हुनेले धन्यवाद सहित सम्मान थाप्दै सलाम गर्दै गए ।अघिल्लो लाइनमा बसेकी ४ जना अधबैसे दिदीबहिनीहरु भने यी समानित हुनेहरुको बारेमा एकअर्कामा कुरा गरेर छुटै सम्मान दिई रहेका थिए । अपबाद छोडेर समानित हुनेलाई घरमा श्रीमती बच्चा हुदा हुदै यहा माया जालमा पारेर आफ्नै देशको दिदीबहिनीको पोइसामा समाज सेवा गरेर हिड्ने , अनेकौ लोभ देखाएर थुत्ने गरेको भन्दै थिए  । उनीहरुको कुरा सुनेर मलाई हासो लागि रहयो...मेरो अनभिज्ञताको हासो थियो  । किनकि म नेपाली समाजको भित्रि पाटो संग सारै अन्जान रहेछु । 

समाजमा क्रियाशील व्यक्तिहरुको मनोबल बढाउन सम्मान गर्नु एकदमै राम्रो कार्य हो । प्रवासमा रहेर पनि नेपाल र नेपालीहरूका लागि निस्स्वार्थ भावनाले परोपकारी सहयोग कार्य गर्दै आएकाहरु सधै सस्थाको प्रतिनिधित्व गर्दै सम्मानित हुने समाजसेवीलाई हेर्ने दृष्टिकोण हाम्रो समाजमा कस्तो रहेछ भनेर त्यहि दिन सुन्ने मौका मैले नि पाए । अब्य्बहारिक र अवैधानिक कार्यका लागि जनचेतना फैलाउनुको साटो व्यक्तिगत स्वार्थ र आचरणका गतिविधिले आफै हिलामे भएका बाजिलालहरु समाजसेवीको अवतारमा धेरै रहेछन भन्ने पनि लाग्यो  । एका तिर कुबेतको नेपाली समाजमा समाजसेवी कहालिएर सधै समानित हुन् योग्य बनेकाको भूमिकाले समाजसेवा भित्र भित्रै आफ्ना गतिबिधि र ब्यबहारका घटनाक्रमले जन्माएका र अनेकन तिकडम गरी आलोचित बनेको मात्र होइन भित्र–भित्रै कुहिएको फर्सी जस्तै पो रहेछ भन्ने लाग्यो । अर्को तिर  यस्तोमा संस्थाको प्रयोग हुँदैछ या नाम बदनाम हुदैछ भने निगरानी राख्नु जरुरी हुन्छ भनेर सस्था भित्र अनुगमन र यस्ता कुराका चर्चा परिचर्चा गरिँन्छ कि गरिदैन होला ?  म भित्र जागेको जिज्ञाशा थियो .... सस्थाका आआफ्नै नीति नियम बिधान अनुशाशन  छन यधपी  आफ्नै जिज्ञाशा प्रति आफैलाइ सामाजिक उद्देश्य राखेर खोलिएको संस्थाले आफ्ना सदस्यहरु, सस्था हाक्नेहरुको  आनीबानी र ब्यबहार के कस्तो भनेर प्राय सवै जसो लाइ थाहा हुन्छ र चिनेका पनि छन् अत व्यक्ति गलत हुन् सक्छ तर सस्थामा त्यसको हिलो नछ्यापियोस भनेर चै सचेत हुन् पर्छ भने लाग्यो  । त्यहि भएर पनि यस्तो आक्षेप आउदा दिनमा सुन्नु नपरोस भनेर बोल्न चाहेर पनि नबोल्ने वा तैँ चुपमै चुप हुने सस्थाका सवै यस म्यान प्रतिनिधिहरु अब गम्भीर बन्न जरुरी छ भने लाग्यो  । 

त्यसो त् सामाजिक परिवर्तनसँगै मानिस बिबिध कारणले परिवारभन्दा बाहिर प्रवास आएका छन् र यस क्रममा कोही तपाईलाई राम्रो लाग्यो भने वा तपाईँपनि कसैलाई राम्रो लाग्यो भने स्वाभाविक प्रेम हुन्छ अर्थात नयाँनयाँ सम्बन्धको अभ्यास समय संगै मान्छेमा हुदै जान्छ । किनकी प्रेमको आधार कुनै रगतको सम्बन्ध ले हुने होइन न त कुनै सात फेरा जग्गेको सम्बन्ध हुन्छ न त रोजगारको वाध्यता नै ।  प्रेम कुनैपनि शर्तमा बाँधिएर नबस्ने भएकाले नै घरमा बालबच्चा भएका पुरुषले बिवाहा नै गरेको छैन भनेर माया जाल बुन्दै चेलीहरुलाई घर न घाटको बनाएर छोड्नु  र १६ /१८ घण्टा घरेलु कामदारका रुपमा कामगर्ने दिदिबहिनी प्रेममा परेर सात लाख खुवाउनु र परिवार संग बसेर हेर्न नसकिने फोटो खिच्नु देखि लिभिङ टुगेदरमा रहेर बच्चा पाउनु सम्मको प्रगति भएको हामीले देखेका छौ । भलै आफ्नो प्यास मेट्न अनेक प्रलोभन जाल पुरुषले बिछ्याउला तर नियत्तिले ठगिएका , आफ्ना लालाबाला छाडेर तिनकै भविष्यको लागि आड भरोसा बनेर आएका दिदीबहिनीहरुले  प्रेमको यात्रामा जुनसुकै साथीको साथ जुनसुकै स्टेशनमा उत्रनु आफ्नो हक होला तर त्यसले दिने सामाजिक तथा मानसिक पिडा देखेर सुनेर भोगेर अब आफुलाई सच्याउनु जरुरी छ  । त्यस्तै गरि दाजुभाईहरु प्रेम माया गर्नु आफैमा नराम्रो कुरा होइन तर त्यसको उपादेयता के हो भन्ने कुरा प्रष्ट हुन जरूरी छ। दिदिबहिनीले कमाएको थुत्ने लुट्ने यौन शोषण गर्ने आचरणहरु लाई सच्याउन जरुरि छ अन्यथा माइतीको हात बाट बाजिलाल थापाले झैँ झापु नखाए पनि समयको चक्रले कुनै दिन ठिक ठाउमा उभाउने छ किनकि सवैको हिसाब किताब गर्ने पालो समयले ल्याउने छ  ।

सामाजिक संजालमा बिन्दाश खत्री र बजिलाला थापाको कर्तुत हेरे पछी कुवेतको नेपाली समाजमा हाम्रा दाजुभाइले हाम्रा दिदीबहिनी सँग लिभिङ रिलेसनमा बसेर , माया प्रेमको नाटक गरेर आर्थिक लाभ लिने र पछि धोका दिने अरु थुप्रै घटनाहरु भएका र सार्वजनिक हुन् सक्ने सहजै अनुमान गर्न सकिन्छ । यधपी दिदीबहिनीले नेपाली दाजु भाइहरुलाई मात्र आक्षेप लाएर कुरा गरेको भए पनि विवाह गर्ने प्रलोभन देखाउदै तँन  मन धन देखि शरीर सम्म लुट्ने / लुटाउने दाजु भाई जति दोषी छन् त्यति नै जिम्मेवारी र दायित्वको हिसाबले चेलीहरुको उत्तिकै भूमिका हुन्छ । किनकि सम्बन्ध ताली बजाउन दुई हात आवश्यक भए जस्तै हो । एक हातले ताली बज्दैन, दुवै हातको सन्तुलित गति र ठोकाइद्वारा मात्र ताली बज्छ । 

अन्त्यमा, सबैले आफूलाई सभ्य बनायौँ भने गलत संस्कार, विकृति, विसङ्गति आफै असल मार्गमा परिवर्तन हुनेछ । होइन भने आफू बुङ्गै बसेर अरुलाई कुरीकुरी गर्नुको कुनै तुक छैन । समाजको सेवा गर्छु भन्ने र समाज सुधार गर्छु भन्दै अघि लागेर आफै लै वरी गरेर कर्तुत गर्ने समाजसेवी हुन् की मायाको रंगिन दुनियामा डुबेर सात लाख खाने / खुवाउने नै किन नहुन समस्याको निर्कियौल महिलाले पुरुषलाई, पुरुषले महिलालाइ दोषारोपण गरेर मात्र हुदैन। तिनै ४ जना दिदीबहिनीले जसरि यो समाजले समय र बस्तुस्थितिको चाल्नोमा छानेर गुण र दोष सवैको खुटाएको छ त्यहि भएर  अब मान्छे ले आफुले गरेको कामको आत्मालोचना गर्न सिकौ । जीवनमा कतिपय कुरा यस्ता हुन्छन्, तिनको व्यवस्थापन आफै गर्नुपर्ने हुन्छ । त्यहि भएर गरौ बेलौमा गरौ ..समय रहदै गरौ । 

Thursday, March 29, 2018

बढ्दो वर्गीय विभेद - मुरारी ढुङ्गेल

विभेद बिरुद्ध अभियान - चैत १५ -केही समयअघिको नेपाली समाजभित्र जातीय विभेद प्रस्ट रूपमा देखिने गथ्र्यो । उच्च जात र नीच जातबीच ठूलो खाडल सिर्जना गरिएको थियो । कथित नीज जात भएकै कारणले समाजमा उसको महŒवलाई स्वीकार गरिँदैन थियो अथवा कम महŒव दिने चलन थियो । अझ नीज जातको व्यक्तिलाई कम महŒवको मानिएका काममा लगाइने गरिन्थ्यो । पारिश्रमिक (ज्याला) मा पनि भेदभाव गरिन्थ्यो । भोजभतेरका जुठो भाँडा माझ्न, खेत खन–जोत गर्न, भारी बोक्न, दाउरा चिर्नजस्ता समाजले कम महŒवको काम मानिएका काममा कथित तल्लो जातका मानिसलाई प्रयोग गरिन्थो । तल्लो जातको व्यक्तिलाई यतिसम्म हेलाको दृष्टिकोणले हेर्ने गरिन्थ्यो । तल्लो जातको व्यक्तिले बाटो हिँड्दै गर्दा उपल्लो जातको मानिस त्यही बाटो गरी आए त्यो तल्लो जातको व्यक्तिले बाटो मुन्तिर झरेर उसलाई बाटो खाली गरिदिनुपथ्र्यो । उच्च जातको मानिस हिँड्ने बाटोमा कथित नीच जातको व्यक्ति देखिएमा अशुभ भयो भनेर हेला गाली गलौज गरिन्थ्यो । उच्च जातको घरभित्र नीज जातको मानिस पस्न पाउने परिकल्पना समेत हुन्न थियो । आज त्यो सोचाइबाट समाज थोरै भए पनि परिर्वतन भएको छ । 

मानिस परिवर्तनको पक्षधर हो । कति परिवर्तन स्वतःस्फूर्त हुन्छन् त कति समय र समाजको आवश्कताले हुने गर्छन् । समाजमा हुने गरेका जातीय, धार्मिक कुरीति, अन्धविश्वास समयक्रमसँगै परिवर्तित, परिमार्जित, सुधारोन्मुख हुँदै जान्छन् । मानिसमा हुने चेतना स्तरको विकाससँगै उसले अङ्गीकार गर्ने सामाजिक–परम्परा, धार्मिक–मूल्यमान्यता परिवर्तन हुँदै जाने हुनाले समाज विकासको बाटोमा अघि बढ्छ । तर, यसको आशय यो होइन कि परिवर्तनको प्रक्रियालाई हामीले निश्चित खालको पूर्वघोषणा पूर्वअनुमान गर्न मिल्ने गरिको हुन्छ । यो समयक्रमसँगै परिवर्तन हुँदै जाने प्रक्रिया हो । परिवर्तनलाई हामीले न हाम्रो अनुकूलको गोरेटोमा हिँडाउन सक्छौँ न कि पूर्वानुमान गर्न नै सकिन्छ । परिवर्तन समयअनुकूल रहेर समाजको मुख्य आवश्यकताको पहिचान गर्दै समाजलाई नै परिवर्तत गरी अघि बढेको हुन्छ । जसले समाज प्रतिकूलको अवस्था नै सिर्जना हुन पाउँदैन । परिवर्तनको नाममा देखिने समाजलाई अपाच्य परिवर्तन दिगो हुन सक्दैन । समाजले आवश्यकता महसुस गरेको परिवर्तन नै दिया तथा प्रभावकारी हुन्छ । 

परिवर्तन मानिसले चाहेरभन्दा पनि स्वतःस्फूर्त समयक्रमसँगै समाजको आवश्यकताअनुसार हुने कुरा हो । परिवर्तन हाम्रो योजना मुताबिक हुन सक्दैन । परिवर्तनलाई मानिसमा हुने चेतना स्तरले मार्ग निर्देश गर्छ । कसैले जबर्जस्त रूपमा लादेर कसैमा परिवर्तन आउँदैन । 

हिजोको समाजभन्दा वर्तमानको समाजमा जातीय हिंसामा देखिएको परिवर्तन आकाश जमिनको फरक छ । आजकल समाजले केही हदसम्म अन्तरजातीय विवाह, सार्वजनिकस्थल तथा भोजभतेरमा हुने खानपान आदि कुरामा उच्च जात र नीज जातबीचको भेदभाव खासै पाइँदैन । हिजोको पानी चल्ने जात मानिएका तल्लो जात र उपल्लो जातबीच आज खासै छुवाछूत भएको देखिँदैन । यसो भनिरहँदा आजको समाजमा जातीय छुवाछूतको अन्त्य भइसक्यो त्यो आशय होइन तर समाजमा जातीय छुवाछूत केही हदसम्म परिमार्जन उन्मुख छ । हामी हिजोभन्दा आज समाजमा जातीय हिंसा कम भइरहेको महसुस गर्न र स्पष्ट देख्न सक्छौँ । जातीय छुवाछूतलाई एकैचोटि परिवर्तन गर्छु भनेर हुन्न, यसले झन् समाजलाई नकारात्मक दिशातिर लान सक्छ । मानिसमा आउने क्रमिक परिवर्तनले समाजमा जातीय हिंसामा सकारात्मक सुधार आउँछ । 

नेपाली समाजमा भएका राजनीतिक परिवर्तनले जातीय छुवाछूतमा परिवर्तन आएको कुरालाई नकार्न सकिन्न । मानिसले प्राप्त गरेको शिक्षाले उसको चेतना स्तरमा भएको सकारात्मक परिवर्तन नै जातीय छुवाछूत अन्त्यको मूल अस्त्र बन्न सक्छ । वर्तमान समय विश्व भूगोलीकरणको समय हो । आधुनिकीकरण उन्मुख हाम्रो युवा जमातले जातीय भेदभाव स्वीकार गर्दैन । आज हरेक मानिस परिवर्तनको पक्षधर छ, यसर्थ पनि उसले अङ्गीकार गर्ने परिवर्तनमा जातीय भेदभाव स्वतः कम हँुदै जान्छ । 

जातीय भेदभावलाई पूर्ण रूपमा अन्त्य गर्न हरेक तह–तप्का सरोकारवाला निकाय, राज्य संयत्रको भूमिका आज पनि उत्तिकै महŒवपूर्ण छ । शहरी समाजभन्दा ग्रामीण समाजमा जातीय छुवाछूत अहिले पनि केही हदसम्म देखिन्छ, त्यस्तै अशिक्षित समाजमा जातीय छुवाछूतका शेषहरू जीवित नै छन् । तराईका पहाडिया समुदायभन्दा मधेशी समुदायमा जातीय भेदभावको हिंसा तुलनात्मक रूपमा बढी भएको कुरालाई नकार्न सकिँदैन । कारण ती समुदायमा चेतना स्तर एवं शिक्षाको कमी हुनु हो । यसर्थ, राज्य स्तरबाट हरेक व्यक्तिमा सकारात्मक सोचको लागि शिक्षित तुल्याउनु अपरिहार्य कदम हो । गरिबीको कारण आज पनि नेपाली जनता शिक्षा लिनबाट वञ्चित भएका छन् । यसकारण राज्य स्तरले बेलैमा यस कुरामा ध्यान पु¥याइ शिक्षा क्षेत्रलाई हरेकको पहँुचमा पु¥याउनुपर्छ, जसले समाजमा देखिएका जातीय भेदभाव स्वतः कम हुँदै निमिट्यान्न हुन सक्छ ।

जातीय विभेदभन्दा डरलाग्दो रूपमा अहिले वर्गीय विभेद मौलाउँदो छ । धनीले गरिबलाई गर्ने व्यवहार तथा उनीहरूबाट गरिने भेदभावका हेपाह प्रवृत्ति पनि झन्–झन् बढ्दै जाने परिपाटीले जातीय विभेदभन्दा वर्गिय विभेदका कारण समाज अवनतीतिर जाँदैछ । आर्थिक रूपमा दुर्बल परिवार जातीय हिसाबमा पनि कथित तल्लो जातको भएमा उसलाई समाजले हेर्ने दृष्टिकोण नै हेपाह व्यवहारसँगै नीच हुन्छ । तुलनात्मक रूपमा कथित तल्लो जातको भए पनि आर्थिक रूपमा ऊ सबल छ भने उसलाई समाजले हेर्ने दृष्टिकोण खासै भेदभावपूर्ण हुँदैन । यसर्थ, यहाँ जातीय भेद्भावभन्दा वर्गीय भेदभावको खाडल झनै डरलाग्दो रूपमा विकास हुनुले यसमा राज्य तथा सरोकालवालाको ध्यान जान जरुरी छ । हरेक निकाय तथा राज्य संयत्रले विभेदको भेदभावको अन्त्य नहुदाँसम्म सामाजिक तथ आर्थिक विकासको सपना देख्नु भूल हो । समुन्नत समाजको परिकल्पना गर्नलाई भेदभावयुक्त समाजको अन्त्य अपरिहार्य छ । नेपाली समाजमा जातीय विभेदको अन्त्यको बाटोमा अघि बढिरहे पनि समाजका अन्य पाटोमा विभेद यथावत् रहिरहेसम्म ग्रामीण विकास हुन नसकेका कारण समाज पिछडिएको छ ।

पारिश्रमिक नबढ्ने भए नगरा बजाउनै छोड्ने मनसायमा परियार

विभेद बिरुद्ध अभियान - चैत १५ -मात्र रु १५०० मा नगरा बजाउँदै आएका मनहरी परियार भन्छन, ४ पुस्तादेखि नै आफ्नै पुस्ताले नगरा बजाउने गर्दै आएकाले आफुले पनि नगरा बजाउने काम नै गरँे । बिकासखबर सम्बाददाता संग कुराकानी गर्दै थाहा नगरपालिका वडा नं २ मा रहेको पाण्डुकेश्वर मन्दिरमा आफ्नो दैनिकी झै गरी बिहान र बेलुका नगरा लगाउने कार्य गर्दै आएका परियारले मासिक १ हजार ५ सय रुपैयाँ तलब पाउँदै आएको प्रति गुनासो ब्यक्त गरे ।

 पाण्डुकेश्वर क्षेत्र बिकास समितिले मन्दिरको संरक्षण, सरसफाई, नियमित नित्यपुजा र नगरा लगाउनको लागि ३ जनालाई तलबमा राखेको समितिका अध्यक्ष जनक हमालले बताएका थिए तर आफ्नो खटाइ अनुसारको तलबको ब्यवस्था नभएकोले काम गर्न मन नै नलागेको मनहरी परियारले बताए । हरेक दिन बिहान हुने लागेको संकेतको रुपमा सुर्योदयको २ घण्टा अगाडी र साँझ दिन ढलेको संकेत गर्दै बजाइने नगराले धार्मिक रुपमा पनि बिशेष महत्व राख्ने परियारले बताए । नगराको आवाज भगवानलाई सुनाउनै पर्छ भन्ने मान्यता पनि छ र साथै नगरा बजेपछि मानिसहरुले बिहानको समयमा उज्यालो भयो भनेर बुझ्छन भने साँझको समयमा भने रात पर्न लागेको संकेत÷जानकारी प्राप्त गर्छ, परियारले भने ।

५२ वर्ष पुगिसकेका परियारले भन्छन “मन्दिरको सेवा र कामबाट पाउने तलबले आफ्नो ३ जना परिवार पाल्न मात्र पुग्ने भएपनि काम गर्नमा मन जान्थ्यो, १ बोरा चामल पनि आउँदैन कसरी जिवीका चलाउने, आफु जहाँ पुगेपनि नगरा बजाउन आउनै पर्छ, यो भन्दा तलब सुबिधा नबढ्ने हो भने चाहीँ अब नगरा लाउन छोडीदिन्छु ।”
उनका अनुसार पाण्डुकेश्वर मन्दिर १८६६ सालमा स्थापना भएको बिषयमा बाँसको कलमले लेखेको लिखित प्रमाणहरु आफुसंग नै सुरक्षित भएको बताए । 

आफ्ना ४ पुस्ताले नै नगरा बजाउने काम गरेको हुनाले मन्दिरको बिषयमा जनसमुदाय भन्दा आफुलाई धेरै कुराहरु जानकारी भएको उनले बताए । आफुले नगरा लगाउन छोडे पनि मन्दिरको बिषयमा आफुसंग भएका प्रमाणहरु भने अरुलाई नदिने तर आवश्यक परेमा देखाउने उनको भनाइ रहेको छ । आफ्ना ४ रै वटा पुस्ताले गरेको कामलाई आफुले पनि गर्छु भनेर जिम्मा लिएँ र अहिले छोराहरुलाई पनि सिकाइरहेको छु तर उनीहरुले गर्ने या नगर्ने भन्ने कुरमा आफु बिश्वस्त भने नभएको उनले बताए । 

यसो त उनी आफैले पनि समितिलाई  तलब कम भयो भनि गुनासो राख्दा समितिमा पैसा नै छैन भन्ने गरेको बताउछन । उनका अनुसार शान्तिपुर सम्बाददाताले पाण्डुकेश्वर क्षेत्र बिकास समितिलाई तलबको बिषयमा कुरा राख्दा भने मन्दिरको आम्दानीको स्रोत नै नभएको कारण न्युन पारिश्रमिकमा चित्त बुझाउनु परेको अध्यक्ष जनक कुमार हमाल बताउछन ।राजनितिक बिषय भएको भए स्थानिय निकाय वा बिभिन्न संस्थाबाट पनि सहयोगहरु प्राप्त हुनेथियो तर धर्मिक बिषयमा भने मन्दिरमा चढाएका भेटी बहेक अन्य आम्दानी छैन, हमालले भने । उनका अनुसार समितिलाई डेढ लाखको घाटा रहेको छ । नगरा सधै नै बिहान र बेलुका बजाएर भगवानलाई सुनाउनु पर्छ भन्ने मान्यता रहेको कारण पनि नगरा नबजाउन भने नमिल्ने उनले दावी गरेको छ ।
स्रोत :- मञ्जरी बलामी/विकास खबर 

Wednesday, March 28, 2018

८० वर्षको आन्दोलनमा दलित समुदायको योगदानलाई कसैले खोट लगाउन सक्दैन : आहुती

विभेद बिरुद्ध अभियान - चैत १४ –म आज शान्त भएर सोच्ने दिन हो भन्ने पक्षमा छु । किनकी नेपालमा सामन्तवाद विरोधी ८० वर्षको आन्दोलन सकिएको छ । त्यसको प्रतिनिधि संस्था राजसंस्था पनि सकिएको छ । त्यसमा दलितहरुले अंकगणितको हिसाबले समानुपातिक ढंगले बलिदान गरेका छन् । जनयुद्धमा १७ हजार सहिद भनिएको छ तर मेरो हिसाबमा त्यो छैन । साँढे ७ हजारदेखि ८ हजारसम्म छ जसमा ११ सय देखि १३ सय दलितहरुले बलिदान गरेका छन् । त्यहाँ समानुपातिक मेल हुन जान्छ । यसैले ८० वर्षको आन्दोलनमा दलित समुदायको योगदानलाई कसैले खोट लगाउन सक्दैन । कम भयो वा तिमीहरुको संघर्ष पुगेन भन्न मिल्ने अवस्था छैन । त्यसकारण म शान्त रुपमा अब के गर्ने होला भन्ने विषयमा सोच्न चाहान्छु ।

जात व्यवस्था भएको समाजमा के हुँदो रहेछ भने जस्तो कि पृथ्वी नारायण शाहले हिन्दु उच्च जातिय वर्गिय शासन सत्ता शुरु गरे । उनले साथसाथै अर्को कुरा पनि गरे –हिन्दु उच्च जातबाट मात्रै त्यतिबेलाको ब्राह्मण वा क्षेत्रहरुबाट मात्रै राज्यको राजकिय सत्ता चलाउन पाइने’ पूर्विया र कुमाई बाहुनलाई हुल्न नहुने’ भनेर घोषणा गरे । यसबाट नेपालको त्यो बेलाको सत्ता वर्गिय सत्ता जातिय सत्ता पनि हुन पुग्यो । राणाकालभरी ब्राह्मणहरुले सत्तामा जान पाएनन् क्षेत्रिहरुले रोके । २००७ सालपछि क्षेत्रीहरु अपदस्त भए र १७ सालसम्म ब्राम्हणहरु प्रधानमन्त्री बन्ने स्थिति बन्यो । केही अपवादको रुपमा एकाध जना आए । २०१७ सालमा क्षेत्री राजाको रुपमा आएर ‘कु’ गरिसकेपछि ३० वर्षसम्म एक जना नगेन्द्र प्रसाद रिजाललाई बाहेक कसैलाई पनि उनले प्रधानमन्त्री बन्न दिएनन् । ४६ सालको परिवर्तनपछि शेर बहादुर देउवा बाहेक सबै ब्राम्हणहरुको लर्को प्रधानमन्त्रीमा लाग्यो । त्यसपछि ज्ञानेन्द्र शाहले सत्ता लिएपछि प्रधानमन्त्रीको लागि निवेदन आह्वान गरे । निवेदन त माधव नेपाल ‘ब्राम्हणले’ पनि हाले तर ज्ञानेन्द्रले क्षेत्री शेरबहादुरलाई नै चुने ।

६२/६३ को परिवर्तनपछि फेरी ब्रम्हणहरुको लर्को लाग्यो । यो ऐतिहासिक तथ्य मैले किन राखेकोे भने जात व्यवस्था भएको समाजमा वर्ग संघर्ष र जातीय संघर्ष एक आपसमा यसरी घुलमेल भएर आउँदो रहेछ । जुनबेला विचार प्रभावशाली भएर जान्छ त्यतिबेला जात व्यवस्था र जातिय कुरा कमजोर हुँदो रहेछ । जुनबेला पार्टीहरु र राजनीतिक आन्दोलन वैचारिक रुपमा च्यूत हुँदैजान्छन् त्योबेला जात व्यवस्था पितृसत्ता र जातिय उत्पीडनले ठाउँ उठाउने मात्रै होइन हाबी हुँदो रहेछ ।

यहाँ नेपालमा १२ प्रतिशत ब्राम्हण छन् । भारतीय सत्तालाई हेर्दा त्यहाँ ५ प्रतिशत ब्राम्हणहरु छन् । तर, ७२ वर्षको भारतीय संसदीय पूँजीवादी व्यवस्थालाई हेर्दा अपवादमा २÷३ जना बाहेक ब्राम्हण समुदायबाट विकसित भएका पुँजीपतिहरु नै प्रधानमन्त्री भए । यहाँ मैले के भन्न खोजेको होइन र त्यो बुझ्नै हुँदैन भने कुनै जात एउटा वर्ग हुँदैन । ब्राम्हण एउटा शोषक वर्ग होइन । क्षेत्री पनि शोषक वर्ग होइन । तर, जात व्यवस्था भएको समाजमा सबैभन्दा माथि परेको जातबाट नै शासक र शोषक वर्ग निर्माण हुन पुग्दो रहेछ । त्यसकारण भारतमा ब्राम्हणहरु मात्रै लगातार १५/१६ जना प्रधानमन्त्री बन्ने स्थिति बन्यो जबकी जनसंख्या ५ प्रतिशत मात्रै छ । नेपालको हालत पनि त्यस्तै बन्यो ।

त्यसकारण हामी अक्सर हाम्रो जिल्लामा असल सिडिओ पठाइदिए हुन्थ्यो भनेर सोच्दा रहेछौँ तर यो सिडिओ हामीले नै चुन्न पाउनुपर्छ भनेर चाहीँ सोच्दा रहेनछौँ । हामीले पुरानो संसदीय व्यवस्थाले बनाइदिएको व्यवस्था भित्र त अधिकार खोज्दा रहेछौँ– रोएर, घुर्की लगाएर, जुलुश निकालेर, सोर्स फोर्स लगाएर । तर, त्यो व्यवस्थाकै विकल्प सोच्दा रहेनछौँ ।

मेरो अध्ययन अनुसार पूँजीवाद जतिबेला कार्लमार्क्सको कालमा थियो । जसलाई हामी प्रतिष्पर्धात्मक पूँजीवाद वा प्रगतिशिल पूँजीवाद भन्थ्यौँ त्यसले सामन्तवाद विरुद्ध लड्थ्यो । त्यो पूँजीवाद एकाधिकार पुँजीवाद र आजको पूँजीवादको चौथोचरणको रुपमा रहेको बहुराष्ट्रिय कम्पनिवाला भुमण्डलिकृत पुँजीवादमा पुगेपछि त्यसले के गरेछ भने सामन्तवादले महिलामाथि दमन गर्न जे–जे औजार प्रयोग गरेको थियो त्यो आफूले लिएछ । पितृसत्तावाद र पुँजीवादको अंग बनायो ।
जात व्यवस्था भएको समाजमा जात प्रणाली अब सामन्तवादी अब होइन । सामन्तवादमा जन्मिएको आजको पुँजीवादको गम्भिर हतियार हो जातप्रथा । जात प्रथा पूँजीवाद विरोधी होइन यसको अंग हो । पुँजीवादको अंग बनाउन किन बाध्य भयो भने सामन्तवादमा जात व्यवस्था अन्तर्गत नेपालमा भन्दा क्षेत्रीहरु, भारतमा भन्दा राजपूत र ब्राम्हणहरुबाट नै शोषक वर्ग बन्ने भएको हुनाले शोषक वर्ग बन्नका लागि शोषित कोही चाहिन्छ ।

पूँजीवादमा जात व्यवस्था भएको समाजमा शोषक वर्ग र पुँजीपति वर्ग माथिल्लो जातबाट नै बढी आउने हुँदो रहेछ । माथिल्लो जातबाट नै पुँजिपति वर्ग आउने भएकाले उसलाई श्रमिक वर्ग चाहिने भयो । श्रमिक वर्ग कसलाई बनाउने भने हिजोदेखि श्रमिक रहँदै आएका दलितहरुलाई श्रमिक बनाइराख्नु पर्ने हुन्छ र लुटिराख्नुपर्छ । त्यसकारण पुँजीवादले छुवाछूत अन्त्य गर्नै चाहाँदो रहेनछ । छुवाछुत अन्त गरिदिने, उनीहरुको आर्थिक व्यवस्था ठीक गरिदिने हो भनेदेखि त दलितहरु पुँजीपति वर्ग बन्न आइहाल्नछन् । जो पुँजीवादलाई मनै पर्दैन । त्यसकारणले पुँजीवादले आधारभूत रुपमा नै दलितमुक्ति गर्नसक्दैन ।
त्यसकारण यसमा दुई वटा कुरा हेरिनुपर्छ । नेपालमा भर्खरै पुँजीवादी संविधान बनेको छ । भारतलाई हेर्नु भयो भने ७२ वर्ष भयो । उपकारी मान्छेको कुरा गर्ने हो भने महात्मा गान्धि जति उपकारी को होलान् ? तर, उनको उपकारको काम थिएन र मात्रै हो । यो ७२ वर्षमा भारतीय पूँजीवादले दलितबारे दुई वटा नीति लियो ।

एउटा नीति केही सुधारको कामहरु दलितको बारेमा गरेको देखाइराख्ने प्रचार गरिराख्ने तर दलितका आधारभूत मुद्दा चाहीँ कहिलेपनि सम्बोधन नगर्ने ।
दोस्रो उसले हिजोको ताघाधारीबाट आएका जनै लगाउनेहरु जातबाट पूँजीपति वर्ग विकास गर्ने, सबै ब्राम्हणलाई पूँजीपति बनाउन संभव छैन ।

त्यसभित्रबाट शोषक वर्गलाई पूँजीपति वर्ग निर्माण गर्ने तर सम्पूर्ण श्रमिक चाहीँ दलित र वैश्यहरुबाट बनाउने नीति लियो । भारतको ७२ वर्षिय संसदीय पूँजीवादी व्यवस्थाले नसकेको कुरा फेरी नेपालमा त्यहीँ संसदीय पूँजीवादी व्यवस्थाले दलितमुक्ति गर्छु भनेर हामीले सोच्छौँ भने नयाँ सिडियो पठाइदेउ भन्या मात्रै हुन्छ । नयाँ सिडिओ आएर जिल्लाको मान्छेको कल्याण हुँदैन सिडिओ चुन्न पाएपछि मात्रै हुन्छ । यसको मत्लव दलितहरु आफै शासन सत्ताको नियन्त्रण गर्न पाउने समाजवादी वैज्ञानिक व्यवस्थामा जानु बाहेक यही पुरानै संसदीय व्यवस्थाको खोल भित्र बसेर संभव छैन ।

मेरै आँखा अगाडी सबै घटनाहरु घटे । शक्तिशाली नीति निर्माण वा सबै ठाउँमा पनि बसियो तर हुँदो रहेनछ ।

मलाई व्यक्तिलाई दोष दिन मन छैन । यो व्यक्तिको कुरा होइन प्रणाली (सिस्टम)को कुरा हो । पूँजीवादी व्यवस्थाको कुरा हो । पूँजीवादी व्यवस्था भनेको जहाँ जसको पुँजी बढी हुन्छ उसले शासन गर्ने हो । सामन्तवादी व्यवस्थामा त्यही मान्छे शासक हुन्छ जोसँग बढी जमिन हुन्छ । पूँजीवादी व्यवस्थामा त्यही मान्छे शासक हुन्छ जो मान्छेसँग बढी पूँजी हुन्छ । जबकी दलितसँग पूँजी नै छैन पूँजीवादी राजनीति गरेर अगाडी बसरी बढ्छ । जस्तो की अहिले सबैलाई लाज लाग्नेगरी न्यायप्रेमि गैरदलितलाई पनि लाज लाग्ने गरी मन्त्रीमण्डल त बनेकै छ । ६ नम्बर प्रदेशमा सबैभन्दा बढी दलितहरु छन् तर एउटा मन्त्री छैन । लाजमर्दो भएकै छ । प्रधानमन्त्री देखि प्रधानन्यायधशीस सबै–सबै एउटै जातका मान्छेले खाएका छन् । लाज त भएकै छ ।

मैले कसैलाई दोष दिनुपर्ने छैन । ब्राम्हण समुदायले नेपालको दलित मुक्तिका लागि धेरै ठूला काम गरेका छन् । गाली गर्नुपर्ने केही पनि कारण छैन । तर, लाज त भएकै छ । त्यो लाज हुने काम किन गर्छ त पूँजीवादले भने त्यहाँ पूजिको चलखेल हुन्छ । तपाईंले देख्नु भयो नी तीनै तहको चुनावमा कति पैसा खर्च भयो ? ५ करोड, १० करोड, १५ करोड खर्च भयो । दलितले कसरी खर्च गर्छ गरेर देखाओस् त । बुटवलमा सुनचाँदी काम गर्नेले पनि ५० लाख भन्दा बढी खर्च गर्नसक्दैन । त्यसकारण हरेक व्यवस्थाले कुन व्यवस्थालाई सेवा गर्छ भन्ने कुरा हामीले हेर्नुपर्छ । यसरी हेर्ने हो भने दलाल पूँजीवादी व्यवस्था वा संसदीय पूँजीवादी व्यवस्था दलितहरुका निम्ती बनेकै होइन भन्ने कुरा ७२ वर्षको भारतको इतिहासले प्रमाणित गरिदियो । अब हामी त्यो इतिहास नेपालमा फेरी गराउँदै, भिख माग्दै हिड्छौँकी दलितहरु आफैले निर्णय गर्न सक्नेगरी समाजवादी समाजको संरचना गर्दै अगाडी जान्छौं ? हामीले अब नयाँ विकल्प सोच्नु पर्छ भन्ने मलाई लागेको छ । यो सामान्य कुरा होइन ।

काठमाडौं उपत्यका भरी सार्कीहरुको बाहुल्यता छ । उनीहरु सबै जुत्ताको काम गर्छन् । तर, जुत्ता उद्योग कसले खोल्न थाल्यो भने जुत्ता छुन हुन्न भन्नेहरुले थाले । बैंक उनीहरुकै कोल्याटर राख्ने जग्गा उनीहरुको, बैंकका हाकिम उनीहरुकै र बैंकलाई सोर्स फोर्स लगाईदिने अर्थ मन्त्रालयको मान्छे पनि उनीहरुकै ।
उनीहरुले ऋण पाए । ठूला जुत्ता कारखाना खोले । अब त्यो कारखाना बहुराष्ट्रिय कम्पनिसँग जोडिँदैछ । भनेपछि अब उपत्यकाको वरीपरि बसेका दलितहरु जो साना–साना कूटी उद्योग चलाईराखेका छन् । ती कुटी उद्योगहरुबाट उनीहरु पुँजीपति कहिले हुन्छन् ? असम्भव । भूण्डलीकृत पूँजीवादको युगमा दलितहरुको आर्थिक प्रगति असंभव कुरा हो ।

नेपालमा समृद्धि भनिएको छ । हो नेपालमा समृद्धि चाहिन्छ । तर, यो बाटोबाट जाने हो भने सारा कुरा बहुराष्ट्रिय कम्पनिलाई बेचिने र ठूल्ठूला सडक बनाउने ठूल्ठूला घर मात्रै बनाएर जाने हो भने । दलितहरुको समृद्धि कस्तो हुनेवाला छ भने ठूलो सडकको पेटिमा हिँडिराख्ने, १८ घण्टा काम गरेर पनि जीवन बाँच्न नपाउने समृद्धि हुन्छ ।

भारतको मुम्बई शहर संसार भरीको एउटा व्यापारिक केन्द्र हो । तर मुम्बईका करोडौं दलितहरु सबैभन्दा बढी उत्पीडित छन् । समृद्धि हुन्छ तर कसको पक्षमा ?

सिंहदरबार त चन्द्र सम्शेरले त्यतिबेलै बनाएका हुन् नी ? उसलाई त्यतिबेला नै समृद्धि थियो । समृद्धिको वर्ग हुन्छ । दलाल पूँजीवाद वा आजको संसदीय पूँजीवादले ल्याउने समृद्धि भनेको दलितको पक्षमा हुँदैन । दलितलाई १८ घण्टासम्म काम लगाएर पनि बाँच्न नसक्ने समृद्धि हुन्छ । हामीले यहि संसदीय व्यवस्था भित्र नयाँ सिडिओ खोज्ने कि यो संसदीय पूँजीवादी व्यवस्थाका विरुद्ध अहिलेदेखि समाजवादी क्रान्तिको दिशामा अघि बढ्ने ? हामी सबैले यो विषयमा सोच्नुपर्छ ।
(राजधानीमा आयोजित एक कार्यक्रममा लेखक तथा पूर्व माओवादी नेता विश्वभक्त दुलाल ‘आहुती’ले दिएको मन्तव्य साभार दियो पोस्ट बाट गरिएको हो )

गरीब, दलित, अल्पसंख्यक र पिछडिएका महिलालाई जीविकोपार्जनका लागि २० लाख प्रदान

विभेद बिरुद्ध अभियान - चैत १४ –महोत्तरी जिल्लाको एकडारा गाउँपालिका–३ भटौलियाका गरीब, दलित, अल्पसंख्यक र पिछडिएका महिलाको जीविकोपार्जनका लागि एक संस्थाले आज रु २० लाख प्रदान गरेको छ ।

नेपाल सरकार तथा बेलायत सरकारको सहयोगमा नेपाल ग्रामीण पुनःनिर्माण संस्थाद्वारा सञ्चालित सामुदायिक विकास कार्यक्रमको आर्थिक सहयोगमा भटौलियाका २० वटा नागरिक सचेतना केन्द्रका सदस्यलाई जीविकोपार्जन सुधार कार्यक्रमअन्तर्गत प्रत्येक समूहलाई रु एक लाखको दरले २० वटा समूहलाई रु २० लाख प्रदान गरिएको हो ।

संस्थाले आज आयोजना गरेको रकम हस्तान्तरण कार्यक्रममा एकडारा गाउँपालिकाका अध्यक्ष रामछविला साहले २० वटै समूहका महिला सदस्यलाई घुम्ती कोषका रुपमा रु २० लाखको चेक हस्तान्तरण गर्नुभएको हो ।

भटौलियामा संस्थाकै सहयोगमा सञ्चालन गरिएको ५२ हप्ते रिफ्लेक्ट कक्षामा सहभागी भएका स्थानीय २० वटै नागरिक सचेतना केन्द्रका महिलाले आफैँले छलफल र निर्णयबमोजिम खोलिएका सानातिना खुद्रा पसल, हाट बजारमा गर्ने पसल, होटल, पशुपालन, हाँस कुखुरा पालन, सिलाइ बुनाइ, कृषिलगायतका व्यवसाय गर्दै आएकामा जीविकोपार्जनका लागि उनीहरुलाई रु २० लाख प्रदान गरिएको हो ।

प्रत्येक समूहले प्राप्त गरेको रकम आफ्नो समूहभित्रका सदस्यमा एक निश्चित तोकिएको अवधिपछि हस्तान्तरण गर्दै जाने र त्यसमा सानो आकारको ब्याजसहित उपलब्ध गराउने व्यवस्था छ ।

यसरी गरीब, दलित, अल्पसंख्यक र पिछडिएका महिलाले संस्थालाई नफर्काउने गरी आफ्नो जीविकोपार्जनका लागि संस्थाबाट रु २० लाख घुम्ती कोषका रुपमा पाएर निकै खुशी भएका छन् 

जातीय विभेद गरेको घटनाका आरोपित गिरफ्तार

विभेद बिरुद्ध अभियान - चैत १४ –जातीय विभेद गरेको आरोपमा पुनर्वास नपा-६ का बलराम भट्टराई र श्रीकृष्ण नेपाललाई इलाका प्रहरी कार्यालय, त्रिभुवनवस्तीले चैत १२ गते गिरफ्तार गरेको छ ।

पुनर्वास नपा-६ स्थित चोकमा रहेको मन्दिरमा शिवरात्रीका दिन पुजाको विषयमा जातीय विभेद गरेको आरोपमा स्थानीय धनबहादुर बिक र टेकबहादुर बिकले गत फागुन १५ गते इलाका प्रहरी कार्यालय, त्रिभुवनवस्तीमा उजुरी दिएका थिए ।

पीडित पक्षले दिएको उजुरीका आधारमा आरोपित पण्डित बलराम भट्टराई र श्रीकृष्ण नेपाललाई गिरफ्तार गरेको इलाका प्रहरी कार्यालय त्रिभुवनवस्तीका इन्स्पेक्टर हिरेन्द्रबहादुर रोकायाले बताए ।

रहेनन् दैलेखको दलित आन्दोलनका प्रणयता लालवीर सुनार

विभेद बिरुद्ध अभियान - दैलेख, चैत १४ – दैलेखको दलित आन्दोलनका प्रणयता कांग्रेस नेता लालवीर सुनारको ९३ वर्षको उमेर बुधबार निधन भएको छ । वर्षदेखि दम रोगले थलिनुभएका उहाँको उपचारको क्रममा नेपालगञ्जमा निधन भएको हो । 

उहाँको पार्थिव शरीर हिन्दू संस्कार अनुसार राप्ती सिधनियामा बुधबार नै दाहसंस्कार गरिएको उहाँका जेठा छोरा धर्मबहादुर सुनारले जानकारी दिनुभयो । 

दलितहरुको मृत्युको बेला शंख फुक्न र दलितहरुले महायज्ञ लगाउन पाउनु पर्ने भन्दै धार्मिक अधिकार अभियानका उहाँ प्रणेता हुनुहुन्छ । २०४० देखि १० वर्षको अनवरत संघर्षपछि दैलेखमा अहिले सबै ठाउँमा गैरदलितले जस्तै दलितहरुको मृत्युमा पनि शंख फुक्न पाएका छन् । 

स्वर्गीय लालवीर सुनार २०१२ सालमा स्थापना भएको नेपाल प्रहरी सेवामा प्रवेश गर्ने पहिलो दलित व्यक्ति हुनुहुन्छ । राणाकालमै २००६ मा नेपाली कांग्रेसको सशस्त्र समूह जनमिलिसियाबाट राजनीतिमा संलग्न हुनु भएको र त्यस समूह २०१२ मा नेपाल प्रहरीमा गाभिँदा उहाँले प्रहरी सेवामा प्रवेश गर्नुभएको थियो ।

२०३० सालमा नेपाल प्रहरीको हवल्दार पदमा सेवा निवृत भए पनि निरन्त कांग्रेसको राजनीतिमा जुट्नुभएको थियो । पश्चिम नेपालको जनमिलिसिया कमाण्डर बनेका कांग्रेस नेता रत्नबहादुर विश्वकर्मालाई सफल योद्धाको रुपमा स्थापित गर्न लालवीर सुनारको महत्वपूर्ण योगदान रहेको कांग्रेस नेता जगतजंग थापाको भनाई छ । 

पञ्चायत कालमा पटक–पटक गरी १२ वर्ष साविकको वसन्तमाला गाउँपञ्चायतको जनपक्षीय निर्वाचित वडाध्यक्षको जिम्मेवारी निर्वाह गरेका उहाँ नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल दलित संघका संस्थापक जिल्ला सभापति र संघको केन्द्रीय सदस्य समेत हुनुभएको थियो । 

दैलेखको नारायण नगरपालिका–८ किमुगाउँका स्थायी बासिन्दा स्वर्गीय लालवीर सुनारका श्रीमती, २ छोरा र ३ छोरी हुनुहुन्छ । कान्छो छोरा दीपक सुनारको २८ वर्षकै उमेरमा ९ वर्ष अघि निधन भएको थियो । 

Sunday, March 25, 2018

छुवाछूतका छिटा

विभेद बिरुद्ध अभियान - चैत्र ११ ,काठमाडौँ — संविधान–कानुनले दण्डनीय भनेको छुवाछूत प्रथा देशका विभिन्न भागमा कायमै छ । गरिब तथा शिक्षाको ओझेलमा परेका समुदायमा यो अमानवीय प्रचलनको जरो दह्रो गरी गाडिएको छ ।दुर्गम पहाडी जिल्लाका गाउँदेखि मधेसका देहातसम्म जातीय भेदभावसँगै छुवाछूत पुरानो रोग बनेर टाँसिइरहेको छ । सहरी एवं शिक्षित समुदायमा प्रत्यक्षत: यो घट्दै गए पनि आशयजन्य रूपमा टिकिरहेकै छ । यसको अवशेष कुनै पनि समुदायमा निमिट्यान्न भएको छैन ।

संविधानको मौलिक हकमा ‘छुवाछूत तथा भेदभावविरुद्धको हक’ समेत पर्छ । धारा २४ मा व्यवस्था गरिएको यस हकले कुनै पनि व्यक्तिलाई उत्पत्ति, जात, जाति, समुदाय, पेसा, व्यवसाय वा शारीरिक अवस्थाका आधारमा निजी तथा सार्वजनिक स्थानमा छुवाछूत वा भेदभाव गर्न रोक लगाएको छ । कुनै व्यक्ति वा समुदायलाई उच्च वा नीच दर्साउने, जात, जाति वा छुवाछूतका आधारमा सामाजिक भेदभावलाई न्यायोचित ठान्ने वा छुवाछूत तथा जातीय उच्चता वा घृणामा आधारित विचारको प्रचारप्रसार गर्न वा जातीय विभेदलाई प्रोत्साहन गर्न पाइनेछैन । जातीय आधारमा छुवाछूत गरी वा नगरी कार्यस्थलमा कुनै प्रकारको भेदभाव गर्न पाइनेछैन । त्यस्ता कार्य गम्भीर सामाजिक अपराधका रूपमा कानुनबमोजिम दण्डनीय हुनेछन् । र, त्यस्ता कार्यबाट पीडित व्यक्तिलाई क्षतिपूर्ति पाउने हक हुनेछ । त्यति मात्र होइन, संविधानको प्रस्तावनामै छुवाछूत अन्त्यको प्रावधान राखिएको छ । धारा १७, १९ र २५६ मा पनि छुवाछूत गर्न प्रतिबन्ध लगाउने व्यवस्था गरिएको छ । जातीय भेदभाव तथा छुवाछूतको कसुर र सजाय सम्बन्धमा व्यवस्था गर्न बनेको ऐन, २०६८ ले छुवाछूतलाई मानवताविरोधी अपराध भन्दै दण्ड, सजाय र क्षतिपूर्तिको व्यवस्था गरेको छ । त्यसो त २०२० मा बनेको मुलुकी ऐनले नै जातीय छुवाछूतलाई दण्डनीय भनेको थियो । तर, पीडकलाई कानुनी दायरामा नल्याउँदा यो अमानवीय कार्यले निरन्तरता पाउँदै आएको छ । संविधान–कानुनमा कडा व्यवस्था भए पनि कार्यान्वयन–अनुगमन पक्ष अत्यन्त कमजोर भएकाले यसले प्रश्रय पाउँदै आएको हो ।

प्रदेश ७ का बझाङ, बाजुराजस्ता जिल्लामा छुवाछूत बढी मात्रामा पाइएको छ । त्यहाँ सार्वजनिक स्थलमा निषेध मात्र होइन, विद्यालयमा समेत जातका आधारमा विभेद हुन्छ । सरस्वती पूजाको प्रसाद बाँड्दा गैरदलित विद्यार्थीको हातैमा दिने र दलितलाई टाढैबाट फालिदिने गरिन्छ । दिवा खाजाको व्यवस्था भएका विद्यालयमा दलित र गैरदलितका विद्यार्थीलाई छुट्टाछुट्टै राखेर दिने गरिन्छ । दलितसँग छोइए ‘छिटो’ हाल्ने चलन यथावत् छ । होटलमा चियाखाजा खाएको थाल–गिलास दलितले मात्रै आफैं धुनुपर्छ । कतिपय मन्दिरमा दलितलाई प्रवेश अझै निषेध छ । त्यहाँ दलितका लागि बस्न छुट्टै ठाउँ छ । कतिपय गाउँमा दलितलाई सार्वजनिक धारा छुन दिइँदैन । कुवा र इनार छुट्टै भएका गाउँ असंख्य छन् । गैरदलितले दलितलाई अपशब्द प्रयोग गर्ने, होच्याउने घटना भइरहन्छन् । सहरमा दलितलाई डेरा पाउन गाह्रो छ । यस्ता प्रचलन उल्लंघन गरे पञ्चेतीले जरिवानासमेत तिराउँदै आएको छ । तर, संविधान–कानुन उल्लंघन गरेको भनेर दलितमाथि छोइछिटो गर्ने कुनै गैरदलितलाई कारबाही गर्न कुनै समुदाय जागरुक भएको पाइँदैन ।

अशिक्षा र अचेतना यी अवस्थाका मुख्य कारक हुन् । पछिल्ला राजनीतिक परिवर्तन र समावेशिताले अन्य क्षेत्रमा जागरण ल्याए पनि जातीय विभेद न्यूनीकरणमा अपेक्षाकृत उपलब्धि हासिल भएको छैन । सामाजिक सद्भावमा दक्खल पर्ने, गैरदलितसँगको आश्रय टुट्नेजस्ता त्रासले कानुनी उपचारको बाटो रोज्ने पनि कम छन् । गैरसरकारी संस्थामा यस विषयकेन्द्रित गतिविधि केही देखिए पनि ती बजेट सक्न सीमित छन् । राजनीतिक दल, तिनका भ्रातृ संगठन र सरोकारवालाले यो अपराधजन्य क्रियाकलापलाई निरुत्साहन गर्न दबाब दिन सकेका छैनन् । अब भने ढिला गर्नु हुँदैन । शिक्षा, सचेतनाका माध्यमबाट भेदभाव अन्त्य गर्न पहल गर्नुपर्छ, ताकि सामाजिक सद्भाव पनि नखलबलियोस् ।
कान्तिपुर दैनिक बाट

चार दशकअघि निर्माण गरिएको मन्दिरमा दलित समुदाय अझै पूजापाठ गर्न बाट वञ्चित

विभेद बिरुद्ध अभियान - चैत्र ११ , वीरगन्ज : बाराको सिमरौनगढ नगरपालिकास्थित शिवपार्वती मन्दिरमा दलित समुदायले ४० वर्षसम्म पनि पूजापाठ गर्न पाएका छैनन्। गैरदलितले झवानी टोलस्थित मन्दिर प्रवेशमा रोक लगाएपछि स्थानीय चमार समुदाय पूजापाठबाट वञ्चित भएका हुन्।

चार दशकअघि निर्माण गरिएको मन्दिरमा गैरदलित समुदायले अहिलेसम्म पनि आफूहरूलाई प्रवेश र पूजापाठ गर्न नदिएको स्थानीय विनोद महरा चमारले बताए। एक सय ५० घरधुरी रहेको झवानी टोलमा चमार समुदाय १०-१२ परिवार छन्। बाँकी ब्राह्मण, राजपुत, सहनी, तेली र नुनिया समुदायको बसोबास छ।

मन्दिर स्थापनादेखि नै दलितलाई प्रवेश गर्न नदिइएको उनले सुनाए। ‘मन्दिर बनाउने बेला हाम्रै काका, बुबाहरूले ज्यामी र मजदुर बनेर सघाएका थिए’, उनले भने, ‘तर, जब मन्दिर बन्यो त्यसपछि हामीलाई तल्लो जातिको भनेर मन्दिरमा पूजापाठको त कुरै छाडौं, मन्दिरमा छिर्न पनि दिएका छैनन्।’

दलितले पूजापाठ गरे मन्दिर अपवित्र हुने भन्दै गैरदलितले प्रवेश गर्न नदिएको उनको दाबी छ। ‘हामीले मन्दिरमा पूजापाठ गर्न धेरै कोसिस ग¥यौं तर छिर्नै दिएनन्’, अर्का स्थानीय विनेश महरा चमारले भने, ‘यो टोलमा हाम्रो जातिको संख्या एकदमै थोरै छ, त्यही भएर हेपिएर बस्नुपरेको छ।’स्थानीय मन्दिरमा गैरदलितले रोकेपछि दलित समुदाय टाढा रहेको सिम्रौनगढ बजार र अमृतगन्जको रानीवास बजारस्थित मन्दिरमा पूजापाठ गर्न बाध्य छन्। छिमेकी गाउँ जानकीनगरका सञ्जोग राम चमारले शिवपार्वती मन्दिरमा गैरदलितले दलितलाई पूजापाठ गर्न नदिएको बताए। ‘हाम्रै गाउँको छिमेकमा त्यो मन्दिर छ तर हामीलाई पनि तल्लो जातिको भनेर पूजापाठ गर्न दिँदैनन्’, उनले भने, ‘दलितले कुटानीपिसानी गरेको चामल, गहुँ खान्छौं तर मन्दिरमा पूजापाठ गर्न दिँदैनौं भन्छन्।’

झवानी टोलका एक गैरदलित अगुवाले दलितलाई पूजापाठ गर्न नरोकेको दाबी गरे। भने, ‘यदि उनीहरूले पूजा गर्छन् भने हामीले त्यो मन्दिरमा पूजापाठ गर्दैनौं।’

स्थानीय जयलाल सहनीले भने दलित समुदाय माछामासु तथा मदिरा सेवन गरेर पूजापाठ गर्न आउने गरेका कारण उनीहरूलाई रोक्ने गरिएको बताए। ‘हामीले उनीहरूलाई तल्लो जातको भनेर मन्दिरमा रोकेका हैनौं’, उनले भने, ‘चमारहरू फोहोरी बनेर बस्छन्, माछामासु र मदिरा सेवन गरेर पूजा गर्न आउँछन्। त्यही भएर हामीले रोकेका हौं। उनीहरू सफा बनेर आउँछन् भने मन्दिरमा पूजापाठ गर्न हामी रोक्दैनौं।’

साबिक सिम्रौनगढ गाविसका पूर्वअध्यक्ष गगनदेव कुसवाहाले भने दलित समुदाय अधिकारप्रति सचेत नभएका कारण मन्दिरमा पूजापाठबाट वञ्चित भएको बताए।

झवानी टोल पर्ने वडा नम्बर ७ का अध्यक्ष रमेश कुसवाहाले यो विषयमा आफू अनभिज्ञ रहेको बताए। ‘गाउँको धेरै कुरा मलाई थाहा छैन’, उनले भने, ‘अब यसबारे बुझ्छु। यदि विभेद रहेछ भने त्यसलाई हटाउन पहल गर्छु।’

विपन्न र दलितको पक्षमा - सञ्जय साह मित्र

विभेद बिरुद्ध अभियान - चैत्र ११ ,वर्षमा कम्तीमा चार किसिमका प्राकृतिक प्रकोपहरू नियमित भएर आइरहेका छन् । अत्यधिक जाडोले अहिले दर्जनौं मानिस अकालमा मरेका छन् । केही महिना पहिले भीषण वर्षाले गर्दा आएको बाढीले पनि कैयौं मानिस मरे । अहिले विगत कैयौं वर्षमा नभएको जाडो भएको भनिएको छ भने बाढीलाई पनि यही भनिएको थियो । बाढीभन्दा पहिले गर्मी अत्यधिक भएको थियो । केही मानिस गर्मीले गर्दा पनि मरे । गत वर्ष गर्मी शुरु भएसँगै कैयौं घरमा आगलागीका घटना भए । बाढीबाट ठूलो मात्रामा जनधनको क्षति हुनु, गर्मीबाट जनधनको क्षति हुनु, आगलागीबाट जनधनको क्षति हुनु र जाडोबाट जनधनको क्षति हुनु नियमितताजस्तै भएको छ । चार किसिमले प्राकृतिक वा मानवजन्य प्रकोपहरूले गर्दा जनधनको धेरै क्षति भइरहेको छ ।
    यी र यस प्रकारका प्राकृतिक तथा मानवजन्य प्रकोपहरूले गर्दा हुने हानि नोक्सानीको मुख्य अंशियार दलित र विपन्न वर्ग नै हुने गरेका छन् । यसका केही मुख्य कारणहरू यस प्रकार छन् ः
१. शिक्षा र चेतनाको अभाव ः 
    दलित र विपन्न वर्गमा शिक्षा र चेतनाको अभाव छ । यसको अभावमा कतिपय राम्रा कुरा बुझ्ने सामथ्र्य राख्दैनन् र कहिलेकाही अल्प बुझाइको कारणले खतरामा परिरहेका हुन्छन् । शिक्षा र चेतनाले केही माथि उठेका दलित तथा विपन्न वर्गमा यस प्रकारका समस्याहरू कमै आउँछ ।
२. लापरवाही ः 
    शिक्षा र चेतनाको अभावमा जिम्मेवारी बोध त्यत्ति हुन सकेको छैन, जसले गर्दा लापरवाही बढी हुन्छ । आगलागीका घटनाहरू लापरवाहीका कारण बढी भएको देखिन्छ । लापरवाही कम गर्न शिक्षासँगै चेतनाको विकास आवश्यक छ ।
३. हीन र उच्च मनोग्रन्थि ः 
    कतिपय अवस्थामा आपूmमा रहेको क्षमता चिन्न नसक्नु, आप्mनै काममा विश्वास गर्न नसक्नु र कतिपय अवस्थामा म कोभन्दा कम छु, मभन्दा ठूलो को छ, यसो नगर्दा के भइहाल्छ र ? जस्ता मनोवैज्ञानिक समस्या देखिन्छन् । दुवैलाई समन्वय गर्नु आवश्यक देखिन्छ ।
४. आर्थिक विपन्नता ः 
    गरिब त गरिब नै भइहाल्यो । दलितमा पनि गरिब र धनी छन् । अधिकांश दलितहरू गरिब छन् भने केही मध्यम र उच्च वर्गका पनि छन् । मध्यम र उच्च वर्गका दलितहरूमा यस प्रकारको समस्या देखिंदैन तर विपन्न समुदायका दलितहरूमा भने यस प्रकारको समस्या बारम्बार आइरहेको देखिन्छ । यथार्थमा दलित वा गैरदलित जे भए पनि आर्थिक रूपले सम्पन्न भएकाहरूमा भने बाढीले समेत खेतको सम्पत्ति त बगाउला तर अन्य क्षति भने गर्न पाएको देखिंदैन तर विपन्न वर्गको थोरै खेत, घर वा पशुधनलाई क्षति पु¥याउँदा निकै समस्या पर्ने देखिन्छ ।
५. गाउँको छेउमा घर हुनु ः 
    विपन्न जहाँ पनि छन् । दलितहरू पनि प्रायः हरेकजसो गाउँमा छन् तर बढी समस्यामा पर्ने यिनीहरू नै हुन्छन् । तिनका घरको बनाबटको स्थानले पनि केही प्रभाव पारेको केहीको भनाइ छ । दलितहरूको घर प्रायः गाउँको छेउमा हुन्छ । गाउँको छेउमा हुने हुनाले बाढीको पहिलो ग्रास हुनु स्वाभाविक हो । यसै गरी हावाहुरी वा आँधीले पनि सबैभन्दा पहिले प्रभाव गाउँको छेउमा रहेकै घरलाई बिगार्ने वा उडाउने गर्दछ । साथै चिसो स्याँठले पनि सबैभन्दा बढी गाउँको छेउकै घरलाई बढी प्रभावित पार्छ ।

विपन्न र दलितको विषयमा कुरो आउँदा कतिपयले नकारात्मक प्रचार के गर्ने गरेका छन् भने यिनीहरूलाई सबै राहत दिंदा पनि पुग्दैन । होला, तात्क्षणिक केही उदाहरण वा नकारात्मक प्रवृत्तिलाई लिएर पुष्टि गर्न सकिन्छ । तर यथार्थ मनोभाव के हो भने दलित वा विपन्नलाई दिएजस्तै आपूmलाई पनि दिए हुन्थ्यो ।

गरिब र दलितका बालबालिकाहरू सडकमा खेलिरहेका हुन्छन् । सडकमैं धान सुकाउने काम पनि गरिरहेका देखिन्छन् । सडकलाई फोहोर बनाउने दलितहरू नै हुन् । यहाँसम्म त ठीकै छ तर गहिरिएर विचार गर्ने हो भने हामीले हिंडने मूल सडकलाई निरन्तर सफाइ गर्ने पनि यिनै दलित र विपन्न समुदायका हुन् । धेरै ठूला घर, होटल तथा विभिन्न कार्यालय र विद्यालयमा सरफाइको काम गर्ने यिनै दलित र विपन्न हुन् । के रकम पाउने भएपछि मात्र सफाइ गरेका हुन् ? आप्mनो आँगन, घर, घर अगाडिको सडक दलित र विपन्नलाई फोहोर गर्न मन लागेकै हो त ? तिनीहरूले जानेरै आप्mनो वरिपरि फोहोर थुपारेका हुन् ?

फोहोरले हानि गर्छ भन्ने कुरा तिनीहरूले अरूतिर फोहोर सफा गरेर नै थाहा पाएका छन् भन्ने कुरो पनि एउटा पाटो हो । चेतनाकोे अभाव छ भन्ने कुरो माथि आइ नै सकेको छ । फोहोर कसरी हुन्छ भन्ने पनि थाहा छ तर अन्य कारणले सर्वसाधारणले तिनीहरूलाई बढी फोहोरी देखेका हुन् । पहिलो कुरो त आपूmलाई सम्भ्रान्त ठान्नेहरूले तिनीहरूलाई हेपेरै राख्न खोज्छन्, हेपेरै बोल्छन् । तर हेपाइभन्दा अलि माथि उठेर हेर्दा केही मार्मिक यथार्थ पनि पाइन्छ । दलित वा विपन्न परिवारमा सदस्य सङ्ख्या धेरै हुन्छ । तिनीहरू बस्ने जमिनको अभाव हुन्छ । घडेरीको अभाव र रकमको अभावले गर्दा कतिसम्म पनि देखिएको छ भने दुई दाजुभाई आप्mना बालबच्चासहित एउटै कोठाको कुनालाई भागबन्डा गरेर बसेका छन् । घर बनाउने सामथ्र्य हुँदैन । घरबाट पानीको निकास छैन । अझ कतिपय ठाउँका दलितले कुखुरा वा बाख्रा पाल्दा स्थानीयले किनेर नखाने चलन अहिलेसम्म यथावत् छ । यसकारण बरु गाउँमा हरेक वर्ष गमाला पूजा हुँदा एउटा सुँगुर नै बलि दिने परम्परा रहेको छ । दलितले सुँगुर पाल्छन् घरकै छेउमा खोर बनाएर । यसले गर्दा केही आय हुन्छ । साँघुरो घरमा ठूलो परिवार बस्नु, खेल्ने ठाउँ नहुनु, सुत्ने ठाउँको अभाव, पानी निकासको अभाव, सुँगुर पाल्नुजस्ता कारणहरूको परिणति यही देखिन्छ कि त्यहाँ फोहोर हुन्छ । दलित र विपन्नहरू फोहोरी हुन्छन् भनेर आरोप लगाइदिनु सतहमा रहनुजस्तो मात्र हुन्छ । यथार्थमा सफाइ हुन नपाएर फोहोरी बसेका हुन् भन्दा अत्युक्ति हुँदैन ।

गरिब र दलित भनेर हेपेर नै समस्या बल्झिFदै गएको हो । बाढी, आगलागी, गर्मी, शीतलहर आदिबाट अत्यन्त प्रभावित भएर मानिस मर्न थालेपछि बल्ल विभिन्नतिरबाट राहत आउने गरेको छ । राहत पछिसम्मै आइरहन्छ । जस्तो कि बाढीपीडितका लागि अझै पनि राहत आइरहेकै छ भने अब शीतलहरबाट प्रभावितका लागि आइरहेको राहतको क्रम जाडो कटेपछि पनि जारी रहला । तर यसमा अलिकति संवेदनशील भएर सोच्नुपर्ने कुरो के छ भने के राहतले तिनीहरूलाई फाइदा पु¥याएको छ ? राहतहरू आइरहँदा र तिनीहरूले पाइरहँदा कस्तो दीर्घकालीन प्रभाव पारेको छ ? यसको गहन अध्ययन र विश्लेषण हुन सकेको छैन । राहत त तत्कालको लागि हुनुपर्छ र दीर्घकालको लागि उचित व्यवस्थापन भइदिनु राम्रो हुन्छ ।

अहिले स्थानीय सरकार गठन भएको छ । स्थानीय सरकारहरू शक्तिशाली पनि छन् । दलितहरूको प्रतिनिधित्व पनि भएको छ । विपन्न समुदायका त कमै पुगेका होलान् स्थानीय सरकारमा । अब कम्तीमा के गर्नु अत्यावश्क छ भने बाढीको प्रकोपले दलित र विपन्नलाई जोगाउने, आगलागी दलित र विपन्न बस्तीमा नपुगोस्, दलित र विपन्न समुदायका बालबालिकादेखि वृद्धवृद्धा शीतलहरले मर्नु नपरोस् भनेर त्यस्ता विपत्ति आउनुपूर्व सुरक्षात्मक उपाय गर्न जुटनुपर्छ । त्यसबारे अहिले नै व्यावहारिक नीति बनाइहाल्नुपर्छ । गर्मीको राप र तापबाट जोगिन केही तालिम भने दिनुपर्ने हुन्छ । सलाइ कोर्ने बित्तिकै आगो लागिहाल्ने, बाढीले घर बिग्रिने र शीतलहरको हावा घरमा छिर्ने समस्याको निराकरणबारे गम्भीर हुनु आवश्यक छ । बुद्धिजीवीहरूले पनि यसबारे स्थानीय सरकारहरूलाई विभिन्न माध्यमले जानकारी गराइरहनु आवश्यक छ । हामीले हाम्रो दृष्टिकोणमा अलिकति परिवर्तन गर्न खोज्यौं भने अब परिवर्तन सम्भव छ ।

देवता रिसाएर पानीको मुल सुक्ने भन्दै दलित समुदायलाई धारो छुनबाट वञ्चित

विभेद बिरुद्ध अभियान - चैत्र ११ , हुम्ला जिल्लाको ताँजाकोट गाउँपालिका-३ का दलित समुदायलाई कथित माथिल्लो समुदायले खाने पानीको धारो छुन नदिएपछि अणीखोला गाउँका २५ घरधुरीका दलित घरपरिवार पानी खानबाट वञ्चित भएका छन् ।

संविधानको धारा १८ को समानताको हक अन्तर्गत उपदफा २ ले धर्म, वर्ण, जात, जाति, लिङ्ग जातीय आधारमा कुनै विभेद नगर्ने कुरा उल्लेख गरेपनि ताँजाकोट गाउँपालिका-३ को रामा गाउँको खानोपानीको धारामा अहिलेपनि दलित र छुई (छाउ) भएका महिलाहरूले धारो छुन नपाएको गुनासो गरेका छन् ।सानो मन्दिर सहित सिमेन्टले बनाएको कालो पाइपको धारोको अघिल्तिर दलित र छुई भएका महिलालाई धारो छुन मनाही छ भन्ने लेखेरै धारो छुनबाट दलित र महिनावारी भएका महिलालाई धारो छुनबाट वञ्चित गरिएको छ ।

गाउँकै छेउमा भएको मुलपानीको उक्त धारोमा दलित र छुई भएका महिलाले छोएमा देवता रिसाएर पानीको मुल सुक्ने भन्दै गाउँलेले अहिले पनि उक्त धारोमा छुन दिइएको छैन । साविकको मदना र मैला गाविसबाट सदरमुकाम सिमकोट जाने मुख्य बाटो भएको उक्त धारो छुन नदिएपछि आफूलाई पानीको प्यास लागेपनि धारो नदेखे जस्तै गरेर बाटो हिड्नु परेको ताँजाकोट- ३ अणीखोलाकी प्यारू लुवारले दुखेसो गरिन् ।ताँजाकोट गाउँपालिका-५ की रूपकली नेपालीले देउताले सुन्दैन भनेपछि धारोको घेरबार गरेको ढुङ्गा भन्दा माथि जान नदिएकोले आफ्नो जातकाले उक्त धारो नछुनु भन्दा हेर्दापनि नहेरेको बताइन् ।

कथित माथिल्लो जातका रूपमा मानिने ठकुरी बस्ने गाउँको धारो भएकाले धारोमा छुन समेत नपाएको बताएकी अमृता नेपालीले खानेपानीको धारोमा समेत छुन नपाएपछि भनिन्-‘रामा गाउँको धारोको त कुरै पर आओस्-‘छुनु भन्दा हामी धारोको पटका (ढुङ्गाको बिसौनी) लाई समेत छुन पाइदैन ।’रामा गाउँका ठकुरीले आफूलाई डुम (दलित) ले धारो छोएमा पानी सुक्ने भन्दै बाटो बाट धारो आसपास जाँदै गाली गर्ने गरेको बताएकी उनले ३० वर्षको अवधिमा आफूले २ पटक मात्रै कथित माथिल्लो जातकालाई भाँडोबाट आफ्नो हातमा पानी हाल्न लगाएर खाएको अनुभव सुनाइन् ।

गाउँका देवता रिसाउने भएकाले आफूले सम्झेको दिनदेखि नै दलित र छुई भएका महिलाले धारो नछोएको बताएका साविकको मैला गाविसका पुर्वअध्यक्ष वृषबहादुर शाहीले दलितले धारो छोएमा पानी सुक्ने प्रतिक्रिया दिए ।गएको ५ वर्ष अघि तल्लो जात र मिन्स भएका महिलाबाट धारोमा छुईछाई (छोइएको) ले धारोको पानी सुकेको बताएका शाहीले पछि ब्राम्मण बोलाएर होमजग्गी गरेपछि पानी आएको भन्दै त्यसपछि आफूलेपनि दलित र मिन्स भएका मैलालाई धारो छुन नदिएको बताए । तर रामा गाउँमै भएको रामदेव आधारभुत विद्यालयका प्रधानाध्यापक काँसीचन्द्र जैशी गाउँको धारमा दलित र मिन्स भएका महिलालाई प्रवेश गर्न नदिने काम निकै अमानविय भएको भन्दै त्यसको अन्त्यका लागि गाउँका अविभावकलाई पटक पटक भनेको बताए । धार्मिक र साँस्कृतिक कारणले गाउँको छेवैमा भएको खानेपानीको धारमा दलित र महिलालाई प्रवेश गर्न नदिएका बताएका शिक्षक जैशीले आफुले पढाउने गाउँमै जातिय छुवाछुतको जघन्य अपराध भएकोमा निकै दुख व्यक्त गरे । 

अन्य गाउँमा समेत जातिय विभेद उस्तै 
दलित र गैर दलित माथिको विभेद ताँजाकोटका अन्य गाउँमा समेत व्याप्त छ । आफूलाई तल्लो जातको भन्दै अन्य सार्वजनिक धारमा निर्धक्क साथ पानी भर्न नपाएको गुनासो ताँजाकोटका दलितले गरेका छन् । आफ्नो गाउँमा दलितका लागि बेग्लै धारो भएको बताएका ताँजाकोट २ अणीखोलाका रिउल्या लुवारले पहिलेको तुलनामा केही कम भएपनि दलित माथिको विभेद नहटेको बताए । आफूहरुलाई पहिले देखिनै दलित भनेर हेप्ने गरेको बताएका उनले आप्mनोलागी अँझै जातयि छुवाछुत नहटेकोमा गुनासो गरे । 

आफूले पानीको धारोमा पानी भर्न गएका वेला माथिल्लो जातका कसैलाई छोएमा माथिल्लो जातकाले पानीको छिटो हालेपछि मात्रै घरभित्र छिर्ने गरेको बताएका रिउल्याले आफूलाई जातिय विभेद अन्त्य नभएको बताए ।  उनले भने “अणिखोलामा अहिले पनि दलितका लागि बनाएको धारामा पानी भर्न आउँछन् तर दलितलाई पानी भर्न नदिएर उल्टै डुम भनेर हटाउछन ।” धारोमा पानी भर्न आफ्ना वालवालिका गएका वेला माथिल्लो जातकाले पानी भरेको भाँडोमा छोएमा त्यो पानी पोखेर फेरी भर्ने गरेको बताए । 

Saturday, March 24, 2018

छुनै नहुने ! - अर्जुन शाह

विभेद बिरुद्ध अभियान - चैत्र १०, गएको असारमा बाजुराको छेडेदह गाउँपालिका– १ विराडी गाउँका प्रेमबहादुर विकले त्यही गाउँका राजेन्द्रबहादुर सिंहको भैंसीगोठ छोएको आरोपमा गालीगलौज र दुव्र्यवहार मात्रै खेप्नु परेन, २ हजार रुपैयाँ जरिवानासमेत तिर्नुपर्‍यो । त्यस घटनालाई गाउँलेहरूले मिलापत्र गराए ।

कुनै पनि व्यक्तिलाई निजी तथा सार्वजनिक स्थानमा जातीयताका आधारमा छुवाछूत तथा भेदभाव गर्न नपाउने व्यवस्था संविधानले गरेको भए पनि सुदूर पहाडका अछाम, बाजुरा र बझाङमा भने जातीय छुवाछूत तथा भेदभाव ज्युँका त्युँ छ ।

पानीको मुहान एउटै, गाउँ समाज पनि सँगै तर धारा भने दलित र गैरदलितका भिन्दा–भिन्दै । दलित समुदायका व्यक्तिहरू गैरदलितले प्रयोग गर्ने धारामा जान पाउँदैनन् । जयबागेश्वरीस्थित पीपलगाउँमा स्थानीय दलित र गैरदलित परिवारका खानेपानी धारा अलग–अलग छन् । उक्त गाउँमा बुढा, थापा, कुमाल र लोहार जातिको बसोबास छ । ५४ परिवारको बसोबास रहेको पीपलगाउँको बीचैमा रहेको सार्वजनिक स्थानमा ३ वटा धारासँगै निर्माण गरिएकाे कान्तिपुरमा समाचार छ  ।

यीमध्ये थापा र कुँवरको प्रयोग गर्ने धारा एउटा छ भने दलित समुदायका कुमाल र लोहार जातिले प्रयोग गर्ने धारा अलग्गै छ । तेस्रो धारामा भने महिनावारी भएका र सुत्केरी महिलाहरूले मात्र प्रयोग गर्न पाउने नियम बनाइएको छ । दलितले छोएको पानी प्रयोग गर्दा अछूत हुने परम्परागत मान्यताका कारण पुस्तौंदेखि दुवै समुदायले पानीका धारा अलगअलग प्रयोग गर्दै आएका हुन् । ‘गैरदलितहरूले आफ्ना धारा हामीलाई प्रयोग दिँदैनन्, धारामा पसेको देखे गाली र हप्कीदप्की गर्छन्,’ दलित समुदायकी तारा कुमालले भनिन् ।

दलित भएकै कारण जगन्नाथका भुवन विकले नजिकैको पलुचौर बजारको होटलमा खाना र बास पाएनन् । होटलमा खाना अर्डर गरेर खान बस्दा होटलका साहुले भुवनको परिचय मागे । उनले नढाँटी आफ्नो परिचय दिनेबित्तिकै दलितले आफ्नो होटल छुई गरेको आरोप लगाउँदै तथानाम गाली गरे । उनी होटल भित्रबाट निकालिए । ‘केही बोलौं अन्यत्र होटलमा पनि खानै नपाइने डरले चुपचाप सहेर बसेँ,’ भुवनले भने । घरभित्र बास नपाएपछि उनी कर्णाली नदी किनारमा रहेको पिलुचौर बजारमा रातभर खुला आकाशमै बाहिरै बसे ।

त्यसै दिन कोटिलाका खन्टीबहादुर लोहारलगायत २० जनाको समूहले समेत पिलीचौरमा बास पाएन । पिलीचौरमा बास पाउने अवस्था नभएपछि रातारात घर फर्किएको लोहारले बताए । दलितहरू अझै पनि ग्रामीण क्षेत्रमा मठ–मन्दिरभित्र प्रवेश पाउँदैनन् । बाजुरामा धेरैजसो मन्दिरमा दलित समुदायका लागि बस्ने ठाउँ नै बेग्लै बनाइएको हुन्छ । ‘मन्दिरभित्र पस्यो भने देउता रिसाएर अनिष्ट हुन्छ भन्ने डरले हाम्रो समुदाय भित्र पस्दैनौं,’ छेडेदह गाउँपालिका खातीगाउँका प्रेम विक भन्छन् ‘हाम्रा लागि अलग्गै ठाउँ बनाइएको हुन्छ, त्यहीँबाट फूलपाती चढाउने हो ।’

दलित समुदायका व्यक्तिले गैरदलितका दुहुना गाईभैंसीलाई भूलवश छोए पनि सजाय भोग्नुपर्ने अवस्था हुन्छ । दलितले छोएमा दुहुना पशुले दूध कम दिने र दोस्रो पटक नब्याउने (बिग्रने) आरोप उनीहरूमाथि लाग्छ । मार्तडीका स्थानीय अगुवा प्रेम विक भन्छन्, ‘अहिले पनि सार्वजनिक स्थलहरूमा समेत दलितहरूले छुवाछूत तथा भेदभाव खेप्नुपर्ने बाध्यता कायमै छ ।’

सम्मानपत्र हैन साथ दिनुस् - गोपाल शिवा

मिडिया भनेकोे ‘आवाजविहीनहरूको पनि आवाज हो’ र विश्वभरि नै मिडियासम्बन्धी बनेको अवधारणा र मान्यता पनि यही हो । अझ पत्रकारिता राष्ट्रको चौथो अंग र अति नै संबेदनशिल पेशा भएकाले अत्यन्तै मर्यादित पनि छ। किनकि कुनै पनि समाजको विकास, प्रगति, र उन्नतिमा पत्रकारिता र पत्रकारको महत्वपूर्ण भूमिका हुन्छ । समाजमा सचेतना ल्याउने, समसामयिक घटनाहरूको बारेमा सत्यतथ्य सूचना लिएर त्यसलाई जिम्मेवारीपूर्ण तरिकारले सम्प्रेषण गर्ने, सही समाचार र सही जानकारी जनतामाझ पुर्याउने कार्यमा पत्रकारिताको योगदान अतुलनीय रहने र हुने कुरामा दुई मत छैन ।

प्रवासको पत्रकारिता भनेको प्रवासका नेपालीको लागि गरिने पत्रकारिता हो । कुवेतमा एक दशक अघि सम्म  कामको व्यस्तता र प्राविधिक कमजोरीका कारण नेपाली माझ मिडियाको महत्व त्यति बढी सकेको थिएन । केही जागरुकहरुले झन्डै दशक अघि देखि मिडिया चलाए पनि समग्र नेपालीहरु सम्म त्यति पुग्न सकेको थिएन र एक किसिमले मिडीयाको महत्व पनि बोध भएको थिएँन  । तर पछिलो केहि बर्षमा झन्डै एक लाख भन्दा बढी नेपाली रहेको कुवेतमा मिडिया मात्र एक दर्जन पुग्न लागि सके । यस बाट एकातिर हामी आम नेपालीहरु सत्य र तथ्य युक्त समाचारका भोका हौँ भनेर प्रस्ट छ। भने अर्को तिर संसारको जुन जुन ठाउँमा हामी नेपाली समुदाय बढ्दै जान्छौ त्यहा अनलाइन पोर्टलहरु खोलेर सुचनाको सम्बाहक बनेर  नेपालीहरू बिच सम्बन्ध सेतुको काम गर्न हामी नेपाली पछी हट्दैनौ भन्ने स्पस्ट पारेको छ ।

आफ्नै चुनौती र अप्ठ्याराहरुको सामना गर्दै कुवेतमा रहेका नेपाली समाजमा सुचनाको हकलाई सू सुचित गराउने गहन जिम्मेवारी बोकेर अन्यायमा परेका नेपाली कामदारका विषय तथा आम नेपाली समुदायका गतिविधी पत्रकारिता मार्फत उठान गर्दै नेपाली मिडियाहरुले आएका छन् ।यसरि उठान गर्दा पत्रकारिताले देशको, नेपाली समाजको कमी कमजोरी देखाएका छन् र ती कमी कमजोरीहरु सुधार्ने बाटोसमेत सुझाएका छन् , नेपाली समुदायका चाहना आकांक्षा एव आवाजविहीनहरूको आवाजलाई प्रनिनिधित्व गर्दै सरकारसमक्ष पुर्याउँदै आएका छन  । अनि नेपाली नागरिक लाई सरकारका भावी कार्यक्रमबारे सुचित गराउँने देखि घरेलु कामदारमा आएर दुख पाएको चेलीबेटीहरुको आवाज उठाउँदै आएका छन  ।तलब नदिएर भोकभोकै अलपत्र परेकाको नेपालीको पुकार बनेका छन । बिना बाउको सन्तान सहित आफ्नै दिदीबहिनीहरु घर फर्किन लागेको कुराले भोलि सामाजिक बिकाराल रुप लिन सक्छ भनेर खवरदारी गर्दै आएका छन  । लागु औषध , अपराधिक क्रियाकलापमा नेपाली समुदाय मुछिएको कुराले नेपाली समाजमा चिन्ताको बिषय थपिएको भनेर कुरा उठाउँदै आएका छन  । नेपालीहरु आपत बिपतमा परेकोहरुको  पीडालाई जस्ताको त्यस्तै टिपेर मनकारी सम्म पुराएर सहयोग जुटाउदै आएका छन् ।  नेपाली समाज र दुतावास बीच सम्बन्ध सेतु बन्ने देखि  यिनका गतिबिधि संसार भरि प्रवाह गरेर सुचित गरेका छन् ।

तर अहिले देखिएको सत्यता के हो भनेः कुबेतमा नेपाली पत्रकारिता अहिले यस्तो संघारमा उभिएको छ कि हरेक धु्रवबाट थिचिएको छ । आफु भित्रैबाट, बाहिरबाट, तलबाट र माथिबाट । समग्रमा भन्नु पर्दा कुबेतमा नेपाली पत्रकारिताले जस कम अपजस वढि कमाएको छ । फलस्वरूप एक प्रकारको आशंका, पत्रकारिता र पत्रकारलाई दुश्मन देख्ने समाजका बुद्धिजीवीहरु पत्रकारितालाई लाइ बन्द गर्ने र पत्रकारको मुख बन्द गराउने प्रयास समेत भैरहेका छन् । भने अर्को तिर दर्जनौ मिडिया नेपाली समुदाय लक्षित् भएर खुले पनि यो प्रवासमा नेपाली समुदायको हकहितको आवाज दरिलो बनेर उठाउने पनि हिम्मत पत्रकारमा छैन किनकि एक थरि पत्रकारितामा चासो र हुट्हुटिले प्रवेश  गरेका छौ ।भलै  पत्रकारीताको क्षेत्रमा प्रवेश गर्नको लागि न कुनै शैक्षिक योग्यताको  सर्टिफिकेट न कुनै क्षेत्रमा काम गरेको अनुभवको नै चाहिन्छ तर जो पत्रकारिताको अभ्यास गरिरहेको छौ न त्यो हाम्रो खास पेसा पत्रकारिता हुन सकेको छ नत पत्रकार नै बन्न सकेका छौ । फलस्वरूप सार्वजनीक सरोकारका विषयहरुप्रति  गद्धारी र लज्जापन पचाएर मुकदर्शक वा एकपक्षीय वनेर बसी दिन्छौ अनि श्रीमान प्रदेश गएको बेला श्रीमती पोइला गएको , कुकुरलाई संगिनी सुई लगाएको,गोरु काटेर खानेहरूलाई जेल हालेको समाचार छाप्नु, प्रचारप्रसार गर्नु नै धर्म ठानी रहेका छौ । यसो त कुनै भुल हुंदै हुंदैनन् गर्दै गर्दैनन् भन्न सकिन्न तर प्रतिस्पर्धाको वा सस्तो लोकप्रियताको नाममा पस्किएका आलोकाँचो समाचारले समाजलाई पत्रकारिता प्रति बिस्वश्नियता हराउन नदिउँ ।सानोमात्र गल्तिले पनि समाजमा ठुलो नोक्सानी पुर्याउन सक्ने भएकाले हरेक अवस्थामा सावधानी अपनाउन र जिम्मेवारि बनौ ।यसो भनेर पत्रकार र पत्रकारिता प्रति वितृष्णा पैदा गराउने मेरो अभिप्राय होइन । कदापि होईन ।पत्रकारीता क्षेत्रमा लागेर अनुकरणीय काम गर्ने नया र अग्रज पत्रकारहरु प्रति म सधै नमन गर्छु ।

पछिल्लो केहि बर्ष मिडियामा अबाद्द भएर समाजमा भिजे पछी नेपाली समाजको अपेक्षा र चाहना के हो भन्ने बुझ्न सिकायो । समाजका ठुला र पहुच भएका हरेक कार्यक्रममा समानित हुनेहरुको बोली र ब्यबहारमा अर्थहरु कहाँ लुकेको हुन्छ हेर्न सिकायो । सामान्यतया यिनको ब्यबहारले नेपाली समाजमा बर्षौ देखि थेक्रिएर  बसेको आचरणको ढुंगालाई नचलाई तरङ्गको छाल र बाछिटा टिपेर अपबादमा समाचार लेखने पत्रकार बनायो ।यदि अपबादमा कसैले यो मझादार बाट बाहिर निस्केर अहिलेसम्म पनि राज्यद्धारा दबाइएका वा पछाडि पारिएका र यता आएर दुख पाएका नेपालीहरुको बारेमा लेख्यो भने कि त त्यसलाइ वर्ग स्वार्थका तक्मा भित्र बाहिर सवै तिर बाट छाती भरि लगाई दिने काम हुन्छ कि त त्यसलाई आचरणको ढुंगा टिपेर रक्ताम्य पारिन्छ । तर यो दृश्य देखेर सहकर्मी, समाज ,  समाजसेवी एवम् वुद्धिजीवीवर्ग अनि समाजका दर्जनौ संघ सस्थाहरु मौन भएर टुलुटुलु हेरीरहेको पनि देखियो  ।

मेरो लेख कुनै व्यक्ति, संस्था र पार्टी प्रति ईङगीत गरेको पनि हुदै होईन । तर उदेक लाग्दो कुरा त के छ भने आवाज विहिनहरुको आवाज हो पत्रकारीता’ भन्ने बुझेर पनि समाजलाई सु–सुचित बनाउने पत्रकारको दायित्व निर्वाहा गर्दा एउटा पत्रकार रक्ताम्य बनेको देखेर नबोल्ने संघ सस्थाहरुले सस्थाको कार्यक्रममा बोलाएर खादा लगाई सम्मान गरेको नि देखियो ।यसरी खादा लगाई सम्मानपत्र दिनुको के अर्थ ? सुचनाको स्रोत र संरक्षक समाज नै हो, समाजमा आमूल परिवर्तन र आममानिसको सोचमा परिवर्तन ल्याउन सुचित हुन् जरुरि छ किनकि राजनीतिक आस्था र आफ्नो स्वार्थपुर्तिको लागि बनाउने समाचार होश या समाजसेवाले कहिल्यै समाज परिवर्तन गर्न सकिदैन ।  त्यसैले आग्रह छ सम्मान पत्र हैन सत्य तथ्य लेख्ने पत्रकारलाइ साथ् , बोलिदिनुस किनकी पत्रकार भनेको  कुनै जात, कुनै पार्टी र कुनै रङ्ग बिनै यो समाज लाइ सुधार गर्न समाजको पहरेदारी गर्ने व्यक्ति /सस्था हो ।

 तसर्थ गहन जिम्मेवारीका साथ कुवेतको नेपाली दुतावास ,नेपाली संघ सस्था र नेपाली मिडियाले विगतका कमि कमजोरीलाई भुलसुधार गर्दै आफ्नो भुमिकालाइ सच्याउदै कुवेतमा रहेका नेपालीहरुको सम्श्यालाई निराकरण गरेर , एक अर्कामा भाइचाराको सम्बन्ध स्थापाना गरेर  सम्पूर्ण नेपालीहरुको जात, भाषा,धर्म र सस्कृतिलाइ समेटेर समग्र नेपालको सामाजिक, आर्थिक तथा पर्यटन विकाशका लागि भुमिका खेल्नु पर्छ  । हामि सवैको भावी जिम्मेवारि भएकोले बेलैमा अलि फराकीलो दिमागले सोचौ किनकि  संसार बदल्नको लागि सुरुवात आफैँबाट गर्नुपर्छ । 

यो समाजको कस्तो रित हो, वाह…!- ई. डम्बर बहादुर सुनार

विभेद बिरुद्ध अभियान - चैत्र १०- -“बनु सत्यबादी पढु नित्य बिद्या हटाऊ सबै चित्त देखि अबिद्या “, कवि शिरोमणी लेखनाथ पौड्यालद्धारा लिखित यो उक्तिले जनाउँदछ कि बिद्या त्यस्तो शक्ति हो जसले मानिसलाई अज्ञानताको संसारबाट ज्ञानलोकमा पुर्याउँदछ । आमा बुबाले आफ्नो सन्तानलाई राम्रो शिक्षा हासिल गरेको देख्न चाहान्छन् अनि समाज र देशमा एउटा प्रतिस्ठित नागरिकको रूपमा स्थापित भएको देख्न चाहान्छन। कुनै पनि देशले हरेक नागरिकको अनुहारमा शिक्षा र ज्ञानको प्रतिबिम्ब झल्केको देख्न चाहन्छ। शिक्षित नागरिकबाट देशले जति आशा गर्दछ शायद अशिक्षित नागरिकबाट त्यो कुराको आभास देशले गर्दैन ।

बिद्या आर्जन गर्ने थलोलाई स्वायत्त अनि पवित्र क्षेत्रको रूपमा हेर्ने गरिन्छ जहाँ सत्य अनि न्यायसंगतीको कुरा अंगाल्नुलाई प्राथमिकतामा राखिन्छ। जहाँ सबैलाई एउटै आँखाले हेरिन्छ र सबै समान ब्याबहारको हकदार मानिन्छन्। त्यो क्षेत्र जसलाई देवी सरस्वतीको मन्दिर पनि मानिन्छ जहाँ अनिवार्य रूपमा बाल्यकाल देखी अधबैश अवस्था सुरु हुने अवस्था सम्म त्यो मन्दिरका निरन्तर पूजाको यात्रा तयार भएको हुन्छ, अहिलेको समाजमा सभ्य नागरिकको दर्जा हासिल गर्नलाई।

भनिन्छ शिक्षा एउटा त्यस्तो आवाज हो जसले आवाज बिहिनहरुलाई आवाज प्रदान गर्दछ, अपाङ्गको साहारा बन्दछ, असफलतमा सफलताको मलम लगाउँदछ, कमजोरीलाई ताकत प्रदान गर्दछ, सृष्टि बिहिन हरुलाई दृष्टि प्रदान गर्दछ, अज्ञानीलाई ज्ञानको ढोका खोल्दछ, अबिकशितलाई विकासको आयाम दिलाउँदछ, अध्ँयारोमा बिजुली बनेर मार्ग निर्देश गर्दछ अनि ज्ञानले कुबेरको साख पनि झार्दछ। यही ज्ञानको पुञ्जमा सिकाईन्छ मानिस सामाजिक र चेतनशिल प्राणी हो, सबै मानिस बराबर र समान हुन्छन्, कोही मानिस जात र धर्मको आधारमा सानो र ठुलो हुँदैन, राष्ट्र र समाजको आँखामा सबै समान हुन्छन् जसलाई मानव धर्म पनि भनिन्छ भनेर अनेक थरी ज्ञानका कुराहरू सिकाइन्छन्।

अनि विज्ञान विषय पढीरहदा हरेक विद्यार्थीले पढ्छन कि मानिसको शरीरमा ७ % देखी ८ % रगत हुन्छ जुन रगत ४००० विभिन्न कुराहरूको समिश्रण बाट बनेको हुन्छ। त्यही रगतमा ईरिथ्रोसाइट, ल्यूकोसाइट, प्ल्याटिलेट्स र प्लाजमा लगायत अन्य थुप्रै कुराहरू हुन्छन् जुन हरेक मान्छेको रगतमा हुन्छ। सजिलो अर्थमा बुझ्नलाई रगत रातो हुन्छ भनेर बुझिन्छ। चाहे त्यो मान्छेको वर्ण गोरो होस् या कालो, अग्लो होस् या होचो, मोटो होस् या पातलो, धनी होस् या गरिब र समाजले भन्ने गरेको सानो जात होस या ठुलो जात, संसारमा सबैको रगत एउटै रगंको हुन्छ मात्र, रातो। देशको मूल कानुन अर्थात् संविधान जहाँ सबैको अधिकार र सुरक्षको प्रत्याभुती भएको हरेक जनताले आभास गरेको पाइन्छ र त्याहा प्रत्याभुतीका खातिर नछुट्याइकन लेखिएको हुन्छ कि कुनै पनि मानिसलाई धर्म, संस्कृति, जात, भाषा, वर्ण आदिको नाममा भेदभाव गर्न पाईदैन र यदि कसैले त्यसो गरेको पाइएमा कानुनको नजरमा दोषी ठहरी कानुनबमोजिम सजाए दिईनेछ।

आज विश्व २१ औ सताब्दीको पाइला द्रुत गतिमा अगाडि बढाउँदै छ, जहा को बढी विकसित हुने भन्ने होडबाजी चलिरहेको बेला, को देश विश्वमा अरू भन्दा अझ बढी शक्तिशाली र सभ्य हुने भन्ने रस्साकस्सी चलिरहेको बेला, मानिस अर्को ग्रहमा पुग्नलाई खोज र अनुसन्धानको गतिलाई तीव्रता दिइरहेको बेलामा केही वर्ष पहिले मात्र नयाँ ग्रह पत्ता लागिरहँदा एउटा शिक्षको मन्दिरमा जातको प्रसङ्गले १७ जनवरीको घटना मानव समाजको बिचमा आउदै गर्दा कसको मनमा चस्को नपस्ला र ? अनि को स्तब्ध नहोला र ? कसको मन बैचन नहोला र? को मान्छे अचम्म हुँदैन र ? एक वर्षमा ३६५ दिन हुन्छ यो आकडा न त १ दिन घटेर ३६४ नै हुन्छ न त १ थपिएर ३६६ दिन नै हुन्छ वार्षिक पात्रोमा, तर १७ जनवरी प्रकृतिका घटना हजारौँ यो संसारमा भईरहन्छन निरन्तर निरन्तर। विश्वको सबैभन्दा ठुलो प्रजातान्त्रिक मुलुक भनेर आफूलाई दाबी गर्ने भारतमा अझ पनि अप्रजातान्त्रिक घटनाहरुले समाजलाई उथलफुतल पार्ने कार्य भई रहदा प्रजातन्त्रको परिभाषा के हो भनेर सोध्ने बेला आएको छ भन्ने कुराको बोध दिलाएको छ।

१ अर्ब २६ करोड जनसङ्ख्या भएको विश्वको सबैभन्दा ठुलो प्रजातान्त्रिक मुलुकको दर्जा पाएको भारतमा जहाँ ६७४३ जात जातीका मानिसहरूलाई फुल्न र फल्न पाउने अधिकार दिइएको भन्ने बुझिन्छ। १६.६ % जनसङ्ख्या भएको दलित जाती अर्थात् २१.१४ करोड जनसङ्ख्याले अझै पनि फल्न र फुल्न पाउने अधिकार बाट वञ्चित गरिएको ताजा उधारण हो रोहित चक्रवर्ती भेमुलाको आत्माहत्या प्रसङ्ग। त्यो पनि शिक्षाको मन्दिरमा, हैदराबाद सेन्ट्रल यूनिभर्सिटी सबैको मानसपटलमा गुञ्जेको नाम हो, यो विश्वविद्यालय। जुन विश्वविद्यालयका एक जना रोहित भेमुला नाम गरेका दलित छात्रले जातकै कारणले कलेज प्रशासनबाट झेल्नु परेको अवस्था र विडम्बनाले गर्दा आत्महत्या गर्न बाध्य भएको घटनाले, “पढायो पढायो पाठ सोह्र दुना आठ” भएको कुरा झल्केको छ। जुन ठाउँमा जातीय छुवाछुत दण्डनिय अपराध हो भनेर सिकाइन्छ त्यही ठाउँमा सिकाउनेले नै शिक्षाको धर्म बिर्सेर अपराधयुक्त ब्यावहार एउटा पी.एच.डी गरिरहेको दलित छात्रलाई गर्दा अरू दलितहरु जो न्यायको पहुँच भन्दा बाहिर छन् उनीहरूले कानुनी राज्यको प्रत्याभूती भएको कसरी ठान्छन र प्रजातन्त्रिक मुलुकको जनता हौ भनेर विश्वस्त हुने आधार के ? भन्ने खालका प्रश्नहरुले मन मस्तिकमा स्थान पाउनु अस्वभाविक ठान्नु हुँदैन।

भारतमा १२२८ दलित जाती छन् जुन अझै पनि दिनानु दिन जातीय छुवाछुत जस्तो जघन्य अपराधबाट मुक्त हुन सकेको छैन। भावनात्मक रूपमा कोमामा जानु परेको अवस्था र विभिन्न तरिकाले प्रताडित हुनु परेको अवस्था छ। यही भारत हो जहाँ १ वर्षमा मात्र ४७ हजार उत्पीडनका घटनाहरू मात्र दलितका दर्ता भएका हुन्छन्। २ हजार भन्दा बढी दलित महिलाहरू १ वर्षमा बलत्कार भएका घटनाहरू आकडमा पाइन्छ। जात दलित भएकै कारण र अम्बेडकर विद्यार्थी सङ्घको राजनैतिक क्रियाकलापमा संलग्न भएको विषयलाई नजिर बनाउदै कलेज प्रशासनका माफियाहरुले रोहितलाई पी.एच.डी गाईडको पनि व्यवस्थामा ढिलाइ गर्नु अनि मासिक रूपमा छात्रवृत्ति बापत विद्यार्थीले पाउनु पर्ने २५,००० रुपैयाँ रकम उपलब्ध गराउनबाट वञ्चित गराउनु, दलित भएकै कारण छात्राबासबाट निकालिनु परेको अवस्था, विभिन्न समयमा अनावश्यक मानसिक तनाव कलेज प्रशासन बाट दिईनु र यस्ता अन्य थुप्रै कारण बाट एउटा बिधार्थीलाई तनावका तीरहरु प्रहार गरिरहँदा यो कलीयुगामा रोहितले काहाँबाट भिष्म पितामह जस्तो बरदान लिएर आएका थिए र जो मृत्युलाई जित्न सक्थे। सम्पूर्ण रूपमा यो दोष कलेज प्रशासनका अधिकारीहरू रहेको कुरा आम जगतले बुझेको सन्दर्भलाई आफूलाई कानुनी राज्यको मसिहा ठान्ने भारत सरकारले दोषीलाई कारबाहीको दायरा ल्याउन सकेको खाई? के प्रजातान्त्रिक मुलुकको धर्म यही हो ? के सत्यको पक्षमा यो सरकारले काम गर्न सक्दैन ? यदि दोषीलाई कानुनको दायरामा ल्याएर कारबाही गर्न सक्दैन भने यो देशले प्रजातन्त्रको बिल्ला भिर्न छोड्नुनै उपयुक्त हुन्छ। यो घटनाले देशको कानुन माथि गम्भीर प्रश्न उठेको छ।

दलित भएकै कारण छोईन्छ भन्नेहरु, दलितहरु दोस्रो दर्जाको नागरिक हुन भन्ने ठान्नेहरु कम्तीमा ५ मिनेटको लागि दलित भएर अनुभूति गरी हेर भित्रको पिडा कस्तो हुन्छ, भित्र भित्रै दलितहरु ज्यूदै कति पटक मर्दा रहेछन् भन्ने कुराको अनुभूति भएपछि बल्ल थाहा हुन्छ के हो दलित भनेको। झिनो सोच पालेर बसेकाहरु एक पटक गम्भिरता पूर्वक यो समाजको संरचना र प्राकृतिक दायित्वलाई पनि बोध गर्नुपर्ने र सिक्नुपर्ने अहिले आवश्यकता देखिएको छ। लोहार जातीले फलामको काम गर्छन् राम्रो भगवानको मूर्ती र घण्ट बनाएको हुन्छन्। त्यो मूर्ती र घण्टले मन्दिर भित्र प्रवेश पाउछ तर त्यसको निर्मातालाई मन्दिरको गेटमा रोकिन्छ र भनिन्छ तिमी भित्र पस्यौ र पूजा गर्‍यौ भने देउता रिसाउँछन र पृथ्वीमा अनिष्ट हुन्छ, अनिकाल पर्छ अनि प्राकृतिक संरचना भताभुङ्ग हुन्छ। यदि त्यसो हो भने दलितले बनाएको घण्टी बजाएर भगवानको मूर्तीलाई खुसी पार्छु भन्नेले किन सोच्दैनन कि त्यो घण्टी छुदा आफू पनि छोइन्छु भनेर। एउटा सुनको काम गर्ने दलितले बनाएको गहनाले आफूलाई सन्दरता देखाउनका लागि पहिरदै गर्दा त्यो गहनाले आफू पनि छोइन्छ भन्ने कुरालाई किन बिर्सन्छन? एउटा दलितले साह्रै मेहेनेत गरेर लुगा सिलाउँछ र त्यही लुगा लगाईरहदा किन सम्झिन चाहान्न कि त्यो लुगाको माध्यम बाट छोईन्छ भन्ने कुरा? एउटा दलितले बनाएको जुत्ता प्रयोगमा ल्याउदै गर्दा किन सोचिन्न कि त्यो जुत्ताले छोईन्छ भन्ने कुरा? यस्ता कैयन प्रश्नहरू संगाल्ने हो भने एउटा कृति नै तयार हुन्छ तर कानमा तेल हालेर बसेको मान्छेले यसको अर्थ कहिल्यै पनि सुन्न सक्दैन। चाहे त्यो जति नै ठुलो ओहदामा बसेको किन नहोस या जति नै ज्ञानि किन नहोस। यो समाजमा एउटा जनावर त छुत हुन्छ तर मानिस अझै पनि अछुत भएर ज्यूनु परेको छ २१ औ शताब्दिमा।

एउटा कुकुरलाई घरको सदस्य बनाएर राखिन्छ र पालन पोषणका निम्ति मनग्य खर्च गरेर राखिन्छ तर एउटा दलित जातिलाई छुत समाजले सामाजिक कार्यक्रमको हिस्सा बनाउने कुरा त परै जाओस बाटोमा हिड्दा पनि छोईन्छकि भन्ने डरले दुरी राखी यात्रा गरेको उदाहरण हाम्रा सामु प्रस्ट छन्। एउटा कुकुर मर्दा कुकुरले सम्मान पूर्वकको अन्त्यष्टिको भागेदार हुन्छ तर दलित त एउटा यस्तो जाति जिउँदो रहदा मात्र होइन मर्दा पनि छुत हुनुपर्ने यो कस्तो विडम्बना। यो समाजको कस्तो रित हो, वाह…! बधाई छ यो रितको जन्मदातालाई। श्रृष्टिकर्ता लाई पनि धन्यवाद छ जन्मदैनिधारमा यो दलित भनेर छाप लगाएर पठाएकोमा। यस्तो अचम्मको दृष्टिकोण आखिर कहिले सम्म? अन्तर्जातिय विवाह गरेकै बापत सजाय स्वरूप बिभत्ष हत्याको सिकार हुनु पर्ने हो ?अझै कति अजित मिजार हरुले हाम्रो देश नेपालमा मृत्युबरण गर्नु पर्ने हो ? अझै कति सन्ते दमाईहरुले अन्तर्जातिय विवाह गरे बापत समाजको बहिष्करणमा जिन्दगी यापन गर्नु पर्ने हो ? छोई छिट्टो को नाममा अझ कति बच्छे बि.कि हरुले हाम्रो देशमा कुटा ई खाई रहनु पर्ने हो ? अझै कति नन्दसिंह भुल हरुले सहरमा डेरा नपाएर पढाई छोड्नु पर्ने अवस्था हुने हो ? चुल्हो छुएको निहुँमा अझै कति मनबिर सुनार हरुले आफ्नो ज्यान गुमाउनु पर्ने हो ? अझै कति रोहित भेमुलाहरुले शाहदत प्राप्त गरे भने दलितहरु यो ऋणबाट मुक्त हुन्छन् ? यो असमानता आखिर कहिले सम्म? यो भावनात्मक दूरीको खाडल आखिर कहिलेसम्म? यो समाजको आखाँ कहिले खुल्छ? यी तमाम प्रश्नहरुले सदियौ देखि उत्तर खोजी रहेका छन्। तर यी प्रश्नहरू पनि लाचार भएर बिबशताको चङगुलमा जवाफ विहिन भएर प्रतिबिम्बित मात्र भएका छन्। अझ भन्ने हो भने, यी प्रश्नहरू पनि अछुत भएर कोमामा बसेका छन्। यी प्रश्नहरुले पनि कहिले न्याय पाउँछन त्यो हेर्नलाई यी समाजका आँखाहरू प्यासी झैँ तिर्खा मेटाउने बाटो हेरिरहेका छन्।

जिम्बाबेका राष्ट्रपति रोबोट मुगाबेले एउटा भाषणमा दिएको रङभेद सम्बन्धी बिचारले साह्रै नै चर्चा बटुलेको थियो। उनले भनेका थिए – “रङ्गभेद तबसम्म रहन्छ जबसम्म सेतो गाडीमा कालो पाङ्ग्राको प्रयोग गरिन्छ। जबसम्म सेतो रङलाई शान्तिको प्रतीक र कालो रङलाई अपशकुन मानिन्छ तबसम्म रङभेद कायमै रहन्छ। जबसम्म वैवाहिक कार्यक्रममा सेतो पहिरन र पार्थिव कार्यक्रममा कालो पहिरनको प्रयोग रहन्छ तबसम्म रङभेद कायमै रहन्छ। भेदभाव त्यति बेला सम्म रहन्छ जबसम्म बिल नतिर्ने हरुको नाम कालो सूचिमा निकालिन्छ न कि सेतो सूचिमा , स्नुकर खेल खेल्दा पनि कालो बललाई दुलोमा छिराई सेतो बल बोर्डमा रहे मात्र खेल जितेको मानिन्छ। तर जबसम्म मैले दिशा गरीसकेपछि सेतो ट्वाइलेट पेपरले मेरो कालो मलद्धार सफा गर्छु तबसम्म मलाई यी कुराले कुनै फरक पर्दैन”। रङभेद पनि एकताका पश्चिमा संकृतीमा मौलाएको थियो तर आज समाजको विकास र प्रविधिको विकास सँगै यो संस्कार हराएको छ। भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले डिजिटल ईन्डिया भन्दै गर्दा सदियौ देखी जकडिएर रहेको यो परम्परा अहिले पनि विद्यमान भइरहदा भारतलाई डिजिटल ईन्डिया भन्न कति सुहाउँछ त्यो बहसको विषय बन्न गएको छ अहिले।

के दलित त्यो जात हो जसले आत्मसम्मान साथ देशको सम्मानित नागरिक भएर जिउन पाउने अधिकार छैन र? यो प्रश्नको जवाफ कस्तो हुने भन्ने बहस अहिले उठेको छ। देशलाई स्वतन्त्रता चाहिने बेलामा दलितहरुले बगाएको रगतले भारत माता नछोइने, देशलाई अङग्रेजहरुको पञ्जाबाट मुक्त गराउने बेलामा दलितहरुसंग छुत जातिले हातेमालो गर्दै लडाई लड्दै गर्दा नछोइने तर आज एउटा विद्यार्थी जो सभ्य समाजको यात्राको निर्माणको लागि शिक्षा सबै भन्दा प्राथमिकता हो भनेर पढ्नबाट तिरस्कृत भएर छात्राबासबाट निकालिनुपर्ने यो कस्तो खालको समाज हो? २००७ सालको देशको आमूल परिवर्तनमा दलित हरू सहभागी हुँदा कथित उपल्ला जातका नेताहरू नछोईने, २०४६ र ६२६३ सालको जनाआन्दोलन र ब्यव्स्था परिवर्तन को नाममा दलितहरु साहदत प्राप्त गर्दा अछुत नहुने तर जब सामाजिक चाड- बाड र सांस्कृतिक कार्यक्रममा भने अछुत हुने, आखिर यो कस्तो व्यवस्था ? १० बर्से जनयुद्दमा होमिदै गर्दा दलितहरु अछुत हुने र खुल्ला राजनीतिक व्यवस्था र लोकतान्त्रिक समाजमा फेरी छुत जातिको दर्जा भिर्नु पर्ने यो कस्तो व्यवस्था हो ? त्यसो हो भने १३० करोड भारतीय जनताको भविष्य लेख्ने बाबासाहेब अम्बेडकरले लेखेको संविधान भारत देशका ब्राहमणबादीका लागि किन छोइएन? खासमा नेपालीमा एउटा भनाई छ– “चाहिएको बेला भाडो नत्र ठाडो”। हो दलित जातीलाई त्यही नजर बाट हेरीन्छ। जतीबेला यो समाज यो देशमा दलितहरुको आवश्यकता बोध हुन्छ त्यति बेला मात्र उनीहरूको प्रयोग गरिन्छ नत्र “चुइगम” जसरी बेवास्ता गरिन्छ।


यो समाज पौरखमा बाच्ने समाज हो, यो समुदाय देशको गहना हो। यो समुदाय देशको सम्पति हो। माथि उल्लिखित तमाम वास्तविक प्रश्नहरूको जवाफ देशले खोज्ने प्रयास नै नगरेको हो या जवाफ दिन आवश्यक नठानेको हो। यदि त्यसो हो भने समाजले यसको जवाफ दिएर देश लाई सजक बनाउनु एउटा सभ्य समाजको दायित्व हुन्छ। यदि त्यसो होइन भने, समयैमा यस समाजको बृहत्तर हितको व्यवस्था गरेर अरू समाजको जस्तै दर्जामा राख्दै सही प्रजातान्त्रिक मुलुकको उदाहरण दिनु भारत र नेपालको दायित्व हो। होइन भने, सधैँ भरी दलित जस्तै दलित सवालका प्रश्नहरू पनि छुत नै छन् भनेर अन्बेषणको भागेदार नभई प्रश्नहरू अनुत्तरित रहिरहेने छन् ।

(लेखक ने. बि. सङ्घका नेता हुन्  ) 

झन्डै हजार वर्षपछि डोल्पाका दलितले सामूहिक रूपमा त्रिपुरासुन्दरी भगवतीको मन्दिर प्रवेश गरे

विभेद बिरुद्ध अभियान - चैत्र १० -डोल्पा । डोल्पाको त्रिपुरासुन्दरी नगरपालिकको टाँके डाँडामा अवस्थित प्रसिद्ध बालात्रिपुरासुन्दरी भगवतीको मन्दिरमा पहिलो पटक यहाँका दलितले प्रवेश पाएका छन्।

पौराणिक ग्रन्थअनुसार यो मन्दिर विसं १११४ भन्दाअघि निर्माण गरिएको बताइन्छ । मध्यपश्चिमकै प्रसिद्ध धार्मिक पीठ मानिने त्रिपुरासुन्दरी भगवतीको मन्दिरमा डोल्पाका दलितले करीब ९६० वर्षपछि सामूहिक रूपमा मन्दिर प्रवेश गरेका छन्।

पटक पटक मन्दिर प्रवेशमा असफल हुँदै आएका डोल्पाका दलितहरूले पहिलो पटक मन्दिरमा सामूहिक रूपमा पूजा गर्न पाएका स्थानीय मनबहादुर सार्कीले बताए। मन्दिरसँगै जोडिएको बस्ती भए पनि उनीहरूले कहिल्यै मन्दिर प्रवेश गर्ने अवसर पाएका थिएनन्।

गैह्रदलितहरूले मात्र प्रवेश पाउने गरेको डोल्पाको बालात्रिपुरासुन्दरी भगवती मन्दिरमा पहिलो पटक मन्दिर प्रवेश गरेर दलितहरूले पुजारीबाट टीका अक्षता ग्रहण गरेका छन्। साथै यसबाट आफूहरू निकै खुसी भएको र दलित आन्दोलनको अभियानमा थप हौसला मिलेको उनीहरूले बताएका छन्।

झण्डै ८० प्रतिशतसम्म जातीय भेदभावको अवस्था रहेको डोल्पाका मठमन्दिरमा सामूहिक रूपमा दलितहरूले प्रवेश गरेर पूजा गर्दा दलित मुक्ति आन्दोलनको गतिलो सन्देश गएको अन्तरपार्टी महिला सञ्जालकी अध्यक्ष काली चलाउनेले बताइन्। उनले भनिन्, ‘अब कुनै पनि दलितले मन्दिर प्रवेशबाट रोक हुनुपर्ने अवस्थाबाट वञ्चित हुनुपर्ने अवस्था आउँदैन।’

उपल्लो जातले दलितहरूलाई हेर्ने र गर्ने व्यवहार र विचारमा परिवर्तन ल्याउन सक्नु र दलितहरूले पनि आफ्नो व्यवहारमा परिवर्तन ल्याउनुपर्ने ६० वर्षीया हैता सार्कीले बताइन्।

स्थानीय दलित अगुवा मनबहादुर सार्कीले ०६४ असोज २८ गते विजयादशमीको दिन पहिलो पटक आंशिक रूपमा मन्दिर प्रवेशको प्रयास गरे पनि सफल नभएको र यस पटक नेपालको संवैधानिक कानुनले दिएको अधिकारलाई उपयोग गर्दै नागरिक अगुवाको नेतृत्वमा २२ जना दलितले मन्दिर प्रवेश गर्न सफल भएको बताए।

Friday, March 23, 2018

राजनीतिक परिवर्तनमा दलित समुदायको उच्च योगदान – प्रम ओली

विभेद बिरुद्ध अभियान - चैत्र ८ ,प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल एकिकरणदेखि हालसम्म भएका सम्पूर्ण राजनीतिक संघर्षमा दलित समुदायको योगदान उच्च रहेको बताउनुभएको छ ।त्रिपन्नौँ अन्तर्राष्ट्रिय जातीय विभेद उन्मुलन दिवसका अवसरमा उहाँले आज दिनुभएको शुभकामना सन्देशमा परम्परागत कुसंस्कारका कारण नेपालमा अझै पनि जातीय विभेद कायम रहनु दुःखद् रहेको छ भन्नुभयो ।

प्रधानमन्त्री ओलीेले सरकारले आगामी दिनमा सबै समुदायलाई आत्मसम्मानका साथ बाँच्न पाउने आधार तय गर्ने उल्लेख गदै संविधानको प्रस्तावनामा नै सबै प्रकारका विभेदको अन्त्य गरिनेछ भन्ने व्यवस्था भएकोले सरकार त्यसको प्रभावकारी कार्यान्वयन गर्न प्रतिवद्ध रहेको छ भन्नुभयो ।

दलित समुदायलाई राज्यको मूल प्रवाहमा ल्याउन सरकारका नीति तथा कार्यक्रमलाई दलित मैत्री बनाइने छ, उहाँले भन्नुभयो ।

सन् १९५९ मार्च २१ का दिन दक्षिण अफ्रिकाको तत्कालीन गोरा सरकारले काला जातिमाथि दमन गर्न रङ्गभेदी नीति लागू गर्दा काला जातिले विरोध गरेका थिए । उक्त विरोधको दमनमा ६९ जना कालाजातिको मृत्यू भएको स्मरणमा सन् १९६६ मा सबै प्रकारका जातीय विभेद उन्मुलन सम्बन्धी अन्तर्राष्ट्रिय महासन्धी पारित गरेको थियो । नेपालले सन् १९७१ मा सो महासन्धीलाई अनुमोदन गरेको थियो ।

“यस महासन्धीको नेपाल पनि पक्ष राष्ट्र भएकाले यसका सबै प्रावधानलाई कार्यान्वयन गर्न प्रतिवद्ध छ,” प्रधानमन्त्री ओलीले भन्नुभयो –“राज्यका हरेक अंग र निकायमा समानुपातिक समावेशी सिद्धान्त अनुसार दलित समुदायको प्रतिनिधित्व गराइएको छ ।”

स्थानीय तहको वडा स्तरमा दलित महिलाको अनिवार्य प्रतिनिधित्वको व्यवस्था सुनिश्चित गरिनुका साथै राष्ट्रियसभामा मुलुकका सातवटै प्रदेशबाट एक÷एक जनाको प्रतिनिधित्व गरिनु यस समुदायलाई राज्यको मुल प्रवाहमा ल्याउने एउटा प्रयास भएको छ, प्रधानमन्त्रीको सन्देशमा उल्लेख छ ।

२१ मार्च, दलित समस्या र राज्यको दायित्व - रमेश विश्वकर्मा

विभेद बिरुद्ध अभियान - चैत्र ८ ,कुनै कामहरु यस्ता हुन्छन जुन पुरा नहुन्जेल असम्भव देखिन्छन । दक्षिण अफ्रिकी स्वतन्त्रताका प्रतीक नेल्शन मण्डेलाको प्रख्यात भनाई हो यो । मण्डेलाले आफनो जीवनलाई दक्षिण अफ्रिकाको सामाजिक विभेद विरुद्धको चुनौतीपूर्ण अभियानमा समर्पण गरे, अन्ततः मण्डेलाले आफ्नो पुस्ता अनि भावी पुस्तालाई गोराहरुको पञ्जाबाट मुक्तमात्र गरेन्न विश्व मानव समुदायलाई स्वतन्त्रता र अधिकारको मिहिन ज्ञान सिकाए, खुल्ला किताब बनेर अस्ताए ।

शताब्दियौदेखिको अपमान र सामाजिक विभेदलाई निरन्तरता दिँदै गोराहरुले पास ल लाई आधुनिक अफ्रिकी समुदायमा कानुनी मान्यता प्रदान गर्ने क्रममा १९५२ मा फेरि संसोधन सहितको विभेदकारी नीति निर्माण गर्ने कुप्रपञ्च रचियो, जुन संशोधित पास ल का विरुद्धको संघर्षका क्रममा १९६० मार्च २१ का दिन दक्षिण अफ्रिकाको सार्प भिल्लेमा शान्तिपूर्ण आन्दोलनमा सहभागी ६९ जना मुक्तियात्रीहरुको तत्कालिन सरकारले गोली हानी हत्या गर्यो । यसै नरसंहारको परिणाम सन १९६६ मा मार्च २१ लाई संयुत्त राष्ट्र संघले रंगभेद विरुद्धको अन्तर्राष्ट्रिय दिवसको रुपमा घोषणा गर्यो ।

मानव अधिकारका सर्वमान्य सिद्धान्त विपरीत घटेको सार्पभिल्ले घटनाले विश्व समुदायलाई मानव अधिकार र सामाजिक न्यायका सम्बन्धमा नयाँ तरिकाले सोच्न बाध्य पार्यो ।

संयुत्त राष्ट्र संघ र यसका पक्ष राष्ट्रहरुले प्रत्येक वर्ष मार्च २१ लाई अन्तर्राष्ट्रिय रंगभेद विरुद्धको दिवसका रुपमा मनाउने गर्छन । यसको प्रभाव नेपाल र नेपालको दलित आन्दोलनमा सहभागी संघसस्थाहरुमा पनि परेको छ ।

आधुनिक विश्वमा दक्षिण अफ्रिकाको रंगभेद र दक्षिण एसियाली जाति भेदले मानव समाजमा विद्यमान विभेदको पराकाष्ठाको प्रतिनिधित्व गर्छ । हुन त दलित समुदायले भोगेको विभेदविरुद्ध भारतमा अम्वेडकरको नेतृत्वमा ठुलो संघर्ष पनि भयो तर यसको परिणाम सकारात्मक हुन सकेन ।

नेपाल, भारत लगायत सिंगो दक्षिण एसियामा विद्धमान जातिय समस्या यस क्षेत्रको सामाजिक राजनीतिक, आर्थिक विकास माथि चुनौती थपिदिएको छ भने मानव समाजमा विद्यमान यति विकृत समस्याका सवालमा राज्य र सरकार जिम्मेवार बन्न सकेको छैन । पछिल्लो समय हाम्रो सरकार, राजनीति अनि राज्यले यो समस्या दलितहरुको समस्याको रुपमा मात्र अर्थ्याएको छ भने नेपाली समाजमा विद्यमान जातीय छुवाछुत जस्तो समस्या गैरराजनीतिक समस्याको रुपमा स्थापित भएको छ ।

दलित समस्या मुलतः धार्मिक आवरणमा निर्माण भएको जातिय समस्यासँग जोडिएको सामाजिक चिन्तनभित्रको मानवीय व्यवहारको रुपमा स्थापित भएको छ । नेपालको सन्दर्भमा राजनीतिक विकासको उत्कृष्ट समयसम्म आइपुग्दा पनि दलित समुदायमाथिको सामाजिक विभेद विकृतरुपमा बाहिर आउन छोडेको छैन । यस समस्याका सवालमा न राजनितिले चिन्ता गरेको देखिन्छ न राज्यले ।

नेपाली राजनीतिले दलित समुदायको राजनीतिक नेतृत्व स्विकार गर्न नसक्नु यसको प्रमाण हो । नेपाली समाजमा विद्यमान विभेदै विभेदको घेराबाट विकास भएको दलित आन्दोलनले २१ मार्च मनाउँदै गर्दा केही गहन विषयमा छलफल र बहस गर्न जरुरी छ ।

नेपाली समाज धार्मिक आवरणभित्र विकास भएको परम्परागत सोच र विचार भएको समाज हो । राजनीतिकरुपमा भएको विकासले समाजको चिन्तन र सामाजिक व्यावहार मुख्यतयाः व्यक्तिगत व्यवहारसम्म परिवर्तन गर्न सकेको छैन । सामाजिक न्यायले सम्मान पाउन सकेको छैन, दलित समुदायलाई हेर्ने सामाजिक चिन्तनमा तात्विक फरक होला सामाजिक दृष्टिकोणलाई परिवर्तन गर्न सकेको छैन । सिंगो नेपाली समाज र दलित समुदाय विचको चुनौती यही हो । देशको राजनीतिलाई सामाजिक विभेदका सवालमा जिम्मेवार बनाउन सक्नुपर्छ ।

हाँस्यास्पद कुरो त के छ भने देश नै छुवाछुत मुत्त राष्टको रुपमा विकास भई सके पछि पनि दलित अगुवाहरु गउ, नगर छुवाछुत मुक्त घोषणा गर्दै अन्तर्राष्ट्रिय दातृ निकायसँग सहयोगको याचना गरिरहेका छन ।

सामाजिक विभेद अहिलेको गणतन्त्र, संघीयता र समाजवाद उन्मुख राज्य व्यवस्थामा विकृतरुपमा प्रदित भएको छ, राज्यका अंगहरु दलितमैत्री बन्न सकेका छैन, समाजको यति ठुलो विभेदका सवालमा राज्य किनाराको साक्षी समेत बन्न सकेको छैन । विभेदका विरुद्धको यो दिवस मनाउँदै गर्दा राज्यका सवै निकायलाई दलित समस्याका सवालमा जिम्मेवार बनाउन सक्नुपर्छ । अन्तर्राष्ट्रिय विभेद विरुद्धको दिवसलाई सार्थक दिवसको रुपमा राज्यले नै मनाउनुपर्छ । दलित आन्दोलनमा आबद्ध सरकारी गैरसरकारी क्षेत्रले मात्र होइन, सिंगो राष्ट्रले यो दिवसलाई अर्थ पूर्णरुपमा मनाउनुपर्छ ।

संयुक्त राष्ट्रसंघको अन्तर्राष्ट्रिय मानव अधिकार सम्बन्धि घोषणा पत्रमा सबै मानव जातिलाई स्वतन्त्ररुपमा जन्मने र समाजमा समान र आत्मसम्मानका साथ बाच्न पाउने अधिकारको ग्यारेन्टी गरिएको छ । दक्षिण एसियाली दलित समुदाय सदियौदेखि समाजमा अन्यायका साथ बाँचिरहेको छ, मुख्यतः धार्मिक अावरणभित्र निर्माण भएको सामाजिक संरचनाबाट दलित समुदाय विभेदमा परेको छ । विभेदयुक्त धार्मिक आवरणमा निर्माण भएको सामाजिक संरचना र सामाजिक संरचनाका आधारमा निर्माण भएको विभेदकारी राजनितिक संरचनाले गर्दा समाजमा दलित समुदायलाई राजनीतिक नेतृत्वको रुपमा अहिलेको समाजवादी अभियानका राजनीतिक दलहरुले पनि स्वीकार्न सकेको छैन ।

नेपालको दलित आन्दोलन विसर्जनको संघारमा छ, यो आन्दोलन आसातित रुपमा विकास हुन सकेन । वर्तमानको यो समयसम्म पनि सबै क्षेत्रका अधिकारहरु सुरक्षित हुँदै गर्दा नेपाली दलित समुदायले प्राप्त गरेका अधिकारहरु इमान्दारिताका साथ लागू गर्न सकिएको छैन ।

करिब साढे सात सयको स्थानिय सरकारहरमा दलित समुदायको सहभागिता निराशाजनक छ । प्रदेश र केन्द्र सरकारमा दलित प्रतिनिधिको सहभागिता न्युन प्राय: शुन्य छ, सामाजिक न्यायको सिद्धान्तबाट समाजवाद पनि अचेत अवस्थामा रहेको प्रमाणित भविष्यले गर्ला ।देशले राजनीतिकरुपमा ऐतिहासिक उपलब्धिहरु हासिल गर्दै गर्दा समाज र राज्यको मुलप्रवाहमा आउन नसकेको दलित समुदायका केही नेतृत्वकर्ता र मुख्य रुपमा ग्रह्रसरकारी क्षेत्रमा काम गर्ने अभियान कर्मिहरुले २१ मार्चमा रंगभेद विरुद्धको अन्तर्राष्ट्रिय दिवस मनाउँदै गर्दा दलित आन्दोलन र नेपाली राजनीतिको गम्भीर समिक्षा गर्ने बेला आएको हो ।

सयुक्त राष्ट्र संघमा नेपाल पनि पक्ष राष्ट्र हो । पक्ष राष्ट्र भएको कारण मानवअधिकारका न्युनतम आधारहरु सरकार र राज्यले नागरिकलाई प्रदान गर्नुपर्छ । सिंगो राज्यका संयन्त्रहरु नेपाली समाजमा विभद्धको रुपमा सु-संस्कृत भएको चिन्तनविरुद्ध प्रयोग गर्न सक्ने सरकारी संयन्त्रहरु निर्माण गर्न सक्नुपर्छ ।

२१ मार्चलाई नेपाली समाजको यर्थात र सामाजिक मौलिकतासँग जोड्दै सिंगो राज्यका संयन्त्र, सबै जनता र अन्तर्राष्ट्रिय समुदायको सहभागिता सहितको दिवसको रुपमा विकास गर्न सकेको खण्डमा २१ मार्चको सान्दर्भिकताले सार्थकता पाउला ।

अन्यथा नेपाली राजनीतिभित्रको सानो अंगको रुपमा विकास भएको दलित आन्दोलनसँग जोडिएका नेता-कार्यकर्ता तथा गैरसरकारी क्षेत्रमा काम गर्ने सीमित व्यात्तिहरुको भाषण गर्ने कार्यक्रम त बन्न सक्ला, आधारभुत दलित समुदायको दिवसको रुपमा विकास हुन सक्दैन ।हामीलाई थाहा छ, नेपाल छुवाछुतमुक्त राष्ट्र घोषणा भइसकेको छ । कैयौं जिल्लाहरु, नगरहरु छुवाछुत मुत्त भइसकेका छन । हाँस्यास्पद कुरो त के छ भने देश नै छुवाछुत मुत्त राष्टको रुपमा विकास भइसकेपछि पनि दलित अगुवाहरु गाउँ, नगर छुवाछुत मुक्त घोषणा गर्दै अन्तर्राष्ट्रिय दातृ निकायसँग सहयोगको याचना गरिरहेका छन । हुन त सामाजिक मनोविज्ञान र चिन्तनको विकास बिनाको स्वघोषणाले मात्र पनि परिणाम दिन सक्दैन । यसका लागि सम्बद्ध पक्षको निरन्तर खवरदारी र संघर्षको आवश्यकता रहन्छ।

मुख्यतः सामाजिक, आर्थिक, राजनीतिकरुपमा सामर्थ्यवान बनाउन परम्परागत सीप र क्षमता भएको समुदायको पेशालाई समाज र राज्यले तिरस्कृतरुपमा विकास गरायो, शिक्षा प्रणालीलाई श्रम र उत्पादनसँग नभई दलालीसँग जोडियो । शिक्षा नीतिलाई समाजको आवश्यकता होइन विदेशी कामदार उत्पादनसँग जोडियो परिणाम, परम्परागत सीप भएको दलित समुदाय तिरस्कृत भयो र दलित समुदायको सीप र क्षमता पलाएन भएको छ । दलित आन्दोलनको पहिलो चुनौती दलित समुदायको परम्परागत पेशालाई आधुनिकिकरण मात्र होइन औद्योगीकरण गर्न र गराउन राज्य र त्यसका अंगलाई ध्यान आकर्षित गराउनुपर्छ ।

हाम्रो देशमा उद्योगहरु मासिएर म्यानपावरहरु खोलिए, एनजीओहरु खोलिए यी क्षेत्रका पनि आफ्ना सवल पक्ष छन् तर नेपालको परिप्रेक्ष्यमा यसको गलत प्रयोग भएको छ । दलित आन्दोलनले अनावश्यक एनजीओ खोल्ने कामलाई भन्दा दलित समुदायको क्षमता विकासका परम्परागत पक्षहरुलाई ध्यानमा राखी यस क्षेत्रमा आवद्ध जनशत्तिको सुरक्षाको ग्यारेन्टी राज्यको दायित्वभित्र पार्न सक्नुपर्छ ।दलित आन्दोलन राज्य सँग प्रतिपक्षिय आन्दोलनको रुपमा होइन सत्ता पक्षिय आन्दोलनको रुपमा विकास हुन जरुरी छ । नागरिकको चेतना जागृत गर्ने काम राज्यको हो, समाजमा विद्यमान विभेदका विरुद्ध राज्य संयन्त्रको प्रयोग गर्ने काम सरकारको हो । अबको दलित आन्दोलन राज्यको साधन श्रोतको प्रयोगबाटै विभेदको अन्त्य गर्नतिर अग्रसर हुन जरुरी छ ।

सामाजिक न्याय, सामाजिक समावेसिता, न्यायिक अधिकार सहितको कुशल राजनितिक नेतृत्व दलित आन्दोलनले विकास गर्न जरुरी छ ।

राजनीति र राज्य संरचनामा संविधानले दिएको अधिकारलाई अक्षरस कार्यन्वयन गराउन सकेको खण्डमा दलित समुदायले विभेद्धको न्युनिकरण भएको आभाष गर्ने थिए कि ? होइन भने दलित आन्दोलन र २१ मार्चको सान्र्दभिकता होटलका कोठाभन्दा बाहिर सडकमा औचित्य सहितको पुष्टयाई गर्न चुनौतीपुर्ण छ।