Saturday, April 30, 2016

पानी भर्नेे पालोमा दलित महिला कुटपिट भएपछि

बैसाख १८, विभेद विरुद्ध अभियान ।
गोरखा-गोरखा नगरपालिका १४ नारेश्वर गाईखुर (दलित बस्ती) मा बुधबार पानी भर्ने निहुँमा झगडा हुँदा स्थानीय ४४ वर्षीया सीता दाहाल (नेपाली) बेहोस भइन् । कसले पहिले पानी भर्ने भन्ने विषयमा उमा आले र दाहालबीच झगडा हुँदा बेहोस भएकी दाहाललाई अस्पताल भर्ना गरिएको नागरिक दैनिकमा खबर छ ।

गोरखा अस्पतालमा सामान्य उपचारपछि बुधबार नै टाउकोको सिटी स्क्यान गर्नुपर्ने चिकित्सकले बताएपछि काठमाडौं ग्रान्डी अस्पताल रेफर गर्नुपर्यो । कुटपिट गर्ने आलेलाई भने प्रहरीले पक्रेको छ ।

१२ देखि १५ धुरी रहेको त्यहाँ एउटा मात्रै धारा छ । भूकम्पपछि गाउँमा भएको अर्को धारा सुक्यो भने अहिले भएको धारामा पनि थोपाथोपा गरेर पानी भर्नुपर्ने अवस्था छ । एक गाग्री पानी भर्न करिब एक घन्टा लाग्छ । बोतल लिएर पानी भर्न गएका बेला पालो मिचेको भन्दै आलेले गालीगलोज गर्दै हातपात गरेको आरोप दाहालले लगाइन् । दुई जनाबीच झगडा भएपछि धाराछेउ खेतमा गोठालो रहेका आलेका छोरा आदर्श आलेले लट्ठीले हिर्काएको सीताले बताइन् ।

'आमा–छोरा भएर कुटे, बेहोस भएपछि हामीले एम्बुलेन्स बोलाएर अस्पताल पुर्याएका हौं,' सीताका आफन्त शरण दाहालले भने । गोरखा अस्पताल ल्याउँदासम्म सीता बेहोस रहेको उनले बताए । आले परिवारले भने गाग्री भर्न लागेका बेला पालो मिचेर बोतल थापेपछि भनाभन हुँदा झगडा भएको बताएका छन् । उमाका श्रीमान सबिन आलेले दुई जनाबीच झगडा भएको र छोराले देखेपछि लट्ठीले हिर्काउँदा चोट लागेको बताएका छन् ।

गोरखा अस्पतालबाट रेफर गर्न चिकित्सकले भनेपछि कुटपिट गर्ने उमाका श्रीमानले २० हजार नगद घाइतेको परिवारलाई उपचार खर्च दिएर पठाए । उपचार पूरा हुँदासम्म लाग्ने सबै खर्च उनैले बेहोर्नुपर्छ । 'कति खर्च लाग्छ थाहा छैन,' सबिनले भने, 'सानो कुरामा विवाद हुँदा यति ठूलो समस्या पर्यो, म निकै दुःखी र चिन्तित छु ।' सामाजिक काममा सक्रिय हुने उनी उक्त घटनापछि आफूलाई लज्जा महसुस भएको बताउँछन् ।

सोमबार गोरखा सदरमुकामको ढुंगेधारा तीनधारेमा पानी भर्न पालो कुरेर बसेका महिलाबीच भुतलाभुतल भयो । पालोमा राखेर गएको गाग्री हटाएको, आफ्नो पालोमा अर्काले पानी भरेको भन्दै महिलाले झगडा गरे ।

केही दिनअघि सदरमुकामको पँदेली, रोहोटेपानी धारामा पनि पानी भर्ने विषयमा विवाद भएको थियो । यो त एक उदाहरण मात्र हो, अहिले गोरखा सदरमुकामका ढुंगेधाराहरुमा दिनहुँजसो पानी भर्ने निहुँमा झगडा भएको देख्न पाइन्छ । सदरमुकामका ढुंगेधारा, पोखरी, कुवामा पानी सुकेपछि जिल्लाभरि पिउने पानीको हाहाकार भएको छ । एक गाग्री पानीका लागि पाँच घन्टा लाइन बस्नुपर्ने बाध्यता सदरमुकामबासीलाई छ । बिहान, दिउँसो राति जतिसुकै बेला पनि सदरमुकामका धारामा सर्वसाधारण र पानी भर्ने भाँडोका ताँती हुन्छ । दिनभर लाइनमा बसेर भरेको एक गाग्री पानी पिउन मात्रै ठिक्क हुन्छ । नुवाइधुवाइ गर्न, खाना पकाउन, शौचालयमा प्रयोग गर्ने पानी भर्नुपर्यो भने रातभर निद्रा मार्नुपर्ने बाध्यता रहेको सदरमुकाम बस्दै आएकी कोपिला विकले बताइन् ।

सदरमुकाममा पानी वितरण गर्दै आएको पृथ्वीनारायण खानेपानी तथा सरसफाइ उपभोक्ता संस्था र कर्नेखोला खानेपानी आयोजनाले कहिलेकाहीँ मात्र पानी वितरण गर्छ । पानी कहिले आउँछ भन्ने ठेगान हुँदैन । सातादेखि १० दिनसम्म पनि कहिले पानी नै नआउने उपभोक्ता बताउँछन् ।

गोरखा सदरमुकामदेखि गाउँगाउँमा रहेको धारा, पोखरी, कुवा भूकम्पपछि सुकेका छन् । सय वटा भन्दा बढी पानीको स्रोत सुकेको खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय गोरखाका प्रमुख नारायणप्रसाद आचार्यले बताए । उनले भने, 'पानीको मुहान धेरै सुकेको छ, कतिपय आयोजना भूकम्पले बन्द भएका छन्, लामो समयको खडेरीले पनि पानीको हाहाकार बढेको छ ।'

पहिले यो सिजनमा सदरमुकाममा पानीको हाहाकार भएपछि गाउँमा खासै समस्या हुँदैनथ्यो । तर अहिले गाउँगाउँमा पानीको हाहाकार छ । पानीको समस्या भएपछि होटललाई समेत असर पुगेको सञ्चालकहरु बताउँछन् । 'बिदाको दिन पारेर नदीमा लुगाकपडा धुन लैजानुपरेको छ,' होलट व्यवसायी गोविन्द गुरुङले भने, 'नदीबाट ट्यांकरको पानी ल्याएर प्रयोग गरेका छौं ।'


Thursday, April 28, 2016

संविधानमा दलित अधिकारका विषयमा जनचेतना कार्यक्रम सम्पन्न

विभेद बिरुद्ध अभियान, १६ वैशाख ।  लेटाङभोगटेनी नगरपालिकाको सहयोग तथा दलित समन्वय समितिको आयोजनामा कृषी विकाश बैंकको तालिम केन्द्रमा भएको दलित अधिकारको सन्दर्भमा नेपालको संविधानको अध्ययन तथा विश्लेषण विषयक एक दिने जनचेतनामुलक कार्यक्रम सम्पन्न गरेको छ ।लेटाङभोगटेनी नगरपालिकाको सहयोगमा दलित समन्वय समितिले आयोजना गरेको उक्त कार्यक्रममा लेटाङभोगटेनी नगरपालिकाका कार्यकारी अधिकृत युवराज आचार्यले कार्यक्रमको उद्घाटन पछी बोल्दै नयाँ नेपालको संविधानले सम्पूर्ण नेपालीहरुको मौलिक हक अधिकारको ग्यारेण्टी र सुनिश्चितता गरेको बताए ।


कार्यक्रममा गाविस महासङ्घ नेपालका कार्यबाहक अध्यक्ष घनश्याम खतिवडाले नयाँ संविधानले सम्पूर्ण नेपालीहरुको अधिकारको सुनिश्चिततासँगै दलित उत्थानका लागि दलित अयोगको समेत संविधानले ब्यवस्था गरेर सवै नेपालीहरुलाई बराबर अधिकारको प्रत्याभूति दिलाउने भरमग्न प्रयास गरेको बताए  ।
त्यस्तैै नेपालीहरुलाई विभेद नगरी ९१ प्रतिसत संविधानसभा सदस्यहरुको समर्थनमा निर्माण भएको संविधान विश्वको राम्रोसंविधान भएको दावी गरे ।
दलित समन्वय समितिका अध्यक्ष बिष्णुकुमार शङ्करको अध्यक्षतामा भएको सो कार्यक्रममा प्रहरी नायब निरिक्षक भरत कुमार कार्की,नेकपा मालेका लक्ष्मी प्रसाई,राप्रपा नेपालका धर्मचन्द घिमिरे,गंगामाया विक,समाजसेवी हेरम्बराज भटट्राईको सहभागीता थियो भने नेपाली काङ्ग्रेस लेटाङभोगटेनी नगर समितिका सचिव उत्तम श्रेष्ठ समाजसेवी नन्दलाल धिमाल, शान्ति भगवती उमाविका प्राचार्य श्रीप्रसाद ढकाल गणेश सुन्दास लगायतले बोलेका थिए । लेटाङभोगटेनी नगरपालिका क्षेत्रमा बसोवास गर्दै आएका दलित समुदायको ८० जना मानिसहरुको सहभागिता रहेको सो कार्यक्रममा अधिबक्ता गणेश लुईटेलले दलित अधिकारको सन्दर्भमा नपालको संविधानले ब्यवस्था गरेका विषयमा सहजीकरण गरँउका थिए ।

ताराखोलामा देखियो अन्तरजातिय विवाहको सजातिय झलक


खगेन्द्र विश्वकर्मा, गल्कोट २०७३ बैशाख १४,विभेद बिरुद्ध अभियान । बागलुङ जिल्लाको तारा गाविस- १ का मीन बहादुर पुन र सोहि गाविस- ७ की तुलसी बिकबीच बैशाख १४ गते मंगलवार पन्चेबाजा तथा तामधामका साथ अन्तर जातिय बिबाह सम्पन्न भएको छ ।

अन्तरजातिय बिबाहलाई सामाजिक रुपमा अपहेलना गरिने भएतापनि आधुनिक समाजमा अन्तर जातिय विबाह गर्नेको संख्या बढ्दोछ तर पनि उनिहरु सामाजिक अपहेलना तथा पारिवारिक अपहेलना को शिकार भएका हुन्छन ।

तर बागलुङको तारा गाविसका मगर जनजाति समुदायका मीन बहादुर पुन र दलित समुदायकी तुलसी बिक बिच मंगलबार मंगलचौथीका दिन अन्तरजातिय विबाह परम्परागत रुपमा सम्पन्न भएको छ । यस अन्तरजातिय विवाह समाजमा हुने सजातिय विवाहमा कुनै अन्तर नदेखिएको विवाहमा सहभागीहरुले बताएका छन् ।

पुनको आफ्नो संस्कार अनुसार घरको विवाहको काम सकि जन्ति र पन्चे बाजा, रोटी, रक्सी सहित माईत (ससुराली)मा पुगि सामाजिक निम्तोका साथमा बिबाह सम्पन्न भएको हो । यस अन्तरजातिय विवाहले समाजमा परिवर्तन आएको गाउँलेहरुले महसूस गरेका छन् । अन्य सजातिय विवाह र यो अन्तर जातिय विवाहलाई फरक हुन नदिने उदेश्यका साथ विवाह गरेको र सोहि अनुसारको सहयोग छरछिमेकबाट पाएकोमा जन्तीहरुले खुशी ब्यक्ति गरेका थिए ।

स्मरणीय के छ भने, दुलही तुलसी विकका परिवार बिगत १० बर्ष देखि रोजगारीको सिलसिलामा भारतमा बस्दै अअएका थिए र बेहुला मीन बहादुर पुन पनि रोजगारीको सिलसिलामा भारतमै थिए । सोहि समयमा उनिहरुको आन्तरिक सल्लाहमा ५ बर्ष पहिले प्रेम विवाह भएको थियो । र, अहिले आफ्नो पुर्खेउली गाउमा आई परम्परागत किसिमले विबाह गरेका हुन् । बिबाहित दम्पतिका २ सन्तान पनि भैसकेको छन् ।

जति वर्ष पहिले विवाह गरेको भएतापनि तारा लगायत यस क्षेत्र केहि गाविसहरुमा मगर समुदायमा दुलही (ससुराली) पक्षले यसरी नै बाजागाजा सहित धुमधामसंग दुलाहालाई भित्राउने परम्परागत प्रचलन रहि आएको छ । मगर र विक वीचको यस अन्तरजातिय विवाहलाई पनि आफनो पराम्परा र प्रचलन अनुसार स्वीकार गरिएकोमा यसलाई समाज परिवर्तनको उदाहरणको रुपमा हेरिएको इबाग्लुङ्गमा खबर छ ।

Tuesday, April 26, 2016

दलित एकता संजाल नेपाल दाङ्को ऐतिहासिक प्रथम भेला सम्पन्न

दाङ् १४,वैशाख १४ ,विभेद बिरुद्ध अभियान  –  दलित एकता संजाल नेपाल दाङ्को ऐतिहासिक प्रथम भेला दाङ्को  घोराहि मा भब्यताका साथ सम्पन्न भएको छ ।
उमा देबी नेपाली ज्युको सभापतित्व एबम संजाल संस्थापक तथा आईसीसी महासचिव  नीर बहादुर सुनार ज्युको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रम सल्यान उधोग बाणिज्य संघ सल्यानका सदस्य सुकदेब कसेरा बी:क ज्यू , नेपाल राष्ट्रीय दलित मुक्ति मोर्चा केन्द्रीय सचिबालय सदस्य राधिका परियार ज्यू , नेपाल उत्पीड़ित जातीय मुक्ति समाज केन्द्रीय सदस्य देबराज बिश्वकर्मा , लगायत बिभिन्न संघ संस्थाका प्रतिनिधि , समाज सेवी तथा बुद्धिजिबी एबम पत्रकार ज्युहरु अतिथि रहनु भएको थियो भने उमेश बिश्वकर्मा ज्युले कार्यक्रम सञ्चालन गर्नु भएको थियो ।
2016-04-26 (1)
प्रमुख अतिथि द्वारा दिप प्रज्वलन तथा ब्यानर प्रदापर्ण गरि उद्घाटन गरिएको उक्त कार्यक्रममा प्रमुख अतिथि महासचिब नीर बहादुर सुनार बाट संजालको उदेश्य मर्म कार्य योजना बारे प्रस्ट पारिएको थियो भने अन्य अतिथि ज्यू हरुले दलितका समस्या चुनौती तथा संभाबित मुक्तिको बिकल्प बारे अर्थपूर्ण तर्कहरु प्रस्तुत गर्दै संजालको सामाजिक अभियान स्वागत योग्य र आशाबादी रहेको ठहर गरिएको थियो ।

साथमा कला गलाका धनि दलित बालबालिकाहरुले गित संगीत तथा नाटक प्रस्तुत गर्नु भएको थियो । छोटो समयमा कार्यक्रमको तयार  गरिएता पानि दंगाली बासि दलितहरुको उत्साहजनक सहभागिता रहेको उक्त कार्यक्रम सबैको सुभकामना मन्तब्य पछी कार्यक्रमका सभापति उमा देबी नेपालि ज्यु बाट पुन संजाल बारे प्रस्ट पार्दै उपचारिक कार्यक्रम समापन भएको घोषणा गर्नु भएको थियो ।
औपचारिक कार्यक्रमको समापन पश्चात चियापान लगतै सुरु भएको बन्द सत्रले उमा देबी नेपालि ज्युको अध्यक्षतामा २७ सदसिय दलित एकता संजाल नेपाल दांग जिल्ला समिति निर्माण भएको छ ।
अध्यक्ष्य : उमा देबी नेपाली (सार्की )
उपाध्यक्ष : दिपक नेपाली (बादी)
उपाध्यक्ष : शुमन नेपाली (परियार)
सचिब : उमेश बि:क
सहसचिब : कृष्ण बि:क
कोषाध्यक्ष : करण परियार
सह कोषाध्यक्ष : दुर्गा गंदर्भ
सदस्य: देबेन्द्र नेपाली
सदस्य: रमेश नेपाली
सदस्य: रुपलाल सुनार
सदस्य:शुमन श्रीपाली
सदस्य: नारायण परियार
सदस्य: शिला शाहु सुनार
सदस्य: सुनिता नेपाली ( बादी )
सदस्य: सुर्य बाहादुर बि:क
सदस्य: सिता सुनार
सदस्य: पार्वती बि:क
सदस्य: किशन बि: क
सदस्य: मोतीराम बिश्वकर्मा
सदस्य: उमेश परियार
सदस्य: निर्मला सुनार
सदस्य: हेमा नेपाली
सदस्य: निमा बि: क
सदस्य: सुनिता नेपाली ( गन्दर्भ )
सदस्य: तिलक श्रीपाली
सदस्य: भीमा सुनार
सदस्य: केशब नेपाली (परियार)

साथमा दलित एकता संजाल नेपाल महिला सशक्तिकरण अभियान दांग जिल्ला समिति हेमा नेपाली ज्युको संयोजकत्वमा १७ सदसिय समिति निर्माण भएको छ ।

नीर बहादुर सुनार ज्युको फेसबुक बाट 

बिश्वकर्मा समाज नेपालको भवन निर्माणको लागि युएईबाट आर्थिक सहयोग

उत्तम बिक, युएई-वैशाख १४ ,विभेद बिरुद्ध अभियान  – , बिश्वकर्मा समाज नेपालको पोखरा स्थित अलकापुर १५ मा निर्माण हुनलागेको बिश्वकर्मा भवनको लागी बिश्वकर्मा समाज नेपाल युएईले (४४६७.५० युएई दिराम) अर्थात एक लाख अठ्ठाइस हजार पाच सय रुपैया आर्थिक सहयोग गरेको छ ।
 नेपाल बाट बैदेशिक रोजगारीको शिलशिलामा युएईको विभिन्न ठाउमा छरिएर रहेका बिश्वकर्मा दाजुभाई दिदीबहिनीहरुबाट जति सक्दो आर्थिक संकलन गरि बिश्वकर्मा समाजको भवन निर्माणमा सहयोग पुर्याउने उद्धेश्यका साथ बिश्वकर्मा समाज नेपाल युएईका केन्द्रीय अध्यक्ष बाबुराम बिश्वकर्माको संयोजकत्वमा दुबईबाट रोहण सुनार, बिनोद गोतामे, देउ सोनी, सारजाहबाट देब बिक, सुब्बा बिक, आबुधबिबाट कमल खाती, कृष्ण बिक लगायतले निरन्तर सहयोग गर्दै  शुरु गरेको आर्थिक सहयोग अभियानमा युएईबासि बिश्वकर्मा दाजुभाई दिदीबहिनीहरुले सक्दो सहयोग गरेको बिश्वकर्मा समाजका केन्द्रीय सदस्य रोहण सुनारले बताए ।
नेपालको कुल जनसंख्याको ५ प्रतिशत बिश्वकर्मा रहेको नेपाली समाजमा सदियौंदेखि जरा गाडेर बसेको जातीय छुवाछुत तथा अमानविय कु-सस्कारको अन्त्य गरि सभ्य समाजको निर्माण गर्न सामुहिक एकता, कला, सिप, सस्कृती, शिक्षा र चेतनाको बिकास गर्दै समाजका पछाडी पारिएका समुदाय संग सहकार्य गर्दै  समाजमा रहेको छुवाछुत प्रथाको निर्मुल गर्ने उद्धेश्यका साथ गठन भएको बिश्वकर्मा समाज नेपालले आफ्नै भवन  बनाउन लागेको अबस्थामा युएईमा रहेको बिश्वकर्मा समाज नेपाल युएईले पनि सहयोगी हात अगाडी  बढाएको र समाजको लागि निरन्तर लागि पर्ने बिश्वकर्मा समाज युएईका केन्द्रिय अध्यक्ष बाबुराम बिश्वकर्माले बताए ।
 यसरि निर्माण हुन लागेको उक्त भवन बिश्वकर्मा समाज नेपालको नेपाल मै पहिलो सस्थागत भवन रहेको र उक्त भवन निर्माणको लागि युएईबाट हाल सम्म जम्मा भएको रकम बिश्वकर्मा समाज नेपालका केन्द्रीय अध्यक्ष गणेश बराईलिको नाममा नेपाल पठाईएको पनि अध्यक्ष बिकले बताए ।

-मजदुर अनलाइन बाट 

आगो निभाउने क्रममा जलेर मखमली बिकको मृत्यु

आमाको निधन पश्चात् भाव बिह्वल भएका नानीबावुहरु 
अर्घाखाँची, वैशाख १४ ,विभेद बिरुद्ध अभियान  – अर्घाखाँचीको धातीबांगमा घर नजिकै लागेको आगो निभाउने क्रममा सोमबार बिहान एक महिलाको ज्यान गएको छ ।
धातीबांग–९ दहमा घर नजिकै लागेको आगो निभाउने क्रममा चिप्लिएर ३२ वर्षकी मखमली बिकको ज्यान गएको जिल्ला प्रहरी कार्यलयका प्रहरी नायब उपरीक्षक नवरत्न पौडेलले बताउनुभयो ।
आइतबार बेलुकादेखि लागेको आगो अझै निभाउन नसकिएको प्रहरी नायब उपरीक्षक पौडेलले बताउनुभयो । प्रहरीको टोली घटनास्थल तर्फ गएको छ ।
आगलागीका कारण दुई वटा घर र पाँच वटा गोठ जलेर नष्ट भएका छन् । बालसिंह सारुको घर गोठ जल्दा लत्ता कपडा, अन्नपात तथा घरमा राखिएको एक लाख ३० हजार नगद समेत जलेर नष्ट भएको छ ।
यस्तै तुलबहादुर सारुको घर गोठ जल्दा लत्ता कपडा, अन्नपात तथा घरमा राखिएको ७२  हजार नगद समेत जलेर नष्ट भएको छ । 

मृगौला पिडित घनश्याम बिश्वकर्माद्वारा सहयोगको अपिल



झापा ,बैसाख १४  । झापा जिल्ला केर्खा ७ का घनश्याम बिश्वकर्माको धेरै पैसा कमाएर आफ्नो परिवारलाई सुखी राख्ने सपना बोकेर मलेसिया पुग्नु भयो । मलेसियामा जसोतसो मजदुर गर्दै हुनुहुन्थ्यो २ महिना पछि मेडिकल गर्नु पर्ने भयो मेडिकल त गर्नु भयो तर मेडिक रिपोर्टमा काम गर्न अनफिड देखाइदियो । उहाँको जिवनमा ठुलो बज्रपात आइलाग्यो सपना सबै सपनामै सिमित रह्यो यद्दपी ज्यान रहे सब हुन्छ भनेर मन बुझाएर नेपाल फर्कनु भयो ।


नेपाल फर्के पछि केही दिन राम्रै संग चल्यो बिस्तारै उहाँलाई खाना रुच्न छाड्यो शरिर दुब्लाउन थाल्यो उहाँ परिवारको सल्लाहा अनुसार झार फ्क गर्न तर्फ लाग्नु भयो । शरिरमा जण्डिसको लक्षणहरु देखा पर्न थाल्यो फुकेर निको होला नी भनेर धामीको भर परेर बस्नु भयो । धामीले धेरै उपचार गर्दा पनि निको नभए पछि मङ्लवारे स्वास्थ चौकीमा जचाउन जानु भयो । जचाउदा एकासी दुबै किड्नी फेल भएको रिपोर्ट आयो ।


उहालाई गाउको स्वास्थ्य चौकीको विश्वास लागेन र काठमाडौ गएर जचाउनु भयो त्याहा दुबै मृगौलाले काम नगरेको प्रमाण्ीत भयो । अहिले बिश्वकर्माको नोबेल मेडिकल कलेज ,बिराटनगरमा उपचार भइरहेको छ । उपचारको क्रममा अझै सम्म साढे ४ लाख सकिसकिएको घनश्यामकी श्रीमती लिला बिश्वकर्माको भनाई छ । 


डाक्टरले बताए आनुसार एउटा मात्रै किड्नी फेर्न सके पनि बचाउन सकिन्छ ।किड्नी फेर्नु भक्तपुरको अस्पातालमा लैजानु पर्छ रे पैसा जती सकियो ऋण पनि कसैले दिदैन किड्नी फेर्न लगभग १८ लाख जति खर्च लाग्छ भन्छन डाक्टरहरु त्यती धेरै पैसा कहाबाट ल्याउनु लिलाले दुःख पोख्नु भयो । बिश्वकर्माको उपचारका लागि सहयोग गरिदिन आग्रह गरेको छ । सहयोगका लागि श्रीमती लिला बिश्वकर्मा ९८०७९२९३१६ छोरा रोसन ९८२४०९९८०५ मा सम्पर्क गर्न सक्नुहुनेछ ।

Monday, April 25, 2016

अन्तर्जातीय विवाह गर्ने पत्रकार सम्मानित


१३ बैशाख, विराटनगर,विभेद बिरुद्ध अभियान : अन्तर्जातीय विवाह गरेका पत्रकार गणेश लम्साल र उनकी श्रीमती कमला लम्साल (विश्वकर्मा) सम्मानित भएका छन्। २१ वर्षअघि अन्तर्जातीय प्रेम विवाह गरेका लम्साल दम्पतीलाई नेपाल दलित समाज कल्याण सङ्घ मोरङले आफ्नो आठौँ अधिवेशनको अवसरमा आइतबार यहाँ सम्मान गरेको हो। 
दलित कल्याण सङ्घका केन्द्रीय अध्यक्ष भक्त विश्वकर्मा र मोरङका प्रजिअ तोयम रायले दोसल्ला ओढाउनुका साथै प्रमाणपत्र प्रदान गरी सम्मान गरेका हुन्।सोही अवसरमा स्नातकोत्तर अध्यनरत दृष्टिविहीन विद्यार्थी मोरङ सिद्राहाका धीरेन्द्र विश्वकर्मा र कटहरीकी सामाजिक अभियन्ता मालती ऋषिदेवलाई पनि सम्मान गरिएको थियो। 
सो अवसरमा दलित समाज कल्याण सङ्घका केन्द्रीय अध्यक्ष भक्त विश्वकर्माले नयाँ संविधान बनिसक्दा पनि अझै जातीय छुवाछुत हट्न नसकेकाले अब गैरदलित समुदायलाई छुवाछुत अन्तका लागि चेतना दिनुपर्नेमा जोड दिए।प्रजिअ तोयम रायले स्रोत साधन नहुँदा स्थानीयस्तरमा सरकारले निर्माण गरेको दलित समिति सक्रिय हुन नसकेको बताए। रासस

Sunday, April 24, 2016

खोलाको बालुवा निकालेर दलितहरुले परिवार चलाउनु पर्ने बाध्यता

तेह्रथुम ,बैसाख १३ , विभेद बिरुद्ध अभियान / खोरुङ खोलाको बलुवा तेह्रथुम ओयाक्जुङका दलितहरुको जिबीका चलाउने साहारा बनेको छ ।
गरिबीका कारण बिद्यालय जान समेत नपाएका यो बस्तीका दलित युबाहरुको आम्दामीको श्रोत नै खोलाको बालुवा बनेको छ । ११ बर्ष देखी ५० बर्ष सम्मका दलित युबाहरु अहिले यो खोलाको बालुवा निकाल्ने र बालुवा बिक्रीबाट आएको पाश्रमिकले परिवार चलाउनु पर्ने बाध्यता रहेका छ । गरिब तथा दलित परिवारका युबाहरु गाँउमा राम्रो पाश्रमिक नपाए सँगै परिवार धान्नकै लागी पनि खोलाको बालुवा निकाल्दै आएको ओयाक्जुङ ४ का नर बहादुर नेपालीले बताउनु भयो ।
उनीहरुले खोलाको बालुवा अहिले निर्माणधिन माध्यपहाडी लोक मार्गमा बिक्री गर्दै आएका छन । उनीहरु भन्छन गरिबके कारणले गर्दा पढ्न पनि पाईएन पैसा कमाउनका लागी बिदेश जाने मन भए पनि गाउँमा कसैले पत्याउँदैनन रिन दिन त्यसैले हामी खोलाको बालुवा निकाल्नु बाहेक बिकल्प छैन । खोलाबाट निकालेर जम्मा गरेको बालुवा गाडिको २५ सयका दरले बिक्री गर्दै आएको ओयाक्जुङकै हर्क नेपाली बताउनु हुन्छ ।
आर्थीक अबश्था कम्जोरकै कारणले हजारौै युबाहरु खोलाको बालुवालाई साहारा बन्न बाध्य भएका छन । हातमा सिप पनि छैन जागिर खान शैक्षिक योग्यता पनि नहँुदा बिपन्न तथा गरिब समुदायका युबाहरु पाखुरीको भरमा जिबन निर्बाह गर्न पर्ने अबश्था छ । राज्यले बिपन्न तथा आर्थीक कम्जोर र पिछाडी पारीएका बर्गाहरुको लागी बिभिन्न कार्यक्रमहरु ल्याए पनि बास्तविक बिपन्न समुदायमा कमै मात्रमा पुग्ने गरेको पिडितहरुको भनाई रहेका छ ।
त्यसो त बिभीन्न सञ्जाल निमार्ण गर्दै पिडित समुदायका लागी सिपमुलक तथा चेतना अभिबृद्धीका लागी कार्य सञ्चालन पनि जान्ने बुझ्नेहरुले मात्र लिने गरेको स्थानिय सन्तोष नेपालीले बताउनु भयो ।

प्रकाश पाक्साँवा/संयन्त्र 

भूकम्पले सिन्धुपाल्चोककी शान्ति विकलाइ किर्गिजस्तान पुरायो

बैशाख १२ सिन्धुपाल्चोक,विभेद बिरुद्ध अभियान– ‘आमा छिटै घर फर्क । म कुरिरहेछु ।’ यो भनाई पाँच वर्षकी रजिना विकको हो । उनी अझै तोते बोली नै बोल्छिन् । गत वर्षको भूकम्पले उनको घर भत्काइदियो ।
भूकम्प गएको केही समयपछि उनकी आमा उनलाई छाडेर हिडिन् । आमा कता गइन् ? उनलाई त्यो थाहा छैन् । तर, किन गइन् भनेर कसैले प्रश्न गर्दा वित्तिकै उनको जवाफ हुन्छ–‘पैसा कमाउन ।’
महाभूकम्पपछि सिन्धुपाल्चोकबाट विदेशिनेहरुको संख्या बढ्दो छ । सिन्धुपाल्चोकको सेलांगकट्टीस्थित दलित परिवारलाई पनि महाभूकम्पले नराम्ररी प्रभावित गर्र्यो । त्यसपछि श्रीमती विदेश पठाएको बताउँछन् रजिनाका बाबु जीतमान विक ।
जीतमानका अनुसार श्रीमती अहिले किर्गिजस्तानमा छिन् । तर, जीतमानले भनेजस्तै शान्ति विक किर्गिजस्तान पुगेको विश्वासिलो आधार छैन् । ऋण काढेर श्रीमतीलाई विदेश पठाएको उनी बताउँछन् । भन्छन् ‘अलिकति बारी थियो । सडक आएपछि त्यो बारी सडकमा पर्यो । बाँकी रहेको जग्गा र घर भूकम्पले पेल्दियो । अहिले अर्काको बारीमा छाप्रो हालेर बसेको छु ।’
सरकारले भूकम्पपछि केही नदिएको उनको गुनासो छ । भारतीय नाकाबन्दीका कारण मूल्य बढेको संकेत गर्दै उन्ले भने, ‘भूकम्प लागेपछि त झन् सस्तो हुनुपर्ने हो । खोइ अझै महगीँ बढेको छ ।’
सिन्धुपाल्चोकमा सग्ला घर छैनन् । भूकम्पपछि गाउँको जनजीवन नराम्ररी प्रभावित भएको थियो÷छ । भूकम्प लगत्तै तातोपानी नाका समेत बन्द हुदाँ थुप्रै बेरोजगार भए । यस्तै परिस्थितिका कारण बाध्य भएर श्रीमतीलार्ई विदेश पठाउनुपरेको उनी बताउँछन् ।
२६ वर्षका युवा जीतबहादुरलाई पढ्न लेख्न आउँदैन । उनकै भाषामा भन्दा उनको कुनै काम पनि छैन् । श्रीमती विदेश गएपछि जीतमान विक ६६ बर्षका बुवालाई स्याहार गरेर गाँउ बसेका छन् । जीतमानका बाबु प्यारालाईसिसले थलिएका छन् ।
selang-katti-1
अहिलेसम्म गाउँका विस्ट (माथिल्लो जाती) ले विदेशबाट आएका राहत सामाग्री आफूसमक्ष ल्याइदिने गरेको र अफ्टेरो पर्दा सहयोग गरेको जीतमान बताउँछन् । तर, सरकारले राहतको रकम नदिदाँ बिचल्लीमा परेको उनको भनाई छ ।
जीतमान छोरा रवि राम्रोसँग बोल्न सक्छन् । तर कान्छी छोरी रजिनाको बोली समेत भर्खरै फुट्दैछ । आखिर भर्खरै बोली फुट्दै गरेकी छोरीलाई छाडेर जीतबहादूरकी श्रीमती कता गइन् त ? के जीतबहादूरले भनेजस्तै उनी किर्गिजस्तान नै गएकी हुन् ?
जीतबहादुरको पारिवारिक अवस्था
—जीतबहादुरलाई पढ्न लेख्न आउँदैन ।
—उनका दुई छोराछोरी गाउँकै स्थानीय विद्यालयमा पढ्दैछन् ।
—छोरी बाबुलाइ घरेलु काममा समेत सघाउँछिन् ।
—भूकम्पका कारण उनको घरमा क्षति पुगेको छ ।
–अहिले अर्काको बारीमा छाप्रो हालेर बसेका छन् ।
—उनकै शब्दमा भन्नुपर्दा राहतको चामल खाएर बसेका छन् । आयश्रोत केही छैन् ।
—आयश्रोत नभएपछि ऋण काढेर श्रीमतीलाई किर्गिजस्तान पठाए । श्रीमतीले किर्गिजस्तानबाट फोन गरिरहेकी छिन् । पैसा पठाउँछु बिरामी ससूरा र छोराछोरीको स्याहार गर भनेकी छिन् ।
के नेपालबाट सिधैँ किर्गिजस्तान जान सकिन्छ ?
—माइती इन्डियाका संस्थापक बालकृष्ण पाण्डे नेपाल सरकारले महिला कामदारलाई किर्गिजस्तान पठाउन रोक लगाएको बताउँछन् ।
—किर्गिजस्तान लैजाने बहानामा विभिन्न दलालहरुले नेपाली चेलीहरुलाई भारत पुर्याउने गरेको उनको भनाई छ । कतिपय चेलीहरु त्यहाँबाट किर्गिजस्तानसम्मको यात्रा गर्न सफल रहेपनि धेरैजसो भारतमै बेचिने गरेको उनी बताउँछन् ।
–किर्गिजस्तान पुगेकाहरुले पनि गैरकानूनी हिसाबमा गएका कारण धेरै सास्ती खेप्नुपर्ने गरेको र त्यस सम्बन्धि उजूरीहरु माइती इन्डियामा आएको उनको भनाई छ ।
अरु के भन्छन् पाण्डे ?
— श्रीमती शान्ति विकले विदेशबाट फोन गर्ने गरेको जीतबहादुरको भनाई छ । यसवारे माइती इन्डियाका संस्थापक बालकृष्ण पाण्डे भन्छन््, ‘भारतमा नेपाली चेलीहरुलाई लगिन्छ । तर कहिल्यै शहर नदेखेका नेपाली चेलीहरु भारतका दिल्ली, कलकत्ता, मेरिट लगायतका शहरलाई नै किर्गिजस्तान संझन्छन् । उनीहरु त्यहाँ चर्को हिंसा सहेर काम गर्न बाध्य हुन्छन् । तर, परिवारलाई सुनाउँदा उनीहरुले थप पीडा महसूस गर्ने गरेका कारण पिडा लुकाउन चाहन्छन् । ’
— नेपाल भारत खुला सीमानाका कारण पनि कति चेली नेपाल हुदैँ भारत र त्यसमार्र्फत तेस्रो देश पुगे भन्ने पत्ता लगाउन जटिल छ । त्यसैकारण चेलीवेटी बेचबिखनबाट बच्नका लागि सबैभन्दा पहिले आफू नै सचेत हुन जरुरी रहेको पाण्डे बताउँछन् ।

—एउटी गाउँकी सिधा सादा अनपढ केटीलाई टुरिस्ट भिसामा किर्गिजस्तान पठाउँछु भन्नेहरु कस्ता होलान् ? पाण्डेको प्रतिप्रश्न छ । उनी भन्छन्, ‘यो गलत विषय हो र यस्तो विषयबाट हामी सबै बच्न जरुरी छ ।’-रातोपाटीमा समाचार छ |

Saturday, April 23, 2016

दलितहरुको पुजामा पण्डित दलित नै भए

प्रेम सुनार गुल्मी ,बैशाख–१० । गुल्मी र छिमेकी जिल्ला अर्घाखाँचीमा दलित समुदायको हरेक पुजा–पाठहरुमा पण्डित्याँई आफ्नै समुदायका एक व्यक्तिले चलाउँदै आएका छन् । झण्डै डेढ दशक देखि अर्घाखाँची मैदान–५ का ५३ वर्षिय नन्दलाल बिश्वकर्मामाले यी दुई जिल्लामा रहेका दलित समुदायहरुको पुजा पाठमा व्राम्हणले जस्तै विधिवत पाठ गरी पण्डित्याँई गर्दै आएका हुन् । 
उच्च हाँसिल गरेर शिक्षण पेशा गर्दै आएका बिश्वकर्माले २०५५ देखि २० ५६ सम्म हरिहर संस्कृति विद्यापिठ खिदीममा संस्कृति पढेर उत्तरमध्यमा उतिर्ण गरी हाल सम्म दुई जिल्लाका करिव डेढ सय घरमा पुजा पाठ चलाएको बताएको खबर गुल्मी न्युजमा प्रकासित भएको छ  । 
श्रीकृष्ण उच्च माध्यामिक विद्यालय मैदान अर्घाखाँचीमा २५ वर्ष देखि प्रावि तृतिय तहका शिक्षक रहेका बिश्वकर्मालाई उनका छिमेकी व्राम्हण, क्षेत्रीहरुले समेत ‘पण्डित जी’ भनेर सम्वोधन गर्ने गर्दछन् । ‘त्यस विद्यापिठमा ३ जन दलित सहित ४५ जनाले संस्कृति पढेका हौं , –विशवकर्माले भने–‘ खै अरुले पण्डित्याँई गरेकी गरेनन् तर मैले गर्दै आएको छु र भ्याई नभ्याई छ । ’ पण्डित्याँई दलित गैह्र दलित जसले गरे पनि हुन्छ भन्दै उनले दलित समुदायका अलवा व्राम्हण समुदायले समेत संस्कृति पढ्न छाडेको प्रति चिन्ता र हिन्दु धर्म परिवर्तन गर्न खोज्नेहरु प्रति खेद प्रकट गर्दछन् ।

Friday, April 22, 2016

दलित बस्तीमा आगलागी, ३५ घरगोठ खरानी

कपिलबस्तु, १ वैशाख । कपिलबस्तुको शिवराज नगरपालिका ७ पिपरीस्थित दलित वस्तीमा आगलागी हुँदा ३५ घरगोठ जलेर नष्ट भएको छ ।
दिउसो तीन बजेर २० मिनेटमा आगलागी भएको हो । पिपरी गाउको बीचमा रहेको चिन्ने मुसलमानको घरमा चिया पकाउने क्रममा सल्किएको आगोले त्यसदेखि पश्चिम क्षेत्रका घरहरु जलेर नष्ट भएका छन् ।आगलामीमा परि चिन्ने मुसलमान, रामआञ्चल केवट, झिन्कु कहार, तुल्सी राम केवट, फुलमती कहार, भुन्नु केवट, कल्लु लोहर, त्रिवेणी लोहर, शिव मगंल गडरिया, तिलकराम पाल , सगीता कुमारी पाल , गैडा पाल , गौरी शकार कहार, रविरेन्द्र केवटको घर गोठ पुर्ण रुपमा खरानीमा परिणत भएको छ । 




आगलागीवाट आनुमानित ६० लाख बराबरको नोक्सानी भएको र थप विवरण आउन बाकी रहेकोवडा प्रहरी कार्यालय चन्द्रौटाका प्रमुख राज कुमार सिलवालले जानकारी दिए । मानिसहरु घर छोडेर भागेको र नजिक नजिक धर बनाएकोले हुनाले घर सख्याअझै बढ्न सक्ने प्रहरीले जनाएको छ । कपिलबस्तु सदरमुकाम तौलिहवाबाट करिव ४५ किलोमिटरको दूरीमा रहेको गाउमाआगलागी हुनेबित्तिकै दमलक बोलाइए पनि साढे ४ बजे मात्र दमकल आइपुगेकोस्थानियले बताएका छन । 
 तौलिहवावाट आएको दमकल , वडा प्रहरी कार्यालय चन्द्रौटाको टोली , सशस्त्र वेश क्याप विशनपुरको सशस्त्र जवान र स्थानीयको प्रयासमा आगो नियन्त्रणमा आएको आग्नी पिडित तिलकराम पालले जानकारी दिए ।
आगलागीमा मानवीय क्षति भएको छैन । दलित बस्तीका नागरिकहरुले घरभित्र भएको खाद्यान्न तथा लत्ताकपडा बाहिर निकाल्न समेत नभ्याएको बताएका छन् । पिपरीमादुई बर्ष भन्दा पहिले पनि आगलागी हुदा ४५ घर जालेका थिए ।

छात्रा तथा दलित विद्यार्थीबाट शूल्क लिए प्रअको तलबबाट असुल गराईने

बैशाख ११, कंचनपुर । जिल्ला शिक्षा कार्यालयले विद्यार्थीबाट विभिन्न बहानामा शुल्क अशुल्ने विद्यालयका प्रधानाध्यापकलाई कारवाही गर्ने चेतावनी दिएको छ ।
दक्षिणी क्षेत्रमा सामुदायिक विद्यालयहरुले विभिन्न वहानामा दलित समुदायका विद्यार्थीबाट शुल्क लिएको गुनासो आएपछि जिल्ला शिक्षा अधिकारी श्यामसिंह धामीले कुनै पनि किसिमको शुल्क नलिन विद्यालयलाई निर्देशन दिएका छन् ।
‘नियम विवरित रकम असुल गरे त्यस्तो विद्यालयको प्रधानाध्यपकलाई कारवाही गर्ने र छात्रा तथा दलित विद्यार्थीबाट शूल्क लिए प्रअको तलबबाट असुल गराईने भन्दै लिएको रकम प्रधानाध्यापकको तलब भत्ताबाट कटौती गरि विद्यार्थीलाई भराउँछौ’  कञ्चनपुरको पुनर्वास नगरपालिकामा आयोजित कार्यक्रममा जिल्ला शिक्षा अधिकारी धामीले भने ।
सरकारले आधारभूततह (१ देखि ८) सम्मका सबै छात्राहरु र १ देखि १० सम्म दलितका समुदायका विद्यार्थीलाई निःशुल्क पठ्नपाठ्नको व्यवस्था गरेको छ । सामुदायिक विद्यालयहरुले निजी स्रोतका शिक्षकको तलब लगायतका विभिन्न कारण देखाउदै विद्यार्थीबाट आर्थिक सहयोगका नाममा शुल्क अशुल्दै आएका छन् ।
पुनर्वास टाईम्सको आयोजना र दलित गैर सरकारी संस्था महासंघको सह आयोजनामा सम्पन्न भएको कार्यक्रममा सहभागीहरुले मार्कसिटका लागि एक हजार र कक्षा १० मा भर्ना शुल्क वापत तीन हजार भन्दा माथी सम्म लिने गरिएको गुनासो गरेका छन् ।
एमाले कञ्चनपुरका अध्यक्ष तारालामा तामाङ्गले राज्यले सञ्चालन गरेका विद्यालयमा शुल्क र गुणस्तरको समस्या आउन नहुने जनाए । ‘पूर्वाधार सहित शिक्षक दरबन्दी दिएर स्थापना भएको सरकारी विद्यालय आज भौतिक, आर्थिक र प्रशासनिकरुपमा लथालिङ्ग छन्,  राज्यबाट सेवा सुविधा प्राप्त गरिरहेका सरकारी विद्यालयको शिक्षकले विद्यालय शिक्षा सुदृढीकरण गर्न दायित्व बोध हुनु पर्ने हो, राज्यले तोकेको नियम मान्नु पर्ने हो’ उनले भने ।
नेपाली कांग्रेस महासमिति सदस्य भरतबहादुर बिष्टले पूर्व तयारी विना नै विद्यालयले तह बृद्धि माग गर्ने र त्यसलाई अध्ययन नगरी शिक्षा कार्यालयले स्वीकृत गरिदिदा शिक्षक भार थेग्न रकम अशुल गर्नु पर्ने र त्यसको प्रत्यक्ष मारमा छात्रा तथा दलित विद्यार्थीहरु पर्ने गरेको बताए ।
अनेरास्ववियुका सचिव टेक बहादुर थापाले नीजि विद्यालयका न्यून पारिश्रमिकमा अध्यायपन गराउने शिक्षकले भन्दा शिक्षक सेवा पास गरेर तालिम प्राप्त गरी राज्यबाट तलब भत्ता पाएका शिक्षकले आफ्नो दायित्व पूरा नगर्दा सरकारी विद्यालयको परीक्षा नतिजा लज्जाजनक आउने गरेको र अब विद्यालयको स्तर परिवर्तन गर्न नीजि विद्यालयका शिक्षक ल्याएर सरकारी विद्यालयमा पठ्न पाठ्न गराउन थाल्नु पर्ने बताए । ‘सरकारी तलबमा शिक्षक राखिएको विद्यालयमा शुल्क लिनु हुँदैन, अनि नतिजा पनि सुधार हुन आवश्यक छ’ उनले भने ।
विद्यालयका प्रधानाध्यपाकहरुले विद्यालयको आन्तरिक स्रोत नभएकाले निजी स्रोतका शिक्षकलाई तबल खुवाउन शुल्क लिने गरिएको तर्क राखेका छन् । स्रोत व्यक्ति शेरशिंह बिष्टले समेत प्रधानाध्यापकहरुको भनाईलाई समर्थन गरेका छन् ।
दलित समुदायका अगुवाहरुले निःशुल्क शिक्षा नगरी शुल्क लिइए बिलको फोटोकपी हुलाकबाट जिल्ला शिक्षा अधिकारी र अन्य निकायमा पठाउने जनाए । गरिब भूमिहीन एकै घर परिवारबाट ४÷५ वटा बच्चालाई भर्ना गर्न आठ÷दश हजार लाग्ने र उक्त रकम जोहो गर्न नसक्दा १२÷१५ बर्षका विद्यार्थीहरु रोजगारीको लागि भारत पलायन र छात्राहरुलाई विहे गरेर पठाई दिन वाध्य भएको कारण ड्रपआउट संख्या पनि बढेको दलित भूमिहीन किसान संघ, कंचनपुरका अध्यक्ष भारमल सुनारले बताए ।
दलित गैर सरकारी संस्था महासंघका केन्द्रीय सचिव नरबहादुर बिकले राज्यको सेवा सुविधा प्रयोगमा बाधक देखिएका विरुद्ध सबै दलितलाई संगठित गरी महासंघ आन्दोलनमा जाने बताए । ‘आन्दोलनमा जानुको विकल्प छैन’ उनले भने ।
पुनर्वास टाईम्सका प्रकाशक तथा दलित गैर सरकारी संस्था महासंघका केन्द्रिय सदस्य सुरेश गजुरेलले विद्यालय पनि सरकारको एक अंग भएको हुँदा सरकारको नीतिलाई कार्यान्वयन गर्दिन भन्न नमिल्ने बताए ।
दलित विद्यार्थीलाई राज्य निशूल्क शिक्षाको व्यवस्था गरेको सुनिएका त छ तर हामी त्यो सुविधा अझै सम्म पाएका छौनौं । गत साल कक्षा ९ मा भर्ना गर्दा २३ सय तिरि भर्ना भएको छु । अहिे पनि कक्षा १० मा भर्ना हुन जादा पैसा ल्याउ अनि मात्रै भर्ना हुन्छ सरहरुले भन्नु भएको छ । पुनर्वास ८ स्थीत दुर्गा उमाविमा अध्ययनरत पूर्णीमा नेपालीले बताईन ।
छोरा छोरीको गतसालको परीक्षा नतिजा हेर्न जादा पहिला पहिला तिर्न बाँकी परीक्ष शूल्क तिरे मात्रै रिजल्ट दिने सरले बताए स्थानीय चक्र बिकले बताए ।
यसैविच जिल्ला शिक्षा अधिकारी श्यामसिंह धामीले हचुवाको भरमा विद्यालयको हित विपरीत अभिव्यक्ति दिएको भन्दै शुक्रबार पुनर्वास जनता उच्च माद्यमिक विद्यालयमा आयोजित श्रोत केन्द्र स्तरीय प्रअ र विद्यालय व्यबस्थापन समिति विच भएको बृहत छलफलमा साविकः कै रुपमा शुल्क लिन नपाए विद्यालय सञ्चालन गर्न नसकिने बताएका छन् । भने विकल्पका रुपमा गरिवीको रेखामुनि परिभषामा पर्ने वालवालिकालाई मात्र निःशुल्क गरिने र अन्य वालबालिकालाई साविककै रुपमा विद्यालयको अवस्था र समितिको निर्णय अनुसार विगत वर्षहरुमा जस्तै शुल्क लिने एवं विद्यालय यथावतरुपमा सञ्चालन गर्ने निर्णय गरेको छ ।
साथै श्रोत केन्द्र शैक्षिक सत्रमा समेत यथावतरुपमा विद्यालय सञ्चालन गर्ने प्रयोजनका लागि एवं शिक्षा ऐन, शिक्षा नियमावलीको प्रभावकारी कार्यान्वयनका लागि नियम मात्र लाद्ने तर कार्यान्वयन पक्षलाई फितलो पार्ने जिल्ला शिक्षा कार्यालय कञ्चनपुरमा पहल गर्ने उद्देश्यले कार्यदल गठन गर्ने निर्णय गरेको छ ।
उक्त भेलाका सभापती पुनर्वास केन्द्रस्तरीय विद्यालय पुनर्वास जनता उच्च माद्यमिक विद्यालयका प्राचार्य मानबहादुर तामाङ रहनु भएको थियो भने पुनर्वास नगरपालिकाका कार्यकारी अधिकृत शेरबहादुर बुढा प्रमुख अतिथि रहनु भएको थियो त्यसैगरी अतिथिहरुमा पुनर्वास टाईम्सका प्रधान सम्पादक रुद्रमणि विश्वकर्मा, नेपाल राष्ट्रिय शिक्षक संगठन कञ्चनपुर उपाध्यक्ष रामनारनयण कंडेल, शिक्षक संघका दुर्गाप्रसाद शर्मालगायत विभिन्न विद्यालयका प्रअ समितिका पदाधिकारी राजनितिककर्मीहरुको उपस्थिती रहेको थियो ।
वागिश्वरी उच्च माद्यमिक विद्यालयका प्राचार्य दोजराज घिमिरेको स्वागतबाट शुरु भएको कार्यक्रमको सञ्चालन जिवन ज्योती माद्यमिक विद्यालयका प्रअ भरतकुमार बस्नेत गरेका थिए ।
उक्त विषयमा दलित गैर सरकारी संस्था महासंघ केन्द्रिय महासचिव जसबहादुर विश्वकर्मासंग सम्पर्क गर्दा संविधान प्रदत्त दलित तथा निःशुल्क पढ्न पाउने नैषर्गिक अधिकारलाई कसैलेपनि कुण्ठित गर्न नमिल्ने र यदि यसो गरिएको खण्डमा शिक्षा मन्त्रालयमा घनिभूत ढंगले कार्यान्वयनका लागि पहल गर्ने छौं, यो एउटा सरासर मानव अधिकार हनन्को विषय हो यो मुद्दामा राष्ट्रिय मानव अधिकार आयोगको समेत ध्यानकर्षण गराउदै गम्भिरता पूर्वक पहल गर्ने छौं आवश्यक परे संयुक्त राष्ट्र संघ मानवअधिकार परिषदमा समेत यसलाई उठान गर्नेछौं विश्वकर्माले बताउनु भयो ।
राज्यले त्यतिकै ल्याएको निति होइन परीक्षा शुल्क महिनावारी शुल्क लगायत कुनैपनि शुल्क सामुदायिक विद्यालयले लिन पाउँदैन यदि लिएको खण्डमा शिक्षा नियमावली अनुसार कारवाहीका लागि पहल गर्ने राष्ट्रिय दलित आयागका सदस्य सचिव सिताराम घलेले सुनौलोखबरलाई बताउनु भयो  ।

साभार : -  सुनौलोखबर

Wednesday, April 20, 2016

मिर्गाैला रोगी तेजबहादुर नेपालीलाई प्रवासबाट रु तीन लाख सहयोग

८ बैशाख,विभेद बिरुद्ध अभियान - मोरङ जिल्लाको इटहरा–१ लक्ष्मी चोकका मिर्गाैला रोगी तेजबहादुर नेपाली (विक्रम)लाई रु तीन लाख बराबरको आर्थिक सहयोग हस्तान्तरण गरिएको छ ।
पीडित नेपालीको उपचारका लागि देश विदेशबाट प्राप्त भएको रु तीन लाख सात हजार ३५ बुलेट गाइज क्लब इटहराले सोमबार बेलुका हस्तान्तरण गरेको हो । इटहरा समाज कतारबाट रु एक लाख एक हजार ७८०, दक्षिण कोरियाबाट इटहरा–२ निवासी विनोद तामाङको अगुवाइमा त्यहाँ रहेका नेपालीबाट रु एक लाख उहाँको उपचारका लागि पठाइएको थियो । यस्तै, विभिन्न देशबाट विक्रमको उपचारका लागि सहयोग सङ्कलन भएको थियो ।
पीडित नेपालीले राससलगायत अन्य सञ्चारमाध्यमलाई उपचारको सहयोगका लागि याचना गरेपछि सहयोगको याचना गर्दै विभिन्न सञ्चारमाध्यममा समाचार प्रकाशित भएको थियो ।
रकम हस्तान्तरण कार्यक्रममा बुलेट गाइज क्लबका सचिव विदुर बस्नेत, रविन श्रेष्ठ, खगोल न्यौपाने, खगेन्द्र भट्टराईका साथै सहयोग सङ्कलनमा सक्रिय भीम कार्की, सन्तोष पुरी, ललित कार्की र इटहरा प्रहरी चौकीका इन्चार्ज केशव नेपाललगायतको सहभागिता रहेको थियो ।
३४ बर्षीय नेपालीले उपचारका क्रममा आफ्नो जाथजेथा सकिएको र थप उपचार गर्ने रकम नभएपछि थप सहयोगको याचाना गर्नुभएको छ ।  हाल डाईलोसिस गरिरहनुभएका नेपालीले आफ्नो उपचारका क्रममा १५ लाख रुपैंया सकिएको र डाक्टरले अब ८ लाख रुपैंया लाग्छ भनेको बताउनुभयो ।
‘उपचारका क्रममा आफ्नो क्षमताले भ्याए सम्म खर्च गरिसकियो, निराश हुँदै गोल्डेन हस्पिटल बिराटनगरमा उपचार गरिरहेका नेपालीले भन्नुभयो,‘उपचार गरेर बाँच्न मन छ, सहयोगको हात फिजाउदछु ।’ नेपालीलाई सहयोग गर्न चाहानुहुने माहानुभवाले उहाँकी श्रीमती गंगादेबी बर्देवालाई ९८१७३४५५६९ र स्थानीय युवा भुपाल कार्कीलाई ९८०१४४१४०० सम्पर्क गरेर सहयोग गर्न सक्नुहुनेछ । तेजबहादुरका अनुसार आमाले मृगौला दिने तयारी भईरहेको छ । 

Tuesday, April 19, 2016

नेपाली पत्रकारितामा दलित - त्रिभुवनचन्द्र वाग्ले

बैसाख ७ , विभेद बिरुद अभियान - सूचना विभागका अनुसार २०६८ चैत्र मसान्तसम्म सूचना विभागमा ५०४ दैनिक, २३६६ साप्ताहिक, ४३२ पाक्षिक, १८४६ मासिक, ५२९ त्रैमासिक, ३२५ द्वैमासिक, ३५ अर्धसाप्ताहिक, ३५ चौमासिक, ७० अर्धवार्षिक, ७९ वार्षिक पत्रिका दर्ता छन् । ३१३ वटा एफएम रेडियो तथा दुई दर्जनजति टेलिभिजनले प्रसारण गरिरहेका छन् । यसका साथै दर्जनाँै अनलाइन म्यागेजिन प्रकाशित छन् । 

यी माध्यममा संलग्न दलित समुदायका करिब ७०० जति सञ्चारकर्मीमध्ये नियमित करीब तीन सय र आंशिक रूपमा चार सयजति जनशक्ति आबद्ध रहेको पाइएको छ । नेपालको सन्दर्भमा दलित समुदायका दर्जी तथा गन्धर्वले कटवाली तथा गीत–संगीतमार्फत परापूर्वकालदेखि परम्परागत सञ्चारमाध्यम र तौरतरिकाले सञ्चारकर्मीका रूपमा काम गर्दै आएको पाइन्छ । नेपाली मञ्च जनउत्थान, दलित आवाज, दलित निगरानी, कटवाल रेडियो (बुटवल) र दलितमुखी कार्यक्रमका सिलसिलामा धेरैको सहभागिता रहेको पाइन्छ । नेपाली कांग्रेसका पूर्वमहामन्त्री धनमानसिंह परियारको नेतृत्वमा क्षेत्रपाटीमा “बालसखा दल” को नामबाट उहाँकै सम्पादकत्वमा विसं २००८ मा बालसखा (मासिक) प्रकाशित भएको थियो । केही अंकपछि यो बन्द भयो । बीबी सुन्दासको समूहले विसं २०१३ मा बालसाहित्य त्रैमासिक (हस्तलिखित) प्रकाशित गरेको थियो । 

“बालसाहित्य मण्डल” को तर्फबाट बीबी सुन्दास र कृष्ण जोशीको प्रधानसम्पादकत्व तथा गजेन्द्रमणि प्रधान र डबल दुःखीको सम्पादनमा त्रैमासिक रूपमा निस्कने यो पत्रिका ६ अंकसम्म प्रकाशित भएको थियो । यसैगरी, बालसाहित्य मण्डलबाट विसं २०१५ मा बीबी सुन्दास, कृष्ण जोशी र शैलेन्द्र साकारको सम्पादनमा प्रकाशित आँकुरो त्रौमासिक पत्रिकाले भोजपुरमा बालसाहित्यको गतिविधि बढाएको थियो । यसअघि विसं २०१२ को अन्तिम महिनातिर बबी सुन्दास, डबलकाजी श्रेष्ठ, कृष्ण जोशी, परशु प्रधान, केशव श्रेष्ठलगागतका युवाको सक्रियतामा बालसहित्य त्रैमासिक, आँकुरो तथा गोरेटोजस्ता बालपत्रिका प्रकाशित गरेको थियो । प्रकाश परियार (पूर्वसहायकमन्त्री) विसं २०२८ मा भैरहवाबाट प्रकाशित दैनिक खबरको सहायक सम्पादक हुनुहुन्थ्यो भने त्यसैबेला भैरहवाबाटै प्रकाशित हुने साहित्यिक पत्रिका भेटघाटको सहसम्पादक भएर उहाँले पत्रकारिता गर्नुभएको थियो । नेपाली पत्रकारितासँग आबद्ध जितु गौतम विसं २०४७ देखि २०५३ सम्म स्थानीय तथा राष्ट्रियस्तरका पत्रपत्रिकाको स्थानीय प्रतिनिधि र केही समय नवसमानता द्वैमासिकको सम्पादक हुनुहुन्थ्यो । 

बेलबहादुर पोखरेल विश्वकर्मा पर्वतबाट केही समय प्रकाशित भएको “कुल्चिएका आत्माहरू” द्वैमासिक पत्रिकाको प्रमुख सल्लाहकार र संरक्षक भएर उहाँले दलित समुदायलाई चेतना र शिक्षामार्फत सशक्त बनाउने प्रयास गर्नुभएको थियो । सो पत्रिकाको प्रधान सम्पादकमा प्रा. डम्बरबहादुर विश्वकर्मा हुनुहुन्थ्यो । दुर्गा दर्नाल धनकुटाबाट प्रकाशित उकालोका सम्पादक हुनुहुन्थ्यो । उमालाल विश्वकर्माले पत्रकारिताको माध्यमबाट पनि मुलुकको सामाजिक तथा राजनीतिमा योगदान दिनुभएको छ । उहाँ विराटनगरबाट प्रकाशित हुने (२०३९) “साप्ताहिक नेपाल” को प्रधानसम्पादक तथा प्रकाशक हुनुहुन्थ्यो । यसअघि विसं २०३५ मै उहाँ मुक्ति पत्रिकाको सल्लाहकार भएर पत्रकारितातिर आबद्ध हुनुभएको थियो । उहाँका छोरा किशोर विश्वकर्मा कवि तथा मुक्तिका सम्पादक हुनुभएको पाइन्छ । रूसबाट पत्रकारितामा स्नातक गर्नुभएका टीआर विश्वकर्मा २००६ मा धरान पब्लिक हाइस्कुलबाट प्रकाशित छात्रधारा (हस्तखिलित) पत्रिकाको उपव्यवस्थापक हुनुभयो । उहाँ साप्ताहिक, समय, मातृभूमि, समीक्षाजस्ता तत्कालीन चर्चित पत्रिका र केही समय राष्ट्रिय समाचार समितिको सहायक सम्पादक र प्रेरणा साप्ताहिकको प्रधानसम्पादकको हैसियतले पत्रकारिता गर्दै नेपाल पत्रकार संघको केन्द्रीय सदस्य (गोविन्द वियोगीको अध्यक्षताको समितिमा) समेत हुनुभयो । यसको प्रकाशकमा साहित्यकार तथा उहाँकी श्रीमती मीठाइदेवी विश्वकर्मा प्रकाशक हुनुहुन्थ्यो । छोरा कसमस विश्वकर्माले रासस र दी हिमालयन टाइम्समा पत्रकारिता गर्नुभयो । हिजोआज उहाँ रिपब्लिका दैनिकसँग आबद्ध हुनुहुन्छ । दलितमुखी पत्रिका “प्रतिनिधि” का प्रधानसम्पादक रहनुभएका ओमप्रकाश भीकेका गोरखापत्र, राजधानी, स्पेसटाइम, नेपाल समाचारपत्रलगायत दर्जनौँ पत्रपत्रिकामा समसामयिक लेख तथा रचना प्रकाशित छन् । 
पूर्वसांसद (पर्वत) मनबहादुर विश्वकर्मा सबै जातिका लागि समान अधिकार, दलित मुक्ति र जातीयविभेद उन्मूलन हाम्रो सरोकार” भन्ने नारासाथ प्रकाशित समानता अभियान (द्वैमासिक) पत्रिकाको सम्पादक, प्रकाशक र संरक्षक हुनुहुन्थ्यो । लेख लेखनीमा सोख भएका गोल्छे सार्की केही समय समालोचना पत्रिकासँग आबद्ध हुनुहुन्थ्यो । परिश्रमी, नेपाली मञ्च, जनउत्थानजस्ता मासिक पत्रिकाका संरक्षक र साथीलगायत विभिन्न पत्रिकासँग सम्बद्ध साहित्यकार पदम सुन्दासले विसं २०२७ पुसबाट जिल्ला पञ्चायत भोजपुरद्वारा प्रकाशित “भोजपुर” मासिक समाचारपत्रको सम्पादन गर्नुभएको थियो । केही वर्ष प्रकाशित भई बन्द भएको सो पत्रिकाले समाचारका साथै साहित्यिक विधामा पनि राम्रो स्थान दिएको थियो । लक्ष्मण उदास र पदम सुन्दासले सो पत्रिकाको सम्पादन गर्नुभएको थियो । जवहार रोक्काले जमरा, मुक्ति र मुक्तिचक्रजस्ता पत्रिकाको सम्पादन गर्नुभएको थियो । झन्डै ६ दर्जनजति त्यस्ता कृति प्रकाशित भएका द्रोणप्रकाश रसाइली (२०२८ को एसएलसी बोर्डफस्र्ट) पिटर क्वेसनरीले लेख्नुभएको ह्यान्ड बुक अफ एनिमल हेल्थको अनुवाद गर्नुभएका उहाँले भेटेरीनरी रिभ्यु, प्रविधि सँगालो, लुम्ले न्युज लेटरजस्ता पत्रिकामा सम्पादनको भूमिका निर्वाह गरिसक्नुभएको छ । 
पत्रकार विनोद पहाडीको सक्रियतामा नेपाली मञ्च लामो समयदेखि प्रकाशित छ । दलित गैरसरकारी संस्था महासंघको प्रकाशकत्वमा प्रकाशित दलित खबर पत्रिकामा बुद्धिजीवी हीरा विश्वकर्मा, बामुराम विश्वकर्मा, जनउत्थानमार्फत मानबहादुर विश्वकर्मा (प्रमुख जिल्ला अधिकारी) लगायतले योगदान दिनुभयो । शंकर विश्वकर्मा (पाल्पा) प्रतिनिधि २०३६ को सम्पादक हुनुभएको थियो । एक जमानाका चर्चित पत्रकार सीके गदालले यस क्षेत्रमा ठूलो योगदान दिनुभएको छ । त्यसैगरी, हीरा विश्वकर्मा (रासस), सुभाष दर्नाल (स्वर्गीय), आरआर क्याम्पसबाट आमसञ्चार तथा पत्रकारिता विषयमा स्नातकोत्तर गर्नुभएका जेबी विश्वकर्माको विभिन्न पत्रपत्रिका आलेख प्रकाशित छन् । विश्वकर्माको नेपाली मिडियामा दलित : सहभागिता र विषयवस्तु नामक अनुसन्धानात्मक पुस्तक प्रकाशित छ । आलेखमा सबैको नाम यहाँ उल्लेख गर्न असम्भव भएकाले यसबारे थप खोज अनुसन्धान आवश्यक छ ।

गोर्खा पत्र बाट 

दलित अधिकारकर्मी पदम सुन्दास बहराइनका लागि राजदुत नियुक्त

बैसाख ७ , विभेद बिरुद अभियान -  करिब २०२१ साल देखि दलित आन्दोलनमा सरिक भई दलित हक अधिकार प्राप्तिका लागि लड्दै आएका योद्धा रुपमा चिनिएका पदम सुन्दास सोही समय देखि दलित आन्दोलनमा सरिक भएर विभिन्न मन्दिर प्रवेश, सहभोज जस्ता कार्यहरुमा संलग्न रही दलित आन्दोलनलाई स्थापित गराउदै आएका छन् । परिश्रमी, नेपाली मञ्च, जनउत्थान जस्ता मासिक पत्रिकाका संरक्षक र साथी लगायत विभिन्न पत्रिकासँग सम्बद्ध साहित्यकार पदम सुन्दासले विसं २०२७ पुसबाट जिल्ला पञ्चायत भोजपुरद्वारा प्रकाशित “भोजपुर” मासिक समाचारपत्रको सम्पादन गर्नुभएको थियो । केही वर्ष प्रकाशित भई बन्द भएको सो पत्रिकाले समाचारका साथै साहित्यिक विधामा पनि राम्रो स्थान पाएको थियो । 

एमाले निकट रहेको मुक्ति समाजको संस्थापक मध्येका एक पदम सुन्दास लामो जनयुद्ध पछि देशमा शान्ति स्थापना भए पश्चात एमाओवादी निकट देखिए पछि उन्को नाम अघिल्लो संविधान सभाको निर्वाचनमा एनेकपा माओवादीबाट सुनसरी क्षेत्र नं. १ बाट सिफारिस  गरेको थियो । पदम सुन्दासले पहिलो संविधान सभाको निर्वाचनमा समानुपातिकको तर्फबाट सबै भन्दा बढि ४०.४१ प्रतिशत मत ल्याएका पनि थिए तर उनलाई संविधान सभामा प्रतिनिधि भने गराएको थिएन ।

पार्टी विभाजन पछि तटस्थ रहेका सुन्दास गैरसरकारी संस्थाको रुपमा रहेको समता फाउन्डेसनका अध्यक्ष तथा जागरण मिडिया सेन्टरको सल्लाहाकारका रुपमा रहेर दलित आन्दोलनलाई सघाईरहेका थिए । तिनै दलित अधिकारकर्मी सुन्दास लाइ मन्त्रिपरिषदले आज गरेको २१ देशका लागि राजदूत सिफारिस अन्तर्गत बहराइनका लागि राजदुत नियुक्त  सिफारिस गरेको छ। लामो समय देखि २१ देशमा राजदूत रिक्त थिए। सरकारले परराष्ट्र सेवाबाट ८ जनालाई राजदूतमा सिफारिस गरेको छ। सरकारले  सिफारिस गरेका नाममा पूर्वमन्त्री देखि पूर्व सांसद सम्म रहेका छन्। संसदीय सुनुवाई पुरा गरेपछि उनीहरुको नियुक्तिको बाटो खुल्ने छ। 

मन्त्री परिषदको निर्णय अनुसार मित्र रास्ट्र बहराइनको राजदुत जस्तो गरिमामय पदमा सिफारिसमा पर्नु भएका पदम सुन्दास ज्युलाइ हार्दिक बधाइ सहित वहाँको कार्यकालमा नेपाल र बहराइन बिचको सम्बन्ध सच्चा मित्रता, पारस्परिक समझदारि र नेपाली कामदारहरुको हकहितमा समर्पित हुँदै सफलता पूर्वक वितोस् भन्ने कामना विभेद बिरुद अभियान् बलगको तर्फ़ बाट गर्दछौ ।


Monday, April 18, 2016

बिश्वकर्मा समाज नेपाल युएईको अबुधाबी क्षेत्रीय भेला सम्पन्न

उत्तम बिक- युएई  ,वैशाख ५, विभेद बिरुद्ध अभियान-  विश्वकर्मा समुदाय एकजुट होऔं , आफ्नो कला, सीप, संस्कृतिको रक्षा गरौं ”भन्ने मूल नाराका साथ  गत अप्रिल १५ तारिक शुक्रबारका दिन बिश्वकर्मा समाज नेपाल युएईले दोश्रो अबुधाबी क्षेत्रीय भेला अबुधाबीको मुसफा स्थित ग्रीन दरबार रेस्टुरेन्टमा सम्पन्न गरेको छ ।कृष्ण बिश्वकर्मा द्धारा संचालित उक्त भेलामा विश्वकर्मा समाज नेपाल, यूएईका केन्द्रीय अध्यक्ष बाबुराम विश्वकर्मा प्रमुख अतिथि रहेका थिए भने अतिथिहरुमा केन्द्रीय सह-कोषाध्यक्ष कमल खाती केन्द्रीय सदस्य रोहन सुनार, देउ सोनी, सुमित्रा गहतराज, सारजाह क्षेत्रीय समितिका सचिब बुद्ध  विश्वकर्मा र सारजाह क्षेत्रीय सदस्य दुर्गा विश्वकर्मा लगायत रहेका थिए  ।

 शंकर सुनारको स्वागत मन्तब्य बाट शुरु गरिएको उक्त भेलामा कमल खातीले अबुधाबी क्षेत्रीय समितिको प्रगति विवरण सहित मन्तब्य राखेका थिए  ।  भेलाका अतिथि रोहण सुनारले स्थापना काल देखि हाल सम्म विश्वकर्मा समाज नेपाल , यूएईले गरेको महत्वपूर्ण कार्यहरुको समीक्षात्मक जानकारी सहित विश्वकर्मा समाजको वेभ साइडको प्रयोग र ब्यापकता,  संगठनको बिस्तार , उदेश्य र अन्तरास्ट्रिय सम्बन्ध माथि प्रकाश परेका थिए ।
त्यस्तै प्रमुख अतिथि बाबुराम बिश्वकर्माले समाजको आवस्यकता, सांगठनिक एकता र बिश्वकर्मा समाज स्थापनाको बहुआयामिक उदेश्य माथि प्रकाश पार्दै भेलालाई थप उत्साहित बनाएका थिए भने कार्यक्रमका सभापति हिरा बहादुर बिश्वकर्माले अबुधाबी क्षेत्रीय समिति विघठन गर्दै प्रथम चरणको कार्यक्रम अन्त्य भएको घोषणा गरेका थिए ।

दोश्रो चरणको कार्यक्रम अन्तर्गत केन्द्रीय अध्यक्ष बाबुराम बिश्वकर्माको सयोजकत्वमा निर्बाचन समिति निर्माण गर्दै दोश्रो कार्यकालको लागि उम्मेद्धाररी दर्ताको लागि आव्हान गरिएको थियो जसमा शंकर सुनारको अध्यक्षतामा १७ सदस्यीय अबुधाबी क्षेत्रीय समिति निर्बिरोध निर्बाचित भएका थिए  । उक्त कार्य समितिको अध्यक्ष शंकर सुनार, प्रथम उपाध्यक्ष हिरा बहादुर विश्वकर्मा, दितीय उपाध्यक्ष सुमित्रा गहतराज सचिब जय विश्वकर्मा, सह-सचिब मिलन विश्वकर्मा कोषाध्यक्ष मिलन विश्वकर्मा(घताने)सह- कोषाध्यक्ष झक बहादुर विश्वकर्मा सदस्यहरु हिरा घताने,  नारायण विश्वकर्मा, श्याम कुमार विक, नवराज विश्वकर्मा, विशाल विश्वकर्मा, झकेन्द्र विश्वकर्मा, प्रेम सुनार, राम कुमार विक रहेको मजदुर अनलाइनमा खबर छ  ।

Sunday, April 17, 2016

दलित परिवारलाई घर पवित्र गर्नुपर्ने बाध्यता आइपरेको खुलासा


बाँके, बैशाख ५ । समाजमा एकतर्फ समानताको वकालत हुदैछ, पुरुष मात्रै हैन महिला पुरुष पनि समान हुन, जातपात हुँदैन सबै मानिस समान हुन भन्ने सन्दर्भ अघि बढिरहँदा बाँके फत्तेपुरमा एउटा दलित परिवारलाई घर पवित्र गर्नुपर्ने बाध्यता आइपरेको खुलासा भएको छ । फत्तेपुर गाबिस वडा नं.८ बस्ने एउटा दलित परिवारलाई ससुराली पक्षबाट घर पवित्र गर्नुपर्ने बाध्यतात्मक निर्देशन आएपछि पीडित परिवार न्यायको खोजी गर्न सुरु गरेको हो । स्थानीय विजयबहादुर कसेरा २०५७ सालमा आफ्नै गाबिसमा बस्ने सवितादेवी थापासँग प्रेम विवाह गरि बस्दै आएकोमा ससुराली पक्षले पटकपटक घर पवित्र गरेमात्र आफुहरु आउन दिने अडान लिएको बताएका छन् । सामाजिक मान्यता अनुसार पीडित कसेराको पत्नी सवितादेवी थापा उच्च जातिको मानिएको र कसेरा दलितमा पर्ने भएपछि सामाजिकरुपमै विवाद बढेको हो ।
पीडितले कसेराले दिएको जानकारी अनुसार, घर पवित्र नगरेसम्म ससुराली पक्षको घरमा कुनै ब्यक्तिले विवाह लगायतको कार्यक्रममा सहभागी नहुने धम्की आएको हो । ससुराली पक्षका जेठान चन्द्रबहादुर थापाका छोरा शंकर थापा, निजको ससुराली पक्ष अर्थात शंकर थापाको श्रीमती कृष्णा थापाका बाबु प्रेमबहादुर थापा तथा उनकी पत्नी लगायतले घर पवित्र गर्न दबाव दिँदै आएको कसेराले बताए । सरकारले २०२० सालमा मुलुकी ऐनमा ब्यवस्था गरेको थियो । ‘कानुनतः जातीय छुवाछुत गर्न पाइँदैन,’ अधिवक्ता लोकबहादुर शाहले भने, ‘अहिले दण्ड, सजाय र क्षतिपूर्ति सहितको कानून २०६८ सालमा आएको छ ।’ २०५७ सालमा विहे गरेका कसेराको एउटा छोरा र छोरी पनि छन् । ‘पत्नी समेत मेरो धर्म परम्परालाई स्वीकार गरेकी छिन्,’ कसेराले भने, ‘मेरो परिवारमा कुनै समस्या छैन ।’
ससुराली पक्षबाट लगातार घर पवित्र गर्न दबाव आउन थालेपछि सरकारले बनाएको कानूनको माध्यमबाट सहारा लिने उद्देश्यले नेपालगन्ज पुगेका कसेराले भने, ‘दलितलाई अझै पनि समाजमा समान हैसियतले हेरिँदैन ।’ दलित भन्दै हेप्ने, दुब्र्यवहार गर्ने, समाजमा तल्लो स्तरको भन्दै हिंड्ने, पारिवारिक जमघटका बेलापनि छुवाछुतजन्य ब्यवहार गर्ने लगायतको हिंसा हुँदै आएपछि कसेरा अहिले न्यायको खोजी गर्न सुरु गरेका हुन् । अधिवक्ता शाहका अनुसार २०२० सालमा जातीय छुवाछुतविरुद्ध आएको ऐनमा प्रभावकारी ब्यवस्था नभएपछि २०६८ सालमा अर्को कानून आयो । मुलुकी ऐन अदलको १० नं. मा भएको ब्यवस्था पर्याप्त नभएपछि त्यो ऐन खारेज गरेर अहिले ३ वर्ष कैद वा १० हजारसम्म जरिवाना तथा २५ हजारदेखि एक लाख रुपैया“सम्म क्षतिपूर्ति भराउने ब्यवस्था छ ।
दलित समुदायले भोग्दै आएका छुवाछुतसम्बन्धी समस्यालाई केन्द्रित गरेर संविधानसभा, व्यवस्थापिका–संसद्बाट जातीय भेदभाव तथा छुवाछुत (कसुर र सजाय) ऐन–२०६८ बनेको थियो । वि.सं. २०२० सालमा मुलुकी ऐनमार्फत् छुवाछुतलाई निरुत्साहित गरिए पनि कानुनीरुपमा दण्डनीय गरिएन । ऐन अनुसार छुवाछुत र विभेदलाई अपराध मानिएको छ । छुवाछुत ऐन, २०६८ ले प्रत्येक व्यक्तिको अधिकार र मानवीय मर्यादामा समान हुने सिद्धान्तलाई आत्मसात् गर्दै प्रथा, परम्परा, धर्म–संस्कृति, रीतिरिवाज वा अन्य कुनै नाममा जात, जाति, वंश, समुदाय वा पेशाका आधारमा छुवाछुत तथा भेदभाव नहुने अवस्था सिर्जना गरेको छ । ऐनमा प्रत्येक व्यक्तिको समानता, स्वतन्त्रता र सम्मानपूर्वक बाँच्न पाउने अधिकारको संरÔण गर्न तथा कुनै पनि स्थानमा गरिने छुवाछुत, बहिष्कार, प्रतिबन्ध, निष्काशन, अपहेलना वा त्यस्तै अन्य मानवताविरोधि भेदभावजन्य कार्यलाई दण्डनीय बनाई त्यस्तो कार्यबाट पीडित व्यक्तिलाई Ôतिपूर्तिको व्यवस्था गरी सर्वसाधारणबीच सुसम्बन्ध कायम गर्ने प्रयास गरिएको छ ।
ऐनले प्रष्टरुपमा सबैले बुझ्ने गरी जुनसुकै स्थानमा (निजी वा सार्वजनिक) जुनसुकै खालको छुवाछुतजन्य विभेद गरे पनि त्यसलाई अपराधको रुपमा परिभाÈित गरेको छ । दलित समुदायलाई सानो जात भन्ने आधार बनाएर बालकदेखि वृद्धासम्म अपमानित गर्ने बोली, व्यवहार, शैलीदेखि छोइछिटो वा हेलाहोँचो सम्मका सबै प्रकारका विभेद जो कोहीबाट भए पनि त्यसलाई अपराध मानिएको छ । छुवाछुत र विभेद गर्ने मानिस ज्यान मार्ने जघन्य अपराधीसरह नै मान्ने प्रावधान ऐनमा राखिएको छ ।

मेरो नजरमा जातीय छुवाछुत - बबिता परियार

५ वैशाख, विभेद बिरुद्ध अभियान । 
केहि साता अघि मात्र मार्र्च २१ अर्थात जातीय छुवाछुतविरुद्धको ५१ औँ अन्तर्राष्ट्रिय दिवस मनाइयो ।छुवाछुत विरुद्वको कानुन आएको ५० वर्षभन्दा बढि बितिसकेको इतिहास छ। तर पनि कार्यन्वयन अभावमा यो कुप्रथा पूर्ण रुपमा अन्त्य हुन सकेको छैन। विश्व इतिहासमा हेर्ने हो भने दक्षिण अफ्रिका जहा काला र गोरा जातिबीच सन् १९५९ मा ‘साप भिल्ले’ शहरमा वर्गसंघर्ष चलिरहेको थियो। सोही आन्दोलनमा होमिएका ६९ जना कालाजाति समुदायका व्यक्तिहरुमाथि सामूहिक नरसंहार भएको कालो दिनको सम्झनामा विश्वभर यो दिवस मनाउन थालियो। त्यसलगतै विश्वभर थुप्रै संघर्षहरु चलिरहे। अहिले पनि नेपाल लगायतका विभिन्न देशहरुमा जात र वर्णको आधारमा बिभेदको क्रम रोकिएको छैन।
नेपालमा भने दलित आन्दोलनलाई फर्केर हेर्दा केही दशकयता थुप्रै सुधारहरु आएका छन्। तथापी पर्याप्त र अपेक्षाकृत ढंगले कार्यन्वयन स्तरमा सहजताहरु भने उत्तिकै खड्किएका घटनाहरु पनि असंख्य मात्रामा उस्तै छन्। दलित भएकै कारण समाजमा हेपिनुपर्ने कठोर अवस्थालाई पाखा लगाउन बनेको नीति नियम, कानुन पनि दलित समुदायको पहुँचमा आउन नसक्दा झनै सास्ती बेहोर्नुपरेको यथार्त हामीमाझ छ। नेपालको कानुन कतिपय अवस्थामा निकै फितलो देखिन्छ। जहाँ कि छुवाछुतजस्तो बिकराल मुद्वालाई पनि नेपालको कानूनमा तीन वर्ष कैद र २५ हजार रुपैयाँ मात्रै जरीवाना विद्यमान छ। यसले पीडकलाई झनै उन्मुक्ति दिने दलित बुद्विजिवीहरुको ठहर छ।
कुरा झन्डै एक दशक अघिको हो। जुन समयदेखि मैले स्थानीय रेडियोमा काम गर्न सुरु गरे। सोही समय रेडियोमा काम गर्ने शिलसिलामा नामको पछाडी थर झुन्डाउने चलन थिएन। तर, कहिलेकाही लाग्थ्यो। नाम मात्रै सुनेर पनि मेरो समुदायलाई गर्व होस्। किनकी मेरो पत्रकारिताको यात्राका क्रममा मैले प्राप्त गरेका युवा सशक्तिकरण राष्ट्रिय पत्रकारित्ता पुरस्कार, एन्टेना फाउण्डेशनको नेपाल चौतारी कार्यक्रममा उत्कृष्ट ‘रिपोर्ट’ बनाए बापत पुरस्कृत, वीवीसी मिडिया एक्सनले निर्माण गर्ने ‘सारङ्गीको भलाकुसारी’का लागि ‘रिपोर्टर’ मा म छनौट भएका खवरहरु रेडियोमा समाचार बनिसकेको थिए। यसबाट म आफ्ना सिंगो समुदायलाई गौरव महसुस गराउन चाहन्थेँ। काम गर्ने शिलसिलामा म दलित भएको कारणले कहिल्यै पनि अप्ठारो आएन। बरु आफ्नो समुदायको हकअधिकारको लागि रेडियो कार्यक्रम उत्पादन गर्न सल्लाह, सुझाव, पत्रकारितामा अगाडी बढ्ने अवसरका साथै, हौसला प्रेरणा अग्रजहरुबाट मिलिरह्यो ।
तर एकदिन अचानक बिहानपख ७ः०० बजेको समाचार रेडियोमा वाचन गर्नुपर्नेछ । साढे ५ः०० बजेको हुनुपर्छ रेडियो त्रियुगा जाने उकालो बाटो चढ््दै थिएँ । एक जना गैरदलित महिला गाग्रोमा पानी बोकेर जादैहुनुहन्थ्यो। कसो गर्दा उहालाई मैले छोएछु।उहाँले गाग्रीको पानी सबै पोखीदिनुभयो।मैले केही बोल्न सकिन । आखामा आँशु भरीएर पोखी सकेछन्।  हुन त दलितले छोएको भनेर भरीएको पानी पोखिदिएको मैले हेर्नु परेको थिएन वास्तविक जिवनमा तर अवचेतनमा त्यस्तो भयो भने भन्ने डर कत्ति रहेछ त? राती म धेरै बेर सम्म निदाउन सकिन।  त्यो मेरो सपना भएपनि  धेरै दलित समुदायका मानिसहरुले भोगीरहेको विपनाको तितो यर्थात थियो।
हाम्रै बाउबाजेको जग्गामा रहेको कुवाको पानी गाउँभरीका मान्छेहरुले खान्थे तर ८ कक्षासम्म मैले पढेको खोटाङको श्रीकृष्ण निमावि बर्रेको कार्यालयमा माटाको भाडोमा राखीएको पानी आफैले सारेर कहिल्यै खाएनौँ। विद्यालय व्यवस्थापन समितिका अध्यक्षले सरस्वती पूजाका दिन सबै विद्यार्थीलाई टीका लगाईदिने चलन थियो। तर, हामी दलित विद्यार्थीहरुको निधारमा अध्यक्षको हात कहिल्यै पुग्दैनथ्यो।कुनै एकवर्षको सरस्वती पुजाको दिन,हामीले सल्लाह गरेका थियौँ, सबै वर्ष झैँ हातमा टिका अलक्कै  हातमा थाप्नुप¥यो भने सबैले कुरा उठाउनु्पर्छ।
तर, त्यो संयोग भन्नुपर्छ अधिकारी थरका त्यी अध्यक्ष स्कुल आउन नसकेपछि हामीलाई पढाउने म्याडमले दीका लगाईदिनुभयो।मेरा केही साथीहरुको घरमा जादा म अक्सर उनीहरु नै सुत्ने कोठमा बस्छु। त्यही खाजा, खाना जे हुन्छ सबै मिलेर खान्छौँ। त्यसलाई म सत्कार ठानौं या नदेखिने गरी गरिएको जातिय विभेद। हुन त आफ्नो घरभित्र कोही कसैलाई बस्न दिने या नदिने व्यक्तिको अधिकारको कुरा हो तर, दलितलाई विभेद गरेर बाहेक अरुलाई घरभित्र पस्न नदिएको मैले भेटेकै छैन।
आजभन्दा दुई वर्षअघि । साथीको दिदीको जन्मदिन थियो । मलाई पनि निम्तो भयो । म पनि उपहार लिएर बडों खुसी मान्दै पुगे । सबैजना भान्सामा काम गरीरहेका थिए साथीहरु काम गरिरहेको देखेर मैले पनि सघाउन खोजे । त्यो बेला खै के काम प¥यो कुन्नी सुत्ने कोठामा पुगेको बेला जन्मदिन मनाईरहेकी साथीले मलाई भनिन् ‘माईन् नगर है बवि तिमीले भान्सामा सघायौं भने छिमेकी आन्टीहरुले केही खान मान्नुहुन्न। यस्तै छ । मेरो बाध्यतालाई बुझिदेऊ ।’ 
तर उनको बाध्यताभित्र मेरो अपमानको पहाड अग्लीयो। ज्यान फुलेर आयो। भन्न मन लाग्यो मलाई अपमान गर्न बोलाको। एक्लो बृहस्पति झुट्टा भनेझै मेरो कुरा सुन्न सायद कसैलाई समय थिएन। या भनौ मेरा कारणले त्यो रमाईलो बाताबरण खलबलाउने मनसाय पनि ममा जागेन। उपहार दिएर तत्काल जरुरी कामको बाहान बनाएर अमिलो मन लिदै घर फर्किए। समाजमा प्रतिष्ठित मानिने एउटा पेशामा कार्यरत मजस्ता व्यक्तिहरु छुवाछुतको सिकार हुन बाध्य हुन्छन् भने अन्य सोझा सिधा दलित नागरिकको अवस्था अड्कल गर्न गाह्रो पर्दैन।
म एउटा पत्रकार जुन कुनै समय नागरिकको चुल्हो चौकोमा समेत पुग्नुपर्छ । २०६८ सालतिर उदयपुरकै त्रियुगा नगरपालिकाको वडा नम्बर ९ रिपोर्टिङको क्रममा पुगेकी थिएँ । गाउँलेहरुले आफ्नो लगानीमा स्कुल संचालन गरेको, बाटो बनाएको लगायतको कुरालाई समेटेर रिपोर्ट बनाउनुपर्ने थियो। गर्मी महिना थियो। त्यहाँ हामीले राई समुदायको घरमा खाना खायौँ। 
हामीले खाना खाएको घरधनी दुर्गा दाइले मलाई भेटेर सधै भनिरहनुहुन्थाये । ‘तिमिसँग मेरो गुनासो छ ।’ 
मैले पटक पटक सोधे, ‘किन दाई, के गुनासो होला?’ 
बारम्बारको मेरो प्रश्नले उहाँलाई जवाफ ओकल्न बाध्य बनायो । कारण, कैले उहाँको घरमा खाना खादा घरबाहिर बसेरै खाएकोले रहेछ। 
‘तिमीले हाम्रो घरमा खाना खाँदा बाहिर बस्नुपर्छ?’ उहाँले उल्टै मप्रति तेस्र्याउनुभएको प्रश्नले मलाई असाध्यै खुसी दिलायो। कारण थियो सामाजिक चेतनामा आएको विकसित बुझाई। कोही त छ यहाँ हाम्रो भावनात्मक कुरा बुझिदिने। 
नेपालको संविधान २०७२ को भाग ३ को मौलिक हकको धारा २४ अन्तर्गत छुवाछुत तथा भेदभाव विरुद्धको हक, धारा ४० मा दलितको हक व्यवस्था गरीएको छ । देशमा कुलमध्ये १३ प्रतिशत जनसंख्या ओगट्ने दलित समुदायको अहिले सरकारी सेवा निजामति क्षेत्रमा १ प्रतिशत मात्रै सहभागिता देखिन्छ। त्यस्तै निजामति कर्मचारी क्षेत्रमा ९ प्रतिशत आरक्षणको व्यवस्था गरीएको छ। राज्यको अघोषित चौथो अंगको रुपमा मानिने पत्रकारिता पेशामा पनि दलित समुदायको सहभागिता बढ्दो छ। हरेक क्षेत्रमा दलित समुदायको सहभागिताको खोजी गर्न थालिएको छ । यसले छ्ुवाछ्त हटाउनका लागि मद्दत गर्नेछ।
जातीय छुवाछुत बिरुद्वको दिवसको सन्दर्भमा देशव्यापी बिबिध कार्यक्रमहरु भइरहदा हाम्रो समाजको कतिपय ठाउँहरु जातीय छुवाछुत र दलनजस्ता कुप्रथाको घेराभित्र रुमलिरहेका छन्। मुलुक प्राबिधिक र डिजिटल युगमा प्रवेश गरिसकेको समय जातिय छुवाछुतजस्तो निकृष्ट सोचबिरुद्व ‘यसो नगरिदेऊ’ भन्नुपर्ने अवस्थाले वर्तमान समाजलाई थप चुनौति दिइरहेको छ।
लेखिका परियार, उदयपुरकी रेडियोकर्मी हुन् ।