घरमा अभिभावक नै जब रुन थाल्छन् तब अरु सदस्यको हविगत के होला ?

विभेद बिरुद्ध अभियान -पुस २७ः रौतहटको गरुडा नगरपालिका वार्ड नम्बर(४ मा रहेको माध्यमिक विद्यालयको पछाडिको घरबासी कैयँै रातदेखि सुत्न सकेका छैनन् । जब सडक सुनसान हुन्छ तब गरुडाका ३० बर्षिय युवक गगनदेव मल्ली डोमको क्रन्दनले घरको निद्रा हराउछन् । घरमा अभिभावकनै जब रुन थाल्छन् तब अरु सदस्यको हविगत के होला ? साना साना नानी र आफन्तहरु गगनदेवको पीडामा आशु बहाउनुबाहेक अरु केही गर्न सक्ने आर्थिक हैसियत नभएकोमा सवै पीडित देखिएका छन् । बालबच्चाको पेट पाल्ने र घर गृहस्थी सम्हालेर गगनदेव मल्लीकी पत्नी मीना कुमारी मल्ली श्रीमान्को उपचारको लागि घरघरै चहार्न थाल्छिन् । 

दुई चार रुपैयाँ जम्मा पारेर के पुग्थ्यो ? नून तेल पनि त्यसैबाट किन्नुपर्छू आखाबाट आँशु चुहाउदै श्रीमती मीना मल्ली भन्छिन् भरतपुरमा डाक्टरले डेढ लाख रुपैया खर्च लाग्ने बताएका छन् तर मसंग कुनै स्रोतसाधन र सम्पत्ति छैन । वैदेशिक रोजगारीको क्रममा मलेसियामा गाडीले ठक्कर दिदँ गगनदीपको दाहिने खुट्टा काम नलाग्ने भएको छ । दिनभरि दुखे पनि उत्ति बुझँउदैन तर रातपरेपछि भने मार्लाजस्तो हुन्छू हलचल नगर्ने गरी ओछ्यानमा सुतेका गगनदेव मल्ली भन्छन् । उपचार गराउने कुनै उपाय नै नभएकोले छ महिनादेखि रोग पालेर बस्नुबाहेक विकल्प नभएको बताउछन् । 

घरघरै चहारेर दुई चार हजार जम्मा भएको तर पीडाले अत्यन्त च्यापेकोले भारतको सीतामढी लैजाने योजना रहेको पीडितकी पत्नी मीना मल्ली बताउछिन् । भरतपुर लैजान डेढ लाख चाहिएको तर कुनै उपाय नभएकोले एकचोटि सीतामढी लगेर उपचार गराउन खोजेको मल्लीको भनाइ छ । विद्यालयकै पछाडीको सर्वाजनिक जग्गामा छाप्रो बनाएर बसेको मल्ली परिवारमा आइलागेको विपत्तिमा कसैको सहयोग भएको देखिएको छैन । दलितप्रति विशेष सहानुभूति राखेर काम गर्ने एनजिओहरुले मल्लीलाई मानवीय सहयोग गर्नुपर्ने आवश्यकता देखिएको शिक्षक तथा साहित्यकार संजय मिश्र बताउछन् ।पीडितलाई सहयोग गर्न चाहनेहरुले बैक मार्फत पनि सहयोग गर्न सक्ने भएका छन् । विरामीकी पत्नी मीना कुमारी मल्लीको नाउँमा विभोर सोसाइटी डेभलपमेन्ट बैंक गरुडामा रहेको नर्मल बचत खाता नम्बर ०४५११०२००४३८६८०००००२ मा सहयोग गरिदिन उनले आग्रह गरेकी छिन् ।

No comments:

Post a Comment