दुबै मृगौलाले काम गर्न छाडेपछि गायिका जलजला परियार अस्पताल भर्ना

विभेद बिरुद्ध अभियान - १० माघ, काठमाडौं । दुबै मृगौलाले काम गर्न छाडेपछि गायिका जलजला परियार अस्पताल भर्ना भएकी छन् । नेपाली तारा सिजन ३ की प्रतियोगी गायिका जलजलाको उपचारमा संगीतकार सुनिल मास्केले सहयोग जुटाउने अभियान थालेका छन् । मास्केले उनको उपचारका लागि सहयोग जुटाउने क्रममा आफैंबाट १० हजार रुपैयाँ दिएर सुरुवात गर्दै सहयोग गर्ने दाताहरुलाई सम्पर्क गर्न फेसबुकबाट अनुरोध गरेका छन् ।
उनले गरेको सहयोगको सुरुवातसँगै गीतकार नूतन भुसाल र गीतकार श्रवण जोशीले ५–५ हजार सहयोग गरिसकेका छन् । मास्केले फेसबुकमार्फत् बगैंचामा फुल्न नपाई गायिका जलजला परियारको दुवै मृगौलाले काम गर्न छोडेकोमा चिन्ता व्यक्त गर्दै सरस्वतिको पुत्रीलाई सहयोग गर्न सबैलाई अनुरोध गरेका हुन् । गायिका जलजला परियारलाई सहयोग गर्नका लागि संगीतकार मास्केलाई ९८५१०२५४८८ मा सम्पर्क गर्न सकिनेछ ।


गायिका जलजलाले गाएको बाटोमुनीको फूल–२ को गीत केही कदम निकै चर्चामा रह्यो भने ढुंगाको मन हुनेलाई, म त रोएँ रोएँ जस्ता दर्जनभन्दा बढी गीत गाइसकेकी छन् । नेपाली तारा सिजन–३ को छैटौं स्थानसम्म आफ्नो गायकीलाई ल्याएकी जलजलालाई त्यतिबेला सबैले गायन क्षेत्रको एउटा अब्बल तारा बन्ने आशिर्वाद दिएका थिए । आज यिनै गायिका दुवै मृगौलाले काम गर्न छाडेपछि अस्पताल भर्ना भएर बसेकी छन् ।उनको उपचारमा गायक प्रताप दासले फेसबुकबाट स्टाटस लेख्दै सबैलाई सहयोगको अपिल गरेका छन् । २१ वर्षिय गायिका जलजलाको मासिक ३२००० रुपैयाँ डायलसिसको लागि मात्र खर्च हुने कुरालाई उल्लेख गर्दै गायक प्रताप दासले सहयोगको अपिल गरेका हुन् । यतिबेला धेरैले फेसबुक लगायतका सामाजिक सञ्जालमार्फत सहयोगको अपिल गरिरहेका छन् ।

तपाईंहरु पनि उनको उपचारका लागि सहयोग गरेर एउटा सुमधुर स्वरकी धनी गायिका जलजला परियारलाई गायनमा फर्काउन सक्नुहुनेछ । म्यूजिक खबर सम्पूर्ण संगीतप्रेमीहरुलाई सहयोगको अपिल गर्दै गायिका परियारको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछ । यदि कसैले सहयोग गर्न चाहेमा म्यूजिकखबर (९८५१००७४३०÷९८४१७१०७५१)मा समेत सम्पर्क गर्न सक्नुहुनेछ ।

No comments:

Post a Comment