लक्ष्मी अधिकारी मृत्युप्रकरणले उब्जाएका प्रश्न - जमुना वर्षा शर्मा

विभेद बिरुद्ध अभियान - पौष २१- लक्ष्मी अधिकारी समाजकी एक पात्र। झन्डै १० वर्षअगाडि उनको प्रेमविवाह भयो, आफ्नै घरमा भाडामा बस्ने सोमबहादुर सुनारसँग। मायाप्रेमका अथाह कहानी हुन्छन्। मायाले जिन्दगी बनाउँछ पनि र क्षणभरमै सिध्याउँछ पनि। देखेका धेरै दृश्य र घटनाले यसो भन्न कर लाग्छ।
त्यतिबेला मायाको उत्कर्षमा थिए होलान् सायद दुवै। सोमले १० वर्ष जेठी भनेनन् र लक्ष्मीले पनि दलित केटा भनिनन्। मायाप्रेमको परिभाषाभित्र यी दुवै कुरा पर्दैनन्। २०६१ साल मंसिर २९ गते लक्ष्मीले माइती त्यागिन् र आफ्नो बनाइन् कास्की रुपाकोट १ का सोम सुनारलाई।
बिहेका सुरुका दिन पनि लक्ष्मीका लागि रमाइला बन्न सकेनन्। माइती पक्षले उनलाई चरम उपेक्षा गरे, दलितसँग बिहे गरेको भनेर। सोमसँगको बिहेपछि जन्म घर उनका लागि कहिल्यै आफ्नो भएन। तीन वर्षकै उमेरमा जन्म दिने आमा गुमाएकी लक्ष्मी सौतेनी आमाको स्याहारमा हुर्के बढेकी हुन्। उनका तीन दाजु र पाँच दिदी बहिनीमध्ये कान्छी सदस्य हुन् लक्ष्मी। उनको बुबाको दुई वर्षअघि मृत्यु भएको हो।
उनले सोम सुनारसँग प्रेमविवाह गरेर राम्रो गरिन् वा नराम्रो, त्यसमा प्रवेश नगरौँ। हरेक मानिसको आफ्नो जीवनप्रतिको निर्णय गर्ने अधिकार आफैँलाई हुन्छ। त्यो अधिकार लक्ष्मीले प्रयोग गरिन्। त्यति बेला उनका माइतीले धेरै नै कोसिस गरेका थिए सम्बन्ध छुटाउन। तर चाहिनन्, किनकी लक्ष्मीका लागि सोम सपनाका राजकुमार थिए। बिडम्बना! असफल भयो उनको अनमेल बिहे र अन्तरजातीय विवाह। एक दशकमै सोमसँगको सम्बन्धले मृत्यु निम्त्यायो।
फागुन ३० गते बिहानीपख पोखराको पराजुलीमार्गमा अचेत अवस्थामा एक महिलालाई दूध बोक्ने गाडीका चालकले देख्यो। तत्काल प्रहरीलाई खबर गरी उनलाई पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पुर्‍याउने काम प्रहरीले गर्‍यो। अफसोच! उनलाई डाक्टरले मृत घोषणा गरे। घटनाको प्रारम्भिक अनुसन्धानमा उनको मृत्यु तीन तलामाथि छतबाट खसेर भएको प्रहरीले बताएको छ। श्रीमान् सोमलाई भने प्रहरीले उनकै कोठाबाट पक्राउ गरी अनुसन्धान प्रक्रिया अगाडि बढाएको छ।
सोमले प्रहरीमा दिएको बयानलाई आधार मान्ने हो भने यो निकै पाशविक र दानवीय प्रवृत्तिको हत्या हो। बयान अनुसार दुई वर्षदेखि लक्ष्मीसँग उनको विस्तारा अलग भएको थियो। सोम आफ्नी ९ वर्षकी छोरीसँग सुत्थे भने लक्ष्मी ५ वर्षकी छोरीसँग। सम्बन्धमा तित्तता आउन थालेपछि सोम प्रायः बाहिर दिन बिताउँथे। फेरि दुई सन्तानकी आमा भइसकेकी १० वर्ष जेठी लक्ष्मीको उमेर ४२ थियो भने र सोमको ३२। यो जोडीलाई कतिले आमा छोराजस्तो देखिएको भन्दै खिसी गर्ने गरेकाले लक्ष्मीसँगको सम्बन्ध तोड्न खोजेको बताएका छन्। सुन व्यवसायी सोमले  यही विषयमा पटकपटक लक्ष्मीबाट डिभोर्स मागेका थिए। तर सबै कुरा त्यागेर आएकी र दुई सन्तानको मुख हेरेर बसेकी लक्ष्मी सम्बन्धबिच्छेद गरेर एक्लो जीवन जिउने पक्षमा थिइनन्। बाटो खुला नगरेकै कारण सोमले लक्ष्मीलाई बाटोको काँडा सम्झिरहेका थिए।
यस घटना सामुदायिक सेवा केन्द्र एवं सामुदायिक प्रहरी सेवा केन्द्र पोखरा १ की अध्यक्ष जीवन अधिकारी आत्महत्या नभई हत्या भएको बताउँछन्, ‘सोम स्वयंले प्रहरीका अगाडि हत्याका विभिन्न चरण बताइसकेकाले यसमा दुईमत छैन।’
बयान अनुसार सोमले लक्ष्मीसँग लामो समयदेखि शारीरिक सम्बन्ध नराखेको बताएका छन्।  घटना हुनुअघि यहाँ छोरीहरू छन्, सहबासका लागि छतमा जाउँ भन्दै छतमा गएको र छतबाट धकेलेको स्वीकारिसकेकाले यसमा धेरै बहस गर्नु आवश्यक नभएको उनी बताउँछन्। ‘आरोपीले सबै कुरा बयानमा दिइसकेपछि पनि न्याय भएन भने यो देशको कानुनले पीडितलाई न्याय दिनेछ भन्ने विश्वास सदा सदाका लागी गुम्नेछ,’ अधिकारीले भने।
अहिले सोमका पक्षमा वकालत गर्ने मानिसको कमी छैन किनभने लक्ष्मीका त कोही छैनन्। जिउँदै मरे समान भएकी लक्ष्मीलाई माइतीले पनि त्यति चासो दिएका छैनन्। लक्ष्मीका भतिज मनोज अधिकारीले प्रहरीमा जाहेरी दिएका छन्। यो ठाउँमा दलितसँग बिहे नगरेको भए लक्ष्मीको मृत्युको कारणबारे माइती पक्षको चासो स्वतः बढ्ने थियो। अहिले औपचारिकतामा सीमित भएको छ उजुरी पनि।
यस घटनाबारे कुनै दलित अधिकारकर्मीले चासो राखेका छैनन्। सबैजना सोमलाई निर्दोष बनाउने धुनमा देखिन्छन्। भलै हत्या-आत्महत्या जे होस् अनुसन्धानले नै पुष्टि गर्ला। मृत्युको मुखमा पुर्‍याउने कारणको खोजी भने हुनुपर्ने देखिन्छ।
लक्ष्मीको आत्महत्या वा हत्या हो भन्नेबारे विभिन्न अडकलबाजी भइरहेका छन्। सोम पक्षकाले भनिरहेका छन् - त्यसरी मार्न छतमा लानुपर्ने कारण छैन। सम्बन्ध नराम्रो थियो भने मध्यरातमा छतमा जाँदा लक्ष्मीले शंका गर्नुपर्ने हो। हत्या प्रयास हुँदा उनले हारगुहार गर्नुपर्ने हो। आजकालका महिला त्यति सोझा हुँदैनन्। सम्बन्ध बिग्रेको लोग्नेले जे भन्यो त्यही मान्ने। निकै सतही र गजबकै प्रतिक्रिया लाग्यो यो पनि।
लक्ष्मी पक्षका केहीले ‘डिभोर्स नदिएका कारण उनलाई फकाइफकाई छतमा लगेर धकेलियो, त्यही श्रीमान् भनेर बसेकी लक्ष्मीले प्रेममाथि त्यति ठूलो घात होला भन्ने कल्पनासमेत गर्न सकिनन् अनि लोग्नेले जे भन्यो त्यही मानिन’ भनेका छन्।
प्रहरीमा दिएको बयान अनुसार सोमले हत्या गरेकोमा दुईमत छैन्। मायाप्रेम वा शारीरिक सम्बन्ध हुँदा त्यही उमेर उनका लागि प्यारो भयो। समय बित्दै गयो, मन अन्त्यत्र सर्दै गयो, लक्ष्मीको उमेर नै सोमका लागि अभिशाप हुँदै गयो। आज लक्ष्मीको मृत्युसँगै उनका ९ वर्षीय र पाँच वर्षकी छोरीको बिजोग भएको छ। आमा गुमाएका र बुबा पनि आमाकै हत्या अभियोगमा पक्राउ परेपछि बाल मस्तिष्कमा परेको आघातलाई मलम लगाउन अभिभावकको खाँचो देखिएको छ? ती निर्दोष छोरीहरूका लागि न मामा घर कहिल्यै आफ्नो भयो, न त घर नै।
यतिबेला सडकमा लैंगिक विभेदविरुद्ध आवाज चर्किरहेका छन्। तर ती आवाजले न्यायको धुन गुञ्जाउन सकेका छैनन्। क्षणभरमा मानव सागर उर्लिन्छ, केही चर्चा बटुल्छ अनि बेलुका घरभित्र छिरेसँगै यस्ता विषय सेलाउछन्। जिउँदै रहँदासमेत विभिन्न परिस्थितिको सामाना गरेर जिउन बाध्य लक्ष्मीले जीवनमा कति खुसीसँग साक्षात्कार गरिन् त्यो त थाहा भएन। तर, उनका श्रीमानले दिएको बयान अनुसार उनी जीवनका हरेक पल मरिरहेको पुष्टि हुन्छ। समाजमा धेरै लक्ष्मीहरू आज पनि यस्तै-यस्तै बहानामा मरिरहेका छन्। मृत्युपछि पनि उपेक्षामा परेकी लक्ष्मीको मृत्यु प्रकरणको के न्यायिक छानबिन होला? जसले उनको जीवन समाप्त गर्‍यो, ऊ कारबाहीको दायरामा आउला? आम पोखरेलीमा उठेको जिज्ञासा हो यो। 
अपेक्षा गरौं, स्वर्गीय आत्माको चिरशान्तिको कामनासहित दुई छोरीले आमाको मृत्युको कारण बुझ्न पाउन्। यो विभेदयुक्त समाजको नमूना पात्र बनेर तिनै छोरीहरूले समानताको सन्देश छर्न सकून्!!!सेतो पाटी बाट  

No comments:

Post a Comment