दलित बस्तीमा मैथिली चलचित्र ‘राज्जा रानी’ समूहद्वारा राहत सामग्री


विभेद बिरुद्ध अभियान - पुस २५ -पछिलो एक सातायता सप्तरीमा शीतलहरसँगै बढेको जाडोका कारण अतिप्रभावित बेल्ही चपेना गाउँपालिका वडा नं ५ को दलित बस्तीमा मैथिली चलचित्र ‘राज्जा रानी’ समूहले सोमबार लुगा वितरण गरेको छ ।‘भोर’ नामक सामाजिक संस्थाद्वारा सिरक, ओढ्ने, ओछ्याउने, म्याट र बालबालिकाका लागि टोपी र रुमाललगायत सामग्री वितरण गरिएको नेपाल पत्रकार महासंघका उपाध्यक्ष श्यामसुन्दर यादवले बताउनुभयो ।

विभिन्न सञ्चारमाध्यममा समाचार सार्वजनिक भएपछि ‘राज्जा रानी’का निर्माता राजकुमार महतोको नेतृत्वमा त्यहाँ पुगेको टोलीले सो बस्तीमा राहत सामग्री वितरण गरेको होे ।

उक्त राहत सामग्री ‘राज्जा रानीकी गायिका अञ्जु यादवलगायतले हस्तान्तरण गर्नुभयो । लुगाको अभावमा शीतलहरमा कष्टकर जीवन बिताउँदै आएका १० डोम घरपरिवारलाई सो राहत सामग्री प्रदान गरिएको बताइएको छ ।

यसैबीच बालविवाह र दाइजोविरूद्ध सन्देश बोकेको मैथिली चलचित्र ‘राज्जा रानी’बाट प्राप्त हुने आम्दानी सामाजिक अभियानमै खर्चिने निर्माता महतोले भन्नुभयो । आर्यन फिल्म प्रोडक्सन र भोर कम्पनी प्रालिद्वारा मैथिली र नेपाली भाषामा निर्मित उक्त चलचित्र यही पुस २१ गतेदेखि देशैभर प्रदर्शनमा रहेको बताइएको छ ।

विपन्न समुदायलाई कम्बल

यहाँका दलित तथा विपन्न समुदायमा चिसो र शीतलहरको प्रभाव परेपछि एक गैरसरकारी संस्थाले सोमबार कम्बल वितरण गरेको छ । पीडितलाई लक्ष्य गरी राहत सामग्री उपलब्ध गराउँदै आएको धर्मी हल्फा महिला विकास क्लब लालापट्टीले महादेवा गाउँपालिका वडा नं ६ ढिकलीवासीलाई राहत सामग्री उपलब्ध गराइएको हो ।

शीतलहरले कष्टकर जीवन बिताइरहेका ढिकलीका २८ दलित तथा विपन्न परिवारलाई जाडोबाट जोगिन एक एक थान कम्बल वितरण गरिएको क्लबका अध्यक्ष इ सूर्यनारायण यादवले बताउनुभयो । सो वडाका वडा सचिव नमोनाथ मिश्र, समाजसेवी विश्वनाथ यादव र वेदनारायण लौगीलगायतको सहभागितामा सो राहत वितरण गरिएको हो ।

एक सातायता बढेको चिसो र शीतलहरका कारण जिल्लामा हालसम्म १८ जनाको मृत्यु भएको छ भने हजारौँ मानिस प्रभावित भएका छन् । प्रहरीले भने छ जना व्यक्तिको मात्र चिसोबाट मृत्यु भएको पुष्टि गरेको छ ।

No comments:

Post a Comment