२१ वर्ष नपुग्दै दुई छोरीकी आमा बनेकी मंगली नेपाली भन्छिन छोरा अनिवार्य चाहिन्छ

विभेद बिरुद्ध अभियान - पुस २५ -रामारोशन–३ शान्तडा अछामकी मंगली नेपालीको उमेर भर्खरै २१ वर्ष पुग्यो । २१ वर्ष नपुग्दै दुई छोरीकी आमा बनेकी उनी फेरि तेस्रो सन्तान जन्माउने तयारीमा छिन् । तर, लिंग पहिचान गरेर छोरा भए मात्र जन्माउने नत्र गर्भपतन गर्ने उनको योजना छ । ‘हाम्रोमा त छोरा अनिवार्य चाहिन्छ,’ उनले भनिन्,‘छोरी पराई घर गैहाल्छन् ।

छोरा नभए बुढेसकालमा कसले ख्याल गर्छ ?’ छोराको रहर हुने उनी मात्र एक्ली भने होइनन् । २२ वर्षको उमेरमा आमा बनेकी ढकारी गाउँपालिका–१ की भावना जैसीले पनि छोराकै आशमा तीन छोरी जन्माइसकेकी छिन् । ‘छोराको आश गरेको धेरै भयो,’ उनले भनिन्, ‘म १७ वर्षकी हुँदा पहिलो छोरी जन्मिएकी थिई । अहिले तीन छोरी छन् । अझै छोरा जन्माउने आश मरेको छैन ।’

मंगलीको जस्तै उनी पनि अब लिंग पहिचान गरेर मात्रै बच्चा जन्माउने सोचमा छिन् । ढकारीकी २४ वर्षीया निर्मला जैसी पनि छोराको पर्खाइमा छिन् । पाँच वर्षपहिले विवाह गरेकी निर्मलाको ३ वर्षकी एक छोरी छिन् । अब चार महिनापछि फेरि आमा बन्न लागेकी उनलाई छोरी नै जन्मिने हो कि भन्ने डर छ । ‘भाषणमा भनेजस्तो सजिलो छैन,’ उनले भनिन्, ‘छोरा नभए त बर्बाद हुन्छ । ‘वंश जोगाउनु पर्यो नि ।’

मंगली, भावना र निर्मलाजस्तै अछामका अधिकांश महिलामा छोराको रहरमा उमेर रहुन्जेल सुत्केरी हुनुपर्ने बाध्यता छ । सुरक्षित सुत्केरी सेवा लिन अस्पताल आउनेहरू पनि धेरैले छोरा पाउने आश देखाउने गरेको जिल्ला अस्पताल अछामका परिवार नियोजन सुपरभाइजर भवानसिंह कुँवरले बताए ।

‘यो त ठूलै समस्याको विषय हो,’ उनले भने,‘मेरो अनुभवमा धेरैले छोराकै आश गरेका हुन्छन् । जब छोरी जन्मिन्छे, तब आफन्तहरू खुसी देखिँदैनन् । तर, छोरा जन्मे चहलपहल नै अर्कै हुन्छ ।’ उनको अनुभवमा शिक्षित समुदायमा झन् यो समस्या बढी छ । पढेलेखेका र जान्ने बुझ्नेले छोराको बढी आश गर्ने गरेको उनले बताए ।

‘बाहिर छोराछोरी एउटै हुन् भनेर प्रचार गर्छन्,’ उनले भने, ‘त्यस्तै मान्छे आफूचाहिँ छोरी जन्मिएको हेर्न चाहँदैनन् । हुनेखाने समुदायमा यो समस्या झन् बढी छ ।’

जोखिमपूर्ण गर्भपतन गराउने धेरै

अस्पताल आउने अधिकांश गर्भवतीले लिंग पहिचान गरिदिन आग्रह गर्ने गरेका छन् । कतिपयले त खुलेरै छोरी भए गर्भपतन गराउने इच्छा देखाउँछन् । तर, लिंग पहिचान गर्न नसकिने आग्रहपश्चात केही महिलाले निजी क्लिनिकमा गएर जोखिमपूर्ण रूपमा गर्भपतन गराउँदै आएका छन् । अधिकारकर्मी पशुपति कुँवरका अनुसार छोरी हुने शंका लागे घरेलु जडीबुटीसमेत प्रयोग गरेर गर्भ तुहाउने गरिएको छ । जसले गर्दा महिलाले ठूलो पीडा खप्नुपर्छ ।

‘उहिले चाहिँ छोराको आशमा दर्जन छोरी पुर्याएको देखिन्थ्यो,’ उनले भनिन्,‘अहिले लिंग पहिचान गरेर गर्भपतन गराउने चलन छ । यो त हत्या नै हो ।’ जिल्ला अस्पताल अछामका अनुसार प्रारम्भिक चरणमा गर्भजाँच गराउन आउनेहरू बीचमै हराउने गरेका छन् । गर्भवतीले नियमित चारपटक गर्भजाँच गराउनुपर्छ ।

तर, पहिलो गर्भजाँचपछि अन्तिमसम्म नियमित गर्भजाँच गराउने र अस्पतालमै सुत्केरी हुन आउनेको संख्या घट्ने गरेको अस्पतालका जनस्वास्थ्य निरीक्षक झपटराज ढुंगानाले बताए । ‘पहिलो गर्भजाँच गराउन जति आउँछन्, त्यो संख्या अन्त्यसम्म रहँदैन,’ उनले भने, ‘यो त पुरानै समस्या हो । अहिले पनि यथावत् छ ।’ उनका अनुसार पहिलो चौमासिकमा गर्भचाँज गराउन आउनेको संख्या अन्त्यसम्ममा २० प्रतिशतभन्दा बढी घट्ने गरेको छ ।

No comments:

Post a Comment