रुकुम चौरजहारी घटना : मृतकका परिवारलाई १० लाख दिने सरकारको निर्णय

 

विभेद बिरुद्द अभियान -  काठमाडौं, साउन २७- सरकारले पश्चिम रुकुम सोती घटनाका मृतकका परिवारलाई प्रतिपरिवार १० लाख रुपैयाँ राहत दिने भएको छ।

सोमबारको मन्त्रिपरिषद बैठकले पश्चिम रुकुमको सोतीमा भएको घटनामा हत्या गरिएका व्यक्तिका परिवारलाई प्रतिपरिवार १० लाख रुपैयाँ दिने निर्णय गरेको हो। गत जेठ १० गते पश्चिम रुकुमको चौरजहारी ८ सोतीमा भएको घटनामा ज्यान गुमाएका परिवारलाई प्रतिपरिवार १० लाखका दरले राहात दिने निर्णय भएको सरकारका प्रवक्ता डा. युवराज खतिवडाले बताए।

घाइतेहरुको सम्पूर्ण खर्चपनि सरकारले व्यहोर्ने निर्णय भएको छ।घटनामा जाजरकोटको भेरी नगरपालिका ४ का नवराज विक, गणेश बुढामगर र संजीव विकको हत्या भएको थियो।

यस्तै भेरी ११ का लोकेन्द्र सुनार र गोविन्द शाही तथा रुकुमको चौरजहारी १ का टिकाराम नेपालीको हत्या भएको थियो। घटनामा भेरी ४ का लालबहादुर खड्का, मदन शाह, सरोज भडेल, आशिष विक, सुदिप खड्का घाइते भएका छन्। यस्तै भेरी ३ का विभाग पुन, इन्द्रजंग शाही, भेरी १३ का भोला विसी, भेरी ११ का गोविन्द सुनार, भेरी ३ का महेश कार्की, सल्यानको कुमाख ४ का डिल्ली विक र बाँकेको राप्ती सोनारी ४ का सुनिल सुनार घाइते भएका छन्।










No comments:

Post a Comment