दलित भएर मुख लागेको भन्दै कुटपिट गरेको पीडितको आरोप

 

विभेद बिरुद्द अभियान -सप्त्तरी -  बोदे बर्साइन नगरपालिका–१० अमरैया टोलका १९ वर्षीय जितेन राम, २० वर्षीय दिपेन राम, २३ वर्षीय सरोज राम, २४ वर्षीय सुन्दर राम, २५ वर्षीय रामदुलार राम र रामनन्दन रामलाई सोही ठाउँका ४० वर्षीय दलुवा यादव, २१ वर्षीय जितन यादव, २२ वर्षीय जितेन्द्र यादव, २३ वर्षीय रञ्जनकुमार यादव, २३ वर्षीय शवकुमार यादव र चन्दन यादवले दलित भएर मुख लाग्ने ? भन्दै साउन २३ गते कुटपिट गरेको पीडित रामदुलार रामले आरोप लगाउनु भएको छ ।

घटनाको पुष्टि गर्दै ईलाका प्रहरी कार्यालय कडरबोनाका इन्स्पेक्टर रामराजा केशरीले पीडितहरूलाई उपचार गर्न र घाउँजाँच केश फारम भर्नका लागि लिखित उजुरी ल्याउन भनिएको बताउनु भयो ।

घाइतेहरूको साउन २३ गते नै युनिक अस्पतालमा उपचारका लागि राखिएको र उपचारार्थ जितेन, रामदुलार, रामनन्दनको टाउकोमा चोट लागेका छ भने दिपेन, सरोज र सुन्दरको टाउको, अनुहार र शरिरको विभिन्न भागमा चोटपटक लागेको उपचारमा संलग्न चिकित्सकले जानकारी दिनु भएको छ ।

रामदुलार रामको मौखिक उजुरीका आधारमा आरोपितहरूको खोजी भइरहेको जानकारी दिँदै इन्स्पेक्टर केशरीले घटनामा संलग्न आरोपितहरूको खोजीका लागि सईको नेतृत्वको टोली खटाइएको जानकारी दिनु भयो ।

केहीदिन अघि गालीगलौज गरेको भन्दै आरोपितहरूले श्यामसुन्दर राम चढेको मोटरसाइकलको साँचो साउन २२ गते साँझ खोसे पछि विवाद सुरू भएको संयुक्त दलित सङ्घर्ष समितिका सप्तरी जिल्ला अध्यक्ष प्रथमलाल रामले बताउनु भयो ।

उहाँका अनुसार विवादपछि आरोपितहरूले सोही ठाउँका ट्रक चालक हरि रामलाई साउन २३ गते लछारपछार गर्न थाले पछि विवाद भई कुटपिट भएको हो ।

हरि रामलाई कुटपिट गरेको जानकारी पाएर प्रतिवाद गर्न पुगेका दलित युवाहरूलाई समेत आरोपितहरूले निर्घात कुटपिट गरेको उहाँले बताउनु भयो ।

‘विवादका क्रममा आरोपितहरूले चमार (दलित) भएर औकात भन्दा बढी बोल्ने, हातहाल्ने ? भन्दै कुटपिट गरे’,–प्रथमलाल रामले भन्नु भयो ।

दलित भएकै कारण उनीहरूमाथि कुटपिट भएकोले आरोपितहरूमाथि कारवाहीको मागगर्दै दलित अगुवा एवम् जसपाका नेता राजेश विद्रोहीले संविधान र कानुनले अपराध मानेको जातीय हिंसाबाट दलितहरू लगातार पीडित हुनुपर्ने अवस्था दुःखद् भएको बताउनु भयो ।

No comments:

Post a Comment