दलित स्वास्थ्यकर्मीबाट गैर दलितले औषधी समेत खाँदैनन्

विभेद बिरुद्ध अभियान- कालिकोट, चैत १८- दलित महिला स्वास्थ्य स्वयमसेविकाको हातबाट गैर दलितहरुले आफ्ना सन्तानलाई भिटामिन पनि खान नदिने गुनासो दलित महिला स्वास्थ्य स्वयम सेविकाले गरेका छन् । राष्ट्रिय मानव अधिकार आयोगले कालिकोट जिल्लाका सराकोरवालासँग गरेको जातीय भेदभाव तथा छुवाछुत बिरुद्धको अधिकार बिषयक गोष्ठीमा दलित महिला स्वास्थ्य स्वयमसेविकाले सो गुनासो गरेका नयाँ पत्रिकामा खबर छ ।

जातीय विभेदका कारणले दलित स्वास्थ्यकर्मीको हातको गैर दलितहरुले औषधीसमेत खान आनाकानी गर्ने गरेको उनीहरुको भनाई छ । खाँडाचक्र नगरपालिका वडा नं. १ का महिला स्वास्थ्यकर्मी मनपुरा बिकले भनिन् ‘गैर दलितहरुले हाम्रो हातको औषधी पनि खाँदैनन् ।’

गैर दलितहरुले दलित स्वास्थ्यकर्मीहरुबाट सुत्केरी सेवा अन्य कुनै पनि परामर्श नलिने गरेको बिकले गुनासो गरिन् । ‘कुनै गैर दलित महिला गर्भवति भएमा सेवा समेत हामीबाट लिँदैनन् ।’ उनले भनिन् ।

जातीय भेदभाव दण्डनीय अपराध हो : आयुक्त वस्ती

जातीय भेदभाव नेपालको संबिधानले दण्डनीय अपराधको रुपमा लिएको राष्ट्रिय मानव अधिकार आयोगका आयुक्त शरदचन्द्र वस्तीले बताए । ‘संबिधानले गरेको व्यवस्थाको पूर्ण कार्यन्वयन हुनुपर्छ ।’ उनले भने, ‘मानव मानव बीच हुने विभेद मानव अधिकारको हनन् हो ।’ देशभरको जातीय विभेदका अवस्थाको अध्ययन थालेको र त्यसैका आधारमा रणनीतिक योजना तर्जुमा गर्ने वस्तीले बताए ।

जातीय विभेदविरुद्ध शून्य सहनशिलताः स्थानीय प्रशासन

जातीय विभेदविरुद्ध हुने कुनै पनि घटनालाई शुून्य सहनशिलतामा रुपमा लिएको जिल्ला प्रशासन कार्यालय कालिकोटका प्रमुख चन्द्रबहादुर कार्कीले बताए । ‘जातीय विभेदका कुनै पनि घटना हामीलाई क्षम्य छैन ।’ उनले भने,‘जातीय विभेद गरेका जो सकैलाई पनि कानुनी कारवाही हुन्छ ।’

कालिकोटमा जातीय विभेद चरम रुपमा रहेको र यसलाई प्रहरीले गम्भीर रुपमा लिएको जिल्ला प्रहरी कार्यालय कालिकोटका प्रमुख विनोद शर्माले बताए ।

No comments:

Post a Comment