प्रधानाध्यापकको घरका लागि सालको पात टिप्न जंगल पठाइए विद्यार्थी

विभेद बिरुद्ध अभियान- चैत २१   -प्युठानको मल्लरानी गाउँपालिका–५ स्थित भूमि विकास आधारभूत विद्यालयकी प्रधानाध्यापक यशोधा श्रेष्ठले विद्यार्थीलाई आफ्नो घरका लागि सालको पात टिप्न जंगल पठाएकी छिन् । पुण्यकर्ममा दलितले छोएको पात चल्दैन भनेर विभेद गरेपछि उनीमाथि दलित संघर्ष समितिले प्रहरीमा मुद्दा दर्ता गराएको छ । 
गत २८ फागुनमा प्रधानाध्यापक श्रेष्ठका बुबाको १३औँ पुण्यतिथि थियो । त्यसको अघिल्लो दिन २७ फागुनमा श्रेष्ठले विद्यालयमा फोन गरिन् र विद्यार्थीलाई सालको पात टिपेर भोलिपल्ट पुण्यतिथिमा आफ्नो घर पठाइदिनू भनिन् । फोनमा श्रेष्ठले बाहुन, क्षेत्रीका छोराछोरीलाई मात्र पठाउनू, दलित विद्यार्थीलाई नपठाउनू भनेको विद्यार्थीहरूले बताएका छन् । 

२८ फागुनमा विद्यालयबाट आधा घन्टाभन्दा टाढा रहेको प्रधानाध्यापकको घरमा गैरदलित विद्यार्थी पात लिएर पुगे । उनीहरूलाई घरमै पितृप्रसाद दिइयो । सोही दिन प्रधानाध्यापक श्रेष्ठले स्कुल पुगेर दलित विद्यार्थीलाई पनि पितृप्रसाद बाँडिन् । त्यसपछि यस घटनाबारे चर्चा सुरु भयो । दलित विद्यार्थीले घर पुगेर प्रधानाध्यापकले आफूहरूलाई भेदभाव गरेको बताए । केही दिन गाउँमै यसबारे छलफल भयो । अन्ततः गत मंगलबार जिल्ला प्रहरी कार्यालय प्युठानमा प्रधानाध्यापक श्रेष्ठले जातीय विभेद गरेको भन्दै जाहेरी दर्ता भएको छ । 

स्थानीय गोपीलाल सुनारले विभेदको कानुनी उपचार पाऊँ भनी जिल्लाको संयुक्त दलित संघर्ष समितिमा निवेदन दिएका थिए । त्यसैको आधारमा संघर्ष समितिले मुद्दा दर्ता गराएको हो ।श्रेष्ठलाई जातीय भेदभाव तथा छुवाछुतसम्बन्धी ऐनअनुसार कारबाही गर्न माग गर्दै उजुरी दर्ता भएको जिल्ला प्रहरी कार्यालय प्युठानका प्रहरी नायब उपरीक्षक निर्मल बुढाथोकीले बताए । उनले अनुसन्धान अघि बढिसकेको जानकारी दिए । ‘यशोधा श्रेष्ठमाथि जातीय छुवाछुतका विषयमा अनुसन्धान भइरहेको छ, उनी प्रहरीको निगरानीमा छिन्,’ बुढाथोकीले भने । 

प्रधानाध्यापक श्रेष्ठले विद्यार्थीमाथि जातीय आधारमा भेदभाव नगरेको दाबी गरेकी छन् । भूमि विकास आधारभूत विद्यालय रहेको स्थान सरङकोट दलित बाहुल्य बस्ती हो । विद्यालयमा दुई सयभन्दा बढी दलित विद्यार्थी पढ्छन् । विद्यालय व्यवस्थापन समितिका सदस्य नरेन्द्र पुनले विभेदका घटनाले सामाजिक सद्भाव र एकतामा ठेस पु-याएको बताए । 

विभेद गरेको छैन :प्रधानाध्यापक श्रेष्ठ
मैले यो जात, ऊ जात भनेर कसैलाई विभेद गरेको छैन । पात टिप्ने काम अप्ठ्यारो भएकाले मैले ६ र ७ कक्षामा अध्ययन गर्ने ठूला भाइबहिनीलाई मात्र बोलाएको हुँ । दलित विद्यार्थी नआउनू भनेको छैन । ममाथि झुटो आरोप लगाइयो ।
 जाहेरी फिर्ता लिन प्रदेश सांसदको फोन 
प्रधानाध्यापकविरुद्ध प्रहरीमा परेको जाहेरी फिर्ता लिन भन्दै प्युठान क्षेत्र नम्बर २ का प्रदेश सांसद कृष्णध्वज खड्काले पीडित पक्षलाई फोन गरेका छन् । उनले ‘शिक्षिका हाम्रै पार्टीकी हुन्, मुद्दा अगाडि नबढाउनुस्, फिर्ता लिनुस्’ भनेर आफूहरूलाई फोन गरेको स्थानीय गोपीलाल सुनारले बताए । तर, सांसदको प्रस्ताव अस्वीकार गरिएको उनले बताए । मल्लरानी–५ का स्थानीय जनप्रतिनिधिले पनि जाहेरी फिर्ता लिन दबाब दिएको सुनारको भनाइ छ । सांसद खड्काले पनि मुद्दा फिर्ता लिन आग्रह गरेको स्वीकार गरे । ‘उहाँको बुबा भर्खरै बितेकाले मानवीय नाताले उजुरी नदिनु भनेको हुँ,’ खड्काले भने ‘विभेदको मुद्दा मिलाउन खोजेको होइन, प्रधानाध्यापकप्रति सहानुभूति राखेको मात्र हो ।’ 
विभेदका  मुद्दामा प्रशासन  गम्भीर नभएको आरोप
पढ्न गएका विद्यार्थीलाई शिक्षकले व्यक्तिगत काममा लगाउनु अनैतिक भएको स्थानीयको भनाइ छ । प्रहरीमा दर्ता भएको जाहेरीअनुसार प्रधानाध्यापक श्रेष्ठले तल्लो जात भनेर हेपेको र तिमीहरूले छोएको चल्दैन भन्दै दलितमाथि जातीय विभेद गरेको दलित विद्यार्थीको भनाइ छ । 

जातीय समता समाजका केन्द्रीय सदस्य गोपाल नेपाली, नेपाल उत्पीडित जातीय मुक्ति समाजका जिल्ला अध्यक्ष खुमबहादुर परियारलगायतले जातीय विभेद र छुवाछुतविरुद्ध लाग्नुपर्ने प्रधानाध्यापकजस्तो व्यक्तिले नै विभेद गरेकोमा आपत्ति जनाए । जिल्लामा जातीय भेदभाव तथा छुवाछुतका घटनामा स्थानीय प्रशासन गम्भीर नभएको आरोप पनि उनीहरूले लगाएको नया पत्रिका दैनिकमा खबर छ ।

दलित समुदायमा जन्मेकै कारणले दलितमाथि हुने जातीय भेदभाव तथा छुवाछुतका घटनालाई मिलापत्रमा टुंग्याउन नहुने र दोषीलाई कारबाही हुनुपर्ने उनीहरूको माग छ । ‘स्कुलमा पनि दलित भनेर हेपिएको देख्दा दुःख लागेको छ,’ त्यही विद्यालयमा अध्ययनरत विद्यार्थीकी आमा बिमला सुनारले भनिन्, ‘दलित बस्तीको अगुवाइमा जाहेरी हालेका हौँ, न्याय नपाएसम्म छाड्दैनौँ ।’ 

No comments:

Post a Comment