सहरी भेग र अन्य विकसित क्षेत्रमा आज पनि विद्यमान रहेको छुवाछुत प्रथा उक्त गाउँमा छैन। त्यहाँका बासिन्दामा समानताको भावना उच्च छ।
ताराबारी गाउँ २०५४ सालमा बसेको हो। यो गाउँमा ठूला घर छैनन्। केही घर छाप्राजस्ता छन्। केही साना भुइँतले पक्की घर छन्।
तर यो गाउँ सामाजिक चेतनामा अब्बल छ। यो गाउँमा को सानो को ठूलो कुनै भदभाव छैन।
उक्त गाउँकी बासिन्दा कृष्णमाया घतानी र दलित भनिएका समुदायका सदस्यहरूले छुवाछुतको सिकार बन्नु परेको छैन। भेदभाव गर्नु हुँदैन भन्ने चेत सबै स्थानीयवासीमा भएको उनी बताउँछिन्।"हामी बराबरी खाँदैछौँ, हिँड्दैछौं, डुल्दैछौँ। पूजापाठ, बिहे आदिमा हामी सबै एकैठाउँमा छौँ। हामीकहाँ कुनै छुवाछुत छैन। यो साँच्चै चेतना आएको हो।"
सहरमा पनि छुवाछुत प्रथा पूर्ण रुपमा हट्न नसकेको अवस्थामा ताराबारीमा बस्ने ब्राह्मण परिवारका मानिसहरू पनि जसको पनि घरमा गएर खान्छन्।
एक जना स्थानीयवासी विनोद दहालले भने, "म ब्राह्मण परिवारमा जन्मेको मान्छे हुँ। तर म दलित भनिएकाहरूकहाँ गएर खान्छु।"
अन्य स्थानमा जातीय भेदभावका समाचार सञ्चारमाध्यममा पढ्दा ताराबारी गाउँका बासिन्दाको मन पोल्ने गरेको अनुभव उनीहरू सुनाउँछन्।
उनीहरु आफ्नो गाउँ र अन्यत्रको तुलना गर्न थाल्छन्।
सोही गाउँकी बासिन्दा संगीता उराउ भन्छिन्, 'अन्य ठाउँका छुवाछुतका घटना सुन्दा छक्क लाग्छ। हामी त सबैकहाँ जान्छौँ, सबैकहाँ खान्छौँ ।"यो गाउँका बासिन्दाको भनाइमा अब भेदभाव र छुवाछुत गर्ने जमाना छैन।
समाज आधुनिक बन्दै गएका कारण सबै समुदायका मानिस समान हुन् भन्ने धारणा आफूहरूमा पलाएको उनीहरूले बताउने गरेका छन्।
गाउँका युवा भन्छन् जमानाअनुसार चल्नका लागि उनीहरूमा भेदभावको भावना नआएको हो। एकजना युवक डेभिड कडरिया भन्छन्, "हामी सबै दाजुभाइ दिदीबहिनी हौँ। केका लागि छुवाछुत ?"
ताराबारीका गाउँका बासिन्दा भन्छन् छुवाछुतरहित उनीहरूको गाउँ राजनीतिको विकसित रूप भएको ठान्छन्।
उनीहरूका सन्तानलाई पनि यही रूप सिकाउन चाहन्छन्। एकजना युवा अंकित उराउले भने, 'बच्चाहरूले विद्यालयमा पनि पढ्दैछन् छुवाछुत राम्रो होइन भनेर। त्यसैको परिणाम पनि हो।"
उनीहरू भन्छन् - मानिस ठूलो दिलले हुन्छ जातले हुँदैन।
व्यवहार स्वच्छ भए समानताको भावना आफैँ जागृत हुने र त्यो भावना मनदेखि नै हुनुपर्ने कुरामा ताराबारीवासी दृढ देखिन्छन्।
No comments:
Post a Comment