भ्रममा बाँचिरहेका आडम्बरीहरु -गोपाल शिवा

जति हाम्रो समाज सभ्य र शिक्षित हुँदैछ, त्यति नै विभेदका तर्कहरु , नया तरिकाहरु पनि बढिरहेको छ । हाम्रो ज्ञान र विद्वताले हामीलाई जति नै सभ्य बनाएता पनि आज पनि हाम्रो मानसिकता र ब्यबहारबाट  बिरालोले फोहर लुकाएजस्तै हामीले हाम्रो समाज भित्रको विभेदको कुरा लुकाउदै आएका छौ ।तर जति लुकाएपनि यो लज्जास्पद सत्य विभिन्न समयमा सार्वजनिक भएको छ ।काठमाडौं लगायतका गाउँ शहरहरुमा आज पनि दलित समुदायकालाई अलग्ग व्यवहार धेरै गरिन्छ । समाज बाट गरिएको यस्तो व्यवहारले गर्दा राजधानी जस्तो ठाउमा समेत दलित समुदायहरु नै आफु माथि भएको विभेद र ज्यादती बारे खुलेर बोल्न सकिरहेका छैनन् । त्यसमा पनि बिकट र सुदुरका गाउँ जिल्लाहरुमा दलित समुदाय माथि गरिने अमानवीय व्यवहार शहरमा बसेर कल्पना गरिने भन्दा पनि बढी पीडादायक छन ।

त्यसो त् देशको केन्द्रिय राजधानी काठमाडौंका तारे होटलहरुमा दलित समुदायका हक अधिकारका बारेमा थुप्रै गोष्ठी सभा सेमिनारहरु आयाेजना हुन्छन् । उनीहरु थुप्रै विषयमा चर्का र गहकिला भाषण गर्छन् ,कार्यपत्र पेश गर्छन् अध्ययन रिपोर्ट पनि बनाउँछन् । तर दिन प्रतिदिन जातीय विभेद र छुवाछुतको घटना यस्तो यस्तो घट्दै छ जुन सुन्दा मात्र पनि जिउ सिरिङ्ग हुन्छ । यदि कोहि जातीय विभेद बाट यहि राजधानीमा प्रताडित भयो भने दलित अधिकारका बारेमा बोल्ने व्यक्तिहरु तथा संस्थाहरु अर्को पटकका लागि चर्का र गहकिला भाषण कथेर , कार्यपत्रहरु तयार गरेर बस्छन कि क्या हो ? हैन भने अपबाद छोडेर धेरैले केही भनेको, गरेको देखिएको सुनिएको बुझिएको किन छैन? 

अर्को तिर  हामी एक्काइसौं शताब्दीमा छौ तर हामी सवै मिलेर प्रतिस्पर्धात्मक जीवन र सामुदायिक विकास गर्ने सोच भन्दा पनि फलानो त दलित हो उसले छोएको खानु हुन् , अलग्गै बस्नु पर्छ हुनु पर्छ भन्ने जस्ता मनमा दरिद्र सोच आफुमा हावी गराई विखण्डित बिचारहरु निरन्तर समाजमा प्रवाह गरिरहेका छौ।यस्तै एउटा सानो उदाहरण राख्न चाहन्छु। केहि दिन अघि एक जना दलित समुदायका मित्र कार्यक्रममा सहभागी भएका रहेछन ।संयोग कस्तो भएछ भने उनलाई दलित समुदायको भनेर चिन्नेहरूले कार्यक्रममा चलेको चियापानमा अनेक बहाना बनाएर केहि खान मानेन् छन । मित्र भन्दै थे कि बाहिर सार्वजनिक कार्यक्रममा बोल्दा आफ्नो विचार बदलिनेहरुले आफु भित्रको व्यवहार बदलिन कठिन परेको स्पस्ट देखे । माथिको सन्दर्भ एउटा सानो उदाहरण हो, मित्रले भने झैँ हाम्रो नेपाली समाजमा जात प्रथाको बारेमा कुन हदसम्मको नकारात्मक सोच छ भन्ने कुराको प्रमाण हो । पढे लेखेका र समाजका अगुवा एव  छुवाछूत अन्त्य गर्न भन्दै समाजमा अर्ति र उपदेश दिनेहरुको त यो हालत छ भने जन्मेर बुझ्ने अवस्था भएदेखि नै नकारात्मक सोच र संस्कारमा हुर्केका आम मानिसको हालत के होला ? 

यी मित्रले मात्र हैन धेरै पटक आदरणीय दलित समुदायका अन्य मित्रहरुले पनि यसरी नै सार्वजनिक कार्यक्रममा संगै बसेका गाउँका गैर दलित अगुवाहरुले चिया बिस्कुट खान पर्यो भने अनेक कारण बताएको याद गर्नु भएको होला ।  यिनका कारणमा तपाइले बिस्वास पनि गर्नु भएको होला तर के स्पस्ट हुनुस भने उनीहरु संगै तपाइँ या कोहि दलित समुदायको संगै बसेको छ भने त्यो नै सबैको कारण समस्या बनिरहेको हुन्छ ।भलै दलित समुदाय माथि आएको चेतनाको बिकास र देशको कानुनले गर्दा पछिल्ला केहि बर्ष देखि यसरी नै दलितले छोएको नखाने भनेर खुलेर प्रतिकार गर्न नसक्ने गैर दलितहरु हेर्दा विभेद नदेखिने गरि व्यवहारिकरुपमा विभेदको ठूलै पहाड आफु सामु उभाएर बसेका छन ।किनकी दलितले छोएको खान हुँदैन भन्ने पुरानो सोंचहरु जमेर बाक्लो बोसो बनेर अझैपनि यिनको दिमागमा जेलिएको छ ।

अर्को एउटा उदाहरण भन्छु, एक दिनको कुरा हो एकाबिहानै म एक जना दलित समुदायकै मित्र कहा काम बिशेषले पुगे ।  मित्र कहाँ हरेक बिहान दुध लिएर त्यहि गाउका पुराना एकजना गाइ पाल्ने आउदा रहेछन । गफिदै गर्दा दुध ल्याउनेले घरै अघि बाट साईकलमा  दुध बोकेर गए ... तर मित्र कहाँ दुध छोडेन ...आज पनि दुध ढिला ल्याउने भो ।भाईलाई (मलाई ) चिया पिलाउन नपाइने भो त ....मित्रकि दिदिले भनिन् । केहि छैन दिदि फेरी पिउला नि मैले वहाको पीर लाई अलि मत्थर पार्दै बोले ।गफको सिलसिलामा थाहा भयो कि मित्रको घर नजिकै रहेका यी गाइ पालक ले उनकै घर बाट दुध वितरण गर्दै केहि दिन सवै तिर लगेछन तर तेस्रो दिन देखि अचानक उनले ढिलो ल्याउन थालेका रहेछन ।कसले भन्यो थाहा भएँन तर गाउमा कथित छुन नहुने जातलाई छुवाएर दुध ल्याउदा रहेछौ भनेर केहि ग्राहकले आपत्ति जनाए रे भनेको सुनियो । त्यसैले होकी केले हो कुन्नि पहिला गैर दलितलाई दिई सकेर अहिले सवै भन्दा लास्टमा हामीकहाँ दुध ल्याउन थालेका छन  , मित्रका पिताले थपे ।पोइसा तिरेर लिने होनि किन ढिला ल्याउनु भा भनेर सोध्नु भएन त् कारण , मैले प्रश्न तेर्साए । म सधैँ हिचकिचाउने गर्दछु, आफ्नो जात र समुदायको कुरा देखाएर आफ्नो अपमान र उपेक्षा आमन्त्रण गर्ने क्षमता ममा छैन, मित्रले जवाफ फर्काए ।कुरा छोट्याउदै म मित्रको घर बाट बिदा मागेर फर्किए।तर मनमा बारम्बार त्यहि विभेदको स्वरुपको अनुत्तरित प्रश्नहरु मेरो मनमा उठिरहेका थिए ।नेपाली समाजका दलित समुदायमा बिना कसुर आफुमा हिनताबोध हुने र गैर दलितमा दुध सम्म छोइने भन्ने नकारात्मक सोच र चिन्तन कुन हदसम्म छ भन्ने कुराको उदाहरण श्रवण गरेर फर्किदै थिए । 

त्यसो त् देशमा लोकतन्त्र आयो अब त् पहिलेको जस्तो विभेद छैन , व्यक्तिहरु शिक्षित भए , कानुनले सजाय निर्दिष्ट गरेको छ , जातीय भेदभाव तथा छुवाछुत दण्डनीय अपराध हाे भनेर सबै मान्छन् भनेर आत्म सन्तुस्टीको तक्मा लगाए पनि नेपाली समाज भित्र देखिएको विभेदको अनेकौ स्वरुपले दलित समुदाय बाट हुनुकाे पीडा पटकपटक अनुभूति गराएको छ ।नेपाली समाजका  जेष्ठ पुस्ताको कुरा छोडौ युवा पुस्ताका विद्वानहरु र बौद्धिकहरु समेत अझै पनि दलित समुदायले छोएको चिया र पानी समेत पिउन मान्दैनन् ।   समाजको आदर्श नमूना भएर देखाउनुपर्ने विद्वानहरुभित्र पनि  हिन्दु संस्कृतिको एउटा तत्व लुकेर रहेको हुन्छ जसले उनीहरुलाई आजका मितिमा पनि कुनै सार्वजनिक कार्यक्रममा नेपाली समाजका एकै धर्म र संस्कार मान्ने दमाई , कामी , सार्की लगायत कथित दलित भनेर चिनिएकाहरुको साथमा बसेर भात त के चिया, पानी पिउने सम्म पनि आँट दिलाउन / आउन सकेको छैन ।त्यति मात्र हैन अझै पनि नेपाली समाजका केहि ठाउहरुमा दलित भन्ने थाहा पाएमा किनेरै खाएको चिया, खाजाका भाँडा माझन लगाउने गरेका धेरै उदाहरणहरु सार्वजनिक भएका छन्  ।मुलुकमा लोकतान्त्रिक ब्यबस्था हुदा पनि हिन्दु संस्कृति कै कारण कथित तल्लो जाति भएर सकसको जीवन जिउनु बाध्य भएका दलित समुदाय आफैले बनाएको मन्दिरमा खुट्टो राख्न डराउछन ।  

सामाजिक र ब्यबहारिक रुपमा सुरुमा मान्छेले धर्म र पारिवारिक बाताबरण बाट व्यक्तिलाई जसरी चिनेको हुन्छ, चिनाइएको हुन्छ त्यहि अनुरुप जति नै शिक्षित भए पनि विभेदकारी ब्यबहार गरि रहेको हुन्छ जुन अहिले हाम्रो समाजको समस्याको रुपमा उभिएको छ  ।  दुध चोखो हुनु पर्ने, आफु भन्दा पहिले दलित समुदायकोमा दिन नहुने भन्दै विभेदलाइ मलजल गर्नेहरु  । उतिनै दाम तिरेर लिने दुधको नाममा दलित समुदाय माथि अप्रत्यक्ष रुपमा हिँसा गर्नेहरु । दलित समुदायलाई मानसिक यातना दिनेहरु जन्मजात संस्कारको रुपमा जीनमै  जातीय विभेद लिएर आएको आडम्बरीहरु हुन् जसले आफु भ्रममा बाचेर आस्थाको हिलो समाजमा छ्यापी रहेका हुन्छन ।त्यसो त सत्य र इतिहासको आड नपाएपछि विभेद गर्नेहरु संग सानो जात र छुवाछुतको बारेमा अर्थात् उनीहरु बीच जरा गाडेर बसेको भ्रमको बारे व्यक्तिपिच्छे फरक कथा होलान। तर यी सवै मिथ्या हुन् किंनकी मैले राजधानीका धेरै दुध डेरी,फुड प्रोडक्सन र सप्लाईमा नेपाली समाजका कथित दलितहरुले आफ्नै हातले दैनिक उपभोग्य बस्तुहरु दुध ,दहि, घ्यु र बिस्कुटहरु बनाएको देखेको छु ।प्रायः विभेद लाइ सिरोधार्य गरेर हिड्ने मानिसहरू यसरी बनाएको खानाहरु बजारमा पवित्र मानेर दलित समुदायले छुन्छन कि भन्दै तर्की तर्कि किनेर लगेर खाएको सम्म देखेको छु। यी दुवै परिदृश्य देखेर थोत्रो अभिमान, जातको आडम्बर गर्दै  भ्रममा बाचिरहेकाहरु सम्झेर यिनको भ्रमलाई मिथ्या नभने के भने !  

निचोडमा भन्नु पर्दा आफ्नो सामाजिक प्रतिष्ठा फिर्ता लिनकै लागि आफ्नै समाजबाट तिरष्कृत र दलित भएर दलित समुदायले ज्यु ज्यु गर्दै अहिले पनि बस्नु परेको छ।   अहिले सम्म दलित समुदायले नेपाली समाजमा आफुलाई तल्लोजात भनेर भनाइनु परेको छ , चिनाईनु परेको छ,दलित समुदायले आफ्नो अस्तित्वको परिचय नेपाली समाजमा खोजिरहनु परेको छ।के अब पनि दलित समुदायले यसरी थिचाेमिचाेलाई सहेरै माैन बसिरहलान् ?

No comments:

Post a Comment