आउनुस्, छुवाछुत फालौं…- कृष्ण प्रसाद शर्मा

साउन १ गते लुतो फाल्यौं । लुतो भनेको शरीररलाई दुख दिने शारीरिक समस्या हो । यसले व्यक्तिलाई असर गर्छ । तर समाजममा सामाजिक लुतो अझै छ त्यो हो छुवाछुत । हामीले समाजबाट लुतो नफालेसम्म व्यक्तिका लुतो फालेर कहिल्यै यसको समाधान हुँदैन । जसरी देश गरीबै रहेर व्यक्ति धनी भएर कुनै अर्थ छैन ।

२०६४ सालपछि आजसम्म करीब १३ वटा यस्ता जघन्य, असामाजिक, अमानविय घटनाहरू जसको अन्तिम रुप रुकुम घटना हो जसको भागिदार हामी सबै हो । दलितका नाममा भएका यस्ता घटनाको अन्तिम भोग नवराज विकलगायत ६ जनालाई दिईयो । हामीले कसैलाई खुशी पार्न कसैको बली चढाएझै दलितलाई भोग दिने हाम्रो सामाजिक संरचना कहिले र कसरी फेर्ने होला ? सतिप्रथा अन्त्य भयो तर छुवाछुत किन अन्त्य भएको छैन । एउटा कारण हो सतिप्रथामा महिलाको ज्यान जान्थ्यो । महिलाले समाजको आधा भाग ओगटेका छन् । उनीहरू पनि मानव हुन भनेर उनीहरूको स्वतन्त्रताको कुरा उठ्यो । अमानवीय हो भनियो तर छुवाछुतमा दलितको ज्यान जाने हो । दलितलाई मानविय व्यवहार गरिएको छैन । दलितको स्थान मानव सरह स्विकारसमेत गरिएको छैन त्यसैले प्रत्येक बर्ष दलितलाई बलि चढाईएको छ र भोज गरिएको छ ।

देशमा १८ घण्टा लोडसेडिङ हुँदा साना–ठूला कलकारखाना मात्र होईन घरायसी कामको समेत मेलोमेसो थिएन । जब लोडसेडिङ हट्यो जनजीवन सहज भयो । आर्थिक अवस्था सुध्रियो, उत्पादक पनि बढ्यो र आर्थिक वृद्धिदर समेत बढ्यो । राज्यले अरु थप केही गरेको होईन । हो यहाँ यो प्रसंग किन जोड्न खोजेको भने । यदि दलितलाई मानवीय व्यवहार गरियो, छुवाछुतको कंलक जीवनभर बोकेर हिड्न परेन भने दलित उत्थानका लागि कुनै एनजीओ–आईएनजीओ चाहिदैंनन् । बरा र कठै भनेर साहनुभति देखाई राख्नु पनि पर्दैन । आफ्नो शिर कसैले उठाईदिनु पर्दैन जसरी लोडसेडिङ हट्दा समाजमा आर्थिकमा चलायमान भयो छुताछुत हट्यो भने सामाजिक रुपमा चलायमान हुनेछ । अनि आरक्षण दिएका नाममा हेप्ने र आरक्षित बनाई राख्ने काम समेत हुने छैन । स्कुलमा लगेर गएको खाजा संगैका गैरदलितसंग बसेर खान नपाउने भएका कारण खाजा नलाने गरेको सुन्नु भएकै छ होला । एउटा बाल मस्तिष्कमा यो कुराले कति असर पार्छ बुझौं ।

छुवाछुत हटाउन पहिला सबैले के स्वीकार गरौं भने यो दलितको समस्या होईन । यो गैरदलितको पनि समस्या हो । अर्थात् सामाजिक समस्या हो । यति स्वीकार गरेर छुवाछुत नामको कलंकको मतियारमा आफ्ना टाउको पनि हो भन्ने बुझे अनि सहज हुन्छ । दलित र गैर दलितको सहभोज देखावटी मात्र हुन सक्छ । भोजसंगै खाने घर गएर जनै फेर्ने वा छिटा हालेरभित्र छिर्ने मानसिकताले यो हट्दैन । मनबाट हटाउन जरुरी छ ।

दलितलाई बोलाउँदा सम्बोधन गर्ने शब्द, उससँग गर्ने व्यवहार, उसका लागि खाना दिने कुरा, उसका लागि खान दिने भाँडासमेत फरक फरक छन् भने छुवाछुत कसरी हट्छ ?

यो गर्न बन्दुक बोक्नु पर्ने होईन मात्र आत्म समिक्षा गर्ने हो । के मैले गरेका व्यवहार ठीक छन् ? यदि कसैले यस्तै व्यवहार मलाई गर्दा मलाई ठीक लाग्छ ? यो आँफैले आँफैलाई सोधौं । कतिपयले छुवाछुत हट्न पहिला दलितभित्रै आ–आँफै छुवाछुत गर्छन् । उनीहरूको खानपान रहनसहनमा परिवर्तन हुनु पर्यो भन्छन् । यि छुवाछुताका मुल कारण होईनन् किन कि छिमेकमा प्रायः घरमा सासु–बुहारीको झगडा हुन्छ भनेर तपाई आफ्ना घरमा पनि झगडा चलिराखोस् भनेर छोड्न सक्नु हुन्छ ? हो त्यस्तै हो छुवाछुत दलितभित्र छ तर यदि पहिला दलित र गैरदलितको छुताछुत हटाउँ आँफु बीचको हटाउन ठूलो चिन्ता लिनु पर्दैन । त्यस्तै खानपान लवाई खुवाई । गरीब परिवारमा जन्मिएका बालबच्चाहरूको लवाईखुवाई हेरौं । त्यसैले जातका आधारमा लवाई खवाई गौण हो आजको जमनामा । यो त केवल जातका आधारमा खानपान जोडेर उनीहरूलाई अपमानित गर्नु हो । कपडा र खाने कुरासँग जोडेर छुवाछुतालाई मलजल गर्न छाडौं । यो गर्न सकिन्छ ।

हरेक गाउँमा मठ मन्दिरहरू छन् । त्यहाँका स्थानिय दलित छिर्न पाउँदैनन् । बाग्लुङ कालिकामा छिर्न पाउँछन् किन कि त्यहाँ छुट्टाउने सक्ने सम्भव छैन । यहि कुरा गाउँमा लागु हुँदैन किन कि गाउँमा फलानो दलित हो भनेर परैबाट ठुलो स्वर गर्छन् । हामीले अब स्थानीय तहका मन्दिरमा पस्न दिनुपर्छ । एक दिन दलित गैरदलितको सहभोजले छुवाछुत हट्दैन । रुकुममा नवराजलगायत ६ जनाको हत्या भयो । त्यसको विरोधस्वरुप देशैभरी प्रदर्शन भयो तर अपबाद बाहेक यस्ता प्रदर्शनमा गैरदलितको सहभागिता किन भएन ? आयोजकले नबोलाए पनि सहभागी हुन गैरदलित जान किन सकेनन् ? किन भने यो दलित समस्या हो ठानियो । जातका आधारमा कुरा नमोड भन्नेहरू क्रुर रुपमा मारिएकाहरूका पक्षमा मानवीय हिसाबले त साथ दिनु पथ्र्याै तर त्यो भएन । अत ः यस्ता जघन्य अपराधमा जो कोही परे पनि दलित गैरदलित सबैको ऐक्यवद्धता चाहिन्छ । त्यो गरौं, सकिन्छ ।
कसैले पनि पकाएको खान्न भन्न पाउने मानवअधिकार वा फलानो फलानो जात हो त्यसैले उसले पकाएको खान्न भन्नु अमानवीय व्यवहार हो र सामाजिक अपराध नै हो । यो हामी गर्न छोडौं ।

छुवाछुत हिन्दु धर्मसँग जोडिएको र यसको प्रमुख कारण यसलाई र मनुलाई भनिएको छ । धर्म भनेको मान्छेको मनमा बस्ने कुरा हो जसलाई आस्था भनिन्छ राम्रो काम गरे धर्मका हिसाबले हेरिन्छ । यदि कुनै पनि धर्ममा सुधार गर्नु पर्ने छ भने गरौं । छुवाछुत हटाउनु हिन्दु धर्म माथीको प्रहार हो र अन्य धर्मका लागी बाटो हो भन्ने कतिपयको भनाई र बुझाइ छ तर त्यो सरासर गलत हो । बरु हिन्दु धर्मलाई गलत देखाएर त्यसको फाईदा लिए भने त्यो भ्रम वा वास्तविकता स्पष्ट पारे यो भनाई सहनु पर्ने थिएन । त्यसैले धर्मको व्याख्या नै अर्धर्मी नहोस् । व्याख्यतामा एक रुपता आओस् । त्यो गरौं ।
छुवाछुतको जरो सबैभन्दा गहिरो सामाजिक व्यवहारमा गाडिएको छ । गैरदलितको पुजाआजामा दलितलाई टीका लगाउन वा थाप्न नदिने । दलितलाई बोलाए पनि खान दिनका लागि फरक ठाउँ जहाँ अलग्गै होस् । भन्ने गरिन्छ साम्यगाम्य नहुने ठाउँमा राखौं भनेर । कतिपय ठाउँमा फलाना दलितले पकाएको खान्न म पुजारी हुँ वा फलानो हुँ भन्ने गरेका समाचार पढिएको छ । यहि महामारीका बेला क्वारेन्टिनमा समेत दलितमाथि भेदभाव भएको थियो । कसैले पनि पकाएको खान्न भन्न पाउने मानवअधिकार वा फलानो फलानो जात हो त्यसैले उसले पकाएको खान्न भन्नु अमानवीय व्यवहार हो र सामाजिक अपराध नै हो । यो हामी गर्न छोडौं ।

छुवाछुतका कारण धारा पधेंरामा हुने अमानवीय व्यवहार र सार्वजनिक स्थलमा गरेर व्यवहार आफ्नो तर्फबाट सुधारौं । नेपाली भाषामा रहेका कतिपय उखानटुक्का जसले दलितलाई अपमानीत गराउँछ जसको प्रयोग नगरौं र लेख्ने पढ्ने उखानटुक्काको रुपमा नराखौं । यो गर्न सकिन्छ गरौं । आरक्षणलाई देखाएर हेप्ने परिपाटीको बन्द गरौं । निश्चित समय आरक्षणको सुविधा संसारभर छ र दलित भएकै कारण पढ्न नपाएका धेरै घटनाहरू छन् त्यसका लागि स्कुलको शिक्षा मात्र होईन वातावरण समेत विभेदकारी नहोस् भनेर आफनो तर्फबाट प्रयत्न गरौं ।
गत हप्तामात्रै निजामति सेवाको ईतिहासमा सचिव पदमा पुग्नु भएका डा. मानबहादुर विकेको समाचार पढेका थियौं । दलित समुदायका यस्ता शुभ समाचार सुन्न हामी गैरदलितले सकेको आचरण बदलौं । समाज पनि बदलिन्छ । देश बदल्न नसके पनि आफ्नो गाउँ बदलौं ।-dhorpatannews

No comments:

Post a Comment