‘जातको प्रश्न’ लिएर आउदै अभिनेता राजेश हमाल

विभेद बिरुद्द अभियान - जातको आधारमा हुने विभेदमाथि बहस गर्ने कार्यक्रम 'जातको प्रश्न' कान्तिपुर टेलिभिजनबाट प्रशारणमा आउने भएको छ । अभिनेता राजेश हमालले प्रस्तुत गर्ने 'जातको प्रश्न' १२ एपिसोडको हुने राजधानीमा आयोजना गरिएको पत्रकार सम्मेलनमा जानकारी दिइयो । 
'समता फाउण्डेसन'ले सुरु गर्न लागेको 'टक सो' मा हमालले विभिन्न क्षेत्रका मानिसलाई प्रश्न गर्नेछन् । साउन १७ गतेदेखि कान्तिपुर टेलिभिजनबाट प्रत्येक शनिबार साँझ ६:३० बजे कार्यक्रम आउनेछ । ६ वटा एपिसोडपछि विभेद सहेकासँग भेटेर नै कार्यक्रम सञ्चालन गरिने कार्यक्रमकी निर्देशक शान्ता नेपालीले बताइन् ।

पहिलोपटक यस्तो कार्यक्रममार्फत् प्रश्न गर्ने जिम्मेवारी पाएको भन्दै हमालले आफूलाई जातको आधारमा गरिने भेदभावमा चित्त नबुझ्ने गरेको बताए । 'हाम्रो सँस्कृतिमा, रहनसहन, समाज, परम्परामा विभिन्न किसिमले गासिँदै आएका विभिन्न किसिमका प्रथा, कुप्रथाहरु मध्य सबैभन्दा चित्त नबुझेको चाहिँ जातको आधारमा एउटा मानिसले अर्को मानिसप्रति गर्ने भेदभाव, भेदभावमात्रै नभएर क्रुर अमानवीय व्यवहार हो,' उनले भने, 'यो अमानवीय व्यवहार हामी संसारभर नै देख्छौं । त्यसैले एकदमै जादुको छडी चलाएर छुमन्तर गरेर जरादेखि नै उखेल्न सकिन्छ भन्ने प्रश्नचिन्ह पनि छ, अन्यौलता पनि छ । तर, त्यो हुँदाहुँदा पनि यो मुद्दामा बहस गरिरहने, दर्शकमा भेदभाव, अन्यायका कुरा उजागर गर्ने कार्य हुनैपर्छ । यो कार्यक्रमको मुख्य उद्देश्य यही हो ।'

'समता फाउण्डेसन'का कार्यकारी अध्यक्ष प्रदीप परियाले हालै रुकुममा ६ जना युवाको ज्यान लिनेगरी भएको जातीय विभेदको घटनाले यस विषयमाथि थप बहस आवश्यक लागेपछि आफूहरुले 'जातको प्रश्न'सुरु गरेको बताए । 'नेपालमा जातको आधारमा हुने विभेद छ भनेर हामी सबैलाई थाहा छ । तर, थाहा हुँदाहुँदै पनि यो विषयमा आवाज उठाउनुपर्छ भन्ने कुरा कमै मानिसले सोच्छन् । परिवर्तनका लागि केही गर्नुपर्छ भनेर यो कार्यक्रम सुरु भएको हो,' परियारले पत्रकार सम्मेलनमा भने, 'रुकुमको घटमा जुन बर्बरता भयो, जातको जाँतोले मानिसहरु मरिरहेका छन् भनेर स्पष्ट देखायो । त्यसपछाडि यसमा थप बहस र प्रश्नहरु उठाउनुपर्छ भन्ने हाम्रो टिमलाई लाग्यो ।'

यो विषयमाथि हरेक परिवारमा बहस अनि छलफल होस् भन्ने उदेश्यले कार्यक्रम सिर्जना गरेको उनी बताउँछन् । 'धेरैलाई के लाग्छ भने यो दलितहरुको समस्या हो । उनीहरुले भोग्दै आएका छन् तर यो हामी सबैको समस्या हो । अझ यो गैरदलितको समस्या हो । किनभने यो उनीहरुले गरिरहेका छन् । त्यसैले यो बहस एक तहमा पुर्याउउनुपर्छ, जातको आधारमा हुने विभेद अन्त्य गर्नका लागि हामीले केही गर्नुपर्छ भनेर कार्यक्रम सुरुवात गर्यौं,' उनले भने । नयाँ र पुराना पुस्तासम्म यो कार्यक्रम पुर्‍याउन राजेश हमाल उपयुक्त लागेका कारण उनलाई प्रस्तोतामा लिएको उनले बताए ।

कान्तिपुर टेलिभिजनका स्टेसन म्यानेजर दिनेश डिसीले परिवारमा देखेको विभेद अबको पुस्तामा न्युनीकरण होस् भन्न यो पहलमा साथ दिएको बताए । '२०५३ सालम मेरो बुबाले मेरी शेर्पा आमासँग बिहे गर्नु भएको थियो । मेरो आमा शेर्पा भएको कारणले क्षेत्रीको चुलोमा गएर काम गर्न पाउनु भएन । वर्षौंपश्चात जातभात केही हुँदैन रहेछ भनेर हजुरआमाले आमालाई भान्सामा जान दिनु भयो । योभन्दा हामी छक्क पर्यौं । त्यो कुरा सानै हुँदा मैले देखें । त्यो देखेका र भोगेका कुराहरु अबको पुस्ताले भोग्नु नपरोस्, न्युनीकरण हुँदै जाओस् भन्ने उदेश्यका लागि कान्तिपुरले यो पहल गरेको हो ।'-कान्तिपुर

No comments:

Post a Comment