झरुवाराशीमा एक धार्मिक क्रिश्चियन संस्थाले दलित बस्तीमा जाने बाटो गर्यो बन्द

विभेद बिरुद्द अभियान - ललितपुर जिल्लाको गोदवारी नगरपालिका वडा-१३ झरुवाराशीमा एक धार्मिक क्रिश्चियन संस्थाले दलित बस्तीमा जाने बाटो बन्द गरेको छ।

ओ.एम. नेपाल, ट्रान्सफरमिङ लाइभ्स एण्ड कम्युनीटी नामक संस्थाले विगत १२ वर्षदेखि पुस्तौ पुस्तादेखि बस्दै आएका दलित बस्तीको बाटो बन्द गरिदिएको हो । करिब १० रोपनी क्षेत्रफल रहेको त्यस स्थानमा संस्थाले आफ्नो कम्पाउण्डको गेट बनाएर ताल्चा आफूसंग राख्दै आएपछि कम्पाउण्डभित्रका परिवार बाहिर निस्कन कठिनाई भएको पीडितहरुको गुणासो छ ।

योजनाबद्ध रुपमा बाटो वारीपारीको जग्गा संस्थाले किनेर स्थानीय जनतासँग मौखिक सहमतीमा बाटो दिने भन्दै कम्पाउण्ड उठाए पछि गेटमा ताल्चा लगाएको स्थानीयहरुले बताए । यसबाट पाँच परिवारलाई सबैभन्दा धेरै समस्या रहेको छ । घरमै गाडी जानसक्ने अवस्थामा गाडी हुनेले पनि निजि सवारी साधन घरमा लैजान नसक्ने भएका छन् ।

विदेशी सहयोगमा बनेको उक्त संरचनामा आफूहरुले लिएको जग्गा परिसर भएकोले सुरक्षाको लागि कम्पाउण्ड लगाएको सोही संस्थाका कार्यकारी निर्देशक धनलाल पाख्रिनले दाबी गर्दै आएपनि त्यहाँका दलित बस्तीका परिवारहरु भने आफूहरुलाई अफ्टयारोमा पारेर त्यहाँबाट निकाल्न खोजेको गम्भीर आरोप लगाएका छन् ।

पैसा र शक्तिको प्रलोभन देखाई केही वर्षअघिसम्म संस्थालाई सस्तोमा जग्गा दवाव दिने गरिएको पनि स्थानीयले दावि गरेका छन् । आफूहरुलाई धर्म समेत परिवर्तन गराउन खोज्ने गरेको बताएका छन् । पिडित स्थानीयहरु पुस्तौं देखि बसोबास गरेको पुस्तैनी थलो नछाड्ने र स्वतन्त्रपूर्वक बाटो प्रयोग गर्न पाउनुपर्ने माग सहित न्यायका लागि नगरपालिकाको न्यायालय पुगेको बताएको छ ।

बाउबाजेको थातथलोलाई संरक्षण गर्न आफ्नो कर्तव्य रहेको भन्दै विदेशी लगानीको नाममा आफ्नो बस्तीलाई जबरजस्ती धर्म परिवर्तनका केन्द्र बनाउन खोजिए त्यसको मूल्य चुकाउनुपर्ने बताए । संस्थाको आडमा सस्तोमा जग्गा किनेर स्थानीयलाई पुस्तैनी थलोबाट प्रतिस्थापन गर्न लागिएको स्थानीए जनताहरुले आशंका गरेका छन् ।

२०६२ सालमा खण्ड-खण्ड जग्गा खरिद गरी ०६५ सालमा वडाको सिफारिस सहित निर्माण भएको संरचना पछिल्लो समय नगरपालिकाको मापदण्ड विपरीत गएको र ०७० सालमा गेट निर्माण गरी पूरै बस्ती समेत संरचनाभित्र पार्न खोज्दा स्थानीयले अवरोध पुर्‍याएको बुझ्न आएको छ । हालसालै पुनः गेट निर्माण गरी ताल्चा लगाएपछि बस्तीभित्रका परिवारका सदस्यहरु बाहिर निस्कन कठिनाई भएको उनीहरु बताउँछन् ।

साँधुरो गोरेटोमा संस्थाले काँडेतार लगाएकोले मानिसहरु घाइते हुने क्रम बढेकोले काँडेतार हटाउन वा पर्खाल लगाउन आग्रह गरे पनि हाम्रो जग्गामा हामीले जे’लाउन पर्छ लाउँछौं भन्दै ठाडो जवाफ दिने गरेको संस्थाबाट पिडितहरुले बताए ।

पिडितहरु घरबाहिर जान र भित्र गर्न समेत अरुलाई सोध्नु पर्ने परिस्थिति आएको भन्दै आफूहरु स्वतन्त्रपूर्वक हिड्न र बाच्न पाउने नैसर्गीक थलोको अस्तित्व नै हराएको भन्दै न्यायको लागि मिडियामा आउनुपर्ने बाध्यता सुनाउँछन् । विरामी हुँदा तथा अपतकालिन अवस्थामा समेत संस्थाको निर्देशनमा चल्नुपर्ने अवस्थाको पीडा आफूहरुले व्यहोर्नु परेकोले तत्काल बाटो खुल्ला राख्नुपर्ने पीडितहरुको माग छ । त्यस क्षेत्रमा झरुवाराशी गुठी पनि रहेको छ । जसमा २२ घरपरिवार र दलित समुदायको २२ घरपरिवार बस्दै आएका छन् ।

संस्थाले शिलो फार्मको नाममा नर्सरी तथा कृषिका कार्य गर्दै आईरहेको भएपनि उक्त स्थान क्रिश्चियन पास्टरहरुको प्रशिक्षण केन्द्रको प्रयोजनका प्रयोग भएको समेत स्थानीयहरुले बताए । संस्थामा स्थानीय केही परिवारका सदस्यहरुलाई रोजगारी दिदै आएको संस्थाका कार्यकारी निर्देशक धनलाल पाख्रिनको भनाई छ ।

समस्याको समाधानका लागि वडा कार्यालय पुगेका पीडितहरुलाई नगरपालिकाले  न्यायिक समितिबाट  समाधान निकाल्ने वडा अध्यक्ष भास्कार थापाले बताए । त्यस ठाउँमा बाटोकै नाममा पटक-पटक समस्या आउने गरेको खुलासा गर्दै, न्यायिक समितिको निर्णयबाट दुवै पक्षलाई राखेर समस्याको समाधानतर्फ जाने वडा अध्यक्ष थापाले बताएका छन् ।

वडा अध्यक्ष थापाले भने दुवै पक्षको उजुरी परेको कारण आउने शुक्रबार न्यायिक समितिको बैठक बसी विवाद टुंग्याउने र सामुदायिक हितका लागि दुवै पक्षले गम्भीरतापूर्वक ध्यान दिन पनि आग्रह गरे ।

-हेलो खबर बाट साभार 

No comments:

Post a Comment