दलितमाथि मधेशमा भएका हिंसा तथा छुवाछुतका १० चर्चित घटनाहरु - राजकरण महतो

विभेद बिरुद्द अभियान - भनिन्छ, सबैको मानिसको शरिरको रगत रातो छ ।त्यसैले दलितको पनि रगत रातो नै छ । तर, दलितले छोएको पनी गैर दलित वा ठूला जातीले छोएको भन्दै खाँदैनन् । दलितले पानी छोइदिए कुटपीट गरिन्छ, ज्याननै लिइदिन्छ । श्रम र सीप चल्ने यो समाजले पचाउँछन् । तर, उनीहरुको हातको पानी अझै पचाउन सकेको छैन ।कानुनी रुपमा छुवाछुत समाप्त भएको छ ।तर, व्यवहारमा दलितहरुले दिन्हुँ जातीय विभेद भोग्न बाध्यछन् , प्रदेश २ मा । गाउँका सिंहदबारमै दलितहरुले दुव्र्यवहार र यातना खेप्न बाध्य छन् । कानुन कार्यान्वय फितलो हुँदा दलितहरुमाथिको विभेद गर्नेहरु प्रस्य पाइरहेका छन् । धेरै कम पीडितले न्याय पाउँछन् । प्रहरीमा उजुरी नै पर्दैन । परिहाले पनि राजनीति चलखेल हुन्छ । दलितमाथि भएका अन्याय मिलापत्रमा टुङ्गिन्छ । कारवाही भएपनि न्युन हुन्छ हदैसम्म हुदैंन ।

लठ्ठीले कुटदा त चोट मात्रै लाग्छ, तर अशब्द बोलेर गरिने दुव्र्यहारले मान्छेको मुटुलाई छियाःछिया बनाइदिन्छ । तँ तल्लो, जाती छस्, तेरो छोएको पानी चल्दैन, तँ अछोप जाती हो भन्दै गरिने दुव्र्यहारले दलितहरुको मुटु छियाः छिया भएर दिनहुँ फुट्छ । उनीहरुको त्यो घाउमा मलहम पट्टी गर्ने कोही छैन ।
दलिताका छोरीचेलीहरु क्रुरुर हिंसाको सिकार बन्दै आएकी छिन् । अपहरण गरि बलात्कारपछी हत्या गरेर जलाइएको घटनाहरु भएको छ । यि घटनाहरु सुन्दा जीउ सिरिङ्ग हुन्छ । उनीहरुका छोरोछोरीहरुलाई स्कूलमा छुवाछुत र तल्लो जाती भनेर अपहेलित नगरेका होइनन् । जातीय भेदभाव गर्नु आफैँंमा अपराध हो । यससम्बन्धी कानुन बनेको पनि एक दशक पुग्न लाग्दैछ । जातीय भेदभाव तथा छुवाछुत (कसुर र सजाय) ऐन २०६८ पारित भई कार्यान्वयन भने फितलो छ ।

पानी छोएको भन्दै कुटपीट

जातीय भेदभाव सहन नसकेर महोत्तरीको महोत्तरी बर्दिबास नगरपालिका–४ भब्सीकी बुद्धमाया विश्वकर्माले बिष सेवन गरेर आत्महत्याको प्रयास गरिन् । २०७५ वैशाख १५ गते साँझ पानी छोएको निहुँमा बुद्धमायाकी छोरी मनीषालाई छिमेकी कमला गिरीले कुटपिट गरेकी थिइन्। आफ्नो छोरीलाई कुट्नुको कारण के हो भनी छिमेकमा न्याय माग्दा उल्टै कमलाका भान्जा रामबाबु दाहाल र कमला बुद्धमायामाथि जाइलागेका थिए।
न्यायको खोजीमा अदालत पुगेकी बुद्धमाया र मनीषाले असार २४ गते न्याय त पाइन्। तर, पीडिकहरू जेल जाने भएपछि बुद्धमायामाथि छिमेकीहरूले दबाब बनाए । त्यसपछि उनी डराइन् । दबाब सहन नसकेरे उनी विष सेवन गर्न बाध्य भइन्। विष गरेकी उनलाई सहयोगी हातहरुले काठमाण्डौंमा लगेर उपचार गरेर बचाइन् ।‘मैले जुन दुःख भोग्नुपर्यो त्यो अरूले नपरोस्’, बुद्धमायाले भनिन्, ‘समाजमा मिलेर बस्दा नै सबैको भलो हुन्छ।’उनीसंग अहिले छिमेकीहरु बोल्दैनन् ।
बुद्धमाया र उनकी छोरी मनीषामाथि जातीय छुवाछुत र दुव्र्यवहार गर्ने छिमेकी कमला र उनका भान्जा रामबाबु दाहाललाई जिल्ला अदालत महोत्तरीले २०७५ असार २४ गते ६ महिनासम्म कैदसहित जरिवाना र ५० हजार रुपैयाँ क्षतिपूर्तिको फैसला सुनाएको थियो । ‘सम्भवतः छुवाछूतमा यति ठूलो कारबाही पहिलो नै हो’, प्रदेश २ का विश्वकर्मा समाजका अध्यक्ष तथा दलित अधिकारकर्मी मीन रहपालले भने ।
पीडकहरू जेल जाने भएपछि बुद्धमायाको परिवारमाथि छिमेकी खनिएका थिए । त्यसपछि उनले आत्महत्याको प्रयास गरेकी थिइन् ।

बलात्कारपछी हत्या गरेर जलाइयो

धनुषाको मिथिला नगरपालिका—३ हरीहरपुर, मगरटोलकी रेशमा(दुतिया) रसाईली विश्वकर्माको फागुन २०७५ फागुण १ गते राती उनको अपहरण भयो । छिमेकीको छोरीको विवाहमा रमाउँदै गरेकी उनको बलात्कारपछी हत्या शव जलाइयो । फाल्गुण २ गते बिहान गाउँ नजिकैको उखुबारीमा शव भेटियो । उनको हत्यारालाई पक्राउ गर्न आन्दोलन भयो ।
बटेश्वर गाउँपालिका —४ बैगाली टोल घर भई मगरटोलमा काकाको घर बस्दै आएका २२ वर्षिय निरज जर्गा मगरलाई हत्या आरोपमा प्रहरी पक्राउ ग¥यो । सानै उमेरमा उनलाई छाँडर उनकी आमा अर्कैसंग गएपछी बुवा देवनारायणले पाल्दै आएका थिए । उनको हत्या हुनु एक महिना अघि उनको घर आगलागी भएर शखाप भएको थियो । बेटी पढाऊ, बेटी बचाऊ नारा घनकाइरहेका प्रदेश २ सरकारबाट उनको परिवारले क्षतिपुर्ती पाउन सकेको छैन ।

बन्धक बनाएर सामुहिक बलात्कार

धनुषा बटेश्वरकी कक्षा ९ मा पढ्ने एक दलित समुदायकी १७ बर्षीया किशोरी २०७५ फागुन ११ गते साँझ बहिनीसँग खेतबाट घर फर्कंदै थिइन् । अकस्मात् उनीहरूका अगाडि तीनजना चढेको मोटरसाइकल रोकियो। बहिनी डराएर घरतिर भाग्न सफल भइन्। नशालु पदार्थ नाकमा सुँघाएर उनलाई बेहोस बनायो । आँखामा कालोपट्टी बाँधी अपहरण गरियो ।
भारतको मझफरपुर पु¥याएर तीन महिनासम्म उनको सामुहिक बलात्कार भयो । महोत्तरीको लोहारपट्टी नगरपालिका–२ सुखैनियाका २२ बर्षीय रवानी राईन कवारी सहित चारजन विरुद्ध जिल्ला प्रहरी कार्यालय धनुषामा उजुरी परेको डिएसपी रामेश्वर कार्की बताउँछन । किशोरीको झुक्याएर भारतबाट नेपाल फर्किएकी किशोरीको अंचल अस्पताल जनकपुरमा उपचारार्थ भर्ना छिन् ।
किशोरीको हातखुट्टामा दाम्लोले बाँधेको डाम छ। शरीरभर पोलेका फोका छन्। कुटपिटको नीलडाम छन्। ‘घरमा बन्धक बनाएर राखे, रड र लठ्ठीले कुटे,’ पीडित किशोरीले भनिन्, ‘हातखुट्टा बाँधेर सुई लगाइदिन्थ्यो अनि बेहोस बनाएर राख्थ्यो।’
राम्रोसँग खाना र सुत्न नपाएकी ती किशोरीले भनिन्, ‘होसमा आउँदा रुन्थें। मुखमा कपडा कोचिदिन्थे। कञ्चटमा पेस्तोल राखेर मारिदिन्छु भन्थे। फेरि सुई लगाएर बेहोस बनाइदिन्थे।’ सकिला खातुन भन्ने महिला र तीनजना केटाले मदिरामा लठ्ठिएर आफूलाई सताउने गरेको उनले बताइन् । जेठ ५ गते उनी पापीको चंगुलबाट भागेर जनकपुर आउन सफल भएकी थिइन् ।

विद्यालयमै दलितसंग विभेद

महोत्तरीको भङ्गहा नगरपालिका–९ हरिणमरीका सिकिन्दर मलिलक डोमका १२ वर्षीय छोरा मुकेश आफ्नै बस्तीको किशोरी जनता माविबाट २०७५ असोज १६ गते निष्काशनमा परे । कक्षा ७ मा पढ्ने मुकेशलाई विद्यालयमा भएको भोजको पात नउठाएको भन्दै प्रधानाध्यापक मनोहर यादवले निष्काशन गरेका बताए । पीडित मुकेशले भने,‘विद्यालयका लेखापाल राकेश यादवको हजुरआमाको क्रियाभोज स्कूलमा गरिएको थियो । ’न्यायको माग गर्दै लागि २०७५ असोज २३ गते जिल्ला प्रहरी कार्यालय महोत्तरीमा उजुरी दिए पीडित परिवारले ।

सिंहदरबारमै छुवाछुत

सिंहदरबारको अधिकार गाउँगाउँमा आइसक्यो । वडा कार्यालय गाउँको सिंहदबार हो । तर, यही जातीय छुवाछुतको घटना भएको छ । वडा कार्यालयको टेवुलमा राखेको पानी छोएको भन्दै सर्लाहीको विष्णु गाउँपालिका–२ का अजय राम वडाध्यक्ष सञ्जय साहले २०७५ साउन २७ गते गालीगलौज गर्दै हातपात गरेर कार्यालयबाट बाहिर निकालिदैएको पीडित बताउँछन् । ‘चमार जाति भएर यहाँको पानी किन खाएको ?, पानीलाई छोएर अपवित्र पारिस’ भन्दै वडा अध्यक्ष जातिय विभेद गरे ।

वडा अध्यक्ष र कार्यालय सहयोगी रामईश्वर चौधरी विरूद्ध पीडितले २०७५ साउन २९ गते जिल्ला प्रहरी कार्यालय सर्लाहीमा उजुरी दिए । नेपाल सरकारले दलित बालबालिकालाई कुपोषणबाट जोगाउन प्रत्येक महिना पोषण भत्ताको व्यवस्था गरेको छ । आफ्नो चार वर्षीय छोराको दलित पोषण भत्ता बुझ्न उनी वडा कार्यालय गएका थिए । आरोपितहरू २०७५ माघ २ गते जिल्ला अदालतमा हाजिर भएपछि अदालतले उनीहरुलाई धरौटीमा रिहा गर्ने आदेश दियो । मुद्दाको फैसला भएको छैन ।

श्राद्ध भोजमा विभेद

सर्लाहीको गोडैता नगरपालिका–९ का १४ वर्षीय रंजित कुमार राम गाउँमा श्रद्धाको भोज खान जाँदा उनले जातीय विभेदको सिकार भए । २०७५ साउन ३ गते बकैनियाटोलका रामनाथ रायको घरमा श्राद्धको भोज खान भएका थिए । भोज खान संगै बसेको भन्दै बगदहकका स्थानीय ५१ वर्षीय शुभलाल राय यादव, ४५ वर्षीय अजोधी राय यादव र ५० वर्षीय चन्देश्वर राय यादवले छुवाछुतको व्यवहार गरे ।

तिमी तलो जातिको भएर कुन हिम्मतले हामीहरू सित बसेको, तँ बाट हट, जिउ छोइन्छ भन्दै गाली गलौज सहित अमानवीय व्यवहार गरी उनलाई भोज स्थलबाट थपाएका थिए । पीडितले २०७५ साउन ५ गते जिल्ला प्रहरी कार्यालयमा सर्लाहीमा उजुरी दिए । आरोपित मध्ये शुभलाललाई साउन १७ गते गिरफ्तार ग¥यो । आरोपितलाई २०७५ भादै ५ जिल्ला अदालतवाट २४ हजार रुपियाँ लिई धरौटीमा रिहा गरेको थियो । मुद्धाको किनारा लागेको छैन ।

त्यसैगरि पर्सा गाउँपालिका–६ का धविन्द्र महरालाई छठियार भोज संगै खाएको भन्दै कुटिए । २०७५ वैशाख १३ गते राम लक्षण पण्डित र श्याम कुमार पण्डीतले छठिहारको भोजमा सँगै बसेको भनि कुटपिट गरेको पीडितले प्रहरीमा उजुरी गरे । आरोपिहरुलाई २०७५ जेठ १८ गते प्रहरीले पक्रियो । असार ५ गते जिल्ला अदालतले १८ हजार रुपियाँ जनही धरौटी राखी तारेखमा रिहा गरिदिए । मुद्दाको फैसला भएको छैन ।

अन्तरजातिय विवाहमा १४ लाखको कपाली कागज

सर्लाहीको बह्रम्पुरी गाउँपालिका–६ पिरारीका १८ वर्षीय जयनाथ राम चमारले गैरदलित युवतीसँग पे्रम सम्बन्ध राखेको भन्दै निर्वाचित वडा अध्यक्षसहित गाउँलेहरूले मरणासन्न कुटपिट गरे । रु.१४ लाख रुपियाँको कपाली तमसुक समेत बनाए ।

स्थानीय जयनाथ राम चमार र सल्मा बैठा मुस्लिम बीच प्रेम सम्बन्ध थियो । २०७५ पुस ५ गतेदेखि भारतको सितामढी जिल्ला बस्दै आएका उनीहरू पुनः गाउँ फर्किएका थिए । वडा वडा अध्यक्ष श्यामबाबु राय भनिने राकेश यादव र रघुनाथ रायले अपहरणको शैलीमा युवकलाई घरबाट उठाउन लगाएर एकान्त बास घारीमा लगेर मरणासन्न हुने गरी पुस १० गते जयनाथका वुवा गगनदेव रामसँग १४ लाख रुपियाँको कपाली तमसुक बनाएको पीडित परिवारले जानकारी दिए ।

पीडितहरूले नेपाल राष्ट्रिय दलित समाज कल्याण संघ सर्लाहीमा निवेदन दिएसँगै घटनामा दोषी रहेकालाई कारबाहीको माग गर्दै, राजेश पासवानको पहलमा जिल्ला प्रहरी कार्यलयमा पुस १२ गते पीडितले उजुरी दिए । पीडित जयनाथका अनुसार घटना भएको करिब ३ घण्टापछि उपप्रमुख गीता रायको घरमा बसेर १४ लाख रुपियाँको कपाली तमसुक गरेको बताए । आरोपितलाई पुस १५ गते प्रहरीले पक्रियो । गिरफ्तार ग¥यो । पछि जनप्रतिनिधिले माफी मागे । कागज च्याते ।

मन्दिरमा जातिय छुवाछुत

बाराको परवानीपुर गाउँपालिका–३ का १२ वर्षीय राकेश राम गाउँकै राधाकृष्ण मन्दिरको धारा (चापाकल) मा पानी खाँदा कुटिए । २०७५ भदौ २४ गते चपाकल छोइएको भन्दै मन्दिरका पुजारी रामदयाल यादव लगायतले कुटपीट गरेको प्रहरीमा उजुरी प¥यो ।

घटनाका बारेमा बुझ्न जाँदा पुजारी ५५ वर्षीय रामदयाल यादव, ३० वर्षीय दिपक यादव, ५५ वर्षीय किसान यादव, २५ वर्षीय अनिल यादव, २४ वर्षीय अरबिन्द यादव, २६ वर्षीय राजेश यादव, २० वर्षीय रमेश यादव, २८ वर्षीय भोला साह रौनियार लगायतले मिलेर दलितले पवित्र मन्दिर छोएकाले मन्दिर अशुद्ध भयो भनी बाँसको लाठी, भाँटा, फलामको रड र धारिलो खुकुरीले दलित समुदायका व्यक्तिमाथि सोही दिन आक्रमण गरेको स्थानीय राखी रामले दुःखेसो पोखे ।

आक्रमणमा परी स्थानीय ३६ वर्षीय सुमन रामको बायाँ हात तथा गोडा भाँचिएको र टाउकोमा चोट लागेको थियो । त्यस्तै १६ वर्षीय आकाश रामको टाउकोमा चोट लागेको थियो । गण्डक र जितपुरबाट खटिएको नेपाल प्रहरीको टोलीले अवस्था नियन्त्रणमा लिएको थियो । यो घटना त्यतिकै सेलायो । कुनै कारवाही भएन न त मुद्दा चल्यो ।

डोम झनै अपहेलित

जनकपुरधामबाट पाँच किमि पूर्व धनुषाको हंसपुर नगरपालिका–३ कठपुल्लाका जगदिश डोमका परिवारले पुस्तौंदेखी समाजले गर्ने हेलाले पीडित छन् । दुई सय घरधुरी अन्य जातको बसोबास रहेको त्यो गाउँमा उनको एक परिवारमा डोम जाती बस्छन् ।

अझै समाजमा छुवाछुतको मार खेपिरहेका छन्। समाजमा सम्मानपूर्वक बाँच्न पनि पाएका छैनन्। ‘गाउँका हाटबजार, होटलमा प्लेटमा खान दिदैन। गिलासमा चिया पानी पिउन दिदैन’, देवाका जेठा छोरा जगदीशले भने, ‘कागजमा खाजा दिन्छन्। पसल बाहिर भुँइमा बसेर खानुपर्छ। प्लाष्टिकका गिलासमा पानी र चिया दिन्छ।’

मधेशको अल्पसंख्यक जातिको सूचीमा पर्छ डोम। ‘दुनियाँ कहाँबाट कहाँ पुगिसक्यो’, जगदिसले भने, ‘हाम्रो समाज अझै मान्छेलाई अछुत जाति भनेर हेला गरिरहेको छ।’ श्रम र सीप स्वीकार्ने समाजले पानी अझै चलाएको छैन।

सिरहाको सीमावर्ती नवराजपुर गाउँपालिका –३ फुलवरिया गाउँमा घर छेउकै कमल यादवको धान बिउ लगाएको खेतमा सुगुर गएको निहुँमा रेखा मल्लिक(डोम) र धनेश्वरी मल्लिक कुटिईन् । २०७६ जेष्ठ ८ गते कमलका छोरा श्याम यादवले उनीहरुलाई कुटपिट गरे । उनीहरु अहिले उपचार गराउन अस्पताल धाउँदै छन् । सुरुमा उपचार खर्च कमलले पनि सहयोग गरेका थिए । अहिले उनी उपचार नगराइदिने भन्दै आएको छ । पीडितहरुले प्रहरीमानिवदेन दिएका छन् । स्थानीयहरुले घटनालाई बाहिर नलगेर गाउँमै मिलापत्र गर्न उनीहरुमाथि दबाब दिँदै आएको छ ।

लहान नगरपालिका –१८ अमही गाउँ नजिकै रहेको मुतनी खोलामा दुखी मल्लिकका ८ वर्षीय छोरा सुशिल मल्लिक शौच गर्न गएका थिए । शौच गरेर फर्किने क्रममा जिउँ छोएको भन्दै छिमेकी बुधवा सदायको छोरा अशोक सदायले उनलाई २०७५ फाल्गुन ३ गते कुटपिट गरे । छोरा कुटिएको गुनासो लिएर सुशिलको आमा ललिता मल्लिक सदायको घर पुगिन् । त्यहाँबाट घर फर्केपछि फेरि ललिता र उनकी छोरी अमेरिका मल्लिकलाई अयोधी सदाय, सकल सदाय र विरोधी महतोले घरमै आएर कुटपिट गरे । प्रहरीमा निवदेन दिएपछि पिडक पक्षले मिलापत्र गर्न दबाब दिए ।

२०७५ जेष्ठ २५ गते गोलबजार नगरपालिका –९ गोविन्दपुर स्थित जनता आधारभूत विद्यालयको भान्सेमा व्यवस्थापन समितिले डोम समुदायकी भालसैर मरिकलाई नियुक्त गरेपछि विद्यालयको खाजा कार्यक्रम नै बन्द भयो । भान्सेमा भालसैर राख्नु केहीदिनअघि सोही विद्यालयका बाल विकास सहजकर्ता गिता रोक्का मिझारले खाजाको लागि पकाइएको चना आफैँले झिकेर खाएपछि घटना क्रम बढेको थियो । अर्कोदिन फेरि खाजा खाना जाँदा प्रधानाध्यापक जगदीश यादव र भान्से वीनादेवी महतोले साँचो लुकाएका थिए । साँचो माग्न जाँदा मिझारलाई विनाले ‘तल्लो जातकी’ भन्दै गालीगलौज गरेकी थिईन् । आफुसँग छुवाछुतको व्यवहार देखाएको गुनासो मिझारले गरेपछि विद्यालय व्यवस्थापन समितिले भान्सेमा डोम समुदायका मरिकलाई नियुक्त गरेका थिए । पछि वडाअध्यक्ष रामपुकार कामती र प्रअ यादवले मरिकलाई भान्सेबाट हटाएका थिए ।

जातीय विभेद गर्नेलाई ज्यान मुद्धा लगा

नेपाललाई छुवाछुत र दलितमाथि हुनै सबै खाले विभेद, हिंसाहरु अन्त्यको लागि गत जेष्ठ २१ र २२ गते प्रदेश २ स्तरीय दलित अगुवा भेला भयो । मुख्यमन्त्री लालबाबु राउतको उपस्थितमा भएको सो भेलामा सरकारले दलितहरुको हक अधिकार दिन पछी नहट्न माग गरे ।

दलितमाथि जातपातको नाममा छुवाछुत गर्नेलाई कडा भन्दा कडा कारवाही गनुपर्ने लहानका दलित अधिकारकर्मी उमेश विसुन्केको भनाई छ । ‘मन्दिरमा कुकुरलाई प्रवेशमा निषेध गरिदैँन तर, दलित समुदायलाई प्रवेशमा रोक लगाउँछ,’ उनले भने,‘छुवाछुतको नामले विभेद गर्नेलाई ज्यान मारे सरह कारवाही हुने व्यवस्था ल्याउनै पर्छ ।’ दलितसँगको विभेद घटनामा कारवाही नहुँदा छुवाछुत गर्नेको मनोबल बढेको सप्तरीका दलित अधिकारकर्मी भोला पासमान बताउँछन् । दलितभित्रै भइरहेको विभेद पहिले हटाउनुपर्ने मिथिला नगरपालिका ३ धनुषाका गोविन्द सदाको भनाई छ । ‘हामी आफैभित्र पनि एक जात, अर्को जात भनेर विभेद हुँदै आएको छ,’ उनले भने,‘पहिले आफ्नैभित्रको विभेद हटाएर सम्पुर्ण दलित समुदाय एक हुनुपर्छ ।’ आफैँमा एकता नभएपछि बाहिरको जातले झन हेप्दै आएको उनले सुनाए ।
सभा, सम्मेलन कार्यक्रममा दलितको बारेमा ठुलठुला कुरा हुन्छ तर, व्यवहारमा लागु नभएको लहान नगरपालिका १४ वस्तीपुरकी सरिता राम सुनाउँछन् । ‘मान्छेले ठुलठुला कुरा गर्ने तर, व्यवहार छुवाछुतकै देखाउने गरेको छ,’ उनले भनिन,‘छुवाछुत भएको कार्यक्रम, भोजभतेर बहिष्कार गर्नुपर्छ ।’ दलित समुदाय एक भएर यसको विरुद्ध लड्नुपर्ने उनको तर्क छ ।
दलित महिलामाथि भइरहेको हिंसाको घटना कानूनी कारवाहीमा गएपछि दबाब दिएर मिलापत्र गराउने गरेको लहान १५ ढोढनकी दलित अधिकारकर्मी रामकुमारी दास बताउँछिन् ।‘कानुनी प्रक्रियामा गएपछि दबाब दिएर क्षतिपूर्तीमा रकम दिएर घटना दबाउने गरेको छ,’ दलित अधिकारकर्मी भोला पासमान बताउँछन्,‘घटनामा संग्लनलाई कारवाही हुनैपर्छ ।’ एउटा घटनामा मिलापत्र हुँदा थप अर्को घटना हुने गरेको उनले सुनाईन् ।
कानून, निति नियम आएपनि समाजमा विभेद कायमै रहेको बाराका राजेन्द्र राम बताउँछन् । ‘छुवाछुत अन्त्य गर्न दलित र गैरदलित समुदायबीच अन्तक्रिया बढाउनुपर्छ,’ उनले भने,‘साकारात्मक छलफलको आवश्यक छ । दुवै समुदायबीच अन्तरक्रिया नहुँदा समस्या सुल्झाउन अप्ठयारो छ ।’
संघीय र प्रदेश सरकारले जनसंख्यामा आधारमा राजनीति र सरकारमा सहभागी नगराएको बारा जिल्लाकै दशरथ रामको कथन छ । ‘दलित समुदायलाई अझै राजनीतिक र समाजिक रुपमा पछाडी पारिएको छ,’ उनले भने,‘अवसरबाट वन्चित रहेको दलित समुदायलाई विभेद खेप्नु परेको छ ।’ छुवाछुत र विभेद गर्नेलाई कारवाही गर्नुपर्ने उनले बताए ।

‘जागरण अभियानको जरुरी छ’

मधेश मामिलाका जानकार पत्रकार चन्द्र किशोर भन्छन्, समाजिक संरचनामा बदलाब आउनु पर्छ । त्यसको संवैधानिक रुपमै पालना गरिनु पर्छ । छुवाछुत, जातीय विभेद विरुद्ध, हिंसा विरुद्ध कानुन बनिसकेको छ । त्यसको कडाइका साथ पालना हुनुपर्छ । गाउँदेहातमा जातीय छुवाछुत, बोक्सी भनेर दिएको यातना, कुटपीट जस्ता घटनाहरुमा मिलापत्र गराइन्छ, जसले गर्दा घटना गराउनेहरु हौसिरहेका छन् ।

‘समाज अहिले पनि समान्ति संरचनामै छ ।यसलाई कसरी भत्काउने भन्ने विषयमा सामाजिक जागरणका अभियानको जरुरी छ । यसको नेतृत्व राजनितिक दलबाटै हुनु पर्छ,’उनले भने,‘यी दुई कुरालाई संगसंगै लानु पर्छ । नत्र संविधानमा एउटा कुरा लेखेको हुन्छ, समाजमा अर्कै भइरहेका छ । हामी त्यो हेर्न बाध्य छौं ।’

एक अर्कालाई सम्मान गर्नु पर्छ भन्ने भावना पहिले भन्दा अहिले बढेको छ ।तर, मधेशमा गरिवी र अशिक्षा पनि त्यतिकै छ । त्यसले गर्दा समाजलाई विसंगत पक्षले थिचेर राखेको छ, गाँजेको छ । ‘कानुन अनुसारको दण्ड हुनु पर्छ ।तर, त्यसो हुन सकेको छैन,’उनले भने,‘हामीले के हेर्छौं भने यस्ता कुरामा पीडित पक्षले विचार पनि पु¥याउन सकिरहेको हुदैंन । सरकारी पक्षले मिलापत्र भइजाउस् भन्ने पक्षमा हुन्छ । ’राजनीतिक पक्षहरुले पीडितलाई न्याय दिलाउनु भन्दा घटना सामय पार्न प्रयास गर्छन् । उनीहरुले नै छुवाछुत जस्ता कुप्रथालाई कतिपय अवस्थामा टेवा दिइराखेको अवस्था रहेको उनी बताउँछन् ।

संबैधानिक रुपमा प्रत्येक वडामा दलित जनप्रतिनिधिको व्यवस्था गरिएको छ । उनीहरुलाई शक्तिकरण गर्नु पर्छ । दलितमाथि भएको ज्यादतिका घटनाहरु उनी मार्फत न्यायिक समितिमा लैजाने वातावरण तयार गर्न पर्छ । यसमा स्थानीय सरकारले कानुनी बाटो अपनाउस् ।‘यहिनै एउटा बाटो हो, दलितहरुको शक्तिकरणको बाटो,’उनले भने ।

छुवाछुत गर्नेलाई तुरुन्त कारवाही हुन्छ : मुख्यमन्त्री राउत

प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले अधिकार प्राप्तिका लागि दलितहरुलाई आफै सशक्त हुनु पक्षमा छन् । सशक्त नभए सम्म अधिकार प्राप्त गर्न नसक्ने उनको भनाइ छ ।
प्रदेश सरकार दलित मैत्री रहेको दावी उनले दलित सशक्तिकरण ऐन, छात्रवृति योजना, दलित छात्रावासको निर्माण जस्ता कार्यहरुलाई अघि बढाएको आयोगको ट्रेलर मात्र भएको भन्दै मुख्यमन्त्री राउतले अधिकार प्राप्तिका लागि दलितहरुलाई आफै सशक्त हुनु पर्ने बताए ।

प्रदेश सरकार दलित मैत्री रहेको दावी गर्दै उहाँले दलितहरुको , दलित सशक्तिकरण ऐन, छात्रवृति योजना, दलित छात्रावासको निर्माण जस्ता कार्यहरुलाई अघि बढाई सकेको उल्लेख गरे ।
दलित शक्तिकरण ऐन सदनमा पेश गरेको बताउँदैं उनले भने,‘ऐन आएपछी छुवाछुत गर्नेलाई तुरुन्त कारवाही हुन्छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा एउटा छुटै दलितको गुनासो सुन्ने टेवाल हुनेछ ।’प्रदेश भित्र १८ प्रतिशत दलितहरुको बसोबास छ । ‘उनीहरुलाई शसक्त नबाएसम्म प्रदेश र देशको पनि विकास हुदैंन,’उनले भने । ‘ऐन पारित भएपछि दलितहरुको स्वास्थ्य, शिक्षाको ग्यारेन्टी प्रदेश सरकारले गर्छ,’उनले भने ।

दलितमाथि मधेशमा भएका हिंसा तथा छुवाछुतका चर्चित घटनाहरु

घटना : १
धनुषाको मिथिला नगरपालिका—३ हरीहरपुर, मगरटोलकी रेशमा(दुतिया) रसाईली विश्वकर्माको फागुन २०७५ फागुण १ गते राती उनको अपहरण भयो । छिमेकीको छोरीको विवाहमा रमाउँदै गरेकी उनको बलात्कारपछी हत्या शव जलाइयो । फाल्गुण २ गते बिहान गाउँ नजिकैको उखुबारीमा शव भेटियो

घटना : २
खेतबाट साँझ घर फर्किदै गरेकी धनुषाको बटेश्वरकी दलित समुदायकी १७ बर्षीय स्कूले किशोरीलाई २०७५ फाल्गुण ११ गते मोटरसाइकलमा आएका तीन युवकले अपहरण गरियो । महोत्तरीको लोहारपट्टी नगरपालिका–२ सुखैनियाका २२ बर्षीय रवानी राईन कवारी सहित चारजनाले रातारात भारतको मझ्फरपुर पु¥याए । हातखुट्टा बाँधेर बन्धक बनाए, सामुहिक बलात्कार गरे ।

घटना : ३

सर्लाहीको बह्रम्पुरी गाउँपालिका–६ पिरारीका जयनाथ राम चमारले गैरदलित युवतीसँग पे्रम सम्बन्ध राखेको वडा अध्यक्षसहित गाउँलेहरूले २०७५ पुस १० गते मरणासन्न कुटपिट गरे । १४ लाख रुपियाँको कपाली तमसुक समेत बनाए ।

घटना : ४

विद्यालयमा गरिएको भोजको पत्ता नउठाउँदा महोत्तरीको भङ्गहा नगरपालिका–९ हरिनमरीका सिकिन्दर मलिक डोमका १२ वर्षीय छोरा मुकेशलाई प्रधानाध्याकले स्कूलबाट निकाले । कक्षा ७ मा पढ्दै गरेका उनलाई किशोरी जनता माविबाट २०७५ असोज १६ गते प्रधानाध्यापक मनोहर यादवले निष्काशन गरे ।

घटना : ५

बाराको परवानीपुर गाउँपालिका–३ का १२ वर्षीय राकेश राम गाउँकै राधाकृष्ण मन्दिरको धारा (चापाकल) मा पानी खाँदा कुटिए । २०७५ भदौ २४ गते चपाकल छोइएको भन्दै मन्दिरका पुजारी रामदयाल यादव लगायतले कुटपीट गरेको प्रहरीमा उजुरी प¥यो ।

घटना : ६

वडा कार्यालयको टेवुलमा राखेको पानी छोएको भन्दै सर्लाहीको विष्णु गाउँपालिका–२ का अजय राम वडाध्यक्ष सञ्जय साहले २०७५ साउन २७ गते गालीगलौज गर्दै हातपात गरेर कार्यालयबाट बाहिर निकालिदैएको पीडि बताउँछन् । ‘चमार जाति भएर यहाँको पानी किन खाएको ?, पानीलाई छोएर अपवित्र पारिस’ भन्दै वडा अध्यक्ष जातिय विभेद गरे ।

घटना : ७

सिरहाको गोलबजार नगरपालिका –९ गोविन्दपुरस्थित जनता आधारभूत विद्यालयको भान्सेमा व्यवस्थापन समितिले २०७५ जेष्ठ २५ गते डोम समुदायकी भालसैर मरिकलाई नियुक्त गरे । डोम जातिकी उनले पाएकी खाजा ठूला जातिकाले नखाने भनेपछी उनलाई हटाइयो ।

घटना : ८

सिरहाको सीमावर्ती नवराजपुर गाउँपालिका– ३ फुलवरिया गाउँमा घर छेउकै कमल यादवको धान बिउ लगाएको खेतमा सुगुर गएको निहुँमा रेखा मल्लिक(डोम) र धनेश्वरी मल्लिक २०७६ जेष्ठ ८ गते कुटिईन् । कमलका छोरा श्याम यादवले उनीहरुमाथि कुटपीट गरे ।

घटना : ९

महोत्तरी बर्दिबास नगरपालिका–४ भब्सीकी बुद्धमाया विश्वकर्मा र उनकी छोरी मनिषा पानी छोएको निहुँमा कुटिन् । २०७५ बैशाख १५ गते सार्वजनिक धारामा पानी लिन पुगेकी मनिषा र उनकी आमामाथि छिमेकी कमला गिरी र उनका भान्जा रामबाबु दाहालले निर्घात कुटपीट गरिन् । जातीय भेदभाव सहन नसकेर बुद्धमायाले विष सेवन गरेर मर्न प्रयास गरिन्।

घटना : १०

पर्सा गाउँपालिका–६ का धविन्द्र महरा छठियारको भोज संगै खाएको भन्दै कुटिए । २०७५ वैशाख १३ गते राम लक्षण पण्डित र श्याम कुमार पण्डीतले छठिहारको भोजमा सँगै बसेको भनि कुटपिट गरेको पीडितले प्रहरीमा उजुरी गरे ।

पुस्तौंदेखिको जातीय विभेद कायमै छ । दलितले समाजमा समानित जीवन जीउन पाएका छैनन् । दलितहरुले मन्दिरमा पुजा गर्न जाँदा कुटिनु परेको छ । दलितले गैरदलितसंग प्रेम विवाह गर्दा समाजमा यातनासंगै दण्डमा कपाली कागज औंठा छाँप गर्नु परेको छ ।-thepublictoday बाट 

No comments:

Post a Comment