भद्रमायाकला नेपालीको उपचार नपाएर भयो मृत्यु

विभेद बिरुद्द अभियान - नेपालको संविधान २०७२ को धारा ३५ मा स्वास्थ्यसम्बन्धी हकको व्यवस्था छ । सोही धाराको उपधारा १ मा प्रत्येक नागरिकलाई राज्यबाट आधारभूत स्वास्थ्य सेवा निःशुल्क प्राप्त गर्ने हक हुनेछ र कसैलाई पनि आकस्मिक स्वास्थ्य सेवाबाट वञ्चित गरिने छैन भन्ने व्यवस्था गरिएको छ । तर,  लेटाङ्ग नगरपालिका–१ की ४४ वर्षीया भद्रमायाकला नेपालीको उपचार नपाएर साउन ४ गते मृत्यु भएको छ ।

साउन २ गते रिङ्गटा लागेर अस्वस्थ्य भएपछि ४८ वर्षीय पति धनबहादुर नेपालीले भद्रमायाकलालाई साउन ३ गते उपचारका लागि कोशी अञ्चल अस्पताल विराटनगर ल्याउनुभएको थियो ।

अस्पतालले बिरामीको स्वास्थ्य परीक्षणका लागि सिटी स्क्यान(टाउकोको परीक्षण) गर्न लगाएपछि पैसा नभएर सिटी स्क्यान गर्न नसक्दा उपचार अघि नबढेको धनबहादुरले बताउनुभयो ।

छिमेकी सापटी दिएको एक हजार रुपियाँ लिएर पत्नीलाई उपचारका लागि अस्पताल आउनु भएको धनबहादुरले सिटी स्क्यानका लागि पैसा नहुँदा र उपचार अघि नबढ्दा साउन ४ गते पत्नीको मृत्यु भएको बताउनुभयो ।

काठमाण्डौंमा रहनु भएका कोशी अस्पतालका मेडिकल सुपरीटेण्टेन्ड डा.चुमनलाल दासले इन्सेक प्रतिनिधिसँगको फोन सम्पर्कमा अस्पतालमा न्यूरो सर्जरीको सुविधा नभएकाले बिरामीको मृत्यु भएको हुन सक्ने बताउनुभयो ।

अस्पतालमा सेवा उपलब्ध नभएर बिरामीको मृत्यु भएको विषयमा आवश्यक अध्ययन पश्चात छानबिन गरी निर्णय गरिने अस्पताल विकास समितिका सदस्य मुकेश बुढाथोकीले इन्सेक प्रतिनिधिसँगको फोन सम्पर्कमा बताउनुभयो ।

ठेला मजदूरी गर्दै आउनु भएका धनबहादुरले अस्पातलले घरसम्म लैजान शववाहन व्यवस्था गरीदिएको बताउनुभयो ।

No comments:

Post a Comment