बुवाको मृत्यु, आमा बेपत्ता भएपछि तीन बालकको बिचल्ली

 विभेद बिरुद्द अभियान - डिलबहादुर सिंह-डोटी साउन २४ गते । लामो समयसम्म बिरामी रहेका बुवाको मृत्यु भएसँगै आमाले पनि छोडेर सम्पर्कविहीन भएपछि डोटीको सायल गाउँपालिका–६ नारा गाउँका तीनजना बालकको बिचल्ली भएको छ । ५५ वर्षीय बुवा बाजी खातीको करिब १५ महिनाअघि रोगका कारण मुत्यु भएको हो । बुवाको मृत्यु भएको छ महिनापछि नै आमासमेत सम्पर्कविहीन हुनुभएको हो ।

स्थानीय विद्यालयमा शिक्षकसमेत रहनुभएका दीपकबहादुर खातीका अनुसार दम र क्षयरोगले पीडित बाजी खातीको मृत्यु भएसँगै सात महिनादेखि आमाले समेत छोडेका कारण छोराहरू अलपत्र भएका छन् । उहाँले भन्नुभयो, ‘स्थानीयस्तरमा हामीले सकेजति गर्दैछौँ तर अभिभावक नै सम्पर्कविहीन भएपछि बालबालिकाको विचल्ली भएको छ ।’

श्रीमानकाे मृत्यु भएको केही महिनामा नै भारत को उडिसा माइती भएकी गोमा खातीसमेत नाबालक छोराहरु छोडेर सम्पर्क विहीन हुनुभयो । नौ वर्षका लक्ष्मणले आफ्ना दुईजना भाइहरू दुई वर्षका कृष्ण र चार वर्षका गणेशको रेखदेखको गरिरहेका छन् । घरमा खाना पकाएर दिने अभिभावकसमेत नहुदाँ बालबालिकाहरूलाई दैनिक छाक टार्नसमेत समस्या हुने गरेको छ । आफ्नो साथै भाइहरूको सरसफाइ गर्नेदेखि छाक टार्ने व्यवस्था गर्न लक्ष्मणलाई समस्या परेको छ । नयाँ मान्छे देखे राम्रोसँग कुरासमेत गर्न नसक्ने अवस्थाका लक्ष्मणले छिमेकीसँगै मागेर भए पनि छाक टार्नुपरेको गोरखापत्र दैनिकमा खबर छ ।

छिमेकीले दिएको खानेकुरा खाएर पेट पालिरहेका बालबालिकाहरूलाई छिमेकीले पनि सधैँभरि खाना दिएर पाल्नसक्ने अवस्था छैन । स्थानीय डबल साउदले भन्नुभयो, ‘स्थानीय बासिन्दाहरूले पनि आफ्नै छोराछोरीका लागि पनि सबैले पर्याप्त लालनपालन गर्ने अवस्था छैन, त्यसैमा पनि अलपत्र परेका तीन बालकलाई हेर्न धेरै गाह्राे भएको छ ।’ स्थानीय युवाहरूले बालकहरूको अवस्थाको बारेमा स्थानीय तहमा जानकारी गराइएको बताएका छन् ।


No comments:

Post a Comment