मुसहर बस्तीमा गुन्डा लगाएर आक्रमण, प्रहरीले विना कारबाही छाडिदियो

 विभेद बिरुद्द अभियान -विराटनगर, २३ साउन । छरछिमेकको सामान्य विवादमा मोरङको बुढीगंगा गाउँपालिका–२ खार्जीका मुसहरमाथि मध्यराति तरबार, भाला र रडले मरणासन्न हुने गरी आक्रमण गरिएको छ ।

आक्रमणबाट पाँचजना गम्भीर घाइते भएका छन् । पक्राउ गरिएका आक्रमणकारी प्रहरीले छाडेपछि त्रसित पीडित परिवारकी एक महिलाले बिहीबार आत्महत्या गरेकी छिन् ।सामान्य विवादमा सरस्वती ऋषिदेवको परिवारसँग बदला लिन स्थानीय बैजनाथ यादवले विराटनगर–१४ जतुवाबाट २० जना गुन्डा बोलाएर आक्रमण गराएको प्रत्यक्षदर्शीको भनाइ छ । १९ साउनको राति मोटरसाइकल र इलेक्ट्रिक रिक्सामा आएका उनीहरूले तरबार, भाला र रडले आक्रमण गरेको पीडितहरूले बताए ।

आक्रमणबाट ५० वर्षीया सरस्वती, उनका भाइहरू ४० वर्षीय पन्नालाल, ३८ वर्षीय चुन्नीलाल, ३५ वर्षीय रामजी र ३३ वर्षीय श्याम गम्भीर घाइते भएका छन् । तरबारले सरस्वतीको छातीको देब्रे भाग नै ताछिएको छ । अन्यको टाउको, गर्धन र शरीरभरि ठुल्ठूला घाउ बनेका छन् ।

प्रत्यक्षदर्शी स्थानीय सरस्वती मगरका अनुसार बैजनाथको घरमा साँझ हुलका हुल नयाँ मान्छे आएको थाहा पाएपछि प्रहरीलाई खबर गरिएको थियो । तर, प्रहरीले बैजनाथका पाहुना भनेर सोधपुछ गर्न समेत रुचि देखाएन ।

आक्रमण भएपछि घटनास्थल पुगेको निमुवा इलाका प्रहरी कार्यालयको टोलीले त रगताम्य घाइतेलाई अस्पताल लैजान समेत सघाएन । घाइतेहरू रातभर घरमै छटपटाइरहे । प्रहरीको असहयोगका कारण लकडाउनका वेला घाइतेलाई अस्पताल लग्न नसकएको स्थानीय बासिन्दाले बताए ।

मुसहर परिवारमाथि आक्रमण भएको सूचना पाएपछि भोलिपल्ट बिहान छिमेकी बुढीगंगा गाउँपालिकाबाट आएका कांग्रेस गाउँ कमिटी सभापति जितनारायण थापाले पीडितलाई अस्पताल पुर्‍याएका थिए । उनीहरूको बुढीगंगा टंकीस्थित विराट मेडिकल कलेजमा उपचार भइरहेको छ ।

यस्तो छ घटनाको पृष्ठभूमि

बुढीगंगा गाउँपालिका–२ को मुसहरी टोलमा ६० घर मुसहरका छन् । भूमिहीन उनीहरू सबै ज्याला–मजदुरी गरेर जीवन धान्छन् । त्यही गाउँमा बैजनाथ यादवको परिवार पनि बस्छ । बैजनाथको परिवारले आफ्नो धाराको पानी निकास गर्न घर अगाडिको सडकमा खाल्डो खनेको छ ।

राति आउजाउ गर्नेहरू लड्ने तथा साइकल–मोटरसाइकल दुर्घटना हुने भन्दै स्थानीयले यादव परिवारलाई खाल्डो पुर्न, कि पाइप लगाउन आग्रह गर्दै आएका थिए । तर, गाउँलेको आग्रह बैजनाथ परिवारले बेवास्ता गर्दै आएको थियो । यही विषयमा सरस्वती ऋषिदेवको केही समयअगाडि यादव परिवारसँग सामान्य विवाद भएको थियो ।

१९ साउनको बिहान एक मुसहर महिला दुलारी ऋषिदेव खाल्डोमा लडेर सामान्य घाइते भइन् । त्यही विषयमा विवाद हुँदा बैजनाथकी बुहारी पवन यादवसहितले दुलारीलाई धानबारीमा लछारपछार गरेर कुटपिट गरे ।

झगडा मिलाउन त्यही दिन दिउँसो समाज बस्यो । समाजको बैठकमा सरस्वती, श्यामलगायतले कुटपिटको विरोध गर्दै खाल्डो पुर्न माग गरेका थिए । त्यसपछि बैजनाथ परिवारले सडकमा खनेको खाल्डो पुर्ने र आइन्दा विवाद नगर्ने समाजको फैसलाअनुसार सहमति भयो । तर, दलित मुसहरहरूले आफूलाई हेपेको भन्दै बैजनाथ परिवारले ‘इगो’ लियो ।

बैजनाथले ज्वाइँ चलमली यादव र सिन्धु यादवको सहयोगमा त्यही दिन राति विराटनगरको जतुवाबाट सिटी रिक्सा र मोटरसाइकलमा हातहतियारसहितका गुन्डा झिकाए । गाउँमा शंकास्पद मान्छे आएको देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । तर, प्रहरीले वैजनाथका पाहुना भन्दै उनीहरूसँग सोधपुछ गर्नसमेत रुचि देखाएन । तर, रात छिप्पिँदै गएपछि उनीहरू नै मुसहर बस्तीमा पसेर मरणासन्न हुने गरी कुटपिट गरे ।

समाजको बैठकमा मैले पनि बोलेको थिएँ,’ टाउकोमा गम्भीर चोट लागेका श्यामले भने, ‘राति एक्कासी गाउँमा नयाँ मान्छे हातहतियारसहित आएर आक्रमण गरे । मैले ए भाइहरू, यो राति किन आएको भनेर मात्र भनेको थिएँ, दनादन रड र तरबारले हिर्काउन सुरु गरे ।’

आफूहरूमाथि यति ठूलो अत्याचार हुँदासमेत प्रहरीले दोषीलाई कारबाही गर्न चासो नदेखाएको र आक्रमणकारीहरूको त्रासका कारण छोरीले आत्महत्या गर्नुपरेको सरस्वतीले बताइन् । ‘हामीले केही गल्ती नै गरेका थिएनौं । गाउँमा अर्कैसँग भएको झगडालाई लिएर हामीमाथि आक्रमण गरियो । तरबारले घरघ रमा पसेर अन्धाधुन्ध अक्रमण गरे ।

मेरो छाती नै काटियो । म अस्पतालमा यसरी लडेकी छु, उता डराएर माइली छोरीले आत्महत्या गरेछिन् । म कसरी बाँचू ?, हामी निर्धालाई कसले न्याय दिन्छ ?’ अस्पतालमा उपचाररत सरस्वतीले भनिन् ।

प्रहरीले राति सञ्जय यादव, ब्रह्मदेव यादव, दीपक साह, उत्तिमलाल यादव र विष्णु यादवलाई पक्राउ गरेर लगेको थियो । नेकपा मोरङका जिल्ला सदस्य कपिल सुनारका अनुसार २० साउनमा आक्रमणकारीमाथि कारबाहीको माग गर्दै इलाका प्रहरी कार्यालय निमुवामा पीडितहरूले निवेदन दिएका छन् । तर, प्रहरीले मिलापत्र गरेर दोषीलाई जोगाउने षड्यन्त्र गर्‍यो ।

स्थानीयले त्यसको विरोध गरेपछि इप्रकाले आक्रमणकारीलाई जिल्ला प्रहरी कार्यालय पठायो । जिप्रकाले मुद्दा दर्ता नै नगरी सबै आक्रमणकारीलाई २० साउनमै विराटनगर–१४ का निमित्त वडाध्यक्ष महिचन यादवको रोहबरमा छाडिदियो ।

स्थानीय बासिन्दाका अनुसार बैजनाथले ज्वाइँ चलमली यादव र सिन्धु यादवको सहयोगमा जतुवाबाट गुन्डा झिकाएका थिए । मुसहर बस्तीमा कुटपिट गर्न जाँदा चलमली र सिन्धु पनि थिए । तर, प्रहरीले मुख्य योजनाकार बैजनाथ, चलमली र सिन्धुलाई पक्राउ नै गरेन । अहिले बैजनाथको पूरै परिवार फरार छ ।

प्रहरीले घाइतेको घाउ जाँच गराउन पनि रुचि देखाएको थिएन । स्थानीयको दबाबपछि बिहीबार प्रहरी घाउ जाँच गराउन तयार त भयो, तर पीडितहरूलाई हेरेर विवरण लिन अस्पतालसमेत गएन । उल्टै पीडितहरूलाई आफैँ घाउ जाँच गराउन निर्देशन दियो ।

दैनिक ज्याला–मजदुरी गरेर जीवन धानिरहेका पीडितहरूलाई उपचार गर्न पनि समस्या भइरहेको छ । ‘हामी दिनदिनै मजदुरी गरेर पेट पाल्ने मान्छे हौं । अनाहकमा हामीमाथि आक्रमण भयो । बल्ल–बल्ल अस्पताल त भर्ना भयौँ, उपचारखर्च कसरी तिर्ने केही थाहा छैन,’ घाइते श्यामले भने ।

त्रसित छोरीले गरिन् आत्महत्या

हातहतियारसहित मध्यरातमा घरमै आएका गुन्डाहरूबाट आमासहित परिवारका सदस्यमाथि मरणासन्न हुने गरी भएको आक्रमणको प्रत्यक्षदर्शी २४ वर्षीया उर्मिला ऋषिदेव त्रसित थिइन् । परिवारका सदस्य अस्पतालमा उपचार गराइरहँदा प्रहरीले आक्रमणकारीलाई छाडेपछि उनी थप त्रसित भइन् । र, डरैडरमा बिहीबार दिउँसो घरभित्रै पासो लगाएर आत्महत्या गरेकी छिन् । उनी घाइते सरस्वतीकी माइली छोरी हुन् ।

छिमेकी सरस्वती मगरका अनुसार घटना भएको दिनदेखि नै उर्मिला ‘आक्रमणकारी फेरि आउँछन् र हामी सबैलाई मार्छन्’ भनेर त्रसित थिइन् । ‘वैजनाथको परिवारले निर्दोषमाथि बर्बर आक्रमण गर्‍यो भनेर हामीले राति पुलिस पनि बोलायौँ, तर पुलिसले हाम्रो कुरै सुनेन, उल्टै तिमीहरू झगडा गर्छौ भनेर हामीलाई नै दोष दियो ।

इलाका र जिल्ला प्रहरीमा पनि गएर हामीले साहेबहरूलाई दोषीलाई कारबाही गर्न भन्यौँ, तर सुनवाइ भएन । पुलिसले चासो दिएको भए आज नानीले ज्यान गुमाउनु पर्ने थिएन । हामी निमुखालाई कसले न्याय दिन्छ ?’ उनले भनिन् ।

घटनाको निष्पक्ष छानबिन गर्न माग

कांग्रेसको बुढीगंगा गाउँपालिका सभापति जितनारायण थापाले मुसहरमाथि विनाकारण बर्बर आक्रमण हुँदा पनि प्रहरीले दोषीमाथि कारबाहीको रुचि नदेखाएको बताए । ‘योभन्दा ठूलो अत्याचार के हुन्छ ? निमुखा मुसहरमाथि भएको आक्रमणको निष्पक्ष छानबिन गरेर दोषीमाथि कडा कारबाही गर्नुपर्छ,’ उनले भने ।

नेकपा जिल्ला सदस्य कपिल सुनारले पनि लकडाउनको समयमा नियोजित रूपमा आक्रमण गरिएको बताए । फौजदारी जघन्य अपराध गर्नेलाई मोरङ प्रहरीले उल्टै संरक्षण गर्न खोजेको भन्दै उनले उच्च तहबाट घटनाको छानबिन हुनुपर्ने बताए ।

बुढीगंगा गाउँपालिका–२ का वडासदस्य कन्हैया साहले विनाकसुर मुसहरमाथि आक्रमण गर्नेलाई प्रहरीले संरक्षण गर्दा न्याय पाइनेमै शंका लागेको बताए । प्रहरीको नियतमाथि पनि प्रश्न उठेको उनको भनाइ छ ।

जिल्ला प्रहरी कार्यालय मोरङका डिएसपी मानबहादुर राईले घटनाको अनुसन्धान भइरहेको बताए । ‘उनीहरू अनुसन्धानमै छन् । पुलिसले थुन्यो भने सजाय हुन्छ भन्ने गलत मानसिकता छ । पुलिसले सजाय गर्ने नै होइन । दुवै पक्षका घाइते छन् । अनुसन्धान भइरहेकै छ । पक्राउ परेकालाई तारेखमा राखेर अनुसन्धान भइरहेको हो,’ उनले भने । नयाँ पत्रिका दैनिकबाट

No comments:

Post a Comment