वर्ण व्यवस्थाले समाजलाई हेर्ने ‘टाइपकास्ट’ दृष्टिकोण निर्माण गर्दो रहेछ - अभिनेता दयाहाङ् राई

विभेद बिरुद्द अभियान -भोजपुरको गाउँमा हुर्किएँ । ग्रामीण समाजमा मेलापात मिलेरै गरिन्छ । मान्छेहरू मिलेर काम गरेको खुब रमाइलो लाग्थ्यो । तर काम गर्दा एकै ठाउँ जुट्नेहरू खाने बेला फुट्थे । खाने बेला अलग्गै बस्न बाध्यहरू दलित समुदायका हुन्थे । अरूहरू खाना खाएर आराम गर्थे, भाँडा माझ्न सहयोग गर्नेहरू हुन्थे । तर उनीहरूले भने आफूले खाएको थाल आफैं माझ्नुपर्थ्याे । यो नमीठो दृश्यले मलाई हाम्रो समाजको विभेद चिनाइदियो । त्यस्तो दृश्यले मन अमिल्याउन थालेको तीन दशक बित्यो । यसबीच राजनीतिमा निकै बदलाव आयो । जनयुद्ध भयो, जनआन्दोलन त दुईपटक भयो । व्यवस्था परिवर्तन भयो । तर जुन गतिमा राजनीतिक परिवर्तन देखियो, समाज त्योभन्दा निकै सुस्त रह्यो । व्यवस्थाको नाम फेरियो, तर चरित्रमा भने उस्तो परिवर्तन देखिएन । विभेद हट्नुपर्ने थियो, तर प्रकार मात्रै फेरियो ।

विभिन्न आन्दोलनका रापले सहरी क्षेत्रको सतहमा देखिने विभेद कम भए । केही ठाउँमा थाल धुनुपर्ने र अलग्गै बसेर खानुपर्ने बाध्यता हट्यो । तर, धेरै ग्रामीण क्षेत्रमा दृश्य बदलिएको छैन । ‘सामाजिक सद्भाव खलबलिन नदिन’ शान्तिपूर्ण रूपमै यस्तो विभेद कायम राखिएको देखिन्छ । दलितलाई मन्दिर पस्न नदिने प्रचलनसँग संघर्ष भइरहेकै छ । छोएको ठाउँमा सुनपानी छर्किएर चोख्याइने चलन हटेको छैन । विगतमा भन्दा त केही फरक देखिन्छ, तर विभेदको जब्बर जरा भने उखेलिएको छैन । रुकुम घटना त्यसैको पछिल्लो क्रूर उदाहरण हो, नबदलिएको समाज व्यवस्थाको चित्र हो ।केही वर्षअघि जातीय विभेदसँग सम्बन्धित कथामा सिनेमा निर्माण गर्न एउटा पहाडी गाउँ पुगेको थियो हाम्रो समूह । जातीय विभेदसँग सम्बन्धित कथा भएकाले हामीले दलित समुदायकै युवाको सहयोग लिएका थियौं । 

पुसको महिना, जाडो निकै थियो । पाँच दिन भइसकेको थियो गाउँ बसेको । त्यसैले सुटिङ चाँडै सक्ने हतारो थियो । बिहानै उठेर चिया पिउदै थिएँ, साथमा थिए– एक दलित युवा । चिया पसलमा आएका एक पाका व्यक्तिले ती युवालाई घुरेर हेरे अनि मलाई भने, ‘यी दलितबारे तपाईंहरू धेरै नगर्नुस् है । तपाईं गएपछि यिनीहरूले हाम्रो टाउकामा टेक्छन् ।’ उनको कुराले मेरो दिमाग रन्थन्यायो । 

त्यही दिन बिहान ११ बजे होटलमा खाना खाँदै थियौं । हामीसँगै दलित समुदायकै दुई युवा थिए । होटल साहुले भन्न भ्याए, ‘हामी पनि जातीय विभेद मान्दैनौं, मान्न पनि हुँदैन । तर, यी दलितहरूलाई यति धेरै महत्त्वचाहिँ दिनुहुँदैन ।’

‘विभेद मान्दैनौं, महत्त्व दिनुहुँदैन !’ के कुरा हो यो ? मलाई दिनभर आदर्शको सतहभित्र छोपिएको विभेदको रापले पोलिरह्यो । यो स्पष्ट थियो कि त्यहाँ हाम्रो उपस्थितिका कारण उनीहरूले  विभेदपूर्ण व्यवहारलाई ‘विवेकपूर्ण’ नियन्त्रण गरेका थिए ।

हामी हिँडेपछि उनीहरूको ‘विवेक’ स्वाभाविक व्यवहारमा बदलिन्थ्यो । कल्पनाले नै हृदय चिरिइरह्यो । आफैंमाथि विभेद भइरहेको महसुस गरें । त्यस घटनापछि दलित समुदाय र यसले भोगिरहेको विभेदबारे थप बुझ्न थालें । अध्ययन र अन्तरक्रिया बढाएँ । मलाई थाहा भयो, हामीलाई सामान्य लागेजस्तो विभेद सामान्य भएको छैन । यसको प्रकृति संरचनागत छ, निकै जब्बर र कठिन छ ।समतापूर्ण समाजका लागि सशस्त्र जनयुद्ध भयो । यसमा दलित समुदाय उत्साहपूर्वक सहभागी भयो, बलिदान गर्‍यो । सत्ता परिवर्तनसँगै समतामूलक समाजमा आफ्नो समान स्थानको सपना थियो । नभन्दै सत्ता परिवर्तन भयो, तर सत्ताको सोच परिवर्तन भएन । 

राजा–महाराजाको पालामा दलितको कुरा सुनिदिने नै कोही थिएनन्, सुनाउन नै निषेध थियो । बलिदानीपूर्ण आन्दोलनपछि हक–अधिकारको कुरा गर्न सकिने भएको छ । सुनाउन सकिने भएको छ । तर विडम्बना, अहिलेको सत्ताले कुरा सुन्छ, तर केही गर्दैन । यो झन् कहालीलाग्दो कहर बनेको छ । 

अहिले राजनीतिक पार्टीहरूको संरचना र राज्य निर्माणमा सहभागितालाई गहिरो गरी अध्ययन गर्ने हो भने स्पष्ट थाहा हुन्छ कि राज्यको उपल्लो ओहोदामा भएकाहरू नै दलित समुदायलाई समान हैसियत दिन तयार छैनन् । आर्थिक, सामाजिक र राजनीतिक रूपमा उनीहरू माथि उठ्नु भनेको अपराधझैं ठान्छन् । मैले सिनेमा सुटिङको क्रममा पाएको सामाजिक प्रतिक्रिया त्यसको एउटा अंश मात्र हो । 

यस्तो विभेदबीच मेरो भूमिका के रह्यो त ? म आफैंलाई प्रश्न गर्छु । यसमा म केवल रमितेजस्तो मात्रै बनेको छु । के बोल्ने, के गर्ने ? द्विविधाजस्तो भइरहन्छ । कानुनी रूपमा विभेदमुक्त छौं । तर, व्यवहारमा विभेद उत्तिकै छ । यसबारे अंशअंशमा कतै कतै बोलेको छु धेरैपटक । तर जो यही समुदायका कलाकार हुनुहुन्छ,  उहाँहरू बोल्दा अझ बलियो आवाज हुन्थ्यो कि भन्ने पनि लाग्छ ।

तर उहाँहरूको मौनता किन ? अन्जान छु । कसैले नसुन्ने र सुनेपछि बेवास्ता गर्ने प्रवृत्तिले उहाँहरूले बोल्न छोड्नुभयो कि ! न सरकारले सुन्छ, न कुनै पार्टीको एजेन्डा नै बन्छ । बोली खेर फाल्न मात्र किन बोल्नु भन्ने भावना आउनु स्वाभाविक पनि हो ।

यससँगै कतिले दलित समुदायबाट आउने कतिपय कलाकारले आफ्नो जात नखुलाएको विषयमा प्रश्न गरेको पाउँछु । यो बाध्यता हो । यहाँ यस्तो व्यवस्था कायमै छ, जसमा आफ्नै जातमाथि गर्व गर्न सकिँदैन ।

०००

दलित समुदायमाथि मात्रै होइन, विभेद जनजातिमाथि पनि छ, महिलामाथि छ, मधेसीमाथि छ । महिलालाई ‘तिमी यो काम गर्न सक्दैनौं, नगर’ भन्ने मानसिकतादेखि विभेद सुरु हुन्छ । जनजातिमाथि हुने विभेदको साक्षी त म आफैं हुँ । 

करियरको सुरुवातमा म सिनेमाको अभिनेताको कोटीमै पर्दैनथें । नाटकमा मात्रै ठिकठाक थिएँ । धेरैले मलाई मायालु पाराले, साथीको हिसाबले सम्झाएजस्तो गर्दै ‘तिमी हिरो बन्न सक्दैनौ’ भनेका थिए । झट्ट हेर्दा सम्झाएजस्तो लागे पनि त्यो एक प्रकारको विभेद थियो ।

‘यो काम तिम्रा लागि बनेकै होइन, शास्त्रले वर्णन गरेको अभिनेताको कोटीमा तिमी पर्दैनौ’ भन्न खोजिएको थियो । मेरो मंगोलियन अनुहार र कदले नजानिँदो विभेद भोगिरहेको उदाहरण थियो त्यो । धेरैले यस्तो विभेद भाेगिरहेकै छन्, कतिले थाहा नपाउने गरी भोगिरहेका छन् । कुनै परिवार र समुदायको व्यक्तिलाई ‘कठै ! तिमी यस्तो समुदायबाट माथि उठेका हौ नि’ भन्नु नै विभेद हो । त्यो उसको दक्षतामाथि उठाइएको प्रश्न हो ।

सबै क्षमताले भरिपूर्ण व्यक्तिसमेत विभेदको जाँतोमुनि पिसिने अवस्था सिर्जना वर्ण व्यवस्थाले गरिदिएको छ । यसको मियो मानिने हिन्दू धर्मको आफ्नै सौन्दर्यशास्त्र छ । त्यसभित्र मंगोलियनहरू अटाउँदैनन् । उनीहरूको वर्णन नै त्यसमा गरिएको छैन । त्यही सौन्दर्य मानकमा रचिएका दन्त्यकथामा मजस्तो आकार–प्रकारको नायक आउँदैन ।

त्यहाँ लामो नाक र अग्लो ज्यान भएकै नायक आउँछ, चिम्सा आँखा, पुक्क परेको गाला त कल्पनै गरिँदैन । त्यही सौन्दर्यशास्त्रको मानकमा म र मजस्तै कलाकार सिनेमाको ‘हिरो म्याटरियल’ बन्न सकिनँ । जब यो मानकमा प्रश्न गरेर सिनेमा बन्न थाले, त्यसपछि मात्रै हाम्रो सौन्दर्य र प्रतिभाको कदर हुन थालेको हो । यसका पछाडि पहिचानको आन्दोलनको ठूलो भूमिका छ । 

त्यही आन्दोलनको बलमा नै यस्ता स्थापित मान्यतामाथि प्रश्न उठाउन सकिएको छ । तथापि म एक जना वा मजस्ता केहीले आफ्नो प्रतिभाको बलमा पहिचान बनाउन सक्नुमै समानता भइरहेको आत्मरति लिन कदापि सकिँदैन । कहिलेकाहीँ त यो व्यवस्थाले आफ्नो समुदायमाथि देखाएको व्यवहारले निराश हुन्छु ।

लाग्छ– यो समाज हाम्रा लागि निर्माण गरिएकै होइन, जबर्जस्ती जन्म लिएर आएको हुँ । रुकुम नरसंहारपछि म यस्तै विचारले निकै दिन ग्रस्त भएँ । यसलाई जातीय विभेदबाट अलग राखेर गर्न खोजिएको बहस देख्दा त झनै उदेक लागेको थियो । त्यसैले यस्तो चिन्तन र व्यवस्थामाथि नै प्रश्न गर्न हामी तयार हुनुपर्छ । वर्ण व्यवस्थाले समाजलाई हेर्ने ‘टाइपकास्ट’ दृष्टिकोण निर्माण गर्दो रहेछ । समाचारहरू हेरौं,  मंगोलियनहरू जताततै हिंस्रक जस्ता लाग्छन् । मानौं कि उनीहरू मान्छेको बस्तीमा पुगेर विध्वंश मच्चाइरहेका छन् । 

केही समयपहिले काठमाडौंमा बैंक लुट्ने, सहकारी लुट्ने काममा संलग्न भनेर लिम्बू समुदायका व्यक्ति पक्राउ परे । त्यसपछि सम्पूर्ण समुदायलाई नै आरोपित गर्ने प्रतिक्रिया मैले धेरै सुनें । उनकै कारण पनि मंगोलियनहरुलाई कैयौंले गलत नजरले हेरेका थिए । यसरी कुनै एक व्यक्तिलाई हेरेर सम्पूर्ण समुदायलाई हेर्ने दृष्टिकोण निर्माण गर्ने प्रवृत्ति नै गलत छ ।  

किन धेरै तामाङहरू ट्याक्सी चलाउँछन्, किन लिम्बूहरू खुकुरी भिरेर हिँड्छन् ? पहिले त्यसको पृष्ठभूमि बुझ्नुपर्छ । सामाजिक–आर्थिक सम्बन्ध बुझ्नुपर्छ । अनि त्यसले निर्माण गरेको बाध्यात्मक अवस्थाबारे घोत्लिनुपर्छ । 

यसरी व्यवस्थामाथि प्रश्न गर्ने सोच निर्माण गर्न विश्वविद्यालय र कलेजहरूबाटै प्रयास गरिनुपर्छ । समाजका हरेक तप्काबाट सुरु गर्नुपर्छ । हो, समाज परिवर्तन हुन समय लाग्छ । तर, परिवर्तनका लागि सुरुवात त गर्नैपर्छ ।

(राईसँग भएको छलफललाई नेपाल पब्लिकका एल.बी. विश्वकर्माले उनकै भाषामा अभिलेखन गरेका हुन्  ।)-नेपाली पब्लिक बाट साभार 

No comments:

Post a Comment