ठूला दलबाट दलित उम्मेदवारको संख्या न्यून, कहाँबाट को परे?

विभेद बिरुद्ध अभियान -१९ कात्तिक -२०७४ काठमाडौं : १० र २१ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा प्रमुख तीन दलले प्रत्यक्षतर्फ दलित उम्मेदवार न्यून संख्यामा उठाएका छन्। नेपालको जनसंख्याको १३ दशमलव २ प्रतिशत जनसंख्या ओगटेको दलित समुदायका उम्मेदवारले यसपटक भने न्यून अवसर पाएका छन्। प्रमुख तीन दलबाट आउँदो प्रतिनिधिसभा निर्वाचनका लागि दलित समुदायबाट तीनजनाको मात्र उम्मेदवारी परेको छ। ठूलो पार्टी नेपाली कांग्रेसले प्रतिनिधिसभा सदस्यका लागि प्रत्यक्षतर्फ एकजना दलित उम्मेदवारसमेत उठाएको छैन। कांग्रेसले प्रदेशसभा सदस्यतर्फ कास्की क्षेत्र नम्बर १ को ‘क’ मा जीवन परियारलाई उम्मेदवार बनाएको छ। 

यस्तै, एमालेले प्रतिनिधिसभा सदस्यतर्फ तीनजना दलित नेतालाई उम्मेदवार बनाएको छ। प्रतिनिधि सदस्यतर्फ एमालेले रुपन्देही क्षेत्र १ बाट छविलाल विश्वकर्मा र कास्की ३ बाट जगत विश्वकर्मालाई उम्मेदवार बनाएको छ। यस्तै, प्रदेशसभा सदस्यतर्फ मुगु क्षेत्र नम्बर १ को ‘क’ बाट दानसिंह परियार बारा ४ ‘क’ बाट सुन्दर विश्वकर्मालाई प्रदेशसभा सदस्यको उम्मेदवार बनाएको छ।  वर्गीय विभेद अन्त्यको नारा लिएर संघर्ष गरेको नेकपा माओवादी केन्द्रले मंसिरमा हुने प्रतिनिधिसभा निर्वाचनमा एकजनालाई मात्र उम्मेदवार बनाएको छ। यस्तै, प्रदेशसभातर्फ तीनजना दलितलाई उम्मेदवार बनाएको छ। 

 प्रतिनिधिसभातर्फ माओवादीले बाँके क्षेत्र नम्बर १ बाट महेश्वर गहतराजलाई उम्मेदवार बनाएको छ। यस्तै, प्रदेशसभातर्फ काठमाडौं ३ को ‘क’ बाट रुद्र बराइली, बाँके २ ‘क’ बाट कामता खटिक र रुकुम पश्चिम ‘ख’ बाट रातो कामीलाई माओवादी केन्द्रले उम्मेदवार बनाएको छ।  नेपाली कांग्रेसनिकट नेपाल दलित संघकी महासचिव लक्ष्मी परियारले अहिलेको राजनीतिक समिकरणका कारण दलितलाई उम्मेदवार बन्न केही समस्या भएको बताइन्। उनले भनिन्,‘हाम्रो पार्टीले दलित उम्मेदवारलाई उठाउन नचाहेको होइन। तर, परिस्थिति नै यस्तो आयो। वाम गठबन्धनले गर्दा सबै ठाउँ पलिया उम्मेदवार उठाउनु पर्ने भयो दलित साथीहरुले उठ्न चाहनुभएन।’ उनले पार्टीले गरेको चुनावी तालमेलले दलितले चाहेको ठाउँमा उठ्न नपाएपछि छाड्नुपरेको बताइन्।‘ कतिपय ठाउँमा त चुनावी तालमेलले पनि असर गरेको छ’ उनले भनिन्, ‘जस्तो मीन विश्वकर्मा दाई सुनसरीबाट उठ्न खोज्नुभएको थियो। तर, त्यहाँ अशोक राई उठ्ने भएपछि उहाँले छाड्नुपर्यो।’  

समुदायले अहिले पनि दलितलाई हेर्ने दृष्टिकोण परिवर्तन नगरेकाले समेत समस्या भएको बताइन्। ‘हामीले धेरै संघर्ष त गर्यौँ तर समाज परिवर्तन गर्न सकेनौँ’,परियारले भनिन्,‘अहिले पनि अरु जातिका उम्मेदवारसँग चुनाव लड्यौँ भने पनि अरुले नै धेरै मत पाउँछन्, अहिले पनि समाजमा दलितलाई जितायो भने नमस्कार गर्नपर्छ किन जिताउने भन्ने मानसिकता छँदै छ।’ पार्टीभित्र आफूहरुले दलितको जनसंख्याको आधारमा टिकट मागे पनि सुनुवाइ नभएको एमालेनिकट नेपाल उत्पीडित जातीय मुक्ति समाजका महासचिव गणेश विश्वकर्माले बताए। उनले भने,‘हामीले हाम्रो जनसंख्यको आधारमा टिकट मागेका थियौँ, तर यसमा पार्टी गम्भीर भइदिएन।’ पार्टीमा निर्वाचन लड्न सक्षम दलित नेता हुँदा पनि पार्टी भित्रको कुटबन्धिका कारण सक्षम दलित नेताले उम्मेदवारी नपाएको बताए। उनले दलितलाई उपेक्षा गरे एमाले जस्तो दलितको संख्या धेरै भएको पार्टी धरापमा पर्ने दाबी गरे।  अहिले पनि दलितप्रति पार्टीका नेताहरुको विश्वास कायमै रहेको माओवादी निकट नेपाल दलित मुक्ति मोर्चाका इञ्चार्ज तिलक परियारले बताए। उनले पार्टीभित्र केही समयदेखि वैचारिक विचलन आएको बताए। उनले भने,‘हाम्रो पार्टीले जुन एजेन्डा लिएर जनयुद्ध गरेको थियो अहिले बिर्सियो। 

केही समयदेखि पार्टीमा वैचारिक विचलन आएको छ।’ उनले पार्टीले आफ्ना बिचारलाई शान्ति प्रक्रियामा आएर स्थायी राख्न नसकेको बताए। पार्टीले उठाएको एकजना दलित उम्मेदवारविरुद्ध २ जनाले बागी उम्मेदवारी दिएको भन्दै परियारले दुखेसो गरे। उनले भने, ‘बल्लबल्ल बाँके १ बाट महेश्वरजीले टिकट पाउनुभएको थियो। उहाँलाई विश्वास नगरेर दुईजनाले बागी हाले।’ संघर्ष गरेर ल्याएको अधिकार विस्तारै खोसिँदै गएको परियार बताउँछन्।
चिरञ्जिबी घिमिरे / थाहा खबर बाट साभार 

No comments:

Post a Comment