कोमामा रहेका सार्कीको परिवारलाई घर हस्तान्तरण

विभेद बिरुद्ध अभियान , २७ कार्तिक ।साउदी अरबबाट कोमामा फर्केका रामकृष्ण सार्कीको परिवारलाई घर निर्माण गरी हस्तान्तरण गरेको छ । सामाजिक सञ्जाल अभियान मार्फत स्वदेश तथा विदेशमा रहेका नेपालीहरुबाट संकलित रकमले वैदेशिक रोजगारका लागि साउदी अरब पुगेर चार वर्षअघि कोमामा फर्किएका चाँगुनारायण नगरपालिका–४ संगम टोलका ४३ वर्षीय रामकृष्ण सार्कीको परिवारलाई घर निर्माण गरि हस्तान्तरण गरेको छ । सार्कीको परिवार ०७२ वैशाखको भूकम्पका कारण घर भत्किएपछि करिब ३० महिनायता कुखुरा पाल्न बनाइएको टहरामा बसोबास गरिरहेका थिए ।
सामाजिक सञ्जालबाट दिनदु:खीहरुको सेवामा कार्यरत सामाजिक अभियन्ता ढिकुरपोखरी–६ पाउदुरकोट कास्कीकी सरिता गुरुङले शुक्रबार घर हस्तान्तरण गरेकी हुन् । गुरुङले सामाजिक सञ्जाल अभियानमार्फत संकलित रकमबाट चारकोठे भूकम्प प्रतिरोधी घर निर्माण गरिदिएकी हुन् । सार्कीको आवास पुनर्निर्माणको लागि विभिन्न सामाजिक सञ्जाल मार्फत ११ लाख १२ हजार ५ सय ५५ रुपैंयाँ संकलन भएको उनले बताइन् ।
सार्कीको आवास पुनर्निर्माणका लागि सरिता गुरुङ फाउन्डेसनले डेढ लाख सहयोग गरेको उनले बताइन् । ‘वैदेशिक रोजगारका लागि साउदी पुगेका रामकृष्ण कोमामा फर्केपछिको अवस्था हेर्दा माया लाग्यो’, गुरुङ्गले भनिन्,‘सहयोगी हातहरुको सहयोगमा घर बनाउन सफल भयौं ।’ सार्कीको घर निर्माणका लागि एभरग्रीन ग्रुप युके, नेप्लिज ब्रदर हङकङ, अनुप गुरुङ यूएसए, राजु फोम्बो सिंगापुर, बबिता गुरुङ युके, दिदीबहिनी ग्रुप युके,रचना प्रधान हङकङ, फेन्स फर लाइफ, देवेन्द्र गिरी, लीला श्रेष्ठ ज्योति, विष्णु घोताने गुरुङको विशेष सहयोग रहेको गुरुङले बताएको कान्तिपुर दैनिकमा खबर छ ।
सामाजिक अभियान मार्फत निर्मित घरको साँचो ग्रहण गर्दै रामकृष्णकी ७० वर्षीया आमा माया मगरातीले खुशीको आँसु झार्दै सहयोगी हातहरुलाई धन्यवाद दिइन् ।

No comments:

Post a Comment