हलो, कोदालोसहित हरूवा चरूवा मुक्तिको माग गर्दै राजविराजमा प्रदर्शन गरे

विभेद बिरुद्ध अभियान -मंसिर ८ -गाउँ-गाउँबाट हलो, कोदालोसहित सदरमुकाम आएका महिला, बृद्धबृद्धा हरूवा-चरूवाहरूले हरूवा चरूवा मुक्तिको माग गर्दै मङ्सिर ६ गते राजविराजमा प्रदर्शन गरेका छन् ।हरूवा चरूवाहरूले ‘हरूवा-चरूवा आयोग गठन गर, हरूवा-चरूवाको ऋण मिन्हा गर, हरूवा-चरूवाको परिचय पत्र लागु गर, हरूवा-चरूवाको घर, जग्गा, रोजगारीको सुनिश्चित गर’ भन्ने नाराहरू लेखिएका प्लेकार्ड बोकेर प्रदर्शन गरे । राजविराज नपा-१ स्थित रंगशालाबाट सुरू भएको हरूवा-चरूवाहरूको जुलुसले नगरको विभिन्न भागको परिक्रमा गर्दै शिव मन्दिर प्राङ्गणमा कोणसभा गरेको छ ।कोणसभामा धनमाया बिक, दयावती सरदार, फतमा खातुन, सुमित्रादेवी खंग, सकलदेव सदा, आशादेवी रजक, राजु मुखिया, बिनादेवी सरदार, भुटनीदेवी राम, सुदामा पण्डितलगायतकाले मन्तव्य राखे ।

उनीहरूले एकपटक सुरक्षित बास र परिवार सङ्ख्याको आधारमा उब्जाउ जमीन दिनुपर्ने, हरूवा चरूवा बस्तीमा खानेपानी, स्वास्थ्य, शिक्षा, शिपमूलक तालिम र रोजगारी दिनुपर्ने, लघु उद्यमका लागि अनुदानको व्यवस्था हुनुपर्ने, छोराछोरीलाई स्नातकसम्म छात्रवृत्तिसहित अनिवार्य शिक्षा दिनुपर्ने  लगायतका ११ सूत्रीय माग गरे ।

सप्तरी, सुनसरी, सिरहा, धनुषा, महोत्तरी, सेलाही, रौतहट, बारा, पर्साबाट कूल ९७ हजार हरूवा-चरूवा रहेको तथ्याङ्क अन्तर्राष्ट्रिय श्रमिक सङ्गठन (आईएलओ) को सन् २०११ को प्रतिवेदनमा उल्लेख रहेको हुर्क नेपालका अध्यक्ष पार्थो सरकारले जानकारी दिए । उनका अनुसार सप्तरीमा मात्रै १८ हजार ३ सय ६१ जना हरूवा-चरूवा रहेका छन् ।

वर्षौँदेखि आन्दोलन गर्दै आएपनि समस्या समाधान नभएकाले गाउँगाउँमा हरूवाचरूवा अधिकार मञ्च गठन गरेको बताउँदै तपेश्वरी कल्याण सङ्घका प्रदिप जोशीले राज्यले अल्पकालिन र दिर्घकालिन योजनाका साथ समस्या समाधान गर्नुपर्नेमा जोड दिए ।

No comments:

Post a Comment