विभेद बिरुद्ध अभियान - मङ्सिर ४ - समाजमा व्याप्त रहेको जातीय छुवाछुतको भेदभाव अन्त्य गरि समानुपातिक प्रतिनिधित्व राज्यको हरेक तह र तप्कामा हुनु पर्छ भन्दै आएका केहि साथीहरु आज भोलि कोहि दलित , कोहि उत्पीडित त् कोहि शिल्पी भएका छौ ।राज्यबाट तिरस्कृत र बहिस्कृत गरी दलित बनाइएका हाम्रो पिडा हिजो सम्म एकै उत्पीडन र उदेशय एकै भनेर ज्वालामुखी निर्माण भएको थियो तर अहिले फाटेर चिरा परेर दलित , उत्पीडित र शिल्पीनामका संघ, सस्था र समुहहरूमा बाडिएको छौ ।
नेपालको जातीय संरचना र यसको राज्यसंयन्त्र सँगको सम्बन्धका कारण हिन्दू जात समूहमा तल्लो जातमा पारिएका कथित दलित जातिले विभेद र असमानता भोगेका छन् । यो विभेदका सामाजिक-सांस्कृतिक, आर्थिक र मनोवैज्ञानिक आयामहरू छन् । जुन समूहले विभेदको सामना गर्नुपरेको छ त्यसले मात्र स्पष्ट रूपमा यी आयामहरूको अनुभुति गर्न सकेका छन् । नेपालमा कुल जनसङ्ख्याको झन्डै १३ प्रतिशत दलित भनीए पनि ५०/६० लाख भन्दा बढी जनसंख्या रहेका दक्ष सिल्पी श्रमिक मजदुरवर्ग अर्थात कथित दलितहरुले संरचनात्मक विभेद भोगेका छन् जसको अन्त्य हालसम्म भइसकेको छैन ।जातीय अहंकार र हेपाईका व्यवहार देखिएको नेपाली समाजमा छुवाछुत् मुक्त रास्ट्र घोषणा गर्दा पनि , जातीय विभेद बिरुद्ध कानुन बनाउदा पनि , कथित दलितले आफुलाई कहिले उत्पीडित , कहिले दलित त् कहिले शिल्पी भनेर आफु माथिको उत्पीडन र विभेद मनबाट निकालेर, बिर्सेर, बेवास्ता गरेर अघि बढ्न खोज्दा पनि विभेद हराएर गएँन । यधपी ७० बर्षमा नेपाली समाजमा कथित ठुला भनिनेहरुले हिजो जसरि दलित ,शिल्पी, उत्पीडित श्रमजीवी जनतालाई जुन शोषण गरे अहिले मात्रात्मक रूपमा कम देखिएको छ तर जातीय विभेद र छवाछूतको उत्पीडन भने अझै बाँकी छ ।
यहि उत्पीडनको पिडा बोकेर वर्ण व्यवस्थाको आधारमा ठुलो सानोको मान्यता जरो गाडेर बसेको बुझेर उखेल्लंन भनेर नेपाली समाजमा पिडित वर्गहरुले बिभिन्न काल खण्डमा स्थायी समाधानको चाह गर्दै जहाँनिया राणा शासन, एकदलीय पञ्चायती व्यवस्था तथा निरंकुश एवं सक्रिय शाहवंशीय राजतन्त्र विरुद्ध पटकपटक शसस्त्र तथा निशस्त्र जनआन्दोलन एवं हरेक संघर्ष, आन्दोलन र क्रान्तिमा सीप र ज्ञानको दक्षताको प्रयोग गरि अघिल्लो पंतिमा रहेर आन्दोलनमा क्रियाशिल हुदै आए । फलस्वरूप सात सालको क्रान्तिमा धेरै दलितहरु शहिद भए, २०४६ सालको जनआन्दोलनमा ४ जना शहिद भए, जनआन्दोलनमा ११०० दलितहरुले ज्यान गुमाए तर अझै सिंगो समुदाय दमित हुदै आएका छन् अपमानित हुदै आएका छन ।
दलित आफैमा थर हैन । हामीले आफूलाई दलित बनाएर सानो तुच्छ बनाउन चाहेको हैन , आफूलाई दलित घोषित गरेर कसैका दयाको पात्र पनि हुनु पनि खोजेको हैन र कसैबाट करुणाको उपकार पनि लिन चाहेको हैन भन्दै तल्लो वर्गका मानिस सम्झेर हामीहरूलाई आर्थिक, सामाजिक, धार्मिक-सांस्कृतिक, राजनीतिक, संवैधानिक, लैङ्गिक दृष्टिकोण बाट दबाउने, शोषण गर्ने गरेकाले हामीहरूलाई ‘दलित’ बनाइयो , भनियो, दमित गरियो भन्दै आफु माथिको बर्षौ देखिको शोषण र दमनको विरोध गर्दै दलितको नाममा संगठित भएर सामाजिक, राजनीतिक, धार्मिक, सांस्कृतिक अनि शैक्षिक न्यायको माग एक थरीले गरिरहेका छन् । यो छुवाछुत बिरुद्धको संगठित आन्दोलन हो भनिरहेका छन् । बिभेद बिरुद्धको अभियान हो भनिरहेका छन् । जातीय बिभेद बिरुद्धको आन्दोलनमा दलित शब्द सामाजिक रुपान्तरणको अभियान हो भन्दै आएका छन् । बरु राज्य र समाजले सामाजिक,राजनीतिक, धार्मिक, सांस्कृतिक रुपमा पछी पारेर दलित बनाएको भएर यो समाजको बराबरीमा ल्याउन दलित शब्द दलित आन्दोलनको शब्दबाट आएको त हो नि !" भनेर तर्क प्राय राख्दै आएका छन् ।
अर्का थरीले आफुलाई दलित नभन, आफै दलित नहोउ र अरूलाई पनि दलित बनाइराख्ने सोच नराख । तिमीले आफैं उठ्नुपर्छ र अरूलाई पनि उठाउनु पर्छ । तिम्रा सन्तान दर सन्तान दलित नभनियुन्,’ त्यसका लागि आज देखि नै आफुलाई सिल्पी भन ,उत्पीडित भन भन्दै आइ रहेका छन् । आफुले आफुलाई दलित नभनी समुदाय बलियो बनाउने हो भने मात्र पुरै समाजको नजर बदल्न सकिन्छ भन्दै आएका छन् ।
नेपाली दलित आन्दोलनले आफैले लड्दै घिस्रिदै नेपालका राजनीतिक पार्टीलाई करिव ७० वर्ष लगाएर दलित भनेको नेपालको एउटा सम्बोधन नगरी नहुने सामाजिक समूह हो भन्ने कुरा कन्भीन्स गरी छाडेको बेला अधिकांश दलित , सिल्पी , उत्पीडित समुदायका त्यसमा पनि पढेलेखेका वौद्धिकहरू विभिन्न तर्क हालेर "दलित, उत्पीडित भन्दा सिल्पी शब्द उत्तम छ" भनेर सब्द फेर्ने अभियानमा कस्सिएका छन । पहिला यो बहसमा म पनि धेरैपटक सहभागि भएको छु् । आजभोलि जाँगर चल्दैन - समयको नाश जस्तो मात्र लाग्छ । "दलितलाई सिल्पी भन्नु ठीक" भनेर कसिने अधिकांश पढेलेखेका विद्वानहरू दलित शब्दले हामीलाई होच्याउँछ भन्ने तर्क गर्छन् । तर प्रश्न तेर्शिन्छ के हामीलाई मात्र दलित शब्द बिस्थापित चाहिएको हो ?
दलित शब्द परिवर्तनका प्राथमिकता र नेपाली समाजमा हाम्रो अवस्थाको स्तर बीच सन्तुलन देखिँदैन। हामी शब्द फेर्न चाहने तर समाज गतिशील नहुने आजको समस्या हो। अत आवश्यकता हामी दलित वा शिल्पी हौ/हैनौ भन्दा पनि दलितीपन हटाउने र समता मुलक समाज बनाउने हो।अहिले पनि सार्वजनिक ठाउमा सानो जात भन्दै मरणासन्न हुने गरि कुटिने नेपाली समाजको श्रम जीवि काचो फलाम पगाल्ने बिस्वकर्मा , जुत्ता सिउने सार्की , लुगा सिउने दमाईहरु कुटिएको मारिएको समय समयमा हामीले सुन्दै देख्दै भोग्दै आएका छौ । अब पिडितलाई दलित भनिएका कारणले कुटिएको भन्ने कि सिल्पी नभनिएका कारणले भन्ने ? प्रश्न तेर्शिएर बसेको छ ।
यसरि प्रश्न तेर्शिएकाले हामी समाजको, धर्मको, संस्कृतिको, राष्ट्रको विभेद बाट पीडित भएर लामो निराशामा फसेका छौ । ६० लाख भन्दा बढी दक्ष सिल्पी श्रमिक मजदुरवर्ग हुँदाहुँदै पनि दलित आन्दोलन सफल बन्न सकेको छैन ।जातीय विभेद र छुवाछुतको समुल नष्ट गर्न हामी सबै एक भएर लड्न जरुरी भएको छ । तर हाम्रा दिन्हुका समस्या, असंगति , भ्रमहरू र दुर्भाग्यहरू बाट हामीलाई कहिले दलित , कहिले उत्पीडित त् कहिले शिल्पी बनाएर स्वघोघित रुपमा परिभाषित गर्दै कितामा उभाएको छ । हामीलाई शब्दको मोह होइन, परिणाम चाहिएको छ। यसो भनेर शिल्पी शब्द ठिक होइन भनेको होइन । शिल्पी सब्द आफ्नो समयलाई गरिएको प्रयोग हो। यो अहिले परिक्षणको बाटोमा छ नै। तर तत्काल हामीलाई दलितीपनको अवस्थामा सुधार चाहिएको छ, जसले हामीलाई हाम्रो समुदाय प्रति माया, राज्यप्रति आशा र समाज प्रति विश्वास बढोस्। यसका लागि हिजो झैँ दलित नै भनिनु पर्छ भन्ने पनि छैन र दलित हैन शिल्पी हौ भनेर चिनाउनु पर्छ भन्ने नि छैन । दलितीपनको अवस्था हटाउने कार्यक्रमका लक्ष्य, उद्देश्य र परविर्तनको मोडल बदल्नुपर्छ र दलितिपन हटाउन मेरो भूमिका के ? भनेर हामि सवैमा आत्म बोध हुनु पर्छ । अनि मात्र यो समाजको बराबरीमा उभिन सक्ने लक्ष्य सफल हुन्छ ।
No comments:
Post a Comment