कथित बोक्सी आरोपमा सरिता दर्जीलाई तातो फलामले डामेर दुर्व्यवहार

विभेद बिरुद्ध अभियान - आषाढ ८ -  लिखु तामाकोसी गाउँपालिका-१ दुरागाउँकी २६ वर्षीया सरिता दर्जीलाई कथित बोक्सीले दुःख दिएकाले बोक्सी निकाल्ने भन्दै तातो फलामले गालामा डामेको आरोपमा असार ५ गते ओखलढुङ्गाको लिखु गाउँपालिका-२ रगनीका ३५ वर्षीय आफूलाई धामी बताउने रविन्द्र नेवारविरूद्ध जिल्ला प्रहरी कार्यालय रामेछापमा उजुरी दर्ता भएको छ ।

पीडित महिलालाई आरोपितले कथिते बोक्सी निकाल्ने भन्दै तातो फलामले गालामा डामिदिएपछि पीडित महिलाले असार ५ गते जिल्ला प्रहरी कार्यालय रामेछापमा उजुरी दिएकी हुन् ।

घटना विवरण अनुसार पेटको रोगको समस्या भएकी ती महिला उपचारका लागि काठमाडौँ गएकी थिइन् । काठमाडौँमा उनका नन्देभाइ नाता पर्ने नेवारले यो धामीले निको पार्ने रोग हो भन्दै आफूसँगै काठमाडौँबाट धामी बस्ने भनेर बिरामीलाई घरमा लिएर आएका थिए ।

उनकै घरमा जेठ २४ गते धामी बस्ने क्रममा उनले बिरामीलाई बोक्सीले दुःख दिएको भन्दै बोक्सी निकाल्ने भनेर सिस्नो पानी लगाउनुको साथै तातो फलामले डामिदिएको पीडित पक्षको आरोप छ ।

पीडित महिलाको गालामा डाम बसेको छ । घटनाका मुख्य आरोपित नेवारलाई प्रहरीले असार ५ गते काठमाडौँबाट गिरफ्तार गरेको छ ।

घटनामा सहयोग गरेको आरोपमा नेवारकी ३३ वर्षीया पत्नी जानुका दर्जी, स्थानीय ३५ वर्षीय  दीपक दर्जी, राजन पौडेल र गोहित सार्कीलाई असार ४ गते गिरफ्तार गरेको जिल्ला प्रहरी कार्यालय रामेछापका इन्स्पेक्टर राजकुमार थापाले जानकारी दिए ।

No comments:

Post a Comment