मुलुकले नचिनेको हिरा अर्थात पूर्वेली भाकाका सर्जक र लेखक डिल्लीमान दर्जी

विभेद बिरुद्ध अभियान -(रामकुमार श्रेष्ठ) जेष्ठ २३ - डिल्लीमान दर्जी अर्थात डिल्ले दमाई मुलुक र नेपाली सञ्चार माध्यामले नपत्याइएका अमूल्य गहना हुन् । दर्जीलाई पूर्वेली भाकाका सर्जक र लेखकको रुपमा पनि लिने गरिन्छ । देश दौडाहाको समयमा राजा महेन्द्रले पूर्व संखुवासभा चैनपुरबाट देरुक्मांगत कटुवाल, अमर गुरुङलगायत मुलुकभरबाट प्रतिभावान व्यक्ति राजधानीमा ल्याउने क्रममा दर्जीलाई पनि काठमाडौँ ल्याएका थिए ।

तर बिडम्बना, मुलुकमा जिवित रहेको विभेदकारी समाजका कारण राजा महेन्द्रसँग सिधा सम्पर्क र सम्बन्ध हुँदाहुँदै पनि उनी जहिल्यै छायाँमा पर्न पुगे । अथाह प्रतिभाका धनि भएर पनि काठमाडौँबाट गाउँ फर्किन उनी वाध्य भए । दम र प्रेसरका रोगी दमाईको चैनपुर १ हिटीडाँडा संखुवासभास्थित आफ्नै निवासमा अप्रिल २०१७ मा ८४ वर्षको उमेरमा निधन भयो । जबकि ०३५ सालमा तत्कालीन राजा वीरेन्द्रले आयोजना गरेको लोकभाका वाद्यवादन प्रतियोगितामा देशभरबाटै उनको टोली प्रथम भएको थियो।

नेपथ्य ब्याण्डको दर्जीसँग सम्वन्धः

नेपथ्य ब्याण्डका चर्चित गायक अमृत गुरुङले नयाँ गीत कोसीको पानी भन्ने सार्बजनिक गरे । जुन गीतको शब्द अमृत गुरुङले दर्जीबाटै संकलन गरेका थिए । युट्युबमा राखिएको उक्त गीतलाई करिब डेढ बर्षमा झन्डै एक मिलियन पटक हेरिएको छ । दमाईले लेख्नु भएका ‘कोसीको पानी, ‘यो जिन्दागानी सललल गइजाने हौं हजुर’ बोलको गीत निकै चर्चित छ । उनको यो गीतलाई नेपथ्य ब्यान्डका गुरुङले प्रयोग गरेका थिए । नेपथ्य ब्याण्डकै माध्यमबाट विश्वकै चर्चित स्टेज इङ्ल्यान्डको वेम्ली, सिड्नी, अमेरिका, यूरोपलगायत स्थानमा यो गीत गाइसकिएको छ । पूर्वेली लोकभाका एवं लोकसंस्कृतिका उपासक दमाई गायक, वाद्यवादक र लेखक समेत हुन् । 

दर्जी निवासको ऐतिहासिक महत्वः

०१६ को अक्टोबरमा पूर्वीय दर्शन अध्ययन केन्द्रको उद्घाटन गर्नुअघि सो केन्द्रमा राखिएका अधिकांश पुस्तकहरु दर्जीकै घरमा राखिएको कारण पनि उनको घरको ऐतिहासिक महत्व अझै बढेको छ । वास्तविक लोकसंस्कृतिका उपासकलाई सम्मान दिन नसके पनि उनका सिर्जना र लोकभाकाप्रतिको योगदानको कदर गर्नुपर्ने दर्जीका छोरा धनबहादुर बर्देवाको भनार्इ छ । लोकगीत गायनमा पूर्वाञ्चलमै चर्चित दमाईले वाद्यवादन एवं संगीतकारको परिचय समेत बनाएका थिए । राज्यले जातीय विभेद हटेको घोषणा गरे पनि गाउँ समाजबाट यसलाई व्यवहारिक रूपमा हटाउन सकिएको छैन् । यस्तै अवस्थामा दुई वर्ष अघिको दसैंमा मुकुन्द खत्री, अशेष शाक्यलगायत युवाको टोलीले दमाईकै हातबाट टीका समेत लगाएको थिए ।

No comments:

Post a Comment