यस वर्षको ‘दर्नाल अवार्ड’ बैतडीका अभियन्ता सरस्वती नेपालीलाई

विभेद बिरुद्ध अभियान - २०७५ जेठ २६ गते- सन् २०१८ को ‘सामाजिक न्यायका लागि अन्तर्राष्ट्रिय दर्नाल अवार्ड’ बैतडीका अभियन्ता सरस्वती नेपालीले पाउने भएकी छिन् ।दलित समुदायका लागि सामाजिक न्यायको क्षेत्रमा पुर्‍याएको योगदानको सम्मान र कदर गर्दै नेपालीलाई यस अवार्ड प्रदान गर्ने गरिन लागेको हो ।

उनलाई आगामी २०७५ साउन ३० मा नगद पाँच लाख रुपियाँ र कदरपत्रसहित सम्मान गरिने सरिता परियार ट्रष्ट फण्डले जनाएको छ।दर्नाल अवार्ड निर्णायक समितिले अभियन्ता सरस्वती नेपालीसँगै अन्य अभियन्ताहरूमा डडेल्धुराका कलावती भाँड, सिरहाका अरुण सदा, दैलेखका पार्वतीकुमारी विशुन्के, बर्दियाका दिलिप गन्धर्व र बाजुराका डा रुपचन्द्र विश्वकर्मालाई समेत कदरपत्र प्रदान गर्ने निर्णय गरेको छ ।

सुदूरपश्चिमको दलित परिवारमा जन्मिएककी सरस्वती नेपालीले दलित तथा अन्य सीमान्तकृत समुदायको सामाजिक न्याय र मानवअधिकारको क्षेत्रमा महत्वपूर्ण योगदान पुर्याउँदै आएकी छिन् ।

दलित समुदायमाथि हुने गरेका मानवअधिकार उल्लङ्घनका घटनामा प्रहरीले उजुरी समेत लिन नमान्ने क्रम जारी रहेको बेला उनले बलात्कारको मुद्दामा लामो संघर्ष गरेकी थिइन् ।

बैतडी, दशरथ चन्द नगरपालिकाका ५४ वर्षीय शिक्षकद्वारा मानसिकरुपमा कमजोर स्थानीय १४ वर्षकी दलित बालिकामाथि विद्यालयमै पटक–पटक बलात्कार गर्दै आएको र गर्भसमेत तुहाएको घटनामा सरस्वती नेपालीकै अगुवाइमा भएको साहसिक कानुनी लडाइँको फलस्वरुप पीडकलाई ११ वर्षको जेल सजाय गरिएको थियो । सेप्टेम्बर २००७ मा डोटीको शैलेश्वरी मन्दिर प्रवेशका लागि भएको तेस्रो संगठित संघर्षका अगुवामध्येकी एक रहेकी सरस्वती नेपाली मन्दिर प्रवेश घटनामा घाइते भएकी थिइन् ।

उनको संयोजकत्वमा रहेको भूमिअधिकार मञ्चले सन् २००८ देखि २०११ सम्म सुकुम्बासी दलित समुदायलाई जमिन दिलाउने गरी संघर्षको अगुवाइ गरेको थियो । मञ्चको नेतृत्वमा भएको सोही संघर्षका कारण ३७ घर–परिवारले दुई रोपनीका दरले जमिन र लालपुर्जा प्राप्त गरेका थिए ।

सरस्वती नेपालीकै पहलमा २१ मार्च २००७ मा बैतडी जिल्लालाई हलिया मुक्त जिल्ला घोषणा गरिएको थियो । त्यसलगत्तै सन् २००८ मा नेपाल सरकारले पनि हलिया मुक्तिको घोषणा गरेको थियो ।

त्यसैगरी सन् २००७ मा बैतडीको उदयदेवमा भएको ‘सिनो बहिष्कार संघर्ष’को क्रममा उनले घटनालाई राष्ट्रियकरण गर्न र पीडितलाई न्याय दिलाउन संयोजनकारी भूमिका खेलकी छिन् । 
सरस्वती नेपालीले स्थानीय शान्ति समितिको जिल्ला संयोजक भएर सन् २००९ देखि २०११ सम्म काम गरेकी थिइन् । उनी नेपालमा बनेका स्थानीय शान्ति समितिको पहिलो महिला जिल्ला संयोजक थिइन् ।

‘दर्नाल अवार्ड’ आम मानिसले समाज परिवर्तनका लागि गरेका प्रेरणादायी र अनुकरणीय कार्यको सम्मान गर्ने उद्देश्यले सामाजिक न्यायका अभियन्ता सुभाष दर्नालको सम्झनामा स्थापित अन्तर्राष्ट्रिय स्तरको पुरस्कार हो ।

१५ अगस्ट २०११ मा अभियन्ता सुभाष दर्नालको निधन भएको थियो । सरिता परियार ट्रष्ट फण्डले जागरण मिडिया सेन्टरसँगको साझेदारीमा अगस्ट १५ को अवसरमा हरेक दुई वर्षमा ४० वर्षमुनिका दलित युवालाई यो अवार्ड प्रदान गर्दै आएको छ ।


वर्ण र जातको तहगत असमानता रहेको नेपाली समाजमा समावेशी लोकतन्त्र र सामाजिक न्यायका लागि गरिने सङ्घर्षको बाटो दीर्घकालीन र जटिल हुन्छ । यस्तो सङ्घर्षका लागि ज्ञानको उत्पादन गर्ने र त्यसलाई आदान–प्रदान गर्ने काम निकै महत्वपूर्ण हुन्छ । त्यसैले, यो अवार्ड आम उत्पीडितहरूमा अन्तरनिहित क्षमता, शक्ति र गौरवको सम्मान हो । यो अवार्डले सामाजिक न्यायका लागि नयाँ र प्रेरणादायी कार्य गरिरहेका व्यक्ति, संस्था र आन्दोलनबीच सहयोग एवं सहकार्यको पुल बनाउने अपेक्षा गरेका छौं ।

No comments:

Post a Comment