मन्दिरमा दलित महिला पुजारीः ‘उपल्लो जात’काले पनि लिन्छन् आशिर्वाद

विभेद बिरुद्ध अभियान - आषाढ ८ -  छुवाछुत अपराध मानिए पनि देशका अधिकांश ठाउँका मन्दिरभित्र दलितको प्रवेश प्रत्यक्ष–अप्रत्यक्ष रूपमा रोक लगाएको पाइन्छ । तर, दाङमा यस्तो मन्दिर छ जहाँ दलित महिला नै पुजारी छिन्।
स्थानीयले मन्दिर निर्माण गरी दलित महिलालाई पुजारी राखेका छन् । ‘उपल्लो जात’का मानिस उनीबाटै आशीर्वाद लिन्छन्। घोराही उपमहानगरपालिका–१८ स्थित नागेश्वर महादेव मन्दिरमा स्थानीय पार्वती विश्वकर्मा पुजारी भएर काम गरिरहेकी खबर आजको नयाँ पत्रिका दैनिकमा दाङबाट भूपेन्द्र ओलीले लेखेका छन्।

भारतमा जन्मिएकी पार्वती तीन वर्षअघि तीन छोरी र श्रीमान्का साथ नेपाल आएकी थिइन् । ४१ वर्षीया पार्वती नेपाल आएर स्थायी रूपमा बस्ने गरी जग्गा किनेकी थिइन् । उनी तीन वर्षदेखि मन्दिरमा पुजारी बनेकी छिन्।

सबै स्थानीयले स्विकारे पार्वतीलाई
अहिले मन्दिरमा पूजा गर्न दिनहुँ सयौँको भिड लाग्छ । मंगलबार र बुधबार साँझ नागले दर्शन दिने विश्वासमा मन्दिरमा पुग्ने गरेका छन् । यो क्षेत्रमा क्षेत्री र ब्राह्मण समुदायको बसोवास रहेको छ । स्थानीय सुदीप गौतमका अनुसार सुरुमा कतिपयले पार्वतीलाई दलित भएकै कारण पुजारी स्विकार्न मानेका थिएनन् । तर, भगवान्प्रतिको उनको अगाध विश्वास र समर्पणलाई देखेर सबैले स्विकारेका छन् । गौतमले अहिले त्यस्तो कुनै पनि किसिमको भेदभाव नभएको बताए।

आशीर्वाद लिन भिड
मन्दिरभित्र प्रवेश गर्दा पूरै शरीर ढाक्ने पहेँलो वस्त्र लगाएकी, निधारमा पनि पहेँलै फेटा बाँधेकी, घाँटीमा रुद्राक्ष माला लगाएकी पुजारी पार्वती विश्वकर्मा भेटिन्छन् । मन्दिर पुगेका सबैले उनीसँग आशीर्वाद मागेर फर्कन्छन् । पार्वती भक्तजनको पूजा गराइदिने र टीका लगाएर आशीर्वाद दिन्छिन्।

दर्शन गर्न आउने कसैले पनि उनलाई जात, थरबारे सोध्दैनन् । पार्वती आफैँ पनि जातभातको कुरा मान्दिनन् । ‘खै, भगवान्ले त यस्तो जातपात बनाएकै छैनन्, मलाई पनि त्यस्तो लाग्दैन,’ उनी भन्छिन्।

पार्वती यसरी बनिन् पुजारी
पार्वतीका अनुसार उनी दाङ आएको वर्ष गाउँको सिरानको गोरेटो बाटोछेउको चट्टानको प्वालमा पहेँलो रङका दुईवटा सर्प देखिए । ती सर्प त्यही प्वालभित्र पसे । पार्वती त्यही समयमा नजिकैको खोलामा नुहाउँदै थिइन् । एकाएक उनी सर्पकै तालमा शरीर ढाल्दै बर्बराउन थालिन् । ‘मलाई नफर्काऊ, म स्वर्गद्वारीबाट आएको हुँ, मलाई यहीँ बस्न देऊ’ जस्ता शब्द बोल्दैै उनी नागबेली शैलीमा लडिबुडी गर्न थालिन् । जुरुक्क उठेर नाग भएको ठाउँमा पूजाआजा गर्न थालिन् ।

स्थानीयलाई लाग्यो उनको शरीरभित्र ‘नागदेवता’ चढेछन् । पार्वतीमाथि ‘देवताको कृपा’ भएको भन्दै स्थानीयले मन्दिर बनाइदिने वाचा गरे । सोही स्थानमा पार्वतीकै पहलमा दाताहरूको सहयोगबाट नागेश्वर महादेव–पार्वती मन्दिर, गणेश मन्दिर, शिव मन्दिर र गौशालासमेत स्थापना गरिएको छ । गाउँलेले मुख्य पुजारीका रूपमा पार्वतीलाई नै तोकेका छन्।


No comments:

Post a Comment