४५ परिवार भएको दलित बस्तीमा गैरदलितले खानेपानी उपभोगबाट वञ्चित गरे

विभेद बिरुद्ध अभियान ०७३ कात्तिक २६ गते- दशरथचन्द नपा-११ सत्पालीका ४५ परिवार भएको दलित बस्तीमा गैरदलितले खानेपानी उपभोगबाट वञ्चित गरेको दलित समुदायले आरोप लगाएको छ ।करीव ६ वर्षअगाडिदेखि सञ्चालनमा रहेको उक्त खानेपानीमा आफूहरूलाई विभेद गरिएको स्थानीयको आरोप लगाएका हुन् ।
‘घरको करेसाबाट खानेपानीको पाइप लगेर गैरदलित समुदायले पानी खाएका छन् । तर, हामीहरूलाई उक्त पानी उपभोग गर्न दिइएन ।’-स्थानीय तजराम लावडले भने ।‘हाम्रो समुदायमा पानीको हाहाकार छ । गैरदलित समुदायले सिञ्चाई गर्नसमेत खानेपानीको उपयोग गरिरहेका छन् ।’-प्रकाश लावडले भने ।

कात्तिक २६ गते उक्त क्षेत्रका दलित समुदायका केही व्यक्तिहरू खानेपानी उपभोगमा सहज व्यवस्थापनको मागसहित जिल्ला प्रशासन कार्यालय, दशरथचन्द नगरपालिकाको कार्यालय लगायतका अन्य सरोकारवाला निकाय सम्म पुगेपछि उक्त कुरा र्सार्वजनिक भएको हो ।‘दलित भएकाले आफूहरूको पहुँच पनि त्यति छैन र सरोकारवाला निकायले पनि हामीहरूको समस्यालाई समाधान गर्न कुनै पहल गरेको छैन ।’-धनीराम लावडले भने ।

दशरथचन्द नगरपालिकाका कार्यकारी अधिकृत अर्जुन शर्माले उक्त समस्याको चाँडै समाधान गर्न नगरपालिकाले पहल गर्ने बताए ।

No comments:

Post a Comment