श्रीमानको कुटाईबाट अर्धचेत भएकी सुनकुमारी नेपाली अस्ताइन्

विभेद बिरुद्ध अभियान - कार्तिक २७ –श्रीमानको कुटाईबाट घाइते भएकी रोल्पाकी सुनकुमारी नेपालीको शनिबार निधन भएको छ ।आर्थिक अभावका कारण सुरुमा उनको उपचार हुन सकेन । पछिल्लो समय उपचार खर्च जुटे पनि उनलाई बचाउन सकिएन । उनको शनिबार दिउँसो निधन भएको छ ।रोल्पा थवाङ ८ की ४८ वर्षीया सुनकुमारीलाई गत असोज २६ गते साँझ आफ्नै श्रीमानले मरणासन्न हुने गरी कुटेका थिए ।
उनी कुटिएपछि स्थानीय थवाङ इलाका प्रहरीले उनलाई उद्धार गरी घर्तीगाउँ अस्पतालमा उपचारका लागि पठायो । तर, त्यहाँ उपचार सम्भव नभएपछि थप उपचारका लागि भैरहवाको युसीएमएस अस्पतालमा ल्याइएको हो । युसीएमएसमा विगत २३ दिनदेखि उपचारत नेपाली मृत्यु अघि सम्म अर्धचेत अवस्थामा थिइन्  ।
रोल्पा प्रहरीका अनुसार जिल्ला सदरमुकामदेखि ७२ किलोमिटर टाढा रहेको थवाङमा भएको सो घटनाका आरोपीत सुनकुमारीकै श्रीमान ध्रुव नेपाली र जाला नेपालीलाई ज्यान मार्ने उद्योग अन्तर्गत मुद्दा चलाएर पुर्पक्षको लागि थुनामा राखिएको छ ।गत असोज २५ गते भएको उक्त घटनामा घाइते भएकी सुनकुमारीका एक छोरा र एक छोरी छन् ।थवाङ प्रहरीले उद्धार गरी घर्तीगाउँ अस्पताल पठायो तर, त्यहाँ उपचार सम्भव नभएपछि १३ वर्षीया छोरी बिनिताले उनलाई भैरहवा ल्याइन् ।
युनिभर्सल मेडिकल कलेजमा उपचारत अर्धचेत अवस्थामा रहेकी सुनकुमारीको उपचारमा खर्च अभाव भएको खबर अनलाइनखबरमा प्रकाशित भएपछि सहयोगी हातहरु जुटेका थिए ।शनिबार मात्रै सभामुख ओनसरी घर्ती र उपराष्ट्रपतिपुत्र दीपेश पुनसहितको टोली अस्पताल पुगेर उनको अवस्थाबारे जानकारी लिएको थियो र विभिन्न व्यक्तिबाट संकलित ३ लाख हस्तान्तरण गरिएको थियो ।तर, शनिबार नै उनको निधन भएको छ ।

No comments:

Post a Comment