१३ वर्षीया छोरी बबिता नेपालीले आमा सुनकुमारीको दागबत्ती दिइन्

विभेद बिरुद्ध अभियान -भैरहवा, ३० कात्तिक । घरेलु हिंसाबाट मृत्यु भएकी रोल्पा–८ की ३८ वर्षीया सुनकुमारी नेपालीको सोमबार भैरहवामा दाहसंस्कार गरिएको छ । उनको पार्थिव शरीरमा १३ वर्षीया छोरी बबिता नेपालीले दागबत्ती दिएकी थिइन् । भैरहवाको डन्डा खोलामा उनको दाहसंस्कार गरिएको छ । नेपालीको शवमा रुपन्देहीका पूर्व प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद ढकालले पुष्पगुच्छा राखेर श्रद्धाञ्जली दिएका थिए । सो क्रममा उनले घटनामा संग्लग्नलाई कडा कारबाही गरिने बताए । साथै, उनले सुनकुमारीको उपचारमा सहयोग जुटाउन पहल गर्ने लुम्बिनी प्रेस क्लब, उपराष्ट्रपति नन्दबहादुर पुनका छोरा दिपेश पुनलगायत दाताप्रति आभार प्रकट गरे । साथै, नेपालीकी छोरी बिनिता नेपालीको शिक्षा, स्वास्थ्य र लालनपालनमा जिल्ला बाल कल्याण समितिले सहयोग गर्ने प्रतिबद्धता जनाए ।
‘हिंसामा नपरून् अरू सुनकुमारी’
श्रद्धाञ्जलीसभामा उपराष्ट्रपतिका छोरा दिपेश पुनले आगामी दिनमा अरू सुनकुमारीहरू हिंसामा नपरून् भन्दै कामना गरेका थिए । उनीले दोषीलाई कारबाही गर्न स्थानीय प्रशासनलाई आग्रह पनि गरे । पुन शनिबार सुनकुमारीको उपचारमा सहयोग गर्न तीन लाख रुपैयाँ बोकेर राजधानी काठमाडौंबाट भैरहवा आएका थिए । तर, सुनकुमारीको सोही दिन निधन भएको थियो ।
सुनकुमारी ट्रस्ट बनाइने
दिपेश पुनले सुनकुमारी ट्रस्ट स्थापना गरी रोल्पालगायतका क्षेत्रमा घरेलु हिंसामा परेका, शिक्षा, स्वास्थ्यलगायतबाट वञ्चित भएकाहरूलाई सहयोग गर्ने बताए । महिला अधिकारकर्मी ज्ञानु पौडेलले महिला हिंसाका घटना दिनप्रतिदिन बढ््रदै गएको बताइन् । क्लबका अध्यक्ष माधव ढुंगानाले सुनकुमारीको उपचारमा कुनै कसर बाँकी नराख्दा पनि उनलाई गुमाउनुपरेकोमा दुःख व्यक्त गरे । सुनकुमारीको दाहसंस्कारसँगै लुम्बिनी प्रेस क्लबले उनकी छोरीलाई जिल्ला बाल कल्याण समितिको जिम्मा लगाएको छ । 
यसरी भयो सुनकुमारीमाथि हिंसा 
सुनकुमारी श्रीमान् ध्रुव नेपाली र नातामा बहिनी पर्ने जाला नेपालीको कुटपिटबाट गत २६ असोजदेखि अचेत थिइन् । सोही अवस्थामा उनको मेडिकल कलेज भैरहवामा उपचार भइरहेको थियो । आर्थिक अभावका कारण बिरामी कुरुवाहरूले समेत सुनकुमारीलाई छाडेपछि उनको उपचार प्रभावित भएको थियो । आर्थिक अभावमा २५ दिनसम्म उपचार हुन नसकेको खबरपछि लुम्बिनी प्रेस क्लबले उनको सम्पूर्ण उपचार जिम्मा लिएको थियो । क्लबको निर्णयसँगै विभिन्न क्षेत्रबाट सहयोग रकम संकलन भएको थियो । 

No comments:

Post a Comment