विभेद बिरुद्ध अभियान - कार्तिक २९, २०७३- गाउँलेको अवरोधपछि उनीहरू आफ्नैअरू बेला छुवाछूत भोग्ने दलित पनि छठका बेला समान दरिन्छन्, मधेसमा । ऊर्जा, समानता र सद्भावको यो पर्व सिरहाको कुर्बा हनुमाननगरका दुई दलित परिवारका लागि भने छोइछिटोको पिरलोका रूपमा देखा पर्यो । स्थानीय लिलिया मल्लिक र जहरी मल्लिकलाई पोखरीमा छठ गर्न कथित उच्च जातका गाउँलेले रोक लगाए । बारीमा खाल्डो खनेर ट्युबवेलको पानी जमाएर जेनतेन छठ मनाउन बाध्य भए ।
छठको दिन दिउँसो लिलिया र जहरी अघ्र्यका लागि नैवेद्यका परिकार बनाउँदै थिए । गाउँको पोखरीघाट समितिका दुई सदस्य रामसकल महतो र जीवछ यादव मल्लिकको घरमा आएर चेतावनी दिए– ‘खबरदार मूल बाटोबाट नहिँड्नु र पोखरीघाटमा नजानू । छुट्टै ठाउँमा छठ मनाउनू ।’ लिलिया मल्लिकले गह भिजाउँदै भनिन्, ‘वर्षौं वर्षदेखि त्यही सार्वजनिक पोखरीको एक छेउमा हामीले छठलाई अघ्र्य दिँदै आएका थियौं तर यसपालि खोइ कुन्नि के भयो गाउँलेलाई ? दिउँसै आएर धम्की दिएर गए ।’
मल्लिक दुई परिवारले दिउँसै जलाशय पोखरीको घाटमा सफाइ गरी आफ्ना लागि स्थान बनाएका थिए । त्यहाँ लगेर चढाउने पकवान र नैवेद्य राख्न एउटा खाट पनि राखेका थिए । घरमै आएर चेतावनी दिनेहरूले पोखरीघाटबाट पनि डोम परिवारले राखेको खाट मिल्काइदिए । पीडित जहरी मल्लिकले भनिन्, ‘खाट फ्याँकिदिएपछि घाटमा जाने आँट आएन । बाध्य भएर आफ्नै कल छेउमा खाल्डो खन्यौं र छठलाई अघ्र्य दियौं ।’ जहरीले घरमा आएर चेतावनी दिनेहरूलाई सोधेकी थिइन्– यतिका वर्ष हामीलाई कसैले रोकेको थिएन तर यस वर्ष किन हामीसँग भेदभाव ? उनीहरूले सारा गाउँलेको निर्णय हो भनेर बताएको जहरीले दु:खेसो पोखिन् ।
मल्लिक परिवारको घर छेउमै सार्वजनिक पोखरी दुलहीझैं सिँगारिएको थियो । ‘झकिझकाउ पोखरीमा नयाँ लुगा लगाएर मेरा बालबच्चा पनि हरेक वर्ष छठमा रमाउँथे तर यो वर्ष अनिष्ट भयो,’ जहरीले बताइन् । पीडित सोभी मल्लिकले भने, ‘छठ गर्ने प्रत्येक घरमा हामी डोम परिवारले बुनेका बाँसका कोनिया, नाङ्लो पुगेको छ । ती दुई बाँसका चीज नभई छठ हुँदैन । नैवेद्य चढाउने ती बाँसका सामान मेरै हातले बुनेको हो तर हाम्रो परिवारलाई घाटमा अछूत भनेर जान दिएनन् ।’ छठको घाट वर्जित गरेर छुवाछूत गरेको र मानव अधिकारको उल्लंघन भएको भन्दै छुवाछूतविरुद्धका सामाजिक अभियन्ता रामचन्द्र मल्लिकले राष्ट्रिय मानव अधिकार आयोगमा उजुरी गरे । निवेदनमा उनले घटनाको छानबिन गरी दोषीमाथि कारबाही गर्न माग पनि गरेका थिए ।
छुवाछूतविरुद्धका सामाजिक अभियन्ता रामचन्द्र मल्लिक भन्छन्, ‘गत वर्ष नायक राजेश हमाल आएर धनगढीमाई नगरपालिका ११ नयनपुरमा डोम परिवारलाई इनारबाट पानी खुवाउन खोजे । त्यो घटनाले आन्दोलनको रूप लियो । त्यसैको रिसइबीले छिमेकी गाउँमा डोम परिवारलाई छठको घाट वर्जित गरियो । इनार छुन माग्दा पोखरी पनि गुम्यो ।’ उनले आक्रोश पोख्दै भने, ‘हिन्दु समाजमा छुवाछूत कहिल्यै हटदैन । घट्नुको साटो बढदै गएको छ ।’
मल्लिकको निवेदन परेपछि आयोगको क्षेत्रीय कार्यालय जनकपुरका प्रमुख सुवर्ण कर्माचार्यको नेतृत्वमा एक टोली छानबिनका लागि घटनास्थल पुगेको थियो । टोली रामचन्द्रसँग जानकारी लिएपछि जहरी र लिलियाको घरमा पनि पुगेको थियो । उनीहरू काममा बाहिर गएकाले टोलीसँग भेट हुन सकेन । त्यसको भोलिपल्ट पुन: टोली उनीहरूको घर पुग्यो । उनीहरूले बयान दिनै अस्वीकार गरे । आयोगको टोली आएको खबरले गाउँमा खैलाबैला मच्चियो र रातारात मल्लिक परिवारहरूलाई आयोगको टोलीसमक्ष बयान नदिन दबाब र आग्रहसमेत गरे । गाउँलेहरूले पीडित मल्लिक परिवारद्वयलाई गाउँको इज्जत जोगाउन र आउँदो वर्षदेखि पोखरीमा छठ पर्व मनाउन दिने भन्दै सहमत गराए । पीडित परिवारहरूले गाउँमा नै आफूहरूलाई बस्नुपर्ने भएकाले गाउँलेहरूसँग दुश्मनी लिएर जीवन नचल्ने र सम्पूर्ण गाउँलेले नै आफूहरूसँग माफी मागेकाले आयोगको टोलीलाई बयान नदिएको सुनाए ।
अभियन्ता रामचन्द्रले आफूहरूलाई सम्मानसाथ समाजमा बस्ने हालसम्म व्यवस्था नभएको गुनासो पोखे । छुवाछूतसम्बन्धी घटनामा स्थानीय प्रहरी प्रशासनले समेत आफूहरूलाई सहयोग नगरेको र उल्टै पीडकहरूसँग नै मिलेर रक्सी, मासु खाएर अनेक दबाब दिने गरेको गुनासो पोखे । उनले आफूले जिल्लाको राजनीतिमा समेत आफूहरूको स्थान होस् भनेर विभिन्न पार्टीमा लागे पनि कुनै पनि पार्टीले आफूहरूलाई स्वीकार नगरेको सुनाए । ‘वामपन्थी र लोकतान्त्रिक दुवै पार्टीमा उपल्लो जातिका व्यक्तिकै बाहुल्य रहेकाले स्थान पाइनँ,’ उनले भने, ‘राजनीतिक पार्टीहरूमा आफूलाई न आसन दिएको न त भाषण नै गर्न दिएको कान्तिपुरमा खबर छ ।’
‘समाजमा कथित दलितबीच समेत छुवाछूत कायम छ,’ उनले भने, ‘छुवाछूतलगायतका घटना प्रकाशमा आएपछि गैरसरकारी संस्थाहरूको ओइरो नै लाग्छ तर आफूहरूभन्दा संस्थाहरूवाला नै मोटाउने गरेको अवस्था छ ।’ आफूहरूलाई दिनुपर्ने सेवा सुविधा संस्था सञ्चालकहरूले नै खाइदिने गरेको उनले गुनासो पोखे ।
No comments:
Post a Comment