त्रिभुवनचन्द्र वाग्लेको ‘अकीर्ण आँखा’ कविता सङ्ग्रह विमोचित

विभेद बिरुद्ध अभियान - काठमाडौँ, २० कात्तिक । पत्रकार तथा साहित्यकार त्रिभुवनचन्द्र वाग्लेद्वारा लिखित ‘अकीर्ण आँखा’ कविता सङ्ग्रहको आज यहाँ विमोचन गरिएको छ ।
विकास मञ्च नेपालद्वारा यहाँ आयोजित कार्यक्रममा नेपाल प्रज्ञा–प्रतिष्ठानका उपकुलपति डा विष्णुविभु घिमिरेले सङ्ग्रहको विमोचन गर्नुभयो । 
उपकुलपति घिमिरेले कवि वाग्लेले लेखेका कविता सन्देशमूलक, सान्दर्भिक, कलात्मक र सरल भाषामा प्रस्तुत गरिएको छ भन्दै वाग्लेको कवितामा प्रशस्त सम्भावना छ भन्नुभयो । 
गीतकार तथा समालोचक डा कृष्णहरि बरालले सङ्ग्रहमा आलोचनात्मक यर्थाथवादी कविता समावेश भएको र ती कवितालाई कविले न्याय गरेको धारणा राख्नुभयो । साहित्यकार अशेष मल्लले आख्यान सहितकोे कविताको संरचनाले पाठकको ध्यान केन्द्रित गर्ने बताउनुभयो । साहित्यकार तथा पत्रकार हरि अधिकारीले सङ्ग्रहले समसामयिक विषयवस्तु र नेपाली समाजलाई चित्रण गरेको छ भन्नुभयो । 
राष्ट्रिय समाचार समिति (रासस) का अध्यक्ष कुलचन्द्र वाग्लेले कविता रचना गर्ने आफ्नो पुर्खाको प्रवृत्तिलाई कवि त्रिभुवनचन्द्रले निरन्तरता दिएकामा सन्तोष व्यक्त गर्नुभयो । 
कार्यक्रममा पूर्वराजदूत डा मोहन लोहनी, प्रा डा कुमार कोइराला, गोरखापत्र संस्थानका प्रबन्ध सम्पादक श्रीओम श्रेष्ठ र मञ्चका अध्यक्ष शारदा पौडेलले साहित्य क्षेत्रमा निरन्तरताका लागि कवि वाग्लेलाई आग्रह गर्नुभयो । मञ्चले प्रकाशन गरेको सङ्ग्रहमा राष्ट्रियता, अन्तर्राष्ट्रिय समसामयिक विषय, प्रकृति, संस्कृति, दलित लगायत विषय समेटिएका गद्य र पद्य गरी ६१ कविता समाविष्ट छन् । कवि वाग्ले गोरखापत्र दैनिकसँग सम्बद्ध हुनुहुन्छ । 

No comments:

Post a Comment