नेपालमा दलित जातको उत्पतिको बारेमा - गोविन्द नेपाली

विभेद बिरुद्ध अभियान -कात्तिक २६ गते- राज्य सञ्चालन, जाति, भाषा विकास, उपभोग आदिको सिलसिला हेर्ने हो भने दलित जातिहरूको लामै इतिहास रहेको पाइन्छ नेपालमा । ‘राजा हुन चाहियो, जे खोज्य त्यही पाइयो’ भन्ने उखानको अर्थसहित नेपालमा दलित जातको उत्पतिको बारेमा खोज्ने प्रयास गरेको छु ।

राज्य सञ्चालन कसरी गर्ने भन्ने बारेमा भाइभारदारहरू बीचमा राज परिवारमा छलफल भयो । त्यसपछि राजा जयस्थिति मल्लले विचार गरे, अब सिपको पहिचान गरी कामको विभाजन गर्नुपर्छ अनि मात्र यो राज्य राम्ररी सञ्चालन गर्न सकिन्छ । यही निष्कर्षअनुसार उनले दरबारमा बैठक आहृवान गरे । राजा जयस्थिति मल्लले सन १३६० देखि १३९५ सम्म राज्य चलाएका थिए । यो झन्डै सातसय वर्ष पुरानो कुरा हो ।

त्यसै क्रममा राजा जयस्थिति मल्ल राजगद्दीमा सवार हुने बेलामा उनका लागि जुत्ता आवश्यक प¥यो । त्यो कसले बनाउन सक्छ भन्ने कुराको पनि वहस सुरु भयो । एक जनाले भनेछ– महाराज! त्यो काम म गर्न सक्छु । राजा खुशी भएर ‘ल ¤ बनाएर ल्याऊ’ भन्ने हुकुम गरे । त्यो व्यक्ति खुशी भएर केही दिन निकै मिहिनेत गरेर जुत्ता बनाएर ल्यायो । उसले राजालाई भन्यो– महाराज ! मैले हजुरको आदेशअनुसार यो जुत्ता बनाएर ल्याएँ । अनि राजाले हेरर जुत्ता लगाए । जुत्ता साहै्र ठिक भयो, राम्रो थियो । जुत्ता बनाउनेले स्याब्बासी पनि पायो ।

एकदिन दुर्भाग्य के भयो भने, राजा राजगद्दीमा आसीन भएका बेला त्यहाँ नजिकै जुत्ता राख्ने ठाउँ थियो । दरबारमा पालेको एउटा कुकुरले त्यो जुत्ता च्यातिदिएछ । जुत्ता छालाको थियो, कुकुरले छाला मन पराउने नै भयो । त्यो कुरा दरबारका भारदारहरूले राजालाई सुनाए । त्यसपछि राजाले जुत्ता बनाउनेलाई बोलाएर गाली गरे– तैँले बनाएको जुत्ता त कुकुरले पनि मन नपराउने रहेछ । राजा रिसाए । त्यसपछि राजाले उनलाई कहिले पनि दरबारमा बोलाएनन् ।
एकदिन राजा एउटा समारोहमा गएका बेला जुत्ता बनाउने त्यही व्यक्तिलाई देखे अनि नजिक आउन नदिनू र टाढा राख्नू भन्ने आदेश दिए । बिस्तारै जुत्ता बनाउने मानिसहरू नै एउटा जात भए । तिनै मानिसका परिवार पछि गएर सार्की जातले चिनिए र समाजमा हेपिए ।

त्यही क्रममा मल्लकालमा नै राजा प्रताप मल्लले थोरै परिवर्तन गर्न चाहेका थिए । त्यस बेला पनि के भएछ भने, उनी राजाका रूपमा राजगद्दीमा रहेको समयमा दरबारमा हेरक आइतबार पूजा लाग्ने चलन थियो । बिहानको समयमा बोकाको वली चढाउन खुकुरी आवश्यक प¥यो । त्यो कहाँबाट ल्याउने हो भन्ने कुराको छलफल भयो । त्यसै बेलामा फलामको कामको ज्ञान भएका व्यक्तिहरू खोजी गरेर भेला गराइयो । राजाबाट हुकुुम भयो– कसले खुकुरी बनाउन सक्छौ ? एकजानले ‘म बनाउन सक्छु’ भनेछ । त्यसपछि उसले केही दिनमा खुकुरी बनाएर ल्यायो र राजालाई बुझायो । राजाले स्याब्बासी दिए ।

अर्को एउटा घटना भयो । त्यही वेला रानी पनि त्यहाँ आइपुग्दा खुकुरीतिर देखाउँदै ‘यो कसले बनाए र ल्याएको हो’ भनेर सोधिन् । बनाउने व्यक्तिले ‘मैले बनाएर ल्याएको हुँ’ भनेर जाहेर ग¥यो । अनि रानीले पड्केर भनिछन्– तिमीले कसैको ज्यान लिने हतियार बनाएर ल्यायौ, त्यसैले अब यो हतियार राजाबाट पूजा भएपछि तिमीले छुनु हुँदैन । अनि त्यो व्यक्तिले पनि आफूले बनाएको सामान राजा महाराजाहरूबाट पूजा भएपछि छुन नपाउने भयो ।
त्यसपछि लुहा (फलाम) बाट खुकुरी÷तरबार बनेको हुनाले बनाउने मान्छेलाई लुहार भनियो र पछि जात भयो । राजाले रानीको आज्ञअनुसार लुहारलाई नजिक नल्याउनू भनेपछि लुहार पनि हेपियो । पछि दलित भयो ।
विभिन्न प्रमाणहरूबाट यी कुरा सिद्ध भएका छन् । यस्तै कारण श्रमिकहरू दलित भए । आफ्नै श्रम उनीहरूका लागि अभिशाप बन्यो ।

कामको आधारमा जातको विभाजन गरी ठालूहरूले मोजमस्ती गरेको कुरा विभिन्न प्रमाणहरूमा पाइन्छ । पहिला पहिला त जात के हो भन्ने बारेमा पनि थाहा थिएन । पछि सिप÷कामकै आधारमा जात विभाजन भयो । नाच्नेलाई मनोरन्जन गराउने काम दिइयो । जुत्ता सिलाउनेलाई छालाका सामान बनाउने काम दिइयो, सुन बनाउनेलाई गहना बनाउने काम दिइयो, फलामको काम गर्नेलाई फलाम सामान र हतियार बनाउने काम दिइयो । पछि त्यति बेलाका राजाहरूले छालाको काम गर्नेेलाई सार्की, सुन बनाउनेलाई सुनार, फलाम बनाउनेलाई लुहार, नाचगान गर्नेलाई गाइने÷वादी भनेर जात बाँडिदिए । यसैको विकसित रूप नै पछि गएर जातका रूपमा विस्तार भयो । अनि तिनै श्रमिकहरूलाई तल्लो जात भनेर हेपियो । यसो हुनु राजा रजौटाहरूको सुख र भोगको निम्ति नै थियो ।

आज एकाईसौँ शताब्दीका दलितहरूले पनि त्यही अवस्था भग्दै आएको छन् । मानवहरूमा यसरी विभेद भएको पाइन्छ । आधुनिक राज्यको विकाससँगै छुवाछूतविरुद्ध विभिन्न निर्णयहरू भए । छूवाछूत अन्त्य भएको र छुवाछूत गर्नेमाथि कारबाही हुने घोषणा भयो, संविधानमा लेखियो, कानुन बन्यो तर अवस्थामा परिर्वतन आएन । नेपालमा अझैपनि अछूतमा परेका दलितहरू कुल जनासङ्ख्याको २० प्रतिशत छन् ।

उनीहरूमा भएको सिप÷कला, संस्कृतिलाई मात्र जोगेना गर्न सकेको खण्डमा उनीहरू आफैँमा समृद्ध हुन सक्छन् । नेपालमा दलितहरू, उनीहरूमा भएको विभेद लगायतमा अनेक अनुसन्धानहरू भएका छन् । राजा पृथ्वीनारायाण शाहले पनि भुरे–टाकुर राजाहरूसँग लडाइँ गर्दा दलितहरूलाई प्रयोग गरे तर उनीहरूमाथिको विभेद हटाउन कुनै प्रयास गरेनन् । भारतमा महात्मा गान्धीले यस्तो विभेद विरुद्ध अभियान चलाएका थिए । सिङ्गो नेपाल निर्माणमा नेपाली दलितहरूको योगदान छ । मनिराम गाइने, वागे सार्की, विर्खे नकर्मी, दिलबहादुर रम्तेल लगायतले दलितमुक्ति आन्दोलनका लागि आफूलाई समर्पण गरे तर त्यसबाट पनि ठालूहरूले नै फाइदा उठाए । दलित जहाँको त्यहीँ रहे ।

आज एकाईसौँ शताब्दीमा आइपुग्दा पनि मानिस दलितका रूपमा बाँच्नु परेको छ । दलितहरूको श्रम, सिप र योगदान ओझेलमा परेको छ । उनीहरू अछूत भनेर हेपिनु परेको छ ।
(लेखक ‘दलितको सामाजिक, साँस्कृतिक, सम्पति र नेपालको दिगो विकास’ विषयमा विद्यावरिधिका लागि शोधार्थी हुन् ।)

No comments:

Post a Comment