गैरदलितकी छोरी विहे गरेकै कारण सुर्खेतमा एक दलित परिवारमाथि आक्रमण

विभेद बिरुद्ध अभियान -सुर्खेत ,२६ भदौ। बराहताल गाँउपालिका-८ का २५ वर्षीय बलबहादुर बिक, ५७ वर्षीय बावु भक्तबहादुर बिक र ४८ वर्षीया आमा अमृता बिकलाई अन्तरजातीय विवाह गरेको आरोपमा भदौ २५ गते राती दैलेख जिल्ला डुङ्गेश्वर नपा छदौंका ३२ वर्षीय आनन्द शाहीलगायतका चार जनाको समूहमा आएका व्यक्तिले कुटपिट गरेको पीडित पक्षले आरोप लगाएको छ ।
बलबहादुरले शाहीकी २७ वर्षीया बहिनी रम्मा शाहीसँग असार २४ गते अन्तरजातीय विवाह गरेपछि माइतीको डरत्रासका कारण लुकीछिपी बस्दै आएका थिए । उनीहरू भदौ २४ गते घरमा आएको थाहा पाएपछि रम्मालाई सोही दिन माइती पक्षले खोसेर लगेको पीडित पक्षको आरोप छ ।
पीडित परिवारले भदौ २७ गते जिल्ला प्रहरी कार्यालयमा न्यायको माग गर्दै उजुरी दिएको छ । छिमेकी ताराकेशर गौतमका अनुसार सो समूहले बिकका बुवा र आमालाई डोरीले हात बाँधेर कुटपिटपछि घरको माथिल्लो तलाबाट खसाल्नुको साथै सोलार, घरमा रहेका अन्नपात र भाँडाकुडा तोडफोड गरी नष्ट गरिदिएका थिए । बलबहादुरलाई सो समूहले कुटपिट गरेपनि उनी भागेर ज्यान बचाउन सफल भएका थिए ।
कुटपिटबाट घाइते भएका भक्तबहादुर र अमृतालाई भदौ २६ गते नै उपचारका लागि क्षेत्रीय अस्पताल वीरेन्द्रनगरमा लगिएकोमा उपचार भइरहेको बलबहादुरकी दिदी कृष्णा सुनारले बताइन् । सो समूहले घरमा राखेको नगद २६ हजार रुपियाँ लुटेर लगेको उनले आरोप लगाएकी छन् । ज्यान बचाएर भाग्न सफल भएका पीडित बलबहादुर भदौ २७ गते बिहान मात्रै परिवारको सम्पर्कमा आएका छन् ।
यस घटनाको बारेमा जानकारी पाएपछि आरोपितको खोजी गर्न प्रहरी परिचालन गरिसकिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका एसपी मोहन आचार्यले बताए ।
यस्तै रम्माकी दिदी बिष्णुकुमारी शाहीले बहिनीलाई खोसेर ल्याएको तर उनीहरूलाई कुटपिट गरेको बारेमा जानकारी नभएको बताइन् । बलबहादुरले आफू थापाको छोरा भनी झुक्कयाएर बहिनीलाई फसाएको रिसको झोकमा खोसेर ल्याएको उनको भनाई छ ।

No comments:

Post a Comment