विभेद बिरुद्ध अभियान

दलित सवालहरूलाई आमसमुदायसम्म पुर्‍याउने प्रयास

LightBlog

Tuesday, September 19, 2017

कतारको सडक दुर्घटनामा परेका गिरीबहादुर विक ७ वर्षदेखि कोमामा

असोज ३- २०७४-कृष्णाकुमारी विकलाई रातमात्रै परिदिओस् जस्तो लाग्छ । रात परेपछि अर्थोप्लास्ट रिहाब सेन्टरको बिलको चिन्ता लिनु पर्दैन । ९३ हजार रुपैयाँको बिललाई सम्हालेर राखेकी छन् । यो सेन्टरको पछिल्लो बिल श्रीमान् गिरीबहादुर विकलाई उपचार गरेबापतको हो । जसको भुक्तानी गर्न उनले सकेकी छैनन् । 
गिरी ७ वर्षदेखि कोमामा छन् । उनी सन् २०११ डिसेम्बर २ तारिख कतारको सडक दुर्घटनामा परेका थिए । हमाद अस्पतालले गिरीलाई त बचायो तर पहिलेजस्तो अवस्थामा ल्याउन सकेन । गिरीलाई गत भदौ १० मा काठमाडौं ल्याइएको थियो ।
सास रहेसम्म आस रहन्छ भन्छन् । ३४ वर्षीया कृष्णाकुमारीलाई आशा लाग्यो । गाउँ लैजाने आँट आएन । थप उपचारका लागि काठमाडौंको अस्पतालमा राखिन् । गिरीलाई ल्याएका चिकित्सको टोलीले बयोधा अस्पतालको जिम्मा लगाएर फर्के । बयोधामा ४२ दिन राखे । उनले खर्च धान्न सकिनन् । ४२ दिन राख्दा झन्डै ६ लाख सकियो । सामान्य फिजियोथेरापी गर्नका लागि गिरीलाई ग्वार्कोस्थित अर्थोप्लास्ट अस्पतालमा ल्याएर राखियो ।
अर्थोप्लास्टमा फिजियोथेरापी हुन्छ । यसमा राखेबापत बेडको एक हजार तिर्नुपर्दथ्यो । ‘धेरै लामो समय राखेपछि मेरो अनुरोधमा बेडको शुल्क आधा भयो । तर औषधि र घाउको ड्रेसिङ गर्दा दिनमा हजार रुपैयाँ त नाघिहाल्छ,’ उनले भनिन्, ‘मैले आफ्नो क्षमताले सकेसम्म गरें । उताबाट क्षतिपूर्ति आएको थियो । त्यसबाटै उपचार भयो । त्यो रकम उपचारमै सकियो । अब थप उपचार खर्च धान्न मुस्किल पर्ने भयो ।’ 
***
गिरीले हमाद अस्पतालबाट गुणस्तरीय स्वास्थ्य सेवा पाएका थिए । उनलाई हेरविचार गर्ने छुट्टै नर्स थिइन् । नर्सले हरेक दिनको रिपोर्ट तयार परेर डाक्टरलाई बुझाएकी हुन्थिन् । गुणस्तर खाना खुवाइन्थ्यो । एउटा विशेष कोठामा राखिएको थियो । यी विषयमा कृष्णाकुमारी जानकार थिइन् । अस्पतालमा भेट्न गइरहने आफन्त, गाउँले दाजुभाइले हप्तापिच्छे नै गिरीको खबर दिइरहेका हुन्थे । उनीहरूको सल्लाह हुन्थ्यो, ‘नेपाल लगे यहाँको जस्तो उपचार पाइँदैन । तिमीले अस्पतालको खर्च धान्न सक्दिनौं । यतै राम्रो छ । ल्याउने कुरा नगर ।’ 
उनलाई श्रीमान् भेट्ने इच्छा थियो । बारीमा उब्जेको अन्नपातले ६ महिना पुग्थ्यो । नेपालमा ल्याएर उपचार गर्न सकिने अवस्था नभएपछि उनले पनि जोड गरिनन् । हमाद अस्पतालले बिरामीको जिम्मा लिन नेपाल सरकारलाई अनुरोध गर्‍यो । सरकार आफैंले बिरामीको जिम्मा लिएन । सरकारले विदेशमा कोमामा परेका बिरामीलाई ल्याएर उपचार गर्ने व्यवस्था पनि मिलाएको थिएन । सरकारले पनि जिम्मेवारी लिन पन्छिएपछि हमाद अस्पतालले दिनहुँ कृष्णालाई फोन गर्‍यो । कतारस्थित नेपाली दूतावासले आफूले मात्रै फोन गरेन कि बागलुङ सेवा समाजका अगुवाहरूलाई पनि सम्झाउन दबाब बढायो । ‘हमाद अस्पतालले बिरामीलाई नबुझ्ने हो भने क्षतिपूर्तिबाट आएको रकम महिनाको तीन लाख काटदै जाने बताउन थाल्यो । दूतावासका सर/म्याडमले पनि गिरीलाई बुझ्नुबाहेक अर्को विकल्प नभएको बताउन थाले,’ कृष्णाले भनिन्, ‘केही विकल्प नभएपछि नेपालमा ल्याएर उपचार गर्न राजी भएँ ।’ 
कृष्णाले कैयौं पटक दूतावासलाई भनेकी थिइन्, ‘कतारले त्यत्रो वर्ष उपचारको जिम्मा लियो । नेपालमा ल्याएपछि हाम्रो सरकारले उपचारको व्यवस्था मिलाइदिनुपर्छ । तर दूतावासले त्यसको व्यवस्था नमिलाई बिरामी पठाइदिए ।’ 
दूतावास र हमाद अस्पतालले जबर्जस्ती जिम्मा लगाउँदा गिरी परिवारको हाल के भयो ? अर्थोप्लास्ट अस्पतालमा गएर हेर्दा कसैको मन थामिँदैन ।
***
गिरीका बाबु डलबहादुर ६३ वर्षका भए । उनका तीन छोरा र दुई छोरी छन् । एउटा छोरी सुस्तमनस्थितिकी छिन् । ३५ वर्षको उमेरमा श्रीमतीको मृत्यु भए पनि उनले दोस्रो विवाह गरेनन् । बच्चाहरूलाई हुर्काएर बसे । गिरी उनका कान्छा छोरा हुन् । गिरीको अवस्था देखेपछि डलबहादुरको मनमा चैन छैन । धेरै तनाव भएपछि उनी पनि गएको फागुनमा प्यारालाइसिस भए । ‘ससुरा र छोरालाई एकै ठाउँमा राखेर उपचार भइरहेको छ,’ कृष्णाले भनिन्, ‘दुवै जना अलग–अलग कोठामा छन् । ससुराको अवस्था सुधारोन्मुख रहेको कान्तिपुरमा क्झाबर छ ।’ 
डलबहादुरलाई एक्लै कोठामा बस्न गाह्रो हुन्छ । छोराको अनुहार हेर्न लठ्ठी टेक्दै घरीघरी कोठा पुग्छन् । ‘बरु म पहिले मरेको भए मेरो मन त शान्त हुन्थ्यो,’ भन्छन्, ‘म निकै अभागी बाबु रहेछु ।’ 
कतारबाट ल्याउँदा गिरीको टाउकोमा चोट लागेको दागमात्रै थियो । मोटोघाटो थिए । अरू घाउखटिरा केही थिएन । अहिले पछाडि घाउ भएको छ । घाउ बढेर भित्री हड्डीलाई छोएको छ । घाउले विस्तारै गलाउँदै लगेको छ । यसले कृष्णालाई झन् आघात बनाएको छ । 
उनलाई अरूले गाउँमै लैजान सुझाव दिन्छन् । अरूले ‘सबै पैसा सकाइस्’ भन्दै गाली पनि गर्छन् । हरिचौरको डाँडामा घर छ । डाँडामा पुग्न हरिचौर बजारबाट दुई घण्टा लाग्छ । वरिपरि औषधि पसल छैन । अक्सिजन पुर्‍याउन नै गाह्रो छ । केही भइहाले अस्पताल ल्याउने एम्बुलेन्स छैन । सेन्टरले पनि बिरामी लिएर जान भनेको भन्यै छ । ‘साथमा भएको पैसाजति सकिइसक्यो । कि पहिला नै राख्नुहँुदैन्थ्यो भने । केही भए तपाईंहरूलाई दोष दिन्न । सबै जिम्मेवारी म लिन्छु भनेर कागजमा सहीछाप गरेकाले बस्न दिइरहेको छ,’ उनले भनिन् ।
***
छोरी पेटमा चार महिनाको हुँदा गिरी कतार गएका थिए । त्यतिखेर छोरो ९ वर्षको थियो । छोरोलाई बाबुको सम्झना छ । छोरीले बुझ्ने भएपछि आफ्नो बाबुको विषयमा सोधिरहेकी हुन्थिन् । कृष्णासँग देखाउने फोटो थिएन । कोमामा रहेका फोटो पत्रिकामा छापिएको थियो । त्यो पत्रिका लुकाएर राखेकी थिइन् । घरमा रुवाबासी भएका बेला छिमेकीले छोरीलाई फोटो देखाइदिँदा झस्किएकी थिइन् । ‘फोटो देखेपछि छोरी निकै दिन बिरामी भइन् । कतारबाट ल्याउँदा पनि मैले देखाएकी थिइनँ । दिदीबहिनीले लगेर भेटाइदिएछन् । अवस्था देखेर उनी तर्सिइन्,’ उनले भनिन् । 
ससुरा बिरामी भएर काठमाडौं ल्याएपछि गाउँमा छोरी एक्लै भइन् । गत वैशाखबाट अस्पतालमै बस्न थालिन् । ‘सुरुसुरुमा ढोकाबाट हेर्थिन् । बुबा भनेर माया पनि लाग्ने । तर नजिक गएर हेर्न डराउँथी,’ उनले भनिन्, ‘पछि सुम्साउने, हँसाइदिने गर्न थालिन् ।’ 
छोरा र छोरी अस्पतालबाटै स्कुल जाने गर्छन् । छोरो १० र छोरी ५ कक्षामा पढ्छिन् । बाबुको कारणले दुवैको पढाइमा बाधा पुगेको छ । उनीहरूलाई गहिरो चोट परेको छ । ‘स्कुलका सरहरूले छोराको पढाइ खराब हुँदै गएको बताउन थालेपछि होस्टेल पठाइदिएको दुई साता भयो । छोरा ममी अस्पतालमै जिन्दगी बित्ने भयो भन्छ । स्कुलमा किताब हेर्‍यो कि बाबाको मात्रै अनुहार देख्छु भन्छ । मनमा पढाइ राख्दैन । छोरी पनि त्यही भन्छे । स्कुलमा गएपछि के हुन्छ हुन्छ भन्छन् । बाबुको सम्झना आउँछ । पढाइ त बिग्रेको छ । उनीहरू बाध्यताले मात्रै स्कुल गएका छन् । शान्त दिमागले बसेका छैनन् ।’ 
गत शनिबार छोरो आफ्नो साथीलाई लिएर बुबालाई भेट्न आएको थियो । उसको साथीले भन्यो– ‘लक्ष्मण पढदैन । एकदमै रोएरमात्रै बस्छ ।’ 
उसले भन्न थालेको छ, ‘एसएलसी पास भएपछि बुबा जुन ठाउँमा यस्तो भएको थियो । म पनि त्यहीं गएर दु:ख गर्छु ।’ कृष्णाकुमारीले भने छोरालाई ‘बहिनी र मलाई हेर्ने तिमी हो भनेर सम्झाइरहेकी’ छिन् । 
***
गिरीलाई जाउलो, दूध र जुस पाइपबाट तालिकाअनुसार खुवाइरहन्छिन् । अलिकति बढी भयो भने गिरीलाई पखाला लाग्छ । एक वर्षदेखि सँगै बसेर स्याहारसुसार गर्दा पनि चिनेको नचिनेको ठम्याउन गाह्रो परिरहेको छ । ‘म सुम्सुम्याइराख्छु । यता हेर्नु न भन्छु । कुनै प्रतिक्रिया छैन । कोठा वरिपरि आँखा घुमाइराख्नुहुन्छ । मलाई नै हेरेको भन्ने छैन । अहिलेसम्म दुवै जनाको आँखा जुधेको छैन,’ उनी भन्छिन्, ‘कुरा गरेको सुन्नुहुन्छ । हामी यता बसेर वास्तै नगरी हँसाउने कुरा गर्दा आफंै हाँस्नुहुन्छ । कहिलेकाहीं नेपाली फिल्मको फाइट सिनमा हानेको, पिटेको देख्दा हाँस्नुहुन्छ । अहिले त त्यो पनि बन्द छ ।’ 
गिरीसँग विवाह भएको १८ वर्ष पुग्दैछ । भागी विवाह भएको थियो । कृष्णाकुमारीले गिरीसँग दुर्घटना हुनु केही घण्टाअघि अन्तिम पटक बोलेकी थिइन् । त्यो शुक्रबार उनी भुल्न सक्तिनँ । गिरीले छोरीलाई कपडा र ब्लाङ्केट एकजना साथीमार्फत पठाइदिन विमानस्थल जान लगेको भन्दै फोन गरेका थिए । ‘हरेक दिन फोन हुन्थ्यो । त्यो दिन तीन–चार पटक लामै कुराकानी भयो । छोरीसँग पनि कुरा भयो,’ उनले आँसुको ढिक्का खसालिन्, ‘त्यो नै सायद अन्तिम बोली हुन गयो ।’ 
यहाँ ल्याएपछि सबैले तनाव झेलिरहेका छन् । ‘सबै डमाडोल भयो । उता आँखाले देख्नुपरेको थिएन । एकछिन तनाव हुन्थ्यो । छोराछोरीले सोध्दा ठीक भएर आउनुहुन्छ भन्थ्यो,’ उनले भनिन्, ‘यता आएपछि केही सुुधार हुन्छ कि भनेर मैले कुनै कसरत बाँकी राखेको छैन ।’ 
यस्तो बिरामीलाई सरकारले विशेष रूपमा हेर्नुपर्ने जस्तो उनलाई लाग्छ । तर, उनले कुनै सरकारी सुविधा पाएको छैन । आफ्नो मान्छेको माया आफंैलाई लाग्छ । ‘कमाइ हुनेसम्म मात्रै उसलाई आफ्नो ठान्ने, जब ऊ थला च्याप्यो भने वास्ता नगर्नु महापाप हो । को चाहिँ अजम्बरी भएर आएको छ र ? एक दिन मर्नु न छँदै छ तर किन पाप गर्नु ? मैले के कसरी हुन्छ बाँचुन्जेल सजिलो पारेर राख्छु । पैसाको माया नगरेर भए पनि मेरो चाहना उहाँको मरण सजिलो बनाइदिउँ भन्ने हो ।’ 
तर, उपचार जारी गर्न रकम कसरी पो जोहो गर्ने हो ? कृष्णाकुमारीलाई सबैभन्दा चिन्ता यसकै छ ।