ज्योतिषी विष्णु बस्याल कथित दलितहरुको घरमा गएर पूजा गराउने अभियान चलाए

विभेद बिरुद्ध अभियान - असोज ८ -नेपाली समाजमा जातपातको आधारमा मानिसहरुबीच भेदभाव कायमै छ । यो भेदभाव विरुद्ध कानून बनेतापनि कथित दलितहरुलाई मन्दिरमा प्रवेश गर्ने अनुमति कथित उचो जातले दिदैनन् । ब्राह्मण तथा पुरेतहरु उनीहरुको घरमा पूजा गराउन जानु त परै जाओस् , उनीहरुसंग छोइदैनन् । समाजको यो तुच्छ व्यवहारको विरुद्धमा उत्रिनुभएको छ एक ब्राह्मण, ‘ज्योतिषी विष्णु बस्याल’ ।

पाल्पाका ज्योतिषी बस्याल हाल कथित दलितहरुको घरमा गएर पूजा गराउने अभियानमा लाग्नुभएको छ । उहाँ भन्नुहुन्छ, ” दलितहरुले धर्म परिवर्तन गर्नुको मूल कारण हामी पण्डित बर्गले गर्ने भेदभावले हो। हामीले धर्म जागरणका ठूला ठूला कुरा गर्छौँ । 

एउटा दलितले हिन्दु धर्म सँस्कारसँग सम्बन्धित कुनै पूजा गराउन खोज्छ तर हामी उसको घरमा गएर पूजा गराउँदा जातै जान्छ कि झैँ गर्छौँ। जात कर्मले निर्धारण गर्ने हो। मैले सुरु गरेको यो अभियानमा सम्पूर्ण पण्डित वर्गले साथ दिनुहुनेछ आशा गर्छु। यस कार्यमा कसैको आपत्ति छ भने म सँग तर्कका साथ आउनुहोला।”


यस अभियानलाई अझ वृहत बनाउन उहाँले सबै जातका मानिसहरुलाई एकै ठाउँमा राखेर सामूहिक पूजा समेत गराउनुभएको छ । सफल स्टोरिजसंगको कुराकानीमा उहाँले भन्नुभयो , ” धेरै अगाडि सरकारले छुवाछुत अन्त्यको कानुन बनाएता पनि व्यवहारमा लागू भएको छैन। अझ दलितकै घरमा पण्डित गएर पुजा गराउनु मैले सामान्य माने पनि अपत्यारिलो जस्तो रहेछ। सबैभन्दा बढी भेदभाव पण्डितहरुबाट भएको छ भन्ने गुनासो छ 

। पण्डितहरु नै अघि सर्दा भेदभावको अन्त्य छिटो हुन्छ भन्ने मलाई लागेको छ। मुल उद्देश्य पुजा गराउनु मात्र होइन।भेदभावको अन्त्य र धर्म रक्षाको लागि पुजा एउटा माध्यम हो। धार्मिक पथ हो। ”उहाँको यो काममा ब्राह्मण वर्गबाट र अरु जातीबाट पनि आलोचना र व्यंग्य आउने गर्छन् । तर उहाँ कुनै त्यस्ता प्रतिक्रियाबाट विचलित नभइ आफ्नो कामलाई अझ प्रभावकारी र व्यापक बनाउने योजनाका साथ अगाडी बढिरहनुभएको छ ।

No comments:

Post a Comment