विभेद बिरुद्ध अभियान - असोज ३- अन्धकारको नाश गरी जीवनमा उज्यालो फैलाउने व्यक्तित्वलाई नै गुरु भनिन्छ | जसलाई हामी श्रदाभावले उतिकै सम्मान गर्छौ | गुरुलाई हिन्दु शास्त्रले ब्रह्म, बिष्णु र महेश्वोर मानेको छ | गुरुलाई माता पिता जस्तै समान मानिन्छ | तिनै गुरुले दिएको संदेश मुलक ज्ञान र अर्ति उपदेश हाम्रा लागी प्रेरक बनेका हुन्छन |
दलित भनेर थाहा पाएपछी नेपाली समाजले कति सम्म तल झरेर कति सम्म निच ब्यबहार र आचरण गर्छ भने कुरा हामीले दिनहुँ नेपाली समाजमा देख्दै, भोग्दै र सुन्दै आएका छौ | म पनि त्यसैको शिकार भए |
म एउटा साधारण परिवारमा जन्मेको व्यक्ति, पढाईमा खासै कम्जोर भने थिइन | हरेक परीक्षामा राम्रो अंक ल्याएर पास गर्थे तर दलित विद्यार्थी भएकाले शिक्षकबाटै अपहेलित हुँदाको पिडा सहि नसक्नु छ | शिक्षकबाटै विभेद गरीएको पिडाले मेरो बाल मस्तिस्कमा घरिघरि पिरोलिरहन्थ्यो | कथित दलित भएकै कारण शिक्षकबाट न्युन स्तरको ब्यबहार गरिदा सम्म यो बिभेद हो, अन्याय हो भन्ने हिम्मत समेत गर्न सकिन ।
दोलखा जिल्लाको पवटी गाउँपालिका १ मा रहेको श्री सत्यश्वोर मा.वी. म पढेको विद्यालय हो | सात कक्षाको अन्तिम परिक्षाफल आउन केहि दिन बाकी थियो मेरो मनमा डर थियो न कतै फेल पो हुन्छु कि ! हाम्रो घर र यी पात्र (पढाउने शिक्षक)को घर नजिकै थियो उनि अलि झोक्कि स्वभाबका थिए कसैले पनि ठाडो शिरले हेर्न सक्दैन थे म पनि त्यहि ढ्यांगको परे कसोकसो गरेर मैले ममीको सहयोगमा उनको घरैमा गएर आफ्नो अंक हेर्ने अवसर पाए तर त्यो अवसरमा मैले विभेद सहन पर्यो | उनले पढाउने बिषयको नम्बर हेर्न गएको म, ति शिक्षकले मलाई पशु सरह व्यवहार गरे त्यो आज सम्म मेरो मनमा ताजा छ | समानताका स्वर उराल्ने, साहित्यकार लक्ष्मीप्रसाद देवकोटाको ‘’मानिस ठुलो दिलले हुन्छ जातले हुदैन’’भन्ने पाठ धेरै पटक पढाएका, कोठे बहस, ओठे समर्थन र टूटेफुटेका व्यवहार देखाउने तथाकथित माथिल्लो वर्गका ति शिक्षकले संसार घुमेर आएको कुकुरलाइ उनि बसेको कोठा भित्र पस्न दिए तर मलाई सुकुल दिएर बाहिर बसाले त्यो पनि बार्दली भन्दा १० मिटर पर | उनि मेरो कापी जाँच्दै थिए कतिबेर मेरो पर्खाईको फल पाउछु भनेर म कुरेर बसेको थिए | कापी जाँच्दै गरेका शिक्षक झट्ट बाहिर निस्किए- ए प्रदिप ! भित्र जाडो भो बाहिर बसौ, जवाफ दिएँ- हुन्छ सर !
करिब पौने घण्टा बसियो यतिकैमा उनलाई पानी प्यास लागेछ उनकी दिदिलाई पानी ल्याइदिन भने, दिदीले उनि बसेकै छेउनिर पानी राखीदिईन, हामी बाहिर अलग-अलग गुन्द्रीमा बसेका थियौ मैले त याद गरेको पनि थिइन तर उनले याद गरेका रैछन उनि बसेको गुन्द्रिको सानो भागले म बसेको गुन्द्रिको भागलाई छोएको रहेछ यतिकैमा गिलासमा हालेको पानी पनि पिएनन् र फिर्ता गरीदिए | म कुनै अधर्मी थिइन, न फोहोरी थिए, म पनि उनि जस्तै मान्छे थिए मैले पानी छोएको पनि थिइन बस गुन्द्रीले गुन्द्रीलाई छोएको त थियो केहि समय पछी मन अमिलो पार्दै घर फर्के | शिक्षकको त्यो व्यवहारले मेरो मनमा अनेक कुरा खेल्न थाले मेरो यो जातले मलाई कति पछी पारेको रहेछ भन्ने त्यति बेला थाहा पाए, आज सम्म मेरो पिडा कसैलाई भनिन त्यो दिनको कुरा मेरो मानसपटलमा हरपल घुमिरहन्छ | आजपनि ति शिक्षकको रवाफ उस्तै छन् म पनि उस्तै छु | मनमा आक्रोश भएपनि बाटोघाटोमा भेट्दा शिर निहुराएर सम्मान गर्छु |
मेरो जन्म थलोमा यस्ता बुद्दिभ्रष्टहरुको कमि भने छैन यस्तै अर्का पात्र छन् पेशाले उनि पनि शिक्षक नै हुन्, चोकमा बसेर होटल ब्यबसाय पनि गर्छन क्यारे आफुलाई बडो बुद्दिजिबि ठान्ने तिनको सोच यति संकुचित छ की उनको बोलाईले नै प्रष्ट पार्छ- मेरो घर र उनको होटल नजिकै छ एकदिन सोहि (म पढेको) विद्यालयका पुराना शिक्षकहरु बसेर कुराकानी गर्दै रहेछन म पनि घुम्दै पुगे छलफलकै क्रममा खानाको कुरा निस्कियो र उनले प्याच्च भनिहाले ‘’साना जातले खाना नचिन्ने’’ कुरो आफै खोले ! एक दिन होटलमा खाना खान आएको ग्राहक मध्य एक व्यक्तिले भात काँचो भएछ भने रे ‘भात काँचो’ भन्ने सानो जात थिए रे ! के काँचो भातलाई काँचो भन्न नहुने ? कहाँ सम्मको दरिद्र सोच ति होटल वालाको |
समाज परिवर्तनका पहरेदार मानिने शिक्षित व्यक्तिहरु बाटै यस्ता किसिमका अमानवीय ब्यबहारहरु हुँदा नेपाली समाजले कहिल्यै मुक्तिको सास फेर्न पाएन |
त्यो समाज आज पनि जहाँको त्यहि छ खासै सामाजिक परिवर्तन भएको देखिदैन सो क्षेत्रमा अधिकांश दलित समुदायको बसोबास छ तर त्यो गाउँमा तिनै तथाकथित ठुला जात भनिएका व्यक्तिको हालीमुहाली छ | सरकारी सेवा सुबिधा लगायत अन्य बिकाशका कार्यक्रमहरु उनीहरुकै हातमा पुग्छ | लुछाचुडी गर्छन, विकास र परिवर्तनका क्षेत्रमा कसैको ध्यान जादैन, त्यसैले पनि त्यो समाजले खोजेको जस्तो परिबर्तन अझै हुन सकेको छैन ।
धर्मका ठेकेदार हूँ भनेर धर्म कै उपहास गर्ने असत्ति, घटिया र दरिद्र सोच भएका छन् समाजमा | मान्छेलाई मान्छे देख्न नसक्नेहरु ढुंगाको देवता पुजेर पुण्य कमाउन खोज्छन |
दलित समुदायले चाहेको साँस्कृतिक परिवर्तन हो, मनोवैज्ञानिक परिवर्तन हो | मलाई दलित भन सहन सक्छु तर त्यहि समाजमा बसेर घृणा नगर, अमानवीय व्यवहार नदेखाउ |
दलित समुदायलाई युगौ देखि शुद्द वा अछूतका नाममा छुवाछुत गर्ने, थिचोमिचो गर्ने, हत्या, सामाजिक बहिस्कार गर्ने समाजका केहि जत्थाहरुले गर्दा ठुल्ठुला राजनीतिक परिवर्तन भएपनि नेपाली समाज परिबर्तन हुन नसकेको प्रष्ट छ |
साना तथा तल्लो वर्गका मानिसलाई छुवाछुत, भेदभाव साना जातले उनिहरुको घरमा गएर काम गर्नु पर्ने, बहिर बस्नुपर्ने जस्ता कुसस्कारले दलित जातीलाई संधै पछाड़ी पारीरह्यो | कुनै ब्राह्मणको घर भित्र पस्न वा खाना पाउनु परिवर्तन होइन | त्यसैले समय रहदै मानव बनौँ । छुवाछूत र जातीय विभेदबाट माथि उठौँ ।
छुवाछुत जस्ता अमानवीय ब्यबहारको जति निन्दा गरे पनि कमै हुन्छ | २१ औं शताब्दीको आधुनिक युग सम्म आईपुग्दा पनी छुवाछुत अन्त्य हुन नसक्नु दुखको कुरा हो | आज पनि दलित र गैह्र दलितहरुको पानी खाने धारा अलग-अलग हुने, मठ-मन्दिर छिर्न नपाउने, पानी छोएको निहुमा ज्यानै जाने गरेका विभिन्न प्रकारका घटनाहरु हामी सामू छर्लंग छ |
अन्तरजातीय प्रेम बिबाह गरेकै निहुँमा आजित मिजारलाइ झुन्डयाएर मारियो | लक्ष्मी परियारलाई बोक्सीको आरोपमा मलमुत्र खुवाएर कुटपिट गरि निर्मम हत्या गरियो | यी जघन्य घटनाका उदाहरण मात्र हुन् | नेपाली समाजमा दिनहु अनेक घटनाहरु घटीराखेका छन्, हामीले देखिराखेका छौ |
सबिधानमा जे जे लेखेको भए पनि जातभातसँग जोडिएका अपमान, विभेद र हिंसाका घटनाहरू/ मुद्दाहरू न्याय दिलाउने निकायको प्राथमिकतामा कहिल्यै परेनन, पारींएनन र पर्दैनन् । कथित दलितहरू सामाजिक जीवनमा अन्यायको सिकार भए भने पनि सवै समयन्त्र के कसरी हुनछ मिलापत्र गराऊँनै उद्दत हुन्छन ।
६०/६५ लाख दलित रहेको नेपालमा करीब ७ दशक बितिसकेको छ दलित मुक्तिको लागि आन्दोलन सुरु भएको | हिजो अरुको उदेश्यमा बन्दूक़ बोक्ने, हरेक आन्दोलनमा अघि लाग्ने दलितसमुदायको आज बृहत एकताको आवश्यक देखिन्छ | साझा सोच उदेश्य नहुदा, दलित शक्ति आन्दोलन कम्जोर हुदै जादा नेपाली समाजमा एक पछि अर्कों अमानबिय घटना हूँदैछन । जब अन्यायको बिरुद मार्ने/मर्ने अवस्था हुदैन ठाउको ठाउ कारबाही गर्न सक्दैनन् तबसम्म दलितले मरिरहनु पर्छ, पछी परिरहनु पर्छ |
सदियौदेखि जरो गाडेर बसेको जातीय विभेद, लैंगिक विभेद, महिला हिँसा जस्ता कुंसस्करलाई निर्मूल पार्नको निम्ति विभेदमा परेका सम्पुर्ण समुदाय एक जुट भएर निर्णायक आन्दोलनको सुरुवात गर्नुपर्छ | जब सम्म दलित शक्ति एक हुदैन अबको ५० वर्षमा पनि उही समस्या रहने छ |
No comments:
Post a Comment