स्वतन्त्रमा उठेर मुसहर समुदायबाट पहिलो वडाध्यक्ष बने बहादुर सदा मुसहर

विभेद बिरुद्ध अभियान - आश्विन ८  , २०७४-आर्थिक रूपले अति विपन्न विष्णपुर गाउँपालिका–६ का बहादुर सदा मुसहर लेखपढ गर्न जान्दैनन् । हस्ताक्षरसम्म गर्न सक्छन् । उनै बहादुर स्थानीय तह निर्वाचनबाट आफ्नो वडाको अध्यक्ष चुनिएका छन् । त्यो पनि दलबाट होइन, स्वतन्त्र हैसियतमा उठेर । उक्त वडामा न उनको जातिको बाहुल्य छ न त प्रशस्त पैसा । वडावासीका समस्यामा समाधानमा सधैं तत्पर भएकैले उनी लोकप्रिय छन् । यही स्वभावका कारण उनी अति विपन्न मुसहर समुदायबाटै वडाध्यक्ष बन्ने पहिलो व्यक्ति भएका छन् । 
७४ वर्षीय बहादुरलाई जनप्रतिनिधिका रूपमा काम गरेको अनुभव नौलो भने हुने छैन । २०५४ मा पनि साबिकको इटहरी विष्णुपुर गाउँपालिकाको वडा सदस्य चुनिएका थिए । ‘जनप्रतिनिधिबाट हटेपछि पनि २० वर्षसम्म जनताको सेवा गरें, वडावासीले त्यसैकारण फेरि अवसर दिएका छन्,’ शुक्रबार गाउँपालिका कार्यालयमा प्रमाणपत्र लिएर शपथग्रहण गरेपछि उनले भने । मनोनयनका बेला बहादुरलाई विभिन्न दलले टिकट दिन नखोजेका होइनन् तर उनले अस्वीकार गरे ।
‘राजनीतिक आवरणभन्दा स्वतन्त्र भएर उम्मेदवार हुन मन लाग्यो,’ बहादुरले भने, ‘जनताले मेरो विश्वासलाई पत्याए ।’ चारैतिर पैसाको चलखेल र जातीय नारा उठिरहेकाले उम्मेदवारी दिँदाताका आफू नै जित्नेमा ढुक्क भने नरहेको उनले बताए । ‘प्रचारमा जाँदा अरू उम्मेदवारको ‘हाइफाइ’ देखेर जितिँदैन भन्ने लागेको थियो’ बहादुरले भने, ‘मसित एक पैसा पनि थिएन, कार्यकर्ता घरबाट खाएर आउँथे, प्रचारप्रसारमा लागेको २–४ हजार टोलवासीले जुटाइदिए ।’ २ सय २९ मत प्राप्त गरेका बहादुरको चुनाव चिह्न टोपी थियो । निकटतम प्रतिद्वन्द्वी फोरम लोकतान्त्रिकका उम्मेदवारले १ सय ५८ मत मात्र ल्याए । 
आफ्नो वडामा के–के योजना अघि बढाउने भन्ने उनले निक्र्योल गरिसकेका छैनन् । तर, हरेक घरमा शौचालय बनाउने योजना भने उनले जित्नुअघि नै तय गरिसकेका थिए ।
‘बस्तीका महिला शौच गर्न बाँसघारी, खेतबारी जानु राम्रो होइन,’ शुक्रबार शपथपछि उनले भने, ‘जथाभावी दिसापिसाब गर्दा बस्ती फोहोर हुने भएकाले पहिलो प्राथमिकता वडाका घरघरमा शौचालय  बनाउनु हुने छ ।’ बस्तीको बाटो पक्की बनाउने उनको दोस्रो प्राथमिकता छ । ‘योजना धेरै छन्, पाँच वर्षमा विस्तारै गरूँला तर शौचालय निर्माण नगरी अन्य कुनैमा हात हाल्दिनँ,’ बहादुरले भने । ०६८ को जनगणनाअनुसार सप्तरी, सिरहा, धनुषा र मोरङमा मुख्य बसोबास रहेका मुसहरको कुल संख्या २ लाख ३४ हजार ४ सय ९० छ ।

No comments:

Post a Comment