प्रहरी नियन्त्रणमा मृत्यु भएका थुनुवा बिकको शवलाइ किन वेवारिशे भनियो ?

विभेद बिरुद्ध अभियान - भाद्र ३० , -घोराही उपमनपा-१४ का ३९ वर्षीय गङ्गटे भनिने देवबहादुर बिकको प्रहरी हिरासतमै मृत्यु सम्वन्धि घटनाको अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) को एक टोलीले भदौ २८ गते प्रहरी हिरासत तथा सम्वन्धित प्रहरी निकाय एवं थुनुवासंग भेटघाट गरी जानकारी लिएको छ ।इन्सेक क्षेत्रीय कार्यालय नेपालगञ्जका प्रमुख भोला महतको नेतृत्वमा आएको पाँच जना अधिकारकर्मीहरूको टोलीले घटनाको विषयमा सङ्घीय प्रहरी इकाई कार्यालय तुलसीपुरका एआइजी मिङमार लामा, घटना छानबिन समितिका संयोजक तथा एसएसपी दिलिपकुमार चौधरी, दाङकी प्रहरी प्रमुख एसपी दुर्गा सिंह चन्द, वडा प्रहरी कार्यालय लमहीका इन्स्पेक्टर सुरज खड्का, हिरासतका गार्ड र मृत्यु भएका बिकसँगै रहेका अन्य थुनुवाहरूसँग भेट गरी घटनाका विषयमा जानकारी लिएको थियो ।

अधिकारकर्मीहरूको टोलीले गङ्गटेको शव पोष्टमार्टम रिपोर्ट, एआइजी कार्यालयले सार्वजनिक गरेको घटनाको प्रतिवेदनको प्रतिलिपिसमेत लिएको इन्सेक क्षेत्रीय कार्यालय नेपालगञ्जका संयोजक भोला महतले जानकारी दिए ।अनुगमन टोलीमा इन्सेक क्षेत्रीय कार्यालयका संयोजक महत, क्षेत्रीय कार्यालयका प्रलेख अधिकृत नारायण सुवेदी, एड्भोकेसी फोरमका बसन्त गौतम, वि ग्रुपका गोपालनाथ योगी र इन्सेक जिल्ला प्रतिनिधि सहभागि थिए ।
अधिकारकर्मीहरूको टोलीसँग एआइजी लामाले थुनुवाको मृत्यु भएपनि प्रहरीको कुटपिटबाट नभई पहिलेकै बिरामीका कारण भएको पुष्टि भएको बताए । उनले चोरीको आरोपमा भदौ १३ गते गिरफ्तार गरिएको र १४ गते बिहान एक्कासी बेहोस भइ ढलेपछि राप्ती उपक्षेत्रीय अस्पतालमा लैजाँदा चिकित्सकहरूले मृत घोषणा गरेको बताए ।भदौ १४ गते बिहान मृत घोषणा भएका गङ्गटेलाई जिल्ला प्रहरी कार्यालयले आफ्नो फेसवुकमा घोराही लमही सडक खण्डको चौपट्टा भन्ने स्थानमा मृत भेटिएको भन्दै सूचना पोष्ट गरी भदौ १६ गते शवको अन्त्येष्टी समेत गरेको थियो । 

यसै गरि वडा प्रहरी कार्यालय लमहीमा थुनुवाको मृत्यु भएको बिषयमा छानविन गरी प्रहरीले पनि विवरण सार्वजनिक गरेको छ । अनुसन्धान टोलीले प्रहरी नियन्त्रणमा मृत्यु भएका थुनुवालाई वेवारिशे शव फेला परेको भनेर प्रहरीले गलत सूचना दिएको ठहर गरेको छ । यस घटनामा प्रहरी दोषी देखिएको ठहरसहित छानविन टोलीले जिल्लाका जिम्मेवार प्रहरी अधिकारीलाई विभागीय कार्वाहीको सिफारिस गरेको छ । 

गलत सूचना दिने र माथिल्लो तहमा घटनाको रिपोर्टिङ नगर्ने जिल्ला प्रहरी प्रमुख एसपी दुर्गा सिंह, वडा प्रहरी कार्यालय लमहीका प्रमुख प्रहरी निरीक्षक सुरज खड्कासहित मुद्दा फाँटका जिम्मेवार प्रहरीलाई हदैसम्मको विभागीय कारबाही हुने अनुसन्धान प्रमुख एसएसपी दीलिप कुमार चौधरीले बताए ।विकलाई लुटपाट र चोरी डकैतीमा संलग्न रहेको आशंकामा पक्राउ गरिएको र प्रहरी नियन्त्रणमै मृत्यु भएको उनले बताए । राप्ती उपक्षेत्रीय अस्पताल घोराहीको पोष्टमार्टम रिपोर्टमा फोक्सोमा घाउ भएको र त्यही कारणले मृत्यु भएको खुलाइएको चौधरीले जानकारी दिए । हिरासतमै थुनुवाको मृत्यु भन्ने कुराले अप्ठेरोमा पर्ने डरले प्रहरीले गलत सूचना प्रवाह गर्दा समस्या भएको हो ।’-एआइजी लामाले भने- सूचना लुकाउने एसपी दुर्गा सिंह चन्द, इन्स्पेक्टर सुरज खड्का र हिरासतमा खटिएका एकजना हवल्दारलाई विभागीय कारबाहीका लागि सिफारिस गरेका छौँ ।


No comments:

Post a Comment