विकास र सरस्वतीलाई सफल दाम्पत्य जीवनको शुभकामना

विभेद बिरुद्ध अभियान - ( सोम दियाली )२०७५ बैसाख २९-   प्रेममा न जातले अर्थ राख्छ न त रुप रंग र धनले नै । प्रेम त स्वतः स्फुर्त हुने कुरा हो । यो जो सुकैसँग हुन सक्दछ । साँचो प्रेमलाई कसैले पनि छुटाउन सक्दैन । सिंगै समाज त के भगवानले पनि साँचो प्रेमलाई छुटाउन सक्दैन ।

 यस्तै एउटा सच्चा प्रेमको उदाहरण दिएका छन सर्लाहीका एक प्रेम जोडीले । सर्लाहीको ईश्वरपुर नगरपालिका ४ वस्ने सरस्वती अछामी जातले उनी दलित हुन । उनको स्कुल पढ्दा ईश्वरपुर ५ का विकास कटुवाल सँग चोखो प्रेम बस्यो । दलित भएकै कारण विकासले उनलाई मागेर विवाह गर्न सक्दैनथे । एक अर्कासँग छुट्टिन नसक्ने भएपछि उनीहरुले भागी विवाह गर्ने निर्णय गरे र २०७४ साल मंसीर १ गते भागे पनि । 

विकासले सरस्वतीलाई कसैले नदेख्ने ठाउँ छिमेकी देश भारतको राजधानी दिल्ली पु¥याए । दिल्लीमा गएर दुवै जना अर्काको काम गरेर हाँसी खुशि बस्न थाले । विकास र सरस्वती श्रीमान श्रीमती भएर वसेको ६ महिन भई सकेको थियो । विकासको यस्तो निर्णयले खुशि नभएका उनका बुवा आमाले छोराको खोजी गर्न थाले । विभिन्न माध्यमबाट विकास र सरस्वती दिल्लीमा रहेको थहा पाए पछि विकासका वुवा विष्णु कटुवाल र दाजु यावद कटुवाल उनीहरुलाई खोज्दै दिल्ली नै पुगे । दिल्लीबाट उनीहरुले सरस्वतीले थाहा नपाउने गरी विकासलाई नेपाल ल्याए । विकासले आफुलाई छोडेर गएको सरस्वतीले थाहा पाईन् । विकासले आफुलाई धोका दिन नसक्नेमा सरस्वती विश्वस्त थिईन । उनी पनि तुरुन्त सर्लाही आईन् । यहाँ आएर पनि उनले विकासलाई भेट्न पाईनन् । उनी साह्रै निराश भईन् । तर पनि सरस्वती विकासले आफुलाई धोका दिन नसक्ने कुरामा नै अडिग भईन र आफ्नो श्रीमान पाउँ भनी विकासका वुवा र दाजु विरुद्ध ईलाका प्रहरी कार्यालय ईश्वरपुरमा जाहेरी दिईन । प्रहरीले उनको केश जिल्ला प्रहरी कार्यालय मलंगवा पठायो । मलंगवामा प्रहरीले विकास र सरस्वतीलाई आफ्नै अभिभावकको जिम्मा लगायो । यसरी जिम्मा लगाउन विकासका अभिभावकले प्रहरीलाई दवाव दिएको सरस्वतीको आमा बुद्धमायाले बताईन् । 

प्रहरी कार्यालयबाट निस्किए पछि विकासले सयौं मान्छेकै भिडबाट सरस्वतीलाई तानेर मन्दिर लगेर सिन्दुर हाले । त्यसरी पनि विकासले जित्न सकेनन् । उनलाई अभिभावक र अभिभावक सँगै आएका प्रहरी र गाउँलेले तानेर गाडीमा राखेर लगे । सरस्वती पछि लागिन तर उनलाई प्रहरीले नै समातेर लछार पछार ग¥यो, कुट्यो सरस्वतीले भनिन् । उनी जिल्ला अस्पतालमा उपचार गरी वैशाख २२ गते घर आईन । सवै मान्छे प्रेमको दुश्मन नहुँदा रहेछन् । 

केही दलित अधिकारकर्मी र गाउँलेहरुको साहारामा विकासलाई सरस्वतीले वैशाख २४ गते राती भेटिन र सोही रात उनीहरु फेरी भागे । गाउँकै सुनिल नाम गरेका एक जना व्यक्ति रहेछन् । सुनिल दाईले धेरै ठुलो सहयोग गर्नु भएको विकास र सरस्वतीले बताए । भोली पल्ट वैशाख २५ गते सुनिल दाई, आदिमाया दिदी, दलित अधिकारकर्मी मदन विश्वकर्मा, विष्णु दर्जी लगायतको रोहवरमा उनीहरुको विवाह भयो । अब विकास र सरस्वती नयाँ संसारमा गएका छन् । उनीहरुको प्रेम सफल होस ।

No comments:

Post a Comment