दलित समुदायका विद्यार्थीलाई निषेध गर्ने कृष्णद्वैपायन गुरुकुल विरुद्ध मुद्दा दर्ता गरिदै

विभेद बिरुद्ध अभियान - जेठ ११ - भद्रपुर :  संस्कृत विद्यालय गुरुकुलका दुई सञ्चालकविरुद्ध भोलि मुद्दा दर्ता गरिने भएको छ । दलित अधिकारवादी संस्था उत्पीडित अधिकार मञ्चको अगुवाईमा संस्कृत पाठशाला खारेजीको माग गर्दै मुद्दा दर्ता को अन्तिम तयारी गरिएको संस्थाका सचिव सागर पोर्तेलले जानकारी दिएका छ्न । साथै सञ्चालक समिति अध्यक्ष राजेन्द्र चापागाईँ र प्राचार्य राजन तिवारी विरुद्ध जातीय छुवाछूतजन्य अमानवीय व्यवहार गरेकोले जातीय छुवाछूत तथा भेदभाव कसुर र सजाय) ऐन २०६८ बमोजिम हदैसम्म कारबाहीको माग गर्दै मुद्दा दायर गरिने तयारी गरिएको बताए ।

भद्रपुरको कृष्णद्वैपायन गुरुकुल  वेद विद्याश्रमले इलाम नगरपालिका–५ बरबोटेका विकास कार्कीडोली (दर्जी) लाई गुरुकुलले भर्ना लिन नमानेपछि दलित अधिकारकर्मीहरुको टोलीले तालाबन्दी गरेको थियो । तालाबन्दी पछि जेठ -८  गते प्रमुख जिल्ला अधिकारीको समन्वयमा गुरुकुल जातीय विभेद विरुद्ध संयुक्त संघर्ष समिति र गुरुकुल संचालक पक्ष बीच बार्ता भएको थियो । गुरुकुलमा निर्बाध रुपले उत्पीडित दलित समुदायका विद्यार्थीहरुलाई आवासीय भर्ना गर्न पाउने कुराको सुनिश्चितता हुनुपर्ने लगायतका माग संघर्ष समितिको तर्फबाट प्रस्ताव भएकोमा  गुरुकुल संचालक पक्षले आवासीय रुपमा भर्ना गरेमा सामाजिक सद्भाव भड्किने भएकोले दलित विद्यार्थीहरुलाई भर्ना गर्न नसकिने अडान कायमै राखेको थियो  ।

गुरुकुल संचालक पक्षको यो अडानले नेपालको संविधान -२०७२ ले नेपाललाई छुवाछूत मुक्त राज्य घोषणा गरेको उपहास हुने मात्र होइन समाजमा जातीय छुवाछूत,भेदभाव,असमानता र विभेदलाई कायमै राख्न चाहाने सोच र चिन्तन स्पस्ट देखिएको ठहर गर्दै मुद्दा दायर गरिन लागेको हो  । नेपाल राष्ट्रिय उत्पीडित विद्यार्थी संगठनका केन्द्रीय अध्यक्ष टीकाराम मंग्रातीले दलितहरुले जुनसुकै विद्यालय र संस्कृत पाठशालाहरुमा पढ्न पाउने नैसर्गिक अधिकारलाई भद्रपुरको संस्कृत पाठशालाले उल्लंघन गरेको भन्दै यस्तो पाठशालालाई कारवाहीका लागि सम्बद्ध निकायसँग माग गरेको बताए   ।

हाल नेपालमा गुरुकुलको सङ्ख्या देशभर ६० वटा छन् । यसमध्ये नेपालमा सबैभन्दा धेरै गुरुकुल विद्यालय झापामा रहेको पाइएको छ ।गुरुकुल शिक्षा प्रणाली पूर्वीय शैलीको शिक्षण प्रणाली हो । यो प्रणालीमा विद्यार्थी गुरूको आश्रममा रहेर विभिन्न विषयमा पारङ्गत नहुन्जेल अध्ययन गर्छन् । गुरुकुलीय पद्धतिमा वैदिक साहित्य, पुराण, ब्रह््रमसूत्र, गीता, उपनिषद् जस्ता पूर्वी वाङ्मयको अध्ययन अध्यापन गराइने गरिन्छ  । विद्यालय सरहको दरबन्दीबाट सञ्चालित कृष्णद्वैपायन गुरुकुल वेद विद्याश्रम महेशपुरले जिल्ला शिक्षा कार्यालय झापाबाट रु तीनलाख ५७ हजार वार्षिक अनुदान समेत पाउदै आएको छ ।

No comments:

Post a Comment