दलितसँग विवाह गरेकै कारण पिताको निधनमा काजकिरिया गराइदिने पुरोहितसम्म पाएनन्

विभेद बिरुद्ध अभियान- जेठ १३ , छिमेकीका घोचपेच सहनु त सामान्यै थियो । तर, पिताको काजकिरियामा समेत यो हदसम्म विभेद भोग्नुपर्ला भन्ने उनले सोचेकासम्म थिएनन् । अन्तरजातीय विवाह गरेकै कारण पथरी शनिश्चरे नगरपालिका ४ जराया टोलका २२ वर्षीय यादव श्रेष्ठले तीतो अनुभव सँगाले ।

गत जेठ १ गते उनका ६२ वर्षीय पिता धनबहादुरको निधन भयो । तर, यादवले न आफन्त र छरछिमेकको साथ पाए न त काजकिरिया टुंग्याइदिने पुरोहित ।

उनकी आमाको दुई वर्षअघि निधन भएको थियो । त्यति बेला निष्फिक्री उनीकहाँ आएर विधिविधान पूरा गरिदिएका गाउँका पुरोहित यसपालि टाढिए । लोकलाजका कारण मलामीसम्म पुगेका छिमेकीहरूले पनि काजकिरियामा सघाएनन् । आफ्नै समुदाय (नेवार) का व्यक्तिले गुभाजु खोजिदिन सक्थे । त्यो पनि गरिदिएनन् । छैटौं दिनसम्म पनि खौरिएको मुडुलो टाउको लिएर पुरोहितको प्रतीक्षामा थिए उनी । ‘यादवका नातागोता कोही नभएकाले होला, आफ्नै संस्कारले काजकिरिया गर्न खोज्दा पनि सघाउन कोही आएनन्,’ छिमेकी गोपाल ठटालले भने । आमाको निधनसँगै वृद्ध पिता र घर रेखदेख गर्न यादवले बिहे गर्नुपर्ने बाध्यता आइलाग्यो ।

उनले सँगै काम गर्दा मन पराएकी विश्वकर्मा थरकी केटी भित्र्याए । पिताले उनलाई बुहारी स्विकारे । छ महिनाअघि नाति जन्मिएपछि बाजे खुसी थिए । निम्न आर्थिक अवस्थाका धनबहादुर गाउँमै ज्यामी काम गर्थे भने यादव पथरी बजारमा सुनको गहना बनाउने काम गर्छन् । छुवाछूत प्रथा गलत हो भन्नेमा यादव सधैं अडिग रहे । त्यसै कारण दलित समुदायकी केटीसँग बिहे गर्न कुनै अप्ठेरो मानेनन् । तर, त्यही कारण समाजले यतिसम्म हेला गर्ला भन्ने नलागेको उनी बताउँछन् । भन्छन्, ‘मैले मन पराएकीसँग बिहे गरेर केही बिराएको छुइनँ ।’

यादव काजकिरिया अघि बढाउन नपाएर छट्पटाइरहँदा स्थानीय जनप्रतिनिधिसमेत सोधपुछ गर्न आएनन् । बरु घटनाबारे सुनेपछि धरानबाट ब्राह्मण समाज र विश्वकर्मा कल्याण समाजको टोली उनलाई सघाउन पुगेको छ । उनीहरूले बिहीबार काजकिरियास्थलमै भेला आयोजना गरे । त्यहाँ उनीहरूले छुवाछूतको यति ठूलो घटना हुँदा पनि नगरपालिका तथा वडाका जनप्रतिनिधि गैरजिम्मेवार भएर बसेको भन्दै वडाध्यक्ष गोविन्दबहादुर भण्डारीलाई आक्रोश व्यक्त गरे । भण्डारी भने आर्थिक सहयोगबाहेक छुवाछूतजन्य भेदभावमा नगरपालिका, वडा समितिका जनप्रतिनिधिको कुनै भूमिका नहुने भन्दै पन्छिए । उनले कार्यव्यस्तताका कारण आफू उपस्थित हुन नसकेको बताए । ‘म यहाँ नआए पनि काजकिरिया गर्न नपाएको बुझेर पण्डितहरूसँग छलफल गरेको हुँ तर कसैले आउन मानेनन्,’ उनले भने ।
पुरोहितहरूले काजकिरियामै छुवाछूत गरेपछि यादव पीडामा रहेको तत्कालीन शनिश्चरे गाविसका पूर्ववडाध्यक्ष मानबहादुर विश्वकर्माले छैटौं दिन थाहा पाए । त्यसपछि उनले समुदायको पहलमा विश्वकर्मा कल्याण समाजमार्फत ब्राह्मण समाज नेपाल, सुनसरी शाखालाई पत्राचार गरे । त्यसमा काजकिरियाका लागि पुरोहित जुटाइदिन आग्रह गरिएको थियो । अहिले इटहरी बस्दै आएका उनले भने, ‘छुवाछूतको यत्रो ठूलो घटनामा नगरपालिका जनप्रतिनिधि मौन बस्नुको अर्थ स्थानीय सरकारले नै छुवाछूतलाई संरक्षण गरेको बुझिन्छ ।’ब्राह्मण समाजका केन्द्रीय सदस्य तथा जिल्ला अध्यक्ष उद्धवप्रसाद अधिकारीले भने, ‘अन्तरजातीय विवाहका कारण काजकिरियामै छुवाछूत भएको लिखित पत्र आएपछि रातारात बैठक बसी पुरोहित जुटाउनतिर लाग्यौं ।’ समाजकै पहलमा केन्द्रीय उपाध्यक्ष दमकनिवासी डिल्लीराम उप्रेती अवरुद्ध काजकिरिया विधिपूर्वक सम्पन्न गर्न अघि सरे । यति बेला यादवका पिताको निधन भएको आठ दिन बितिसकेको थियो ।

‘हिन्दु धर्मका कुनै पनि शास्त्रमा जातिपाती, छुवाछूतको कुरा उल्लेख छैन, धर्मावलम्बी सबै समान हुन्, सबैले वैदिक संस्कार अनुसार काजकिरिया लगायत अनुष्ठान गर्न पाउनुपर्छ,’ उप्रेतीले भने । उनले आफू पेसागत रूपमा पुरोहित नभएको तर हिन्दु धर्मका नाममा ठेकेदारी चलाउनेहरूलाई चुनौती दिन छुवाछूतविरुद्ध आन्दोलनमा होमिएको बताए । समाजको निर्णयअनुसार सुरुमा आएका एक पण्डित भने भोलिपल्टदेखि आउनै छाडे । ‘उहाँलाई यतैबाट कसैले फोन गरेर धम्की दिएकाले भोलिपल्टदेखि नआएको हुन सक्छ,’ उप्रेतीले भने, ‘तर यसबारे सोध्दा उहाँले अरु नै बहाना बनाउनुभयो ।’ यसैबीच भेलामा ब्राह्मण समाजले पीडित श्रेष्ठ परिवारलाई काजकिरियाका लागि १० हजार रुपैयाँ प्रदान गर्‍यो । साथै समाजका केन्द्रीय उपाध्यक्ष उप्रेतीले काजकिरिया उतारेपछि परम्परागत रूपमा पुरोहितहरूले लिँदै आएको कुनै पनि किसिमको दान, दक्षिणा नलिएर सघाउने घोषणा गरेका कान्तिपुरमा खबर छ ।

No comments:

Post a Comment