दलित महिलाका पक्षधर - दीपक परियार

विभेद बिरुद्ध अभियान -  वैशाख २१ गते -लेखनाथ — दलित, असहाय, गरिब महिलालाई गरिने विभेदका विरुद्ध निरन्तर लागिरहने एक पात्र हुन् चमेली खाती दर्जी । उनी चमेली परियारको नामले चिनिन्छिन् ।उनी कास्की दलित महिला संघकी संस्थापक अध्यक्ष हुन् । हाल संघकै केन्द्रीय उपाध्यक्ष बनेकी छन् । बागलुङको गलकोटमा ३४ वर्षअघि जन्मिएकी चमेलीले पनि धेरै विभेद झेलिन् ।

गलकोटको जनहित माविमा उनी ६ कक्षामा पढदा विद्यार्थी मिलेर पानी खाने घैंटो किन्न रकम संकलन गरे । विद्यालयमा घैंटो आइपुग्यो । जातका कारण घैंटोको पानी उनले खान पाइनन् ।

गाउँघरमा ठूला जाति भनिएकाले दलितले छोएको नखाने, दलितलाई घरभित्र प्रवेश नदिने घटना सामान्य हुन् । विद्यालयभित्रै विभेद हुँदा भने उनको मन नराम्ररी दुख्यो । त्यसबैलैदेखि विभेदका विरुद्ध लाग्ने प्रण गरिन् ।

२१ वर्षको उमेर कास्की भरतपोखरीका जीवन खातीसँग उनले घरजम बस्यो । प्रेम विवाह भएकाले जीवनको परिवार बाधक बनिदियो । उनको परिवार ०५२ सालमा बागलुङबाट पोखरा बसाइँ सर्‍यो । उनले पोखरा आएर नवप्रभात माविबाट आफ्नो विद्यालय शिक्षा पूरा गरिन् । उच्च शिक्षा पढ्न पृथ्वीनारायण क्याम्पस पुगिन् । क्याम्पसमा दलित विद्यार्थी संघ स्थापना भयो । उनी त्यसमा आबद्ध भइन् । जागरण मिडिया सेन्टरले पोखरामा एक साताको पत्रकारिता तालिम गर्‍यो । पत्रकारितामार्फत विभेदको विरुद्ध जनचेतना फैलाउन सजिलो हुने उनले ठानिन् । उनले पनि पत्रकारिता तालिम लिइन् । पोखराबाट प्रकाशित हुने माइक्रो न्यूज दैनिकमा स्वयंसेवी पत्रकार भएर काम गरिन् ।

पहिलो संविधानसभाको निर्वाचनताका उनले फेडोमा रहेर दलित महिलालाई संगठित गर्ने अभियानमा लागिन् । अहिले फेडो कास्कीमा ६ सय साधारण सदस्य, ८० सक्रिय सदस्य ९ जनाको कार्यसमिति छ ।

महिला अधिकारको पक्षमा उनी लागिरहिन् । उनले सचेतना तालिम लमजुङ, बागलुङ, तनहुँ र स्याङ्जामा दिएकी छन् । महिला उत्थान तथा जागरण केन्द्रले दुई वर्षअघि पोखरामा मानव बेचबिखनसम्बन्धी एक अध्ययन गर्‍यो । केन्द्रकी सचिव रहेकी उनले अध्ययन टोलीको नेतृत्व लिइन् । टोलीले पोखरामा यौन व्यवसायको अवस्था बुझ्यो । अध्ययनका क्रममा थुप्रै अप्ठयारो भोगेको अनुभव उनीसँग छ । पोखरामा कम उमेरका, पढेलेखेका, हाइप्रोफाइल महिला यौन व्यवसायमा लागेको प्रतिवेदन अध्ययन टोलीले तयार गर्‍यो । पर्यटकीय केन्द्र लेकसाइडका प्राय: होटलले यौन व्यवसाय गर्ने गरेको तथ्य प्रतिवेदनमा थियो । उक्त प्रतिवेदन सार्वजनिक नगर्न चमेली र उनको संस्थाले बारम्बार धम्की व्यहोर्नुपर्‍यो ।

धम्कीका बाबजुद संस्थाले प्रतिवेदन सार्वजनिक गर्‍यो । थ्री एन्जल्स नेपालसँगको सहकार्यमा केन्द्रले मानव बेचबिखनको अवस्था अध्ययन गरेको थियो । पछि उक्त प्रतिवेदनलाई आधार मानेर समाज कल्याण मन्त्रालयले थ्री एन्जल्सलाई उत्कृष्ट कार्य गरेबापत पुरस्कृत गर्‍यो । पोखराको रेडियो जननीले सामाजिक समावेशी क्षेत्रमा उनको योगदानको कदर गर्दै राष्ट्रियस्तरको जननी सम्मान २०७३ प्रदान गर्‍यो ।-कान्तिपुर दैनिक बाट 

No comments:

Post a Comment